बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एसईईका परीक्षार्थी भाषिक धरापमा  रमेश भट्टराई ‘सहृदयी’
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, फागुन ३, २०७४
Laxmi Bank
Laxmi Bank

माध्यमिकस्तरको अन्तिम परीक्षा (एसर्ईई)को मुखमा नेपाली वर्णविन्यासमा उत्पन्न विवादका कारण निर्दोष विद्यार्थीहरू धरापमा परेका छन् । राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को ६४ औँ बैठकले २०६९ साउन २२ गते मन्त्रीस्तरबाटै नेपाली वर्णविन्याससम्बन्धी नयाँ नियम खारेज गर्ने निर्णय गर्‍यो । साथै, ६५ औँ बैठकद्वारा २०६७ सालको नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश‘लाई मुख्य मानक बनाउने निर्णय भयो । तर, विद्यालय तहका विद्यार्थीले नयाँ वर्णविन्यासअनुसार लेखिएको पुस्तक पढिरहेका छन् । पुरानो वर्णविन्यासलाई नै आधिकारिकता दिइएकाले सबै विद्यालयमा सो आधार सामग्रीसहित जानकारी पुर्‍याउनु पर्ने नीतिगत निर्णय त्यत्तिकै सेलाएर गयो । माथिल्ला प्राज्ञिक स्तरमा बहस भयो तर कलिला बालबालिका त्यसको अचानामा परिरहेका छन् । 

पछिल्लो समय पुरानै मानकलाई प्रयोग गर्ने निर्णय भएको तर पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशनमा खर्च गरिसकेको प्राविधिक कारणले नयाँ पाठ्यपुस्तक कायमै रहेको जनक शिक्षा सामग्री उत्पादन केन्द्रले बताएको छ । अब छापिने पुस्तक पुरानै नियमबमोजिम त छापिएलान् तर भाषिक अन्योलको भूमरीमा विद्यार्थी वर्गले कस्तो अभ्यास गर्ने ? । एकातिर, आधिकारिक मान्यता पाएको पुस्तकमा नयाँ वर्णविन्यासकै प्रयोग कायमै छ अर्कातिर पुरानो लेख्ने बानी हराउँदा आधार सामग्री प्राप्त भएन । यसैकारण विद्यालय तहका शिक्षक तथा विद्यार्थी वर्ग अहिले अप्ठ्यारामा छन् । 

नेपाली भाषा शिक्षण गर्ने शिक्षक/शिक्षिकालाई आधिकारिक सचेतना तथा बेलैमा आवश्यक आधिकारिक सामग्री उपलब्ध नगराइँदा अध्यापन र सिकाइमा जटिलता बढेको हो । विज्ञमा विवाद भयो तर तिनलाई बाच्छाको मिचाइमा पारिएको छ । शिक्षकहरूले आफू जुन पक्षमा समर्थन गर्छन् तिनैलाई प्राथमिकता दिइरहेका छन् । 
शिक्षा ऐनको आठौँ संशोधनपछि कक्षा १२ सम्मलाई नै विद्यालय तहमा मानिएको छ । विसं २०७४ का लागि परीक्षा सञ्चालन गर्न संघीय संरचना पूर्ण भइसकेको छैन ।

Duber nepal

Agani Group

आगामी चैत २८ गतेदेखि जिल्ला शिक्षा कार्यालय नरहने व्यवस्था छ । परीक्षा सञ्चालनपश्चात् जिल्ला शिक्षा कार्यालयले गर्ने सम्पूर्ण जिम्मेवारी वहन गर्ने आधार नहुँदा उत्तरपुस्तिका कहाँ, कसले, कसरी परीक्षण गर्ने भन्ने समस्या जोडिएको छ । अहिल्यैै संघीय संरचनाअनुरूपको प्रादेशिक शैक्षिक संगठन तयार भइसकेको छैन । करिब ६ लाखभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालनको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले बताए पनि सो परीक्षा सञ्चालनपश्चात्को जिम्मेवारीलाई कसले, कसरी सम्हाल्ने भन्ने अन्योल कायमै छ । प्रादेशिक संरचनाअनुसार सञ्चालन गरिने भनिएको भए पनि अहिले हुनसक्ने देखिँदैन । फलस्वरूप, परीक्षा पश्चात्को अवस्था कस्तो हुने भन्ने विषयमा एकदमै अन्योल देखिन्छ ।

