Skip Advt.

साहित्य र कला

फेरि त्यो दिन सम्झन चाहन्नँ...

फेरि त्यो दिन सम्झन चाहन्नँ...
अक्षर काका

२०६९ माघ २५ गते एउटा समाचारले सनसनी मच्चायो– गायक सुगम पोखरेल लागूऔषध दुर्व्यसनीको आरोपमा पक्राउ ।

यो समाचार उनको परिवारका लागि जति ‘शकिङ’ थियो, त्यत्तिकै अपत्यारिलो थियो– फ्यानहरूका लागि ।

संगीत करिअरको उच्चमतम बिन्दुमा सुगमले यो नियति भोग्लान् भनेर कसैले चिताएको थिएन । सुगम स्वयंलाई पनि लागेको थिएन ।

तर, उनी त्यो इतिहास सम्झिन चाहन्नन् ।

आफ्नै गीतका शब्द उद्धृत् गर्छन्, “फेरि ती दिन सम्झन चाहन्नँ, त्यही कथा म दोहोर्‍याउन चाहन्नँ ।”

० ० ० 

काममार्फत सुगम छोटै समयमा नाम र दामको राजमार्गमा दौडिए । त्यो सफलताको राजमार्गमा उनले खाल्डो देखेनन्, लडे । र, उठे पनि । युवावयमै कमाएका असंख्य फ्यानहरू निराश हुन पाएनन् । अनेक हन्डर–ठक्करका पर्याय बनिसकेका सुगम ‘कुबाटो’ छाडेर ‘मूलबाटो’मै फर्किए । त्यो पनि आफ्नै बलबुतामा ।

आफूले रछ्यानमा फ्यालिसकेका ती दुर्दिनहरूलाई उनी सम्झिन त चाहँदैनन् तर पनि भन्छन्, “त्यो एउटा ‘इन्सिडेन्ट’ थियो, त्यसलाई मैले जीवनकै ‘बिग लेसन’को रूपमा लिएको छु ।”

खोलासँग सङ्लिने अनि धमिलिने गुण दुबै हुन्छ । मानिसमा पनि त्यो गुण हुन्छ । सुगमले पनि कञ्चन बन्न भरमग्दुर प्रयास गरे र बने पनि । 

ठेस नलाग्ने हो भने मानिसहरू शायदै बाटो हेरेर हिँड्थे । त्यो घटनापछि उनले पनि बाटोमा चारैतिर आँखा डुलाएर हिँड्न थालेका छन् । 

सुगम आजपर्यन्त नेपाली सुगम संगीतको ढुकढुकी हुन् । ०५२ सालमा ‘वन एमबी’बाट यो दुनियाँमा छिरेका सुगमको आवाजमा मन्त्रमुग्ध नहुने र स्वरको जादूमा नलठ्ठिने संगीत पारखीहरू कमै छन् । र त, नेपाली सांगीतिक उद्योगमा उनी आजपर्यन्त उस्तै रफ्तारमा अविराम अघि बढिरहेका छन् ।

तर, उनी यसै सुगम भएका होइनन् ।

बाल्यकाल

०३६ असोज ४ गते मोरङको भलुवा मंगलरबारेमा उनले पहिलो पाइला टेके । भलुवामा मंगलबार र शुक्रबार हाट बजार लाग्थ्यो, त्यही भएर ठाउँको नामै मंगलबारे रहेको उनले आमाबाट सुनेका थिए । पिता गावैंका ‘वकिल’ थिए । कपाली तमसुक, भरपाइ गरिदिने मात्र होइन, अदालती काजगपत्र पनि तयार पारिदिन्थे । पेसाले उनी मालपोत कार्यालयका लेखनदास थिए । सुगमले सुनाए, “वकालत त पढ्नु भएको होइन तर पनि गाउँमा सामान्य निवेदन लेख्न पनि मानिसहरू दगुर्दै आइपुग्थे । त्यसैले होला उहाँलाई सबैले वकिलै भन्थे । म वकिलको छोरो पो हुँ, बुझ्नुभो ?”

