site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नोर्बुका याक

– ध्रुव अधिकारी


क्याल्पोको घरअगाडि आज गाउँका सबैजसो मानिस जम्मा हुँदै छन् । केही मानिसहरू घोडा चढेर डाँडाबाट त्यही घर भएतिर झर्दैछन् । केही महिलाहरू पिठ्युँमा बच्चा बोकेर आउँदै छन् । माथिको गुम्बाबाट एक वृद्ध लामा तल झर्दै छन्— पहेंलो र कलेजी रंगको वस्त्र धारण गरेका, लामो, बाक्लो कपालमाथि टाउकोमा बेरेका । पोल्टोमा किताब जस्तो केही बोकेर उनी ओरालो लाग्दै छन् । करिब एक महिनापछि तिब्बतबाट भर्खरै आइपुगेका त्यस्तै ३०–३५ याकहरूको पिठ्युँबाट नुनको भारि अझै उतारिएको छैन । आँगनको बीचमा क्याल्पोको शव राखिएको छ । शवको वरपर राखिएको धूपबाट सल्ला र धूपीको जस्तो तीखो गन्ध आइरहेको छ । शरीर सेतो कपडाले ढाकिएको छ । त्यसमाथि तिब्बती अक्षरहरू भएका सेतो, नीलो, हरियो र रातो कपडाका टुक्राहरू राखिएका छन् । पेमाको आँखामा आँसु रोकिएको छैन । नोर्बु र टसी शवको दुईतिर बसेका छन् । नोर्बु बेला–बेलामा आँखाको आँसु दाहिने हातले पुछ्दै छ । टसी भने मौन छ ।

“मैले दाइलाई तपाईं बिरामी हुनुहुन्छ, केही दिन तल पालमै बसौं, त्यो लेक तर्न गाह्रो छ भनेकै हुँ । दाइले मान्दै मान्नुभएन,” भन्दै नोर्बु फेरि रुन थाल्यो । नोर्बुका साथीहरू नजिक गएर उसलाई समाए र नरुन भन्दै सम्झाउन लागे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भदौको महिना थियो । गाउँका चारैतिर रहेका खैरा उजाड पहाडहरूमा पोहोर सालको थोरै मात्र हिउँ बाँकी थियो । त्यो उचाइमा रुख हुँदैनथ्यो । तल गाउँमा स्थानीय भाषामा उवा भनिने जौंजस्तो अन्न पाकेर फाँटै पहेंलो भएको थियो । कसैको बारीमा फापर पाकेर बारी रातै देखिन्थे । नजिकै रहेको सानोखोला ढुंगासँग जुध्दै कालो बालुवा आफूसँगै बोकेर तेज गतिमा बगिरहेको थियो । आकाश गाडा नीलो र उज्यालो थियो । घोडाहरूको मुखमा गहुँकास (साना थैलाहरू) झुन्डाइएको थियो । उनीहरू आफ्नै सुरमा मुख हल्लाउँदै गहुँ चपाउँदै थिए । माथिको गुम्बामा रंगीबिरंगी कपडाका टुक्राहरू हावाको वेगसँग फहराइरहेका थिए । जम्मा भएका मानिसहरूको अनुहार मलिन थियो, आश्चर्यचकित थियो, अचम्मित, भयभित थियो । आँगनको कुनातिर कपडा बुन्ने तानमा धागोहरू तन्काएर राखिएको थियो । चौंरीहरूको पिठ्युँबाट भारी नउतारिएकोले यताउता सल्बलाइरहेका थिए ।