बाच्छाको मिचाइ
 

नेपाली भाषासम्बन्धी वर्णविन्यासको विवादका कारण विद्यालय तहका शिक्षकशिक्षिका र कलिला बालबालिकालाई बढी असर परेको छ । कतिले जे लेखे पनि हुन्छ भन्नु परेको छ, कतिले हामी आफैँलाई थाहा छैन भन्ने गरेका छन् । विशेष गरेर एसईई का मुखमा पुगेका विद्यार्थीले नयाँ वर्णविन्यासअनुसार लेखिएको पुस्तक पढिरहेका छन् । तिनलाई पुरानो वर्णविन्यासका नियमका बारेमा थाहा हुने कुरै भएन । नीतिअनुसार त सबै विद्यालयमा सो मानक वर्णविन्याससम्बन्धी जानकारी प्रदान गर्ने भन्ने थियो त्यो प्रभावकारी बनेको देखिँदैन ।

अर्को, तल्ला कक्षाका विद्यार्थीहरूले फेरि माथिल्लो कक्षामा पुरानो वर्णविन्यासलाई प्रयोग गर्नुपर्दा भाषिक प्रयोगमा खिचडी र अन्योलको भूमरीमा ती पनि पर्नेछन् । शिक्षक वा अध्यापक आफूले समर्थन गरेअनुसारको वर्णविन्यास नभए दिनुपर्ने जति नम्बर दिँदैनन् । विद्यार्थीले त जे भने पनि मान्नैपर्ने बाध्यता छ । विद्यालयतहका बालबालिकादेखि एमए, एमएड् तहसम्मका विद्यार्थीलाई यसले सताएको छ । अझ एसईई र जिल्लास्तरीय परीक्षाको उत्तरपुस्तिका जाँच्नेले आफू अनुकूल प्रयोग नभरेमा ती निर्दोष विद्यार्थीले त्यसको सिकार बन्नुपर्ने भय रहन्छ । माथिल्लो तहमा पनि यो पीडो हुनसक्छ । 

नेपाली विषयको परीक्षा लेखन र मूल्याङ्कन
 

अन्य भाषाको तुलनामा नेपाली भाषा लिखित परीक्षामा लेखाइ ढिलो हुनु स्वाभाविकै हो । यसको अर्थ अङ्गे्रजी, गणित, विज्ञानका तुलनामा नेपाली भाषा र नेपाली भाषामा लेखिने अन्य स्वास्थ्य, शिक्षा तथा वातावरण, सामाजिकजस्ता विषयमा तोकिएको समयमा विद्यार्थीले प्रश्नपत्रको समस्या हल गर्न सक्तैनन् । हालसम्म शिक्षामा यति प्रतिशत अङ्क आयो भनिएको सुनिन्छ, कुनै विषयमा कम आयो भनिन्छ तर कति विद्यार्थीले सोधिएका सबै प्रश्नको उत्तर लेखे लेखेनन् भन्ने कुरा खुल्दैन । अर्को, जस्तो लेखे पनि अनुत्तीर्ण हुँदैनन् र जति राम्रो लेखे पनि गणित, विज्ञानको जस्तो प्रभावकारी अङ्क पाउँदैनन् । नेपाली विषयको परीक्षामा विद्यार्थीलाई कसरी सबै प्रश्नको उत्तर समयमै लेखिसक्ने भन्ने दबाब हुन्छ ।

