site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ध्वस्त चलचित्र, ध्वस्त बजार
Sarbottam CementSarbottam Cement

– प्रशान्तराज कार्की


सन् १९५१ मा डीबी परियारद्वारा निर्मित ‘सत्य हरिशचन्द्र’ प्रदर्शनपश्चात नेपाली भाषाको चलचित्र श्रीगणेश भएको हो । त्यसको झन्डै १३ वर्षपछि तत्कालीन नेपाल सरकारको निर्माणमा हीरासिंह खत्री निर्देशित ‘आमा’ सन् १९६४ मा प्रदर्शन भयो । ‘आमा’को निर्माणलाई व्यावसायिक नेपाली चलचित्र बजारको पहिलो कोसेढुंगाका रूपमा लिन सकिन्छ । यस निर्माणले नेपाली चलचित्र जगतलाई मार्गदर्शन गरेको हो । सन् १९६६ मा समोन्जली फिल्म्सको ब्यानरमा बीएस थापा निर्देशिन ‘माइतीघर’ प्रदर्शन भयो । यसरी व्यक्तिगत लगानीमा चलचित्र बनेसँगै नेपालमा विधिवत रूपमा चलचित्र व्यापार सुरु भएको हो ।

सन् १९८० देखि १९९० को मध्यसम्मको काललाई नेपाली चलचित्रको सुनौलो कालखण्डका रूपमा हेरिन्छ । ‘सम्झना’, ‘कुसुमेरुमाल’, ‘लाहुरे’, ‘कान्छी’, ‘बासुदेव’, ‘साइनो’, ‘कोसेली’ जस्ता चलचित्रले नेपाली सिनेमा जगतलाई नयाँ आयाम दिए । सन् १९९० पछि नेपालले अवलम्बन गरेको उदारवादी नीतिको पछ्यौरी समाउँदै नेपाली सिनेमाले तत्कालीन हिन्दी चलचित्रको नेपाली बजारलाई समेत प्रभावित पारेको थियो । २५ वर्षमा जम्माजम्मी २५ वटा निर्माण भए । त्यसपछि झन्डै तीन वर्षमा १४० भन्दा बढी फिल्म प्रदर्शनमा आए । त्यसयता सिनेमा व्यापारलाई स्थापित उद्योगको रूपमा हेर्न थालियो । चलचित्र निर्माण, वितरण र विस्तारले विभिन्न रोजगारी उत्पादन गर्न थाल्यो र फिल्म एउटा उद्योगको रूपमा स्थापित भयो । सन् १९८३ को अन्त्यतिर स्थापित नेपाल टेलिभिजन फिल्म बजारका लागि नयाँ सम्भावना बनेर उदायो । शनिबार दिउँसो २ बजे नेपाली चलचित्र प्रसारणले नेपाली चलचित्र उद्योगमा नयाँ अध्याय शुरु भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९९६ देखि सुरु भएको माओवादी जनयुद्धले गाउँ र साना सहरमा व्यापार ओरालो लाग्न थाल्यो । त्यसले नेपाली सिने बजारलाई पनि प्रत्यक्ष रूपमा प्रभावित पा¥यो । नेपाली सिनेमामा विस्थापित हुने एउटा युग नै प्रारम्भ भयो । नेपाली सिनेमामा भेटेरान मानिने नायकहरू एकाएक बिदेसिन थाले । सिने बजार झनपछि झन ओरालो लाग्न थाल्यो । यद्यपि ‘दर्पण छाया’, ‘जिन्दगानी’ जस्ता कालजयी चलचित्र यही समयमा प्रदर्शन भए । तर, समग्रमा नेपाली सिनेमाले राम्रो दिन भने देखेन र हिन्दी सिनेमाले मनग्य बजार विस्तार गर्‍यो ।