छोक्याप लामा अलि बूढा भइसकेका थिए । उनको बाक्लो जटाधारी कपाल टाउकोमा केही फन्को बेरिएको थियो, उनको पहेंलो वस्त्र अलि मैलो भएको थियो, उनको अनुहारमा थोरै रौं थियो र उमेर बढेसँगै उनको शरीर अलि मोटो र पेट केही बाहिर निस्केको थियो । उनी धेरै हिँडडुल गर्दैनथे र क्याल्पोको आँगनसम्म आइपुग्दा उनी लामो सास लिँदै थिए । उनी त्यहाँ क्याल्पोको शवलाई गाड्ने कि, टुक्रा पारेर खोलाका माछाहरूलाई अर्पण गर्ने वा गिद्धलाई दिने भन्ने कुराको हिसाबकिताब गर्न आएका थिए । उनले आफ्नो दायाँ कानमा सिउरिएको चुच्चो छेस्कोजस्तो वस्तु निकाले र मसीको भाँडोमा चोपे । छिक्, ङ्य, सुम् (अर्थात् १, २, ३) भन्दै उनीले केही गन्दै थिए र हिसाबकिताब सकिएपछि उनले सेतो पातलो कपडामा केही तिब्बती अक्षर कोरे ।

\"\"

“क्याल्पोको चिनाले आकाशको किरियाकर्म माग्छ, उसलाई डाँडामा लिएर जानुपर्छ,” छ्योक्याप लामाले खाम भाषामा भने र त्यस पातलो कपडालाई आगोले पोले ।

सबैले एकछिन एक–अर्कालाई हेरे र क्याल्पोको शरीर गिद्धहरूलाई दान गर्नका लागि उसको शवलाई उठाउने र बाँध्ने तयारी गर्न लागे । क्याल्पोको शवलाई घुँडामा बसाएझैं बसालेर हात र खुट्टोलाई जोर्नीबाट अलग गरी बलियो कसेर डोकोमा अटाउने गरी बाँधियो । नोर्बुले डोको उठायो, केही लामाहरू ढ्यांग्रो ठोक्दै अघि लागे । तीन जनाले करिब १०–१२ मिटर लामो सेतो कपडा भुइँमा नछुवाई डोहो¥याउँदै अघि बढे । केही लामाहरू पछि–पछि डमरु बजाउँदै माथि डाँडातिर लागे ।

पाजोर पनि शवसँगसँगै गए । गाउँमा मान्छे मरेपछि गिद्धलाई खुवाउनका लागि शव काटेर टुक्रा बनाउने काम धेरै वर्षदेखि उनकै थियो । शव टुक्रा बनाउँदा गिद्धहरूले सजिलोसँग खान सक्छन् । गाउँमा मासु खानका लागि जनावरलाई काटमार गर्ने जिम्मेवारी पनि उनैको थियो । पाप लाग्ने डरका कारण गाउँका जो–कोहीले काटमार गर्दैनथे । पाजोरले शवको छाला छिलेर स–साना टुक्रा बनाएपछि लामाहरू नली खुट्टाको हड्डीले बनेको एक किसिमको बाजा बजाउँदै, डमरु बजाउँदै शवको वरिपरि निहुरी परी नाचेर गिद्ध बोलाउन लागे । गिद्धहरू उनीहरूको सताब्दीयौंदेखि चल्दै आइरहेको यो रीतबाट अपरिचित थिएनन् । आकाशमा केही छिनमै गिद्धको झुण्डले परिक्रमा गर्न थाल्यो । शिकार पाउन गाह्रो पर्ने त्यो विरानो उच्च हिमाली पहाडमा यत्तिकै आहारा पाउनु गिद्धहरूको निम्ति ठूलो अवसर थियो । शवका टुक्रा खाइसक्न उनीहरूलाई खासै धेरै समय लागेन । हड्डीमात्रै बाँकी रहेपछि पाजोर फेरि हड्डी भएको ठाउँमा गए, गिद्धहरूलाई केही टाढा धपाए र ढुंगामाथि राखेर बाँकी हड्डीलाई बञ्चरोको पछिल्लो भागले जोडले हिर्काएर मसिनो टुक्रा बनाए । स्थानीय भाषामा साम्पा भनिने उवाको सातु छर्दै हड्डीलाई धूलोजत्तिकै बनाए । माथि उचाइमा त्यत्तिको थकानयुक्त काम गर्न पाजोरलाई सजिलो थिएन तर उनका लागि यो धर्म कमाउने मौका पनि थियो । केही छिनमा गिद्धहरूले बचेखुचेको मासु र हड्डीका टुक्रा पनि हजम गरी उडान भरे । 

क्याल्पोको किरियाकर्म केही महिनासम्म चलिरह्यो । लामाहरूले धेरै दिनसम्म कहिले घरमै आई, कहिले गुम्बामा गई पूजापाठ गरे, मन्त्रहरू उच्चारण गरे र क्याल्पोको आत्मालाई उचित दिशा प्रदान गरे । गाउँभरिका मानिसलाई बोलाई रक्सी र याकको मासु खुवाएर अन्तिम भोज गरेपछि क्याल्पोको कर्मकाण्ड पूरा भयो ।

\"\"

यता पेमाका एक पति बिते पनि उसको हेरचाह गर्ने दुई पति अझै जिउँदै थिए । उच्च हिमाली क्षेत्रमा खेतीयोग्य जमिन अत्यन्तै कम हुने, खाद्यान्नको चरम अभाव हुने हुँदा सम्पत्ति टुक्रिनबाट जोगाउन र परिवार सदस्य संख्या नियन्त्रण गर्न परिवारका सबै दाजुभाइकी एउटी श्रीमती राख्ने चलन पुरानो हो । क्याल्पो र नोर्बु पतिको रूपमा स्थापित भइसकेका थिए तर टसी भने अलि सानो भएका कारण पेमाका पति भइसकेको थिएन । तर, पेमामा टसीको पनि उत्तिकै हक थियो जति नोर्बु र क्याल्पोको । टसीले पनि आफू वयस्क भएको अनुभूति गर्दै थियो र बेलाबेला रतिक्रियाका सपना देख्न थालेको थियो । हालसालै मात्र २० वर्ष लागेको टसीले यसअघि कुनै महिलासँग सम्भोग गरेको थिएन । ऊ उत्सुक थियो ।

पेमा पहिलो पटक बिहे गरेर घर आउँदा २५ वर्षकी थिई, क्याल्पो २२ र नोर्बु १७ वर्षका थिए । टसी भने करिब ८ वर्षको मात्र थियो । पेमालाई पारि गाउँबाट क्याल्पोले तानेर ल्याएको थियो र पछि बिहे गरेको थियो ।

क्याल्पो तिब्बतमा नुन लिन जाँदा वा भेडा बाख्रा व्यापार गर्न जाँदा परिवारको रेखदेख नोर्बुले गथ्र्यो । पेमामाथि उसको अधिकार हुन्थ्यो । क्याल्पो र नोर्बु दुवै घर हुँदा भने पेमामाथिको अधिकार क्याल्पोको नै हुन्थ्यो किनकि ऊ सबैभन्दा जेठो थियो । पेमाका दुई छोरा र एक काखे छोरीमध्ये कुन बच्चा कोबाट हो भन्ने कुराको जानकारी शायद पेमालाई मात्र थियो । जोबाट जन्मेको बच्चा भए पनि क्याल्पो जेठो भएको कारण छोराछोरीले उसलाई बुवा भन्नुपथ्र्यो । टसी र नोर्बु भने काका बनेका थिए ।

पेमा अग्ली थिई । उसको शरीर सर्लक्क मिलेको थियो । चिल्लो तेल लगाएर चपक्क बाटेको कालो लामो कपाल अनि निदारको बीचसम्म आउने गरी अगाडिको कपाल काटेकी पेमाका साना आँखा, मिलेका आँखीभौं, घाँटीमा मुगाको माला र त्यसको फेदीमा झुन्डेको तिब्बती रिम्पोचेको तस्बिर । रातो अनुहार, थोरै अगाडि आएको छाती । कम्मरसँग मिलेको पेट । चिसोले गर्दा अलि–अलि चिरा परेका ओठ र रातो फुटेको गालालेजोले कोहीलाई पनि आकर्षित गर्थे । शिरदेखि पाउसम्म पुग्ने बाक्लो लामो कलेजी रंगको कपडामाथि तानमा बुनेको तल्लो पेटको भागदेखि घुँडासम्म बेर्ने एक हातजतिको फेरोमाथि करिब एक बित्ताजति चौडाइ भएको र पछाडि तुनाले कसेर कम्मरमा बेर्न मिल्ने पटुकाजस्तो कपडा लगाउने चलन थियो । त्यो कपडा लगाउँदा पेमा अग्ली, गोरी, बलियो र राम्री देखिन्थी ।