“सर, मलाई विषयवस्तु नजानेर डर लाग्दैन । कसरी प्रश्नको उत्तर लेख्ने भन्ने पीडाले नेपालीको परीक्षामा सधैँ डर लागिरहन्छ ।”– सामाखुसी इङ्गलिस स्कुलमा कक्षा १० मा अध्ययनरत एकजना छात्राले भनिन् । नेपाली भाषामा अन्य विषयमा जति दिइएको समयमा प्रश्नपत्रको उत्तर लेख्न गाह्रो छ । 
ह्रस्व–दीर्घ, रेफ, चन्द्रबिन्दु, शिरबिन्दु आदिमात्र नभई डिको दिएर लेख्नुपर्ने, घुमाउरा वर्ण हुने हुँदा अङ्ग्रेजी भाषाका तुलनामा नेपाली भाषा लेख्य सन्दर्भमा धेरै जटिल छ । तोकिएको समयमा जानेर पनि प्रश्नपत्रको उत्तर लेखिसक्नलाई विद्यार्थी वर्गका लागि चुनौती बन्छ । विशेष गरेर सङ्क्षिप्त उत्तर, सप्रसङ्ग व्याख्या, व्याख्या, विवेचना जस्ता प्रश्नको उत्तर आदि खण्ड, मध्य खण्ड र उपसंहारमा पुगेर मात्रै टुङ्गिन्छ । यसर्थ लेख्न चाहिँ धेरै लेख्नुपर्ने तर प्राप्ताङ्क चाहिँ उत्तरपुस्तिका जाँचकीको सोचमा निर्भर हुने पीडा यसमा जोडिन्छ । नेपालीमा पूरा नम्बर दिन मिल्दैन भन्ने नाममा रेटेर काट्ने अभ्यास पनि छ । केही अपवाद बाहेक विद्यार्थी वर्गमा नेपाली शुद्धताको स्तर प्रविधिको विकाससँगै घट्दो क्रममा रहेको भान हुन्छ । कतिपयले त प्रविधिलाई अध्ययनको माध्यम बनाएका पनि होलान् नै । यो राम्रो कुरा हो ।

युवा जाँचकीले नेपाली विषयमा नम्बर दिँदा खुलेर दिएको पाइन्छ । हेर्ने नै हो भने, धेरै लेखेर नम्बर भने थोरैमात्र पाउने भएकै कारण नेपाली विषय विशेष गरेर अङ्ग्रेजी माध्यमका कतिपय विद्यालयमा अपहेलनाको दर्जामा पर्दै गएको देखिन्छ । मूल्याङ्कनका नजरबाट हालसम्म आइपुग्दा विशेष गरेर कक्षा ८, ९ र १० को विद्यालय तहमा प्रयोगात्मक मूल्याङ्कनको २५ पूर्णाङ्क छुट्याएर लिखित परीक्षामात्र ७५ पूर्णाङ्कमा गर्न थालिएको छ । कक्षा १० मा १०० पूर्णाङ्कको लिखित परीक्षाको प्रश्नपत्र हुँदा व्याकरण खण्ड ३५ नम्बर र बाँकी ६५ नम्बरको बोध र अभिव्यक्तिको प्रश्न सङ्ख्या १८ वटा हुन्थ्यो । वर्तमान सन्दर्भमा भने ७५ पूर्णाङ्कमा प्रश्न सङ्ख्या १० अन्तर्गत पठन बोधमा कारक र विभक्ति समेतको २९ पूर्णाङ्कको व्याकरण खण्ड रहेको पाइन्छ ।

यो पठनबोधमा व्याकरणसँग २ देखि ३ पूर्णाङ्कको भने बोध प्रश्नोत्तरसँगै सम्बन्धित प्रश्न सोधिएको पाइन्छ । यसमा ४६ पूर्णाङ्कको व्याकरण इतर खण्ड रहेपनि १८ वटै प्रश्न हुन्छन् । यसरी हेर्दा पूर्णाङ्कको तुलनामा प्रश्न सङ्ख्या जति बढी भयो त्यति नै नम्बर कम पाउने सम्भावना रहन्छ । त्यतिमात्र होइन पहिला जीवनी, कथा, वादविवाद, संवाद, चिठी, सप्रसङ्ग व्याख्या, सङ्क्षिप्त उत्तर, तार्किक उत्तरको पूर्णाङ्क ५ हुन्थ्यो तर अहिले सबैको अङ्क ४ बनाइएको छ । लामो उत्तर÷विवेचना र निबन्ध लेखनलाई १० बाट घटाएर ८ मा झारिएको छ । यसकारण विद्यार्थीले कति लेख्ने र शिक्षकले कति नम्बर दिने भन्नेमा साँच्चै अप्ठ्यारो छ । सबै विधालाई समेट्न जटिल छ तर विद्यार्थीले ७५ मा ६५ नम्बर लेखेर ल्याउँदा २५ मा २५ नै प्रयोगात्मक नम्बर पाएपछि बल्ल ९० नम्बर ल्याएर ‘ए+’ ग्रेड पाउन सक्छ । यसमा व्याकरण र अनुच्छेद सबै मिलाएर ८ मा ६.५ र ४ मा ३ नम्बर दिए बल्ल ६६ नम्बर आउन सक्छ । नम्बर प्रदान गर्ने प्रणाली पनि आआफ्नै हुन्छ नै ।

