राजनीति
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप दुई जनालाई सहिद घोषण गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले बाबुराम शर्मा र भगवान राउतलाई सहिद घोषणा गर्नका लागि सरकार समक्ष माग गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।
खुलामञ्चमा अनशन बस्ने क्रममा बेहोस भई उपचार गर्ने क्रममा मृत्यु भएका शर्मा र आन्दोलनकै क्रममा घाइते भई असोज ८ गते मृत्यु भएका रौतहटका राउतलाई सहिद घोषणा गर्न सरकारसमक्ष माग गर्ने निर्णय भएको झाले बताए । यसअघि मोर्चाले सहिद घोषणा गर्न भन्दै एकजना भारतीय नागरिकसहित ६८ जनाको सूची सरकारलाई बुझाइसकेको छ ।
यस्तै आन्दोलनको क्रममा गम्भीर घाइते भएका थप ६ जनालाई उपचार तथा क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने निर्णय भएको झाले बताए । यसअघि मोर्चाले गम्भीर घाइते भएका ३२ जनाको सूची सरकारलाई बुझाएको थियो ।
बैठकले आन्दोलनको क्रममा सामान्य घाइते भएका १५ सय जनालाई २ वा ३ तीन हजार क्षतिपूर्ति दिन सरकारसँग आग्रह गर्ने समेत निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३ १७:०८
प्रतिक्रिया दिनुहोस्