समृद्धिको इतिहास
अहिलेको प्रदेश नम्बर सातौंदेखि १४ औं शताब्दीको शक्तिशाली राज्य खस साम्राज्यको महत्त्वपूर्ण भाग थियो । खस साम्राज्य आधुनिक नेपालभन्दा पनि ठूलो थियो । त्यसको सिमाना उत्तरमा तिब्बत, पूर्वमा काठमाडौं र पश्चिम लद्दाखसम्म फैलिएको थियो । मानव सभ्यताकै प्रतिनिधित्व गर्ने खस राज्य खस आर्यहरूको पहिचानको खोजी र यसको अध्ययन अनुसन्धान गर्दा इतिहासकै एउटा आयामको रूपमा जोडिएको छ । नेपाली भाषाको साथै सनातन सभ्यताको उद्गमस्थलका रूपमा पनि खस राज्यलाई लिने गरिन्छ । तिब्बतसँगको व्यापारलाई प्राथमिकता दिँदै, खस राज्यमा निर्मित ढलोटका मूर्तिहरू तिब्बत हुदै चीनसम्म पुग्थे । अल्लो र गाँजाका डाँठबाट रेसा झिकेर कपडा बुनी विदेशमा निर्यात गरिन्थ्यो । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सम्पन्न खस राज्य चौधौं शताब्दीकाे मध्यतिरबाट ओरालो लागेको थियो । अभय मल्लको शासनकाल सुरु भएपछि बिस्तारै स्थानीय सामन्तहरू स्वतन्त्र हुदै गए र चौधौं शताब्दीको मध्यतिर विशाल खस साम्राज्य बाइसे राज्यमा टुक्रिएको हो ।
समृद्धिका आधारहरू
प्रदेश न. ७ अन्य प्रदेशको तुलनामा पिछडिएको प्रदेशको रूपमा चिनिन्छ । यस प्रदेशको झन्डै आधा जनसंख्या गरिबीको रेखामुनि रहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण, २०६७/६८ ले सबैभन्दा धेरै गरिब रहेका भनिएका १० जिल्लामध्ये प्रदेश न. ७ मा मात्रै ६ जिल्ला बाजुरा, बझाङ, दार्चुला, डोटी, अछाम र बैतडी पर्छन् । विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश न. ७ अन्य प्रदेशको तुलनामा विकासको दृष्टिले ८० वर्ष र गरिबीको हिसाबले १५ वर्ष पछाडि रहेको छ ।
कृषि
प्रदेश नं. ७ का अन्न भण्डारका रूपमा चिनिएका तराईका दुई जिल्ला कैलाली र कन्चनपुरमा धान, गहुँ, दलहनलगायतका खाद्यान्नको मनग्य उत्पादन हुनेगरेको छ । यहाँको उत्पादनले प्रदेश नं.७ लाई आत्मनिर्भर बनाएको छ । पहाडी जिल्लामा आलु, स्याउ, सुन्तला र अदुवाको राम्रो उत्पादन हुनेगरेको छ । बजारको अभावले पहाडी जिल्लामा उत्पादन हुने फलफूल सडेर जानेगरेका छन् । अत्यधिक मात्रामा खेतीयोग्य जमिन हुँदाहुँदै पनि करिब २० प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा छ भने बाँकी ८० प्रतिशत जमिनमा आकाशको भरमा खेती गर्नुपरेको छ । विषादीको प्रयोगबिना खेती हुने भएकाले प्रदेश न.७ लाई अर्गानिक क्षेत्रका रूपमा पनि देशैभर चिनाउन सकिन्छ । अहिले नेपालामा विषालीको अत्यधिक प्रयोग भइरहेको छ । यस्तो समयमा अर्गानिक खेतीले राम्रो बजार पाउने सम्भावना छ ।
जलविद्युत्
प्रदेश न.७ मा देशभरको उत्पादन क्षमताको करिब एक तिहाइ जलविद्युत् उत्पादन गर्न सकिन्छ । दस हजार मेगावाटको कर्णाली, छ हजार ७ सय ८० मेगावाटको पंचेश्वर, सात सय ५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटको चमेलिया जस्ता योजना प्रदेश ७ मा पर्छन् । यसरी प्रदेश ७ मा साना तथा मझौला जलवपद्युत्समेत गरेर ३३ हजार मेगावाट विद्युत् क्षमता रहेको छ । प्रशस्त मात्रामा विद्युत् उत्पादन गरेर प्रदेश न.७ बाट नजिकै रहेका भारतका करिब १० करोड जनसंख्या भएका उत्तर प्रदेश र उत्तराखण्डमा विद्युत् निर्यात गर्न सकिन्छ । विद्युत् उत्पादन प्रारम्भ हुनासाथ यस क्षेत्रको गरिबी दर घटाउन मद्दत पुग्ने निश्चित छ । आयोजना निर्माण हुनासाथ यस क्षेत्रमा सडक, विद्यालय, अस्पताल, व्यापारी केन्द्र आदिको विकास हुनेछ । विद्युत् बेचेरमात्र पनि प्रदेश ७ ले आर्थिक फड्को मार्नसक्छ ।
जडीबुटी
दार्चुला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य बुटी यार्सागुम्बा पाइन्छ । यसैगरी पाँचऔले, केसर, चिराइतोलगायतका अमूल्य जडीबुटी पनि यहाँ पाइन्छन् । प्रदेश ७ मा बर्सेनि करिब ७० करोडको जडीबुटी संकलन गरिन्छ । उचित नीति र व्यवस्थापनको अभावमा यी जडीबुटीबाट देशले फाइदा लिनसकेको छैन । ठूलो परिमाणमा जडीबुटी तस्करी हुने र अन्य जडीबुटी पनि प्रशोधन गर्ने व्यवस्था नहुँदा कौडीको भावमा निर्यात हुनेगरेका छन् । जडीबुटी प्रशोधन उद्योग खोलेर जडीबुटी यहीँ प्रशोधन गरेमा यसबाट आर्थिक विकासमा ठूलो मद्दत पुग्ने देखिन्छ ।
धार्मिक पर्यटन
प्रदेश न.७ मा समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको अर्को क्षेत्र पर्यटन हो । प्रदेश ७ बाट करिब ८ देखि १० घन्टाको सडक दूरीमा छिमेकी विशाल मुलुक भारतको राजधानी नयाँ दिल्लीसहित करिब आधा दर्जन बढी ठूला सहर पर्छन् । भारतको पश्चिम क्षेत्रमा झन्डै १० करोड भारतीय बसोबास गर्छन् । भारतबाट बर्सेनि लाखौं पर्यटक भित्रिने सम्भावना रहेको छ । लाखौं भारतीय बर्सेनि लाखौं खर्च गरेर मानसरोवर यात्रामा निस्कने गर्छन् । भारतबाट मानसरोवर यात्रा गर्ने सबैभन्दा छोटो, सुलभ र सस्तो मार्ग प्रदेश न.७ मै रहेको छ ।
दिल्लीबाट ७०० किलोमिटरको दूरीमा चीनको सीमा पर्छ । सबैभन्दा छोटो दूरीमा रहेको भारत चीन जोड्ने बझाङको ताक्लाकोट नाकासम्म सडक सञ्जाल विस्तार गर्ने बित्तिकै लाखौं भारतीय तीर्थयात्री ताक्लाकोट हुँदै मानसरोवर यात्रामा जान सक्नेछन् । दार्चुला जिल्लामा रहेको त्रिपक्षीय नाका लिपुलेक तीन देशको केन्द्रका रूपमा विस्तार गरेर व्यापार केन्द्र बनाउन सकिन्छ ।
यसैगरी खप्तड बाबाले ध्यान गर्नुभएको पवित्र भुमि खप्तड, बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी मन्दिर, कैलालीको बहेडाबाबा, बझाङको सुर्मासरोबरलगायतका धार्मिकस्थलको प्रचारप्रसार गरेर लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । सैपाल, अपीलगायतका हिमालसम्म सहज आगमन हुनसकेमा पर्यटकहरू यतातिर पनि उल्लेख्य मात्रामा आउने सम्भावना रहेको छ । डोटीबाट खप्तडसम्म केबलकार निर्माण गर्ने हो भने खप्तड नेपालकै नमुना पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । देउडा, गौरा र थारुजातिको माघी पर्वलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गरेमा उल्लेख्य मात्रामा सांस्कृतिक पर्यटक भित्र्याउन सकिन्छ ।
वनजंगल
प्रदेश न.७ मा ९ हजार ४ सय ७६.६९ वर्ग किलोमिटर वन क्षेत्र रहेको छ ।यो ४८.५ प्रतिशत हो । घना वनजंगल क्षेत्र रहेको प्रदेश ७ मा वनमा आधारित उद्योग स्थापना गरेर आर्थिक लाभ लिन सकिन्छ । बाँस, निगालो र काठबाट बनेका हस्तकलाका सामग्री भारत, चीन, बंगलादेशलगायतका मुलुकमा निर्यात गर्नसकिन्छ ।
प्रचुर मात्रामा समृद्धिका आधार हुँदाहुँदै पनि भौतिक पूर्वाधारको विकास नहुँदा अहिलेसम्म पनि प्रदेश न. ७ समृद्धिको बाटो हिड्नसकेको छैन । विकट पहाडी जिल्ला र अप्ठेरा पहाडका कारण सडक विस्तार गर्नु चुनैतीपूर्ण रहेको छ । अब बन्ने सरकारले भौतिक विकासमा ध्यान दिन जरुरी छ ।