सुगम मुस्कुराए ।

उनका पिता पहिला झापाको गौरादहमा बैंकमा जागिरे थिए । “तर, हजुरबाले जेठो छोराले नपाल्ने भयो भनेर घरबाट हामफालेर हातखुट्टा भाँच्नु भएछ, अनि बाबाले लेखनदास पेसा सुरु गर्नुभयो । अहिले पनि चारपाँच सहयोगी राखेर काम गर्दै हुनुहुन्छ,” उनले सुनाए ।

चार छोराछोरीमध्ये उनका बाबु जेठा सन्तान हुन् ।

सुगमले प्रारम्भिक शिक्षा–दीक्षा मिनील्यान्ड स्कुलबाट लिए । ४ कक्षासम्म त्यहीँ पढे । सिद्धार्थ शिशु सदन विराटनगरबाट माध्यमिक तह उत्तीर्ण गरे । उनको बाल्यकाल औसतै बित्यो । पढाइमा तेज नभए पनि मन्द भने थिइनँ भन्छन् सुगम । गाउन सानैदेखि रुचि थियो । स्कुलमा सरस्वती पूजा, अभिभावक दिवसका दिन उनी गाउन अघि सरिहाल्थे । ‘तेरो स्वर राम्रो छ, तैंले गीत गाउनै पर्छ’ भनेर साथीहरू पनि हौस्याउँथे । गीत गाइसकेपछि साथीहरू पुनः भन्थे, “मीठो गाइस्, भोलिपर्सि त गायकै बन्छस् ।”

गीत गाउनुसँगै उनी पौडी पनि खेल्थे । एउटा दुःखद् प्रसंग सुनाए, “म स्यानै थिएँ, भलुवाबाट विराटनगर पढ्न गइसकेको थिएँ । आफू पढेलेखेको र लेखनदास काम गर्ने भएकाले होला बाबु पढ्न मात्रै जोड दिनुहुन्थ्यो । खेल्न त उहाँको आँखा छलेर मात्रै जानु पथ्र्यो । त्यस्तैमा एकदिन उहाँ निदाएको मौका पारेर पौडी र छुर खेल्न हामी घरबाहिर गएका थियौँ । छुर खेल्ने क्रममा म, मणिराम पोखरेल, राजन श्रेष्ठ मिलेर कोदालाले घेरा तयार पार्दै थियौँ । राजनले उज्ज्याएको कोदालो अचानक मेरो टाउकोमा बज्रियो । मैले त थोरै काट्यो होला भन्ठानेको, रगतपच्छे भएको देखेर सबै आत्तिए । त्यसपछि बाबाको अनुमतिबेगर बाहिर निस्कनै बन्द भयो ।”

हिरो बन्ने सोख

सुनील पोखरेल (जेठा दाइ) र सूर्यमाला खनाल टेलिचलचित्र ‘लक्ष्मनीया’ छायाँकनका लागि विराटनगर गएका थिए । उनीहरूलाई बाल कलाकार चाहिएको रहेछ । सुनीलले भनेछन्, “यो केटो फुर्तिलो छ, यसलाई खेलाऊँ ।”

सुटिङ युनिटले सहमति जनाएपछि सुगम बाल कलाकार चुनिए ।

“नाम चलेकै साहित्यकारले लेखेको कथा थियो त्यो । मैले त खै कस्तो अभिनय गरेँ, खासै सम्झना छैन । टेलिभिजन हेर्ने गाउँका मानिसहरूले चाहिँ तैँले राम्रै अभिनय गरिस् भन्नुभएको थियो । त्यही कारणले हुनुपर्छ– ममा हिरो बन्ने उत्कट रहर जाग्न थाल्यो,” बाल्य हुटहुटी सुनाए उनले ।

साथीहरूलाई फिल्मको पोस्टर देखाउँदै सुगम भन्थे, “हेर केटा हो, म नि त्यस्तै हिरो बन्ने हो ।”

तर, उनी कहिल्यै हिरो भएनन् ।

तीन गीत ‘सुपर फ्लप’

०५२ मा उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आए । मनमा अनेक रहर थिए । त्यसमध्ये एक थियो– गायक बन्ने । तीन दाजुभाइ र दुई दिदीबहिनीमा उनी कान्छा थिए । त्यसैले बाबु भन्थे, “कान्छोलाई पढ्न मुलुकबाहिर पठाऊँ ।”

