site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि

काठमाडौं । सूचना प्रविधिमा आधारित आफ्ना नविन सोचका साथ सफल उद्यमी बन्ने सपना बुनेका ३५ जना विद्यार्थीले म्यासाच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा सञ्चालन भईरहेको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) कार्यक्रममा आफ्नो यात्रा शुरु गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयको आल्मुनाईका १५० जना प्रतिस्पर्धी आवेदकमध्येबाट छानिएका यी विद्यार्थी डिजिटल स्टार्टअप निर्माणका लागि आवश्यक कौशल सिक्न अहिले सप्ताहव्यापी लामो आवासीय शिविरमा रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यार्थीहरुलाई एमआईटीका चार जना प्रशिक्षकले परामर्श दिइरहेका छन् र उनीहरुले प्रोग्रामिङ् भाषा र उद्यमशीलता सम्बन्धि एमआईटीको पाठ्यक्रमअन्र्तगत् आफ्नो कौशल विकास गरिरहेका छन् । विद्यार्थीलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन प्रशिक्षणमा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास, आईडियाको प्रस्तुती, बिजिनेस मोडल कार्यान्वयन,  गेस्ट लेक्चर, नेटवर्किङ कार्यक्रम लगायतका विविध विषयवस्तु समावेश गरिएका छन् ।

“पाठ्यक्रम चाखलाग्दो छ र हालसम्मको सिकाई एकदमै फलदायी रहेको छ । यो केवल लेक्चर लिने जस्तो मात्र छैन, यहाँ काम गरेर नै सिकिन्छ भन्ने मान्यताबाट नयाँ अनुभव प्राप्त भईरहेको छ । यसले मलाई स्टार्टअप्स् र प्रविधिमा कसरी काम गर्ने बुझ्न सहयोग गरिरेहको छ,” सहभागी विद्यार्थीमध्येका एक सुजय हाडाले भने ।

एमआईटीले आफ्नो प्रत्यक्ष उपस्थितिमा सञ्चालन गर्ने योे जीएसएल कार्यक्रम विकासशील अर्थतन्त्रमा प्रविधिमा आधारित उद्यमीलाई सबल बनाउन तथा स्टार्टअपको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न सफल कार्यक्रमका रुपमा चिनिन्छ । विगत १८ वर्ष देखि यो कार्यक्रमले दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रमा प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत योगदान पुर्याउँदै आएकोछ ।

एक हप्ता लामो गहन सिकाई पश्चात सहभागी ११ वटा समूहमा विभाजित हुनेछन् र आफ्नो स्टार्टअप आईडियामा संयुक्त रुपमा काम गर्नेछन् । हाल सहभागी आवासीय शिविरमा नै रहेकाले उनीहरु एक अर्कासँग परिचित भइसकेका छन् । उनीहरु सँगै प्रशिक्षणमा भाग लिन्छन्, आफ्ना आईडियाका बारेमा खुलेर छलफल गर्छन् र आफ्ना स्टार्टअपको सम्भावित व्यावसायिक योजनाका ढाँचा तयार पारिरहेका छन् ।

आवासीय शिविर पश्चात विद्यार्थीहरु आफ्ना नियमित जीवनमा फर्कनेछन् ।  यो चरणको सामूहिक सिकाईमा विद्यार्थीहरुले आफ्नो प्रडक्ट विकास गर्नेछन्, त्यसको सफल संचालनको लागि बिजिनेश मोडेल र योजना तयार पार्नेछन् र तिनलाई परिक्षण गर्दै प्राप्त सुझाव बमोजिम थप काम गरी प्रडक्ट प्रोटोटाइप तयार पार्नेछन् । कार्यक्रमको अन्तिम दिन अर्थात साउन १७ गते ‘डेमो डे’ आयोजना हुनेछ र त्यस दिन विद्यार्थी समुहहरुले आ—आफ्ना प्रोटोटाइप निर्णायक मण्डल सामु प्रस्तुत गर्नेछन् । 

प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धनको निमित्त एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एमआईटी, काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रम नेपालमा पहिलो पटक भइरहेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:४०
प्रतिक्रिया दिनुहोस्