\"\"यता नुनका स–साना बोराहरू घरमा थन्किएको डेढ महिना जसो भइसकेको थियो । तिब्बतबाट ल्याएको नुन तलका जिल्ला लगेर अन्नसँग नसाटे नोर्बुको परिवारलाई भोकमरी लाग्न सक्ने खतरा थियो । किनकि बाटोघाटोको अभावले अन्य वैकल्पिक ठाउँबाट नुन ल्याउन अत्यन्तै कठिन थियो । त्यसैले तल औलका मानिसहरू पनि तिब्बतबाट ल्याएको नुनमाथि नै भर पर्थे ।

क्याल्पोसँग महिनौं दिनको तिब्बत यात्रामा याकको झुन्डसँगै केही वर्षअघिदेखि नोर्बु सँगसँगै हिँडे पनि ऊसँग अहिलेसम्म यस्तो व्यापार र यात्रा नेतृत्व गरेको अनुभव थिएन । लेकमा हिउँ पर्नुअघि नै नोर्बु र उसका याकहरूले नुन साटेर गाउँमा खाद्यान्न ल्याइसक्नु पर्ने थियो । गाउँमा फलेको उवा र फापरले वर्षभरि खान पुग्दैन भन्ने कुरा त्यो गाउँका सबैलाई थाहा थियो । परिवारलाई आवश्यक अतिरिक्त खाद्यान्नको जोहो गर्ने जिम्मेवारी नोर्बुको काँधमा आएको थियो । गाउँका अरू याकहरू करिब १५ दिनअघि नै व्यापारका लागि प्रस्थान गरिसकेका थिए ।

नोर्बुले छोक्याप लामासँग सल्लाह लिने निधो गर्‍यो र गोबरको गुइँठा, उवाको सातुको पोका र चोती (तरकारीको रूपमा खाइने उच्च हिमाली भेगमा फल्ने एक प्रकारको सलगमजस्तै खानेकुरा) बोकेर गुम्बातर्फ लाग्यो । गाउँमा बस्ने लामालाई गाउँलेहरूले नै पाल्ने चलन थियो ।

गुम्बामा धूपको बास्ना थियो । छेउमा पूजा गर्न लामाहरू बस्ने ठाउँ थियो । त्यहाँ साना बाजा, झ्याली, ढ्यांग्रो मिलाएर राखिएका थिए । मानिसहरू बस्न अर्को छेउमा काठको भुइँ र भेडाको रौंबाट बनेको गलैंचाजस्तो कपडा ओच्छाइएको थियो । बुद्धको जीवनी, उनले दिएको शिक्षा, मानिसभित्रको देवता, राक्षस, मृत्यु, जन्म इत्यादि जनाउने गरी गुम्बाको भित्तावरपर विभिन्न रंगीबिरंगी चित्रहरू कोरिएका थिए ।

नोर्बुले घुँडा टेकेर दुई हातअगाडि सारी निधारले भुइँमा छायो र ठूलो सुनौलो रंगको बुद्धको प्रतिमालाई दण्डवत् ग¥यो । छोक्याप लामा त्यसबेला पित्तलको भाँडामा बत्ती बाल्न घिउ राख्दै थिए । नोर्बु एकछिन आँखा चिम्म गर्दै प्रार्थना गर्न लाग्यो ।

“कति कामले आइस् नोर्बु ?” छोक्याप लामाले खोक्दै सोधे ।

\"\"

“क्याल्पो दाइ बितेपछि लामाहरूले निकालेको मितिमा याक र नुन लग्न सकिनँ, अहिले एक्लैजसो छु । गाउँका दुई–चार जना बोकेर तलतिर जाऊँ भनेको, कहिले जान मिल्छ भनेर तपाईंसँग सल्लाह लिन आएको,” नोर्बुले अलि सानो स्वरमा भन्यो ।