सन् २००६ मा जनयुद्ध समाप्त भएपश्चात् नेपाली सिनेमाले नयाँ मोड लियो । बदलिएको सिनेमा बजारलाई बुझेर फिल्म निर्माणमा अत्याधुनिकीकरण प्रविधि भित्र्याइयो । वितरण, प्रदर्शन र प्रचारमा नयाँ प्रयोग हुन थाले । पहिले हल र टेलिभिजनको पर्दामा सीमित नेपाली चलचित्र डीभीडीको युगमा प्रवेश गर्‍यो । फिल्म हल र टेलिभिजनसँगै कम्प्युटरमा हेर्न थालियो । भर्खरै पुनर्जीवन पाएको नेपाली सिनेमाले हलमा भने संघर्ष गरी नै रहे । हिन्दी सिनेमाको बाक्लो उपस्थिति हुनुमा हिन्दी सिनेमामै हुर्केको नयाँ पुस्ताको बढ्दो संख्याले भूमिका खेल्यो । त्यससँगै मध्यमवर्गका मौलिक कथा भन्न सकिएन । नयाँ प्रविधि जन्मिए पनि अँगाल्न नसक्दा नेपाली चलचित्रले भनेजस्तो व्यापार गर्न सकेनन् । यही कालखण्डमा पाइरेसी शुरु भयो ।

Global Ime bank

नेपाली सिनेमाले बजार त पाइरह्यो तर यसको नियमन र वितरणमा हुने कालोबजारीले पनि उत्तिकै प्रश्रय पायो । हलबाट विस्थापित भइरहेको फिल्मले अरु बजार खोजिरहेको थियो । विश्व बजारबाटै विस्थापित हुन लागेको डीभीडी र त्यसको पाइरेसीको सामना नेपाली सिनेमाले गर्नु परिरहेको थियो । छिमेकी मुलुकमा बनिरहेका हिन्दी सिनेमाबाटै कथाको नक्कलमात्रै भइरहेको थियो, बजारको नक्कल गरिएकै थिएन । सन् २००५ मा सुरु भएको यूट्युबले सन् २०११ तिरबाट नेपाली बजारमा स्थान पायो र त्यसयता नेपाली सिनेमाको अर्को नयाँ आयाम शुरु भयो । नेपाली सिनेमा हेर्ने यो सबैभन्दा सजिलो माध्यम बन्यो र यसैलाई मुख्य दर्शकका रूपमा हेर्नसमेत थालियो । त्यस्तै, सन् २००९ मा शुरु भएको डिसहोमले २०१७ बाट होम भिडियोका रूपमा रेगुलर र प्रिमियम च्यानल प्रस्तुत गरेर नेपाली सिनेमा देखाइरहेको छ ।

आज एउटा नेपाली फिल्म हलमा प्रदर्शन भएपछि सिधै डिसहोममार्फत घरघरमा पुग्न सक्छ । अरु च्यानलहरूमार्फत पनि टेलिभिजनको पर्दामा सजिन सक्छ । यूट्युबले हरेक हातमा सहजै फिल्म पुर्‍याइदिन सक्छ । तैपनि भनिन्छ– औसत १० नेपाली फिल्ममध्ये ९ घाटामा जान्छन् । आखिर किन ?

फिल्म वितरण यो घाटाको मुख्य कारण हो । झन्डै १ लाख ३० हजार नेपालीबराबर एक हल भएको हाम्रो देशमा नेपाली सिनेमाले हलिउड र बलिउडका उम्दा सिनेमाको बजारसँग जुध्नुपर्ने बाध्यता छ । हल सबै सहरमा खुलेका छन्, जहाँ हिन्दी र कमबेसी अंग्रेजी फिल्म रुचाउनेको जमात बढी छ । बजार मागको सिद्धान्त हुन्छ । माग त्यसलाई भनिन्छ, जहाँ चाहनालाई क्रयशक्तिले टेवा दिएको हुन्छ । नेपाली सिनेमाप्रतिको चाहना र आमनेपालीको क्रयशक्ति बढ्दै गए पनि हाम्रो बजार त्यस चाहनालाई मागमा रुपान्तरण गराउन असफल भएकै हो । १ लाख ३० हजार जनाबराबर एक हल भएको देशमा फिल्मले बजार पाएन भन्दा हाँसो उठ्छ ।

नेपाली फिल्म आज औसत पाँचमा दुई नेपालीले हेरेका हुन्छन् । तर, नेपाली फिल्म घाटाको व्यापार गर्दै छन् । यो हुनुको पछाडि केही समस्याहरू छन् । आखिर नेपालीहरूले नेपाली सिनेमा कसरी हेर्छन् ? यो प्रश्न सोधिनु आवश्यक छ ।

हरेक तीन नेपाली बराबर दुई वटा स्मार्टफोन रहेको भन्सारको तथ्यांकले देखाउँछ । आजको युगमा भिडियो खपतको सबैभन्दा विशाल माध्यम हो स्मार्टफोन । के त्यसो भए झन्डै ६३ प्रतिशत जनतामाझ पुगेको इन्टरनेट नेपाली फिल्मको दर्शकका लागि सजिलो माध्यम बनेको हो त ? यदि यस्तो भइदिएको भए पनि नेपाली सिनेमा घाटामा अवश्य जाँदैनथे । तर, यहाँ फिल्महरू मोबाइल र पेनड्राइभमा भरिदिने खतरनाक धन्दा शुरु भएको छ । हेर्दा अचम्म लाग्ने गरी पाइरेसीको नजानिँदो जाल देशैभरि फैलिएको छ । देशभरि झन्डै ६० हजार यस्ता पसल छन्, जसले यसरी फिल्म बिक्री गर्दै आएका छन् । एकछिनलाई मानौं हरेक पसलमा औसत १० जना ग्राहक आउँछन् र त्यसमध्ये २५ प्रतिशतले नेपाली फिल्म किन्छन् भने १५ रुपैयाँको एक फिल्मबराबर हरेक महिना ६ करोड ७५ लाख रुपैयाँ बराबरको नोक्सान हुन्छ । यो त सामान्य अनुमानमात्र हो । यो पाइरेसी सिनेमा र गीतको बजार झन्डै १ अर्बको आसपास हुनुपर्छ । यसले राज्यलाई राजस्व घाटा हुँदाहुँदै पनि सरकारले ठोस कदम नचाल्दा व्यापारीहरू चरम घाटामा छन् । त्यसो भए कहाँबाट आउँछन् ती पसलमा नेपाली फिल्म ?

नेपाली फिल्मका लागि डिजिटल राइट एउटा मुख्य स्रोत हो । डिजिटल राइट किन्नेका लागि यूट्युब प्रमुख आयको स्रोत हो । यूट्युब सबैका लागि सजिलो माध्यम बनेको छ । तेस्रोपक्षीय सफ्टवेयर प्रयोग गरी युट्युबबाट सहजै डाउनलोड गर्न सकिने र सजिलै ट्रान्सफर भइदिने हुँदा कति पसललाई त यो गैरकानुनी हो भन्ने पनि थाहा छैन । त्यसैले यो व्यापारले प्रश्रय पाइरहेको छ । अब त मास्टर कपी नै लिक हुने गरेका घटना पनि सुनिन थालेका छन् । त्यसमाथि अब त फिल्म आएको केही दिनमै डिसहोमले प्रसारण गरिदिन्छ, जहाँबाट सहजै पेनड्राइभमा फिल्म रेकर्ड गर्न सकिन्छ । यी सब माध्यमबाट अहिले नेपाली सिनेमा पाइरेसीको शिकार भइरहेको छ ।

यी पाइरेसीका घटनालाई कति सामान्य रूपमा लिइएको छ भने हामी जोकोहीसँग मोबाइलमा गीत वा फिल्म भइरहेका हुन्छन् । हरेक होटल वा सार्वजनिक यातायातमा पेनड्राइभ वा मेमोरी कार्ड देखिनु सामान्य लाग्छन् । नाइटबसमा पाइने टेलिभिजन स्क्रिन होस् वा साझाको बसमा देखिने स्क्रिन, पाइरेटेड फिल्म वा भिडियो देखाइनु एकदम सामान्य भएको छ । हरेक वर्ष औसत सयभन्दा बढी फिल्म प्रदर्शनमा आउँदा २ करोडभन्दा बढीको कारोबार हुने फिल्म जम्मा पाँच वटा हुन्छन् । पाइरेसीले कति ठूलो जालो बनाएको छ, यसबाट प्रष्ट हुन्छ । नेपाली फिल्मको नियति यही नै हो त ?

नेपाली चलचित्रमा देखिएको पछिल्लो परिवर्तनलाई आधुनिक बजारीकरणले टेको दिनुपर्छ । सन् २०१७ को एक तथ्यांकअनुसार संसारभर प्रयोग भएको ब्यान्डविथमध्ये ७४ प्रतिशत भिडियो हेर्नका लागि खपत भइरहेको छ । मोबाइल डाटाको पनि ६९ प्रतिशत भिडियो हेर्नमै खपत हुने गरेको त्यो अध्ययनले देखाउँछ । मोबाइलमा भिडियो प्रसारण गर्न सक्ने प्रविधिले नेपाली सिनेमालाई नयाँ खुड्किलोमा लैजान सक्छ । तर, मोबाइलमा प्रसारण गर्नका लागि केही समस्या भने छन् । पाइरेसी हुन सक्ने सबैभन्दा ठूलो डर यहीँ रहन्छ । सेक्युरिटीमा ध्यान दिएर यसलाई राम्रोसँग नियमन गरे यसले नेपाली सिनेमाको बजार विस्तारमा ठूलो टेवा पुर्‍याउँछ । त्यसैगरी विद्युतीय भुक्तानी सेवामा सहजता र पेमेन्ट गेटवेमा सरलीकरण गरे चलचित्र बजारले ठूलो राहत पाउन सक्छ ।

नेपाली चलचित्र र सांगीतिक उद्योगको प्रवद्र्धनका लागि सरकारकै स्तरबाट नियमन हुन जरुरी छ । सार्वजनिक स्थलमा पाइरेसी भइरहेको देख्दादेख्दै र यसबाट करोडौं राजस्व घाटा हुँदासमेत सरकारले ध्यान नदिने हो भने भने हाम्रो सिनेमा बजार अझै ध्वस्त हुन्छ । सरकारले सिनेमा उद्योगलाई प्रवद्र्धन गर्न कोष नै निर्माण गरी उदीयमान निर्मातालाई सहयोग गर्नुपर्छ । चाहिँदो सहयोग र नियमन गरे यो उद्योगले फड्को मार्ने थियो र मनग्य रोजगार र राजस्वको स्रोत हुने थियो ।

नेपाली चलचित्र उद्योगको शुरुवात नै वैदेशिक लगानीबाट भएको हो । तर, अहिले त्यो कतै देखिँदैन । मूलधारका नेपाली सिनेमामा वैदेशिक लगानी आउन नसक्नु पनि अर्को चुनौती हो । वैदेशिक लगानीले प्राविधिक विकासमा मनग्य टेवा पुर्‍याउने हुँदा यो आवश्यक छ । यो उद्योगमा सम्बन्धित व्यवसायीहरूले पारदर्शिता नदेखाउने हुँदा वैदेशिक लगानी भित्र्याउन नसकिएको प्रष्ट छ । बक्स अफिस नहुनु र व्यापारिक लाभका लागि गलत तथ्यांक प्रस्तुत गरिनाले तत्काल नेपाली सिनेमामा वैदेशिक लगानी भित्र्याउन सक्ने अवस्था छैन । अहिल्यै गम्भीर हुने हो भने यो अवस्था सधैं रहिरहँदैन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC