site stats
बाह्रखरी :: Baahrakhari
देश
मोतिबिन्दुबाट महिला बढी जोखिममा, यसरी सकिन्छ बच्न

काठमाडौं । आँखाको मोतिविन्दु रोगका पुरुषको तुलनामा बढी देखिने गरेको चिकित्सकहरुले बताएका छन् । तिलगंगा आँखा प्रतिष्ठानकी  वरिष्ठ नेत्ररोग तथा पर्दा रोग विशेषज्ञ डा. रवा थापाका अनुसार मोतिविन्दु रोगको जोखिम ५० नाघेका मानिसमा बढी हुन्छ । त्यसमा पनि पुरुषको औषत आयुभन्दा महिलाको औषत आयु बढी हुने भएकाले मोतिबिन्दु पनि उनीहरुको तुलनामा महिलामा बढी देखिने गरेको छ । डा. थापाका अनुसार पछिल्लो समय ग्रामीण भेगका महिलाहरुमा मोतिबिन्दुबाट अन्धोपना समस्या बढी देखिने गरेको छ ।

“अधिकांश महिला आँखा बचाउन नसक्ने अवस्थामा अस्पताल आइपुग्ने गरेका छन्,” डा. थापाले भनिन्, “आँखा  रोगमध्ये मोतिबिन्दुका रोगी  ३० देखि ४० प्रतिशतमात्र उपचारको पहुँचमा पुग्नेगरेका बिरामीमध्ये महिलाको उपस्थित निकै कम हुने गरेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २ करोड महिलाहरुमा मोतिबिन्दुका कारण अन्धोपनाको समस्या देखापरेको छ । १२ करोड महिलाहरुमा आँखासम्बन्धी विभिन्न समस्या छ  । ईन्टरनेसनल एजेन्सी फर द प्रिमेन्सन अफ व्याईन्डनेसको अध्ययनअनुसार सन् २०५० सम्ममा महिलामा मोतिविन्दुबाट अन्धोपनाको समस्या ३ गुणाले बढ्ने देखाएको छ ।  दिगो विकास लक्ष्यले सन् २०२० सम्ममा आँखा स्वास्थ्य उपचारमा महिला र बालबालिकाको पहुँच बढाउने  लक्ष्य राखेको छ ।

मोतिबिन्दु के हो ?
नेपालमा पनि अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्याहरु मध्ये मोतिबिन्दु प्रमुख कारण हो । मोतिबिन्दु भन्नाले आँखाको लेन्सको पारदर्शितामा कमि (धमिलोपना) आउने दृष्टि क्षमतामा कमी हुनु भन्ने बुझिन्छ । मोतिबिन्दु प्राय ५० वर्ष उमेर नाघेका मानिसमा देखा पर्नेहुन्छ । प्रतिष्ठानकी  वरिष्ठ नेत्ररोग तथा पर्दा रोग विशेषज्ञ डा. रवा थापाका अनुसार आँखाको लेन्स पारदर्शी हुन्छ । यो मुख्यतः प्रोटिन र पानी मिलेर बनेको हुन्छ । मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा विस्तारै अपारदर्शी हुन जान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुँदैन र व्यक्तिको दृष्टि कमजोर हुँदै जान्छ ।  

मोतिबिन्दु पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता सकिन्छ । मोतिबिन्दु छ कि छैन भनेर पत्ता लगाउनका लागि दृष्टि विशेषज्ञ विभिन्न किसिमका जाँच गर्छन् । आँखाको देख्ने क्षमता वा भिजुअल एक्युटी, स्लिट ल्याम्प आदिबाट मोतिबिन्दुको अवस्था पत्ता लगाउन सकिन्छ । डा. थापाले बताइन्, “मोतिबिन्दुको सबैभन्दा प्रभाबकारी उपचार  नै शल्यक्रिया हो । यो रोग औषधीले ठिक हुँदैन ।”

मोतिबिन्दुका लक्षण
दृष्टि धमिलो भएर जाने, एउटै वस्तु दुइटा देखिने
उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने ।
अँध्यारोमा हेर्न गाह्रो हुने, चश्माको पावरमा परिवर्तन आइरहने 
रंगहरु फरक देखिन थाल्ने आदि ।

मोतिबिन्दुबाट कसरी बच्ने ?
आँखालाई चोटपटकबाट जोगाउने
चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने
पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
नियमित आँखाको परिक्षण गराउने
गर्भावस्थामा आमाको उचित हेरचाह गर्ने
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०५:४५
प्रतिक्रिया दिनुहोस्