“यो महिना राक्षसहरू सक्रिय हुने महिना हो । लेक तर्ने बेला हिउँ पर्‍यो भयो भने तँ र तेरो याक दुबैलाई खतरा हुन्छ । पख म दिन हेर्छु, बस् एकछिन चिया खा !” छोक्याप लामाले चियाको भाँडा र स्टिलको सानो बटुको जस्तो भाँडो अघि सार्दै भने ।

तिब्बतमा पाइने एक प्रकारको जडीबुटी, तिब्बती घ्यु, तातोपानी र नुन मज्जाले लामो र साँघुरो काठको भाँडोमा लामो लट्ठीजस्तो चिजले मही मोथेझैं घोलेपछि बन्ने सेतो नुनिलो चिया नै त्यो ठाउँको अतिथि सत्कार गर्ने खानेकुरा थियो ।

छोक्याप लामाले कानमाथि राखेको कलमजस्तो छेस्को निकाल्दै हिसाबकिताब गर्न लागे र एकछिनपछि अलि ठूलो स्वरमा भने, “तँ सोमबार बिहानै हिँड्नू, त्यो दिन राक्षसहरू अलि शान्त छन् । तँ र तेरो याकलाई दुख दिँदैनन् ।”

लामालाई दण्डवत् गर्दै नोर्बु तल घरतिर लाग्यो । 

पेमा तीते फापरको पीठोलाई काठको चारपाटे, गहिरो भाँडोमा थोरै पानी राखेर मुछ्दै रोटी बनाउने तयारीमा थिई । दाउरा खासै नपाइने त्यो ठाउँमा आगो बाल्न पेमाले अगेनोको छेउमा सुकेको गोबरका टुक्रा राखेकी थिई र चुलोमा तावा बसालेकी थिई । चुलोको चारैतिर बस्न बाक्लो रौं भएको चौंरीको छाला ओच्छ्याइएको थियो । टसी, नोर्बु र छोराछोरीहरू चुलोको वरपर शान्त भएर बसेका थिए । तीते फापरको लगर र रातो खुर्सानीको अचार खान केटाकेटीहरू अधैर्य भएर बसेका थिए । पेमामाथि टसीको पनि श्रीमान् बराबर हक हुने भए पनि अरूको जस्तो श्रीमान्–श्रीमती जिस्किने, चल्ने, एक–अर्कालाई छुने जस्ता व्यवहार भने गर्दैनथे । श्रीमान्–श्रीमती भए पनि अरूजस्तै साधारण व्यवहार हुन्थ्यो । त्यो कुरा पेमा र टसीमा मात्रै होइन, समुदायभरि नै लागू थियो । व्यवहार र बोलीचालीको आधारमा को कसको श्रीमान् र को कसकी श्रीमती भनेर छुट्ट्याउन नयाँ मान्छेलाई गाह्रै पथ्र्यो ।

“म सोमबार बिहानै जानुपर्ने भयो, लामाले त्यही भन्नुभएको छ । माथि गाउँको तेन्जिङ, पेम्बा, लाक्पा र कार्मा पनि मसँगै जान्छु भनेका छन् । नुन त बेच्नै प¥यो,” नोर्बुको बोलीमा धेरै आत्मविश्वास थिएन ।

यसअघि पनि यो यात्रा कयौं पटक गरेको नोर्बु यसपटक भने थोरै डराएको थियो । नयाँ जिम्मेवारी उसको काँधमा थियो । त्यही काम क्याल्पो दाइको पछि लागेर गर्दा उसलाई कत्ति पनि डर लाग्दैनथ्यो । हिउँ पर्ने बेला शुरु हुन लागेको थियो । पोहोर हिमपहिरोले तल सराङ गाउँका २२ वटा याक मारेको कुरा उसको दिमागमा ताजा थियो ।

“टसी, तैले पनि त भेडाहरू पाटनबाट तल झार्ने बेला हुन लाग्यो नि, कहिले जान्छस् माथि ? जाडो आइसक्यो,” नोर्बुले अलि नरम स्वरमा भन्यो ।

“तिमीले याक लागेपछि म पनि माथि पाटनतिर जान्छु,” टसीले सानो भतिजलाई काखमा राख्दै भन्यो ।

आइतबार राति पेमाले करिब २०¬–२५ वटा फापरको लगर बनाई कपडाले बेरेर राखी । उसले पाल कसेर बाँधी र पालका डन्डीहरू पनि झिकेर राखी । उवाको सातु भाँडाबाट एउटा सानो झोलामा खन्याई र त्यसमा बलियो गाँठो पारी । त्योनजिकै सानो काठको चिया घोल्ने भाँडो र घोल्ने लट्ठी सँगै राखी । त्यति गरिरहँदा टसी छेउमा बसेर उवाको रक्सीको चुस्की लाउँदै थियो । ऊ बेला–बेला अरुले थाहा नपाउने गरी पेमाको शरीरको पछिल्लो भाग हेर्दै थियो । नोर्बु भने माथि गाउँमा साथीहरूसँग भोलि बिहानका लागि तयारी गर्न गएको थियो । शायद ऊ पनि साथीहरूसँग बसेर रक्सी पिउँदै थियो होला ।

\"\"करिब १० बजेतिर नोर्बु घरतिर फर्कियो । पूर्णिमाको रात थियो, आकाशमा अनगिन्ती ताराहरू थिए । चन्द्रमा सम्पूर्ण रूपमा गोलो, सुनौलो र ठूलो आकारको देखिएको थियो । तलको सानो खोल्सामा चन्द्रमाको प्रकाशले गर्दा पानी सुनौलो देखिन्थ्यो । स्यालहरू हुइँयाऽऽ हुइँयाऽऽ गर्दै लामो स्वरमा नजिकै कतै कराउँदै थिए । घोडाहरू मुख चलाउँदै शान्त भएर उभिएका थिए । गाउँका सबै घरमा बत्ती निभिसकेको थियो । ठूलो टाउको र शरीर भएका काला र खैरा भोटे कुकुरहरू घरको कुनामा मुन्टो लुकाएर सुतिरहेका थिए । खोलाको आवाज मन्द तर निरन्तर थियो । चारैतिरका अग्ला डाँडाहरू चन्द्रमाको प्रकाशले गर्दा उज्यालो देखिएका थिए । नोर्बु घरको अगाडि पुग्यो । गाउँका सबैजसो घरहरू चारपाटे ढुंगाहरूको चाङ लगाएर बनाइएका थिए । छाना भने काठको भाटामाथि माटो पिटेर सम्म बनाइएको थियो । नोर्बुको घरमा चुक्कुल लगाइएको थिएन । उसले ढोका खोल्यो, भित्र पस्यो र ढोका बन्द ग¥यो ।

अँगेनोको छेउमा तीन बच्चाबच्चीहरू सुतिरहेका थिए । टसी कुनामा खुट्टा खुम्चाएर सुतेको थियो । नोर्बुले भित्रको कोठा खोल्यो र भित्र पस्यो । पेमा पातलो ओढ्ने ओढेर पल्टिरहेकी थिई— निर्वस्त्र ।

नोर्बुले आफ्नो वस्त्र उतार्‍यो र पेमा सुतिरहेको खाटमा गएर पल्टियो । धेरै दिनपछि शायद रक्सीको मातले होला— आज ऊ अलि उत्तेजित देखिन्थ्यो । उसले पेमाको छातीमाथि हात राख्यो र यताउता मुसार्न लाग्यो । पेमाले नोर्बुको हात हटाई । पेमाको कपाल सुम्सुमाउँदै नोर्बुले उसको ढाडलाई आफ्नो छातीतर्फ तान्यो ।

पेमाको शरीर हुर्किएको रुखजस्तै खँदिलो, बाक्लो र चुरो थियो । फल फल्न तयार भएको चिल्लो पात, फैलिएका हाँगाबिगा, प्रशस्त फूल, बलियो फेद भएको रुखजस्तो पेमाका विकसित अंगहरूले नोर्बुको अंगलाई ढुंगाजस्तै कडा बनायो । नोर्बु एकाग्र भयो । उसको दिमागका प्रत्येक कोष, रक्तनली, अंग–प्रत्यंग सबै सम्भोगमा मग्न थिए र त्यसको लागि सम्पूर्ण तयारी पूरा गरिसकेका थिए । नोर्बु तयार थियो, पेमा तयार हुँदै थिई । पेमा अलि ढिलो तात्ने तर ढिलै सेलाउने बनोटकी थिई ।

ऊर्जा पाएपछि सुस्तरी मन्द गतिमा शुरु हुने यन्त्रजस्तो नोर्बु पेमाभित्र प्रवेश गर्‍यो र यान्त्रिक गति लिन थाल्यो । पेमाले नोर्बुको पछिल्लो भागलाई आफ्नो दुईवटा बलिया तिघ्राले च्यापी र आफूले पनि नोर्बुको गति पकड्न लागी । नोर्बुले केही क्षणमै हार मान्यो र पेमाको छातीमाथि शरण लियो । पेमा अझै क्रोधित सर्पजस्तै स्वाँ–स्वाँ गर्दै थिई, नोर्बु भने खुम्चिसकेको थियो । केही छिनपछि नोर्बुले आफ्नो र पेमाको शरीर अलग गर्‍यो र भित्तातिर मुख फर्काएर सुत्यो । पेमाको शरीर भने खुम्चिसकेको थिएन ।

बाहिरको चकमन्न अँध्यारो कोठामा लम्पसार परेर सुतेको टसीको आँखा खुल्लै थियो । पेमा र नोर्बुको यौनक्रिडाको श्रव्य उसको कानका जालीहरूबाट ओहोरदोहोर गरिसकेका थिए ।

झिसमिसे बिहानपख ‘नोर्बु दाइ, ओ नोर्बु दाइ’ भन्दै बाहिरबाट आवाज आयो । नोर्बु हत्तपत्त उठ्यो र लुगा लगायो । टसी पनि आँखा मिच्दै उठ्यो । पेमा भने भित्र कपडा लगाउन लागी, नोर्बु बाहिर निस्कियो, चुकुल खोल्यो ।

“दाइ जाने हैन ? कि अझै सुतिरहने हो ?” तेन्जिङले आँखा सन्काउँदै भन्यो ।

“जाने हो भाइ, सामान बाँध्नु पर्‍यो । भित्र आइज । तिमीहरू पहिला चिया खा अनि सामान बाँधौंला,” नोर्बुले कपाल कन्याउँदै भन्यो ।

त्यस्तै करिब बिहानको ३ बजेको थियो । बाहिर अत्यन्तै चिसो थियो, आकाशमा चन्द्रमा उसैगरी हाँसिरहेको थियो । खोलाको पानी छोइसक्नु थिएन । बोल्दा मुखबाट बाफ आइरहेको थियो । पेमा जाडोले काम्दै चुलोमा सुकेको गोबरका गुइँठा राखेर आगो बाल्न लागी । चुलोमाथि कित्ली राखी र चिया घोल्ने भाँडो कुनाबाट लिएर आई । टसी आँखा मिच्दै उठ्यो । पेमाले काठको र्‍याकबाट ४–५ वटा बटुका र चिया खाने साना भाँडा निकाली । प्रत्येक बटुकामा सातु राखी र त्यसमाथि थोरै तिब्बती घिउ राखी । पानी तातेपछि लामो काठको भाँडामा खन्याई, त्यसमा घिउ हाली, हरियो तिब्बती जडीबुटी र थोरै नुन राखी । उठेर एक हातले त्यो लामो भाँडाको माथि बाँधिएको पेटी बलियो गरी समाई, एक खुट्टाले भाँडाको तल भएको अर्को पेटीमाथि टेकी र अर्को हातमा लामो लौरोले तलमाथि गर्दै चिया मोथी । करिब दुई मिनटजति मोथेपछि सबै भाँडामा खन्याई र आफू पनि आगोनजिक बसी । सबै जना अगेनोको वरपर बसेर चिया पिउन लागे, सातु घिउमा मुछ्दै, डल्लो पार्दै खान लागे ।

\"\"चिया खाएपछि, तेन्जिङ र केही साथीहरू नुनको बोरा भित्रबाट झिक्दै बाहिर ओसार्न लागे । केहीले याकको ढाडमाथि राख्ने काठको पिर्का ओसारे । नोर्बु घरछेउकै गोठमा गयो । टसी र केही साथीहरूले नुनको बोरा याक भएतिर लिएर आए । याकको ढाडमाथि सबैभन्दा पहिले ढाड छोप्ने गरी बाक्लो कपडा राखियो, त्यसमाथि काठको पिर्का राखियो, त्यसलाई मेरुदण्डको आड दिएर दुईतिर झुन्ड्याइयो । माथि ढाडबाट डोरी लिएर तल पेटमा फन्को लगाई टपक्क बाँधियो । अगाडि घाँटीभन्दा थोरै तलबाट र पछाडि पुच्छरको माथिल्लो भागबाट बेरेर डोरी त्यही पिर्कामा बलियो गरी बाँधियो । त्यसमाथि करिब १५ किलोका दुईवटा बोरा दुईतिर मिलाएर बाँधियो । थचक्क बसेका याकहरूलाई उठाउँदै टसी भारी कस्दै थियो । पेमा खानेकुराको जोहो गर्दै थिई । नोर्बु चाँजोपाँजो मिलाउँदै थियो । साथीहरू पनि भारी बाँध्ने काममा लागेका थिए । धेरैजसो याकको ढाडमा नुनको बोरा बाँधियो, केही याकमाथि ठूलो पाल र पालको लामो डन्डी र केही याकमाथि भने खानेकुराको भारी बाँधियो । माहोल अलि तातेको थियो, थोरै हल्ला थियो । भित्र सुतेका केटाकेटीहरू सल्बलाउन लागेका थिए ।

एकछिनमा भारी बाँध्ने काम सकियो । करिब एक महिना यात्राको लागि तयारी करिब–करिब पूरा भयो । नोर्बुले छेउमा रहेको चिया घोल्ने भाँडो र रक्सीको ग्यालिन पनि याकको ढाडमा बाँध्यो । पेमा भित्र गएर घिउ रंगको करिब दुई हात लामा पाँच वटा कपडाका टुक्रा लिएर आई र प्रत्येकको घाँटीमा लगाइदिई । टसीले सबैसँग पालैपालो टाउकोले टाउको जोड्यो र अन्तिम बिदाइ ग¥यो । याकहरूले पाइला चाल्न थालेपछि घाँटीमा बाँधेका घण्टी बज्न लागे । ‘हैट ... हैट ... हैट’ गर्दै नोर्बु र साथीहरूले याक धपाउन लागे ।

वर्षौंको अनुभववाट याकहरूले यात्रा लामो छ, कठिन छ, जोखिमपूर्ण छ भन्ने बुझिसकेका थिए । उनीहरूको नियति यही थियो । याकहरूको नेता दोर्जे अघि–अघि लागेको थियो । उसको घाँटीमा घण्टी र तिब्बती अक्षर कोरिएको कपडा बेरिएको थियो । बाक्लो सेतो र कालो छिर्केमिर्के रौं र लामो पुच्छर भएको दोर्जेले अब एक महिनासम्म झुण्डको नेतृत्व गर्ने ठूलो जिम्मेवारी बोकेको थियो । नोर्बुको आशा–भरोसा ऊमाथि थियो । हिउँले सेताम्मै हुने ५ हजार मिटरभन्दा अग्ला लेकहरूमा भारी बोकेर कयौं पटक यात्रा गरेको सबैभन्दा धेरै अनुभव दोर्जेसँग मात्र थियो । यसअघि आफ्ना धेरै साथी गुमाएको तीतो अनुभव पनि दोर्जेले बोकेको थियो ।

दोर्जेलाई अघि लगाउँदै केही क्षणमै नोर्बु, उसका साथी र याकहरू तल छोर्तेनको प्रवेशद्वार हुँदै तलतिर पुगे । होहल्ला कम भयो, शान्त भयो, खोलाको आवाज फेरि सुनिन लाग्यो, टसी घरभित्र पस्यो । अझै उज्यालो भइसकेको थिएन । चन्द्रमा बिस्तारै पश्चिमतिर जाँदै थियो । आकाशमा अझै पनि अनगिन्ती ताराहरू चम्किरहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro