मामा ! म समाचारमा के देख्दैछु ?
के देख्यौै र ?
तपाईं त आफैं नेता मान्छे, के गरेको यस्तो ?
के भयो र ?
गे हेण्डसम भन्ने खबर पो आइरहेको छ त ?
हो, तिमीले जे सुन्यौ, त्यो सही हो ।
ओके, बधाई छ !
० ० ०
भान्जाको फोन आएको केही समयपछि मनिलको फेसबुक च्याटमा म्यासेज आउँछ ।
अंकल कंग्राचुलेशन !
मनिल थ्यांक्यू लेख्छन् ।
आफ्नै भतिजीको च्याट थियो ।
० ० ०
केही दिनपछि घरबाट भाउजुको फोन आउँछ । सञ्चो विसञ्चो सोधखोज हुन्छ । बाँकी केही कुरा हुँदैन ।
मनिल ‘गे ह्याण्डसम– २०१७’ भएपछि पहिलो पटक यही माघ पहिलो साता घर जाँदैछन् । तर, उनलाई विश्वास छ, परिवारका सदस्यले उनलाई केही भन्नेछैनन् । किन यसो गरिस् भनेर औंला उठाउने छैन ।
सर्लाही चन्द्रनगर गाउँपालिका ७ नम्बर मनिलको घर हो । उनको गाउँमा आजसम्म कोही पनि समलिंगी हुँ भन्दै खुलेको छैन । “मैले केही व्यक्ति मजस्तै देखेको छु । केही तेस्रो लिंगीहरुलाई पनि देखेको छु,” मनिल गाउँ फर्किन्छन्, “तर मैलै पनि उहाँहरुलाई म यस्तो हुँ भनेको छैन, उनीहरुले मेरो पहिचान थाहा पाएका छन् या छैनन् मलाई थाहा छैन ।”
उनी घरको प्यारो छोरा हुन् । “बुवा आमाको प्यारो छोरो हुँ म । मैले आजसम्म उहाँहरुको चित्त दुखाएको छैन । र सायद उहाँहरुले पनि मेरो चित्त देखाउनु हुन्न होला,” मनिल आशावादी देखिए ।
० ० ०
अघिल्लो हप्ता राजधानीमा भएको ‘गे ह्याण्डसम– २०१७’ प्रतियोगितामा जम्मा १६ जना सहभागी थिए । त्यसमा मनिल पनि एक थिए ।
कसरी आए उनी प्रतियोगितामा ?
उनलाई कहिल्यै लागेन आफ्नो लैंगिकता समाजलाई भन्दै हिँड्ने विषय हो । कक्षा ७ मा पढ्दा उनले आफू आम केटाभन्दा फरक छु भन्ने लागेको थियो । कक्षा ११ मा आइपुग्दा उनले समलिंगी हुँ भन्ने थाहा पाइसकेका थिए । तर, उनले न परिवारलाई भने साथीसंगीलाई । आफैंभित्र राखिरहे आफ्नो कुरा ।
कहिल्यै भनेनन् म समलिंगी पुरुष हुँ भनेर । त्यही दिन थाहा भयो, जुन दिन उनी मिडियामा देखिए ।
० ० ०
यौनिक तथा लंैगिक अल्पसंख्यककी अभियान्ता पिंकी गुरुङले उनलाई फोन गरिन् । भनिन्, “मनिल समाजमा जाने यो राम्रो अवसर हुन सक्छ, ब्युटी प्याजेन्ट हुँदैछ । एक पटक विचार गर ।”
“प्रतियोगी पुगेनन् भनेमात्रै नत्र म सहभागी हुन्न,” उनको जवाफ थियो ।
भाग्य भनौं या दुर्भाग्य ! मनिल घरमै थिए । गुरुङले फोन गरिन्, तिमी पनि सहभागी हुनुपर्यो ।
उनले नाइँ भन्न सकेनन् । सहभागी भए । उनीसँगै थिए १५ प्रतिस्पर्धी । पूर्व मिस नेपाल माल्भिका सुब्बा र कोरियोग्राफर राजेश लामा लगायतले ग्रुमिङ ट्रेनिङ दिए ।
मनिलको आत्मविश्वास बढ्दै गयो । प्रतिस्पर्धीलाई हेरे, लाग्यो टप थ्रिमा त कसो नपरिएला ?
प्रतिस्पर्धाको दिन आयो । प्रतियोगिता सुरु भयो । नतिजा घोषणा भयो । मनिलले टाइटल जिते ।
० ० ०
नामः मनिल सिंह
उमेरः २९
घरः सर्लाही
अध्ययनः सोसल वर्क (बीए)
भाइको विवाह भैसकेको रहेछ । पालो तपाईंकै रहेछ नि ! मनिल अलि लजाए ।
विवाहका लागि शारीरिक मात्रै होइन, मानसिक रुपमा पनि तयारी हुनुपर्छ कि ? उनी तर्क गर्छन् ।
मनिल समलिंगी पुरुष हुन्, उनका प्रेमी पनि समलिंगी पुरुष नै हुन् । आफूजस्तै व्यक्ति भेटे, मन मिल्यो । माया बस्यो । प्रेमको डोरीमा बाँधिए उनी ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई उनी विवाहमा परिणत गर्ने सोचमाा पनि छन् । “विवाह कहिले गर्छु, त्यो त मलाई पनि थाहा छैन,” उनी भन्छन्, “म जहिले आफ्नै खुट्टामा उभिन सक्ने आत्मनिर्भर हुन्छु, सायद त्यही बेला विवाह गर्छु होला ।”
समलिंगी विवाहलाई मान्यता दिने कानुन बनिसकेको छैन । “कति समलिंगी जोडीहरु लिभिङ टुगेदरमा छन् । कानुनले बाटो नखोले पनि उनीहरु बसिरहेकै छन्,” मनिल भन्छन्, “विश्वका विकसित राष्ट्रले अंगिकार गरेको सम्बन्धलाई यहाँ पनि मान्यता दिनुपर्छ ।”
परिवर्तन हुरीबतास हैन, छिनमै आउने । मान्छेको मन सडकको धुलो हैन, हावाले उडाएर लैजाने । मनिल यसै भन्छन्, “समाजले धारणा बदल्न समय लाग्छ । तर त्यो ढिलो चाँडो हुनैपर्छ, म ढुक्क छु, हामीले खोजेको परिर्वतन हुन्छ ।”
बाबुआमाले जन्म दिए, दिदीभाइ सरह उनको जन्म भयो । फरक यौनिकता मात्रै हो । “मेरो के दोष छ ? यो समाजमा आउनु को ? मैले पनि अरुसरह जन्म लिएको हुँ । कुनै ग्रहबाट आएको हैन,” उनी थप्छन्, “पौराणिक कालदेखि हाम्रो अस्तित्व रहेको छ । मन्दिरका टुँडाल हेरे मात्रै पुग्छ । त्यहाँ समलिंगी सम्बन्धलाई देख्न सकिन्छ । त्यो बेला हाम्रो अस्तित्वलाई स्वीकार गर्ने समाज अहिले हामीलाई किन स्वीकार्दैन ?” उनी प्रश्न गर्छन् ।
उनलाई समाजमा म फरक छु भन्ने लाग्दैन । महिला पुरुष सरह छु जस्तो लाग्छ । तर समाजले सधैं प्रश्न गर्छ,– लाग्छ उनी फरक छन् । “हामी पनि त महिला पुरुष सरह हौं । मायाप्रेम गर्ने हाम्रो पनि मन छ, र अधिकार पनि ।”