खै के मिलेन– उनी पढ्नका लागि काठमाडौँ पठाइए । उनी रंगकर्मी दाइ सुनीलसँग अनामनगरमा बस्न थाले ।

दाजुकै सल्लाहमा उनी प्रदर्शनीमार्गको रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता र राजनीतिशास्त्रतर्फ पढ्न थाले । तर, उनको मोह संगीतमा थियो । संयोगवश सुदिन पोखरेल भेटिए । कलेज एउटै र घर पनि विराटनगरै भएकाले उनीहरूको दोस्ती जम्न समय नै लागेन । सुदिन पनि संगीतमा रुचि राख्थे । त्यसपछि त के चाहियो र ! दुबैमा गीत रेकर्ड गराउने चाहना तीव्र भयो । सुगमले सुदिनलाई भने, “हामी गीत रेकर्ड गरौँ ।”

यस्तो कुरा सुनेपछि सुदिन पनि फुरुंग परे ।

सुगमले दाजुसँग पनि सल्लाह गरे ।

सुनीलले ‘अहिले नै बेला भएको छैन, सिक्न बाँकी छ’ भन्दै थिए तर उनीहरूको हठका अगाडि लल्याकलुक भए । अनामनगरकै आभास फुयाँलको नाद स्टुडियोसम्म पुर्‍याइदिए । सुगम र सुदिन मिलेर ‘म माया गर्छु’ भन्ने गीत रेकर्ड गराए । आफ्नो आवाजको गीत सुन्दा उनीहरू दंग परे ।

उनीहरू जति फुर्किए पनि गीत जमेन । सुगम भन्छन्, “हामीलाई त ठीकै लागेको थियो तर गीत सुपर फ्लप भयो ।”

त्यतिबेला कलेक्सन एल्बमहरू धेरै निस्कन्थे । उनीहरूले धेरै ठाउँमा प्रयास पनि गरे तर कसैले त्यो गीत कलेक्सनमा हालिदिएन । उनी सम्झन्छन्, “सुनील दाइले त भन्नुभएको थियो मेहनत पुगेको छैन भनेर । हामी भने गीत रेकर्ड गरायौं भनेर दंग थियौं ।”

त्यसको ३–४ महिनापछि उनीहरूले जेम्स प्रधानको स्टुडियोमा ‘पाएर तिमीलाई यस्तो खुसी छु’ भन्ने दोस्रो गीत रेकर्ड गराए । त्यसले पनि पानी पिउन पाएन । सुगम भन्छन्, “दोस्रो गीत त पहिलोभन्दा पनि झुर पो बनेछ । मेहनत त नगरेको होइन तर लिरिक्स, भोकल, कम्पोजिसन, म्युजिकल इन्स्ट्रुमेन्टले साथ दिएनन् ।”

उनीहरू हार मान्नेवाला थिएनन् । केही समयको अन्तरालमै उनीहरूले तेस्रो गीत ‘पन्छी’ निकाले । त्यसको हविगत पनि अघिल्ला दुइटाको भन्दा फरक भएन । तेस्रो गीत रेकर्ड गरेपछि उनी र सुदिनको सहयात्रा लगभग टुंगियो । उनी अध्ययनका लागि विराटनगर गए । 

सुरु भयो रेडियो यात्रा

पैसा सधैं घरबाट ल्याउँथे । त्यसले पढाइसँगै संगीत सिक्ने र गीत रेकर्ड गर्ने खर्च नै धान्न मुस्किल हुन्थ्यो । त्यति नै बेला दाइ सुनीलले ‘रेडियो सगरमाथा’का स्टेसन म्यानेज हेमबहादुर विष्टलाई भनेर स्वयमसेवी रूपमा सुगमलाई छिराइदिए । र, सुरु भयो उनको रेडियो यात्रा ।

०५५ सालको सुरुवाततिरबाट उनले रेडियोको जागिर सुरु गरे । लाइब्रेरियनबाट सुरु भएको उनको रेडियोयात्रा पछि आरजे भएर १०–१२ वर्ष बिताए । गीत–संगीतका लागि रेडियो ठूलो ‘प्लेटफर्म’ थियो । नयाँ तथा पुराना गायक÷गायिकासँग भेट हुन्थ्यो । उनीहरूको संघर्ष, सफलतालाई नजिकबाट नियाल्ने अवसर पनि पाए सुगमले । रेडियो उनका लागि पाठशालाजस्तै भयो ।

रघु मैनाली, मधु आचार्य, किरण नेपाल, जितेन्द्र राउतका अतिरिक्त विजय पौडेल, हिमाल न्यौपाने, नारायण श्रेष्ठ, सरोज अर्याललगायत थुप्रै व्यक्तित्वहरूसँग उनले काम गर्ने र सिक्ने मौका पाए रेडियोमा । त्यसले उनको सांगीतिक करिअरमा अझ निखार ल्यायो । रेडियोमा काम गर्दागर्दै उनले पुतलीसडकमा गितार कक्षा पनि लिए । त्यसबेला उनी दिनको १० घण्टासम्म काममा खटिन्थे ।

अनि उचाइ लियो संगीतले

असफलता नै सफलताको द्योतक हो । सुगमको जीवनमा पनि भइदियो त्यस्तै । तीन वटा गीत ‘फ्लप’ भइसकेका थिए तर पनि उनी रोकिने पक्षमा थिएनन् । उनी ‘गर या मर’को अवस्थामा थिए ।

रेडियो प्रवेशपछि उनले गीत/संगीतका बारेमा पनि प्रशस्तै सिक्ने अवसर पाएका थिए । रेकर्डिङमा कस्ता–कस्ता प्रविधि अपनाइन्छन्, पर्दा पछाडिको खेल कस्तो हुन्छ भन्ने जान्ने र बुझ्ने मौका पाए ।  ‘होमवर्क’ गरेर मात्रै गीत रेकर्डिङ गर्नुपर्ने रहेछ भन्ने तत्वबोध पनि त्यतिबेलै भयो ।

त्यस्तैमा एकदिन एबीसी ब्यान्डका आश्विन दाहालले उनलाई भेटे र भने, “एउटा गीत कम्पोज गरिदेऊ न भाइ ।”

०५२ सालताका ‘सुनचरी’, ‘एक्लो यात्रा’ भन्ने उनका गीत निकै चर्चित बनेका थिए । सुगम पनि ‘आफ्नो त कर्मै अभागी फुटेको पो रहेछ’ भन्ने गीत कम्पोज गरिरहेका थिए । कम्पोजको आग्रहसँगै आश्विनले सुगमलाई भने, “गीत रेकर्ड गर्नुपर्ने, कुन स्टुडियो राम्रो होला ?”

सुगमले सुनेका थिए– न्युरोडमा ‘तास’ भन्ने स्टुडियो छ । त्यहाँ ‘अटोट्युनर’ र ‘एक्स्ट्रा इफेक्ट’ पनि प्रयोग गरिन्छ ।

उनीहरू गीत रेकर्डका लागि त्यहीँ पुगे । त्यहाँको ‘साउन्ड इफेक्ट’लाई आधार मानेर उनले एउटा गीत रेकर्ड गर्ने सोच बनाए । उनी त्यतिबेलाको क्षण सम्झन्छन्, “तीन पटक असफल भइसकेकाले होला– म नयाँ गीत गर्न डराइरहेको थिएँ । त्यहाँको इफेक्टलाई आधार बनाएर मैले ‘मेरो संसार तिमी नै हौ’ भन्ने गीत कम्पोज गरेँ ।”

त्यतिबेला अंग्रेजी ‘शेर’ भन्ने गायिकाको ‘डु यु विलिभ लाइफ आफ्टर लभ’ भन्ने गीत खुबै चलेको थियो । त्यसमा पनि त्यस्तै इफेक्ट प्रयोग गरिएको थियो ।

रेकर्ड गरेको हप्तादिन नबित्दै सुगमको ‘मेरो संसार’ले तहल्का मच्चायो ।

“रेकर्डिङकै क्रममा साथीहरूले त भनिसकेका थिए– यो गीत स्योर हिट हुन्छ,” उनले त्यसबेलाको क्षण स्मरण गर्दै भने, “मैले पत्याएको थिइनँ । त्यसैले गीत बुझाउन जाँदा एफएमहरूमा आफ्नो नाम पनि छोडेको थिइनँ, ‘वन् एमबी’ भनेर दिएको थिएँ । तर, गीत निकै लोकप्रिय भयो ।”

‘मेरो संसार’ फास्ट टाइपको गीत र इफेक्ट पनि प्रयोग भएकाले उनले अलि फरक तरिकाको गीत गर्न खोजिरहेका थिए । केहीले भन्थे– यो गीत इफेक्टका कारण पनि चलेको हो । त्यसैले पनि उनले अर्को गीत गर्न जरुरी ठानिरहेका थिए । उनले कम्पोज गरे– फेरि त्यो दिन सम्झन चाहन्नँ ।

विगतका केही असफलता, माया–प्रेमका केही मसलाहरू समेटिएकाले त्यो गीतले सुगमलाई चर्चाको शिखरमै पुर्‍याइदियो । गीत चोक, चौतारी हुँदै सवत्र युवाको मन मस्तिष्कमा फैलियो । एफएम रेडियोमा स्रोताले ‘फर्माइस’ गर्न थाले । वास्तवमा उनलाई त्यो गीतले ‘सुगम’ बनाइदियो । गीत रिलिज गरेको धेरै समयपपछि म्युजिक भिडियो रिलिज गरे । म्युजिक भिडियो बजारमा आएपछि उनको बजार अझै ‘बुम’ भयो ।

दुइटा गीत चलेपछि बल्ल उनको आँट आयो– अब एल्बम निकाल्नु पर्छ ।

“८ वटा गीत समावेश गरिएको एल्बम निकाल्नु निकै खर्चिलो कुरा थियो, फेरि मसँग पैसा पनि थिएन,” उनले पुराना दिन सम्झिए । 

‘फेरि त्यो दिन’पछि उनले वास्तवमै पछाडिका दिन सम्झनु परेन । ‘शून्य’, ‘हाइवे’, ‘सूत्र’, ‘सुगमयात्रा’, ‘स्कुल पाठशाला’ हुँदै ‘श्वेत हंसिनी’सम्म आइपुग्दा उनले लामो यात्रा तय गरिसकेका छन् र उनले नेपाली पप–संगीतमा विशिष्ठ छाप छाडेका छन् ।

अहिले पनि उनी संगीत साधनामै दत्तचित्त छन् । उनलाई चिन्ने र जान्नेहरू भन्छन्– उनी संगीतकै लागि जन्मिएका हुन् । र, गीत गाउन उनलाई प्रकृतिले नै सिकाएर पठाएको छ ।

र, भेटिइन् लिजा

उनले जीवनमा तीनवटा केटीलाई ‘आई लभ यु’ भनेका छन् रे ! दुइटी कता पुगे, पत्तो छैन । तर, एउटी युवती उनको जीवनमै गाँसिइन् ।

‘फेरि त्यो दिन’ले बजार तताइरहेको थियो । वाहवाही बटुलिइरहेका बेला उनको जीवनमा जोडिन आइपुगिन् लिजा शर्मा । 

कसरी भेटिइन् त उनी ?

उनले हाँस्दै त्यो क्षण सम्झिए, “मेरो एकजना मिल्ने केटी साथी थिइन्, लिजा उनको साथी रहिछन् । उनैले मेरो नम्बर दिएपछि लिजाले मलाई जिस्क्याउने नियतले ‘ब्लफकल’ गर्न थालिन् । कुराकानी बढ्दै जाँदा खै कति बेला माया पीरति बस्न पुगेछ, पत्तै भएन ।”

दुई–तीन वर्ष प्रेम गरेर उनीहरूले ०५९ असार १९ गते लगनगाँठो कसे ।

अनि दुई ‘आई लभ यु ?’

यसो भनेर सोध्दा उनी ‘नोस्टाल्जिक’ भए र आँखीभौँ खुम्च्याउँदै भने, “पहिलो अव्यक्त प्रेम थियो । म कक्षा ५ मा पढ्थेँ । ३ कक्षामा पढ्ने एकजना केटी थिई, उसले एकदिन कागजमा पोको बनाएर लेखेर फाली । त्यसमा लेखिएको थियो– ‘मेरो दाइ हुनुहुन्थ्यो सुगम, उहाँ बित्नुभयो, त्यही भएर तपाईं मलाई औधी मन पर्छ ।”

उनले पनि मौनतामै स्वीकृति जनाए र मनमनै भने– ‘म पनि तँलाई माया गर्छु नि काली !’

अर्को–

कक्षा ८ मा पढ्दा सुगमको घरछेउमै बस्ने एकजनासँग खुब हेराहेर हुन्थ्यो । उनी पनि सुगमको छेउमा आउन लजाउँथिन् र ओठमुख रातो बनाउँथिन् । त्यो प्रेमको अध्याय पनि हेराहेर र देखादेखमै टुंगियो ।

यसपटक भने सुगम धक फुकाएर हाँसे ।

जीवनको कालो अध्याय

मैले अचानक प्रश्न गरें, “सफलताको उकालोमा लम्किरहेका बेला किन बाटो बिराउनुभयो ?”

त्यसपछि उनको अनुहारमा एक्कासि सन्नाटा छायो । आँखाको आकृति फेरियो । अनुहारको भाव म पढ्न र अनुभूत गर्न सक्थेँ– उनलाई विगतप्रति भयंकर पश्चातापबोध छ । उनी भुल्न चाहन्छन् त्यो कालो अतीत । 

भने, “मैले रछ्यानमा फालिसकेँ ती दिन ।”

मैले थोरै कोट्याउन चाहेँ, “कसरी भयो त्यस्तो ?”

उनले गम्भीर हुँदै सुनाए, “वास्तवमा म सफलताबाट मात्तिएको रहेछु । संघर्षमार्फत नै प्राप्त गरेको सफलताले मलाई कुबाटोतर्फ डोर्‍याउला भनेर कहिल्यै कल्पना गरेको थिइनँ । तर, भइदियो त्यस्तै ।”

अनुहारको रोगन अझै बदलियो । उस्तै भावुक देखिए ।

“म दुर्व्यसनीजस्तै भइसकेको थिएँ । पक्राउ पर्नुअघि तीन महिनादेखि नियमितजस्तो नै ‘ड्रग्स’ सेवन गर्थें । पक्राउ पर्ने दिन पनि मैले एकजना भाइलाई लागूऔषध किन्न पैसा दिएको थिएँ । ऊ पक्राउ परेपछि म पनि समातिएको हुँ । त्यो मेरो जीवनको पाठ हो, यसलाई मैले भुल्नुपर्छ तर बिर्सनु हुँदैन ।”

एकरात हिरासतमा बसेर थुनामुक्त भए । त्यसपछि उनी दुर्व्यसनीबाट पनि मुक्त भए ।

उनलाई एउटा कुरामा खुसी पनि लाग्छ र दुःख पनि । काठमाडौंको सेतोपुलबाट उनी लागूऔषधसहित पक्राउ परे भनेर ब्रोडसिटले ठूलै महत्व दिएर समाचार छापे । त्यसपछि ‘फलोअप’ समाचार पनि आइरहे ।

तर, उनी लागूऔषधसहित पक्राउ परेका थिएनन् । निःसन्देह उनी प्रयोगकर्ता थिए । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो तर समाचारसंस्थाहरूले अपराधीझैं प्रस्तुत गरे । 

“त्यो एक किसिमको अन्याय नै थियो,” भन्छन्, “सांगीतिक आकाशमा उचाइ लिँदै गएको मानिसबारे अचानक त्यस्तो समाचार आउँदा शुभचिन्तकहरूलाई गम्भीर असर पार्‍यो  । सुगम सुध्रियोस् भनेर पो त्यसो गरेका हुन् कि, मैले सकारात्मक रूपमै लिएँ । त्यो घटनापछि म सुध्रिनु थियो, सुध्रिएँ ।”

त्यो घटना र मिडियाका चर्चा–परिचर्चापछि उनको मनले यस्तो पनि सोच्यो– म त साँच्चै ‘पपुलर’ पो रहेछु !

लागूऔषध सेवन गर्ने गरेका कारण पक्राउ परेपछि घर–परिवारमा पनि निराशा छायो । इष्टमित्र, नरनाताका मानिसहरूले तारन्तार फोन गर्न थाले । उनको छातीको देब्रे पाटोमा चसक्क भयो । 

उनी भन्दैथिए, “मेरो छातीको देब्रे पाटो छोएपछि म वास्तवमै प्रतिज्ञा गर्छु । त्यसैले पनि मैले दुर्व्यसनी त्याग्न सकें ।”

जस्तै अप्ठ्यारो परिस्थितिमा पनि साथ दिने लिजाको स्वभावले उनी नतमस्तक भए । प्रहरी हिरासतबाट बाहिरिँदा पनि लिजाको अनुहारमा उनीप्रति घृणा या आक्रोशको क्लेष थिएन । बरु घर–परिवारकै अघिल्तिर भनिन्, “म सम्हाल्छु सुगमलाई । साथ लागेको मानिसले दायाँबायाँ गोडा तेर्स्यायो भने पनि उसलाई मूलबाटोमा हिँडाउने दायित्व सहयात्रीकै हो ।”

उनलाई सधैं लाग्छ, “लिजा नभइदिएको भए के थाहा– म  दुर्व्यसनीकै दलदलमा फसिरहेको हुन्थें कि !”

त्यसपछि उनलाई लिजा श्रीमती होइन, ‘भगवान्’जस्ती लागिन् । केही महिनाको अन्तरालपछि नै उनी संगीतमा फर्किए ।

अहिले पनि कहिलेकाहीँ साथीभाइ जमघट हुँदा कसैले भन्छ– ब्रो एक डोज लिने होइन ?

उनी सबैले सुन्ने गरी भन्छन् रे– मैले छाडिसकेँ । सुन्यौ ?

त्यसपछि उनीहरू आफैँ खिस्रिक्क पर्छन् । लागूपदार्थ छोडिसक्दा पनि आफूप्रति हुने व्यवहार र मानिसहरूको बुझाइ देख्दा उनलाई कहिलेकाहीँ दिक्क लाग्छ ।

‘धेरै कुरा किताबमा भन्छु’

गीत/संगीतका अतिरिक्त उनी पुस्तक पढ्न अति नै रुचाउँछन् । पढ्ने कुरा उनले दाइ सुनीलबाट सिकेका हुन् । फुर्सद हुनेबित्तिकै उनी पढ्न बसिहाल्छन् । फिल्म हेर्ने उनको अर्को सोख हो । तर, उनको अचम्मको बानी छ– उनी हल जाँदैनन् । घरमै डीभीडी जम्मा गरेर घण्टौँ फिल्म हेरिरहने स्वभाव छ उनको ।

देश–विदेशमा सांगीतिक प्रस्तुति दिन पुगेकै छन् । चलचित्रमा गीत गाएकै छन् । एल्बममा काम पनि गरेकै छन् । हात रगड्दै उनले उदाहरण दिए, “दुई हत्केला एकआपसमा रगड्दा आवाज आउँदैन, आवाज आउन केही सयमको फरकमा हत्केला आपसमा ठोक्नुपर्छ ।”

मिडियामा आइरहन रुचाउँदैनन् । उनले प्रकाश पारे, “म जे गरिरहेको छु, मेरा आम स्रोता र दर्शकहरूका लागि नै गरिरहेको छु । त्यसैले उहाँहरूको माया र सद्भावमा आज पनि उत्तिकै ताजापन पाउँछु । मिडियाले आफैँ बुझेका छन्, म किन धाइरहनु र !”

उनले अर्को खुलासा पनि गरे, “अब केही समयपछि किताब लेख्न थाल्छु । यो घडीसम्म आइपुग्दा जिन्दगीप्रति अनविज्ञ नै रहेछु । जीवन एक दस्तावेज रहेछ । पाना थप्दै छु । अस्ताउनुअघि अभिलेखीकृत गर्छु ।”

 

तपाईंको मत