यसै कारण नेपालीमा राम्रा विद्यार्थीले पनि सोचे जति नम्बर नपाएका पीडा पोख्छन् । तर, यत्तिले नेपाली विषय पढ्न र पढाउन सरल भयो भन्न सकिँदैन । यद्यपि ‘ए+’ ल्याउनेका लागि भने सहज भएकै हो । 

एसईईमा सोधिने नेपाली प्रश्नपत्रमा पनि अन्योल भेटिन्छ । एसईई नमुना प्रश्न सङ्ख्या ६ अन्तर्गत ‘तलको अनुच्छेदबाट उपसर्ग लागेर बनेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :’ भनी एउटा २–३ वाक्यको अनुच्छेद दिँदा विद्यार्थीले उपसर्ग लागेका दुईवटा र प्रत्यय लागेका दुईवटा शब्द टिपे हुन्छ भन्ने बुझिन्छ । यसमा विद्यार्थीले शब्द टिपे पूरा नम्बर दिने कि नदिने ? शब्द सही टिपेको छ तर प्रक्रिया गलत देखाएको छ भने कति नम्बर दिने ? यसमा त प्रश्नअनुसार शब्द टिपेपछि सही भए नम्बर पाउनुपर्ने हो । कसैकसैले भने प्रक्रिया देखाउनुपर्नेमा जोड दिने गरेका छन् ।

त्यस्तै गरेर पठनबोध अन्तर्गत ५ अङ्कभारको – प्र.नं. १० मा सोधिने एउटा नमुना प्रश्नलाई हेरौँ– ग.‘हीनता’ र ‘अमूर्त’ शब्दका विपरीतार्थी शब्द खोजी वाक्य बनाउनुहोस् । भनेर सोधिन्छ । यो प्रश्नले मागेको उत्तरलाई नियाल्दा सोझो बुझाइ अर्थात् विद्यार्थीका स्तरबाट बुझ्ने हो भने ‘हीनता’ र ‘अमूर्त’ शब्दका विपरीतार्थी शब्दलाई दिइएको अनुच्छेदबाट खोज्ने अनि ती विपरीतार्थी शब्दलाई वाक्यमा प्रयोग गर्ने भन्ने हुन्छ ।

तर अर्को अर्थमा बुझ्दा त ‘हीनता’ र ‘अमूर्त’ शब्दका विपरीतार्थी शब्द लेखेर हीनता र अमूर्त शब्दहरूकै वाक्य बनाउने भन्ने पनि नबुझिने होइन । अर्को पक्षमा हेर्दा यो प्रश्नको अङ्कभार मात्र १ हो । अगाडिका उदाहरणलाई हेर्दा एउटा शब्दको अर्थ खोजे बापत ०.५ नम्बर, वाक्य बनाउँदा १ नम्बर दिनुपर्ने हो । दुईवटा शब्द भएकाले यिनको मात्रै नम्बर १.५, १.५ ले ३ दिनुपर्ने हुन्छ । अनि फेरि दुवै शब्दको विपरीतार्थी शब्द सही लेख्यो तर एउटा वाक्य बिगार्‍यो भने कति नम्बर दिने ? अर्कोतिरबाट सोच्दा दवै वाक्य सही बनायो तर विपरीतार्थी शब्द चाहिँ गलत लेखेको थियो ।

यसरी हेर्दा यो प्रश्नमा स्तरीयताको दृष्टिले सुधारको आवश्यकता रहेको देखिन्छ । दोहोरो अर्थ र अपेक्षामा गाँजिएको भन्दा एउटै मापन योग्य प्रश्न सोध्नु आवश्यक देखिन्छ । विशेष गरेर बोध प्रश्नोत्तर तथा बुँदा टिपोट र सारांश लेखनमा विद्यार्थीलाई धेरै समय लाग्ने देखिन्छ । परीक्षाको समय तथा जानेर पनि लेखाइको गति स्तरका कारणले हतारमा रहेका विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा राख्दा जटिल वाक्य तथा शब्दले संरचित अनुच्छेदबाट घुमाउरो प्रश्न सोध्ने पद्धतिमा पनि सुधार गर्नुपर्ने देखिन्छ । 
    
[email protected]

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, फागुन ३, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्