site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मत खसाल्नुअघि सोचौँ, राष्ट्र नहारोस्

देश चुनावमा होमिएको छ । पार्टी र तिनका नेता जनताका घरदैलोमा सपना बाँड्दैछन्, फोस्रा आश्वासन दिँदैछन् – ’बाउन्स हुने चेक’ जस्तो । यिनका चुनावी घोषणापत्र हेर्दा लाग्छ — यिनीहरूसँग जादुको छडी छ, छडी घुमायो देश आफैँ स्विट्जरल्यान्ड बनिहाल्छ । किन र कसरी भन्ने प्रमाण र जवाफ दिइरहनु नपर्ने रहेछ यिनलाई । यस्तो लाग्छ यिनले जे गरे पनि हुन्छ, जे बोले पनि छुट छ कारण शक्ति र हालीमुहाली जो यिनकै हातमा छ । राजनीति नितान्त सेवा भावले प्रेरित हुनुपर्ने कर्मलाई व्यापार, सिन्डिकेट, जागिर बनाए यिनले ।

अर्कोतिर जनता पीडित छन् राजनीतिक अस्थिरताबाट, हिंसाबाट अनि सामाजिक बेथिति र अन्यायबाट । जनता यी सबैबाट मुक्ति चाहन्छन् । स्वतन्त्रता र स्वाधीनताको लडाइँका नाममा, नक्कली फोस्रा राष्ट्रवादको नाममा देशलाई फिजी र सिक्किमको बाटोमा लगिएको छ । नेता र नेतृत्वमा सत्ता एवं शक्तिको उन्माद छ । अब जनता नयाँ राजनीतिक युगको सूत्रपात गर्न चाहन्छन् ।

देशको स्वाधीनता, सम्प्रभुता र भौगोलिक अखण्डताको संरक्षण चाहन्छन् आउने चुनावको माध्यमबाट । आउँदो चुनाव कसैको जितहारभन्दा पनि जनता हाम्रो वर्तमान र अर्को पुस्ताको भविश्य सुनिश्चित गर्न चाहन्छन् । तर, कसरी ? नेता र नेतृत्व अनि यिनको पार्टीको विगत, स्वार्थी, सत्तापरस्त चरित्र, यिनको हावादारी चुनावी घोषणापत्र र झन्डै तीन दशकदेखि जनतालाई भोट बैंकभन्दा माथिको हैसियत नदिएको स्थिति छ । त्यसैले जनता ठूलो अन्योलमा छन् । प्रतिनिधि कुन आधारमा छान्ने ? भोट कसलाई दिने ? किन दिने ? इत्यादि । 

Prabhu Bank
Agni Group
NIC Asia

यस लेखमा केही पार्टीका सैद्धान्तिक विचलनका दृष्टान्त पेस गर्दै भोट किन, कस्लाई र केको आधारमा दिने भन्ने चर्चा गर्ने जमर्को गर्दैछु । 

पार्टी र नेतृत्वमा सैद्धान्तिक विचलन
 

Global Ime bank

सत्ता केन्द्रित अवसरवादी चुनावी कम्युनिस्ट गठबन्धन र कथित प्रजातान्त्रिक खेमाको चुनावी तालमेल र पार्टीभित्रको चुनावको टिकटको बाँडफाँट हेर्दा त दलहरूमा घोर सैद्धान्तिक विचलन भित्रिएको देखियो । थोरै बचेको राजनीतिक संस्कार पनि अब निमिट्यान्न पारे यिनले अहिले । पहिला विभिन्न राजनीतिक सहमति र दाउपेचको नाममा मूल कानुन नै अवज्ञा गरे, खारेज गरे, संशोधन गरे । अहिले चुनावी तालमेलको नाममा खुल्ला प्रतिस्पर्धाको राजनीति अनि प्रजातान्त्रिक मूल्य र मान्यताको हुर्मत लिँदैछन् । मिलेमतो, तालमेल र सेटिङको नाममा ‘चुनाव’ शब्दलाई नै घृणित बनाएका छन् यिनले । कसलाई र किन भोट दिने भन्ने कुरामा जनता दोधारमा त पर्ने नै भए । हैन र ?

चुनावी टिकटको बाँडफाँट सिद्धान्तमा सक्षमताको आधारमा नभएर नातावाद, कृपावाद, धनवाद र डनवादमा आधारित देखियो । हुनेखाने, ठूलाठालु नेता र नेतृत्वको पत्नी, सालासाली, ज्वाइँ र भाइभतिजा र आफ्नै ’कोटरी’ भित्रकालाई पारियो । समानुपातिक प्रणालीको त खील्ली नै उडाइयो यो मुलुकमा । उदेक लाग्दो छ । जनताको प्रश्न यस्ता छन् : टिकट कसैको बिर्ता हो र ? कसैको पैत्रिक सम्पत्ति हो पार्टी र टिकट ? कांग्रेसमा विनोद चौधरीहरूले टिकट पाँउने आधार के ? नवराज सिलवालहरूलाई एमालेले टिकट दिने आधार के ? कसका लागि काम गर्थे यिनी प्रहरी सेवामा हुँदा ? पार्टीको वा देशको लागि ? कांग्रेसका प्रत्याशी दिपककुमार उपाध्याय दिल्लीमा राजदूत हुँदा पार्टी प्रवक्ताका रूपमा काम गर्थे कि राष्ट्रको लागि ? पार्टीको प्रतिनिधि थिए कि राष्ट्रको ? माओवादी केन्द्रभित्र पनि यस्ता धेरै उदाहरण छन् ।

सक्षम इमानदार र दशकौंदेखि पार्टीमा खट्नेहरूलाई पाखा लगाइएको छ । यो पार्टी र यसको नेतृत्वको निर्ममता हो, संवेदनहीनताको पराकाष्ठा हो । धनराज गुरुङहरूको आँसुले मूलधारका पार्टीलाई बगाएर टुकुचाको खोल्सीमा नहालोस् ।

माओवादी केन्द्र र यिनका नेतृत्वको सैद्धान्तिक विचलन र स्खलनको सूची त झनै दयालाग्दो छ । क्रमभंगका नाममा यिनले आफँैलाई भंग गरिसकेका छन् । हुँदाहुँदा एमालेजस्तो रंग न रूपको पार्टीमा आपूmलाई विलीन गराउने कसम खाइसकेका छन् । चुनावी एकता गरेका छन् अनि दुईतिहाइ बहुमतको हुँकार पिटेका छन् । कुन संसारमा छन् यिनीहरू ? मतदाता स्वतन्त्र छन् भन्ने किन नबुझेका यिनले ? विसं २०५१ सालमा ४० बुँदे माग तेस्र्याएर संसदीय व्यवस्था नमान्ने भनेर हिंसाको बाटो रोजे यिनले । तर, आज यीनै सबैभन्दा संसदवादी साबित भएका छन् । शान्ति प्रक्रियापछि धेरैपटक देश चलाए र आज पनि सत्तामै छन् तर ४० बुँदेको ‘च’ पनि उच्चारण गरेनन् । अहिलेको यिनको चुनावी घोषणापत्रमा यसको एउटा बुँदा पनि पारेका छैनन् । उदेक लाग्दो छ । लोक तीन छक्क परेको छ । 

हिजो ’सुरुङ्गयुद्ध’को हुँकार पिटे तर ’जनयुद्ध’को साँचो त उतै पो रहेछ भन्ने रहस्य भारतीय प्राध्यापक सुकदेव मुनीहरूले लेखेर, बोलेर खोली दिएपछि जगतलाई थाहा भइहाल्यो । हिजो बुर्जुवा शिक्षा काम लाग्दैन भनेर कलिला हातमा बन्दुक र बारुद राखिदिए, बोकाए, शिक्षक मारे, पाठशाला र संस्कृत भाषामाथि प्रहार गरे । अनि गरिबका छोराछोरीलाई बन्दुक बोकाए र शान्ति प्रक्रियामा प्रवेशपछि यिनले  तिनलाई मात्रै हैन, पार्टीकै सिद्धान्त, औचित्य र उद्देश्य पनि सडकमै बेवारीसे छोडिदिए ।

हिंसात्मक विद्रोहको औचित्य पनि पुष्टि गर्नुनपर्ने रहेछ । कथित क्रान्तिमा हरेक हिंसा र क्रियाकलाप जायज नै हुँदारहेछन् । मानिसको जिन्दगी साँच्चै सस्तो हुँदोरहेछ सस्तो बनाइयो, बनाए । नयाँ नेपाल र क्रमभंगको नाममा हाम्रो इतिहास र जीवन पद्धतिमै प्रहार गरियो । माक्र्सले क्रान्ति भनेको त इतिहासको जर्गेना हो, संस्कारको जर्गेना हो भने यसैमा उभिएर अर्को इतिहास बनाउनु हो पो भनेका छन् । ’जनयुद्ध’को नाममा माओ र माक्र्सको विशाल दर्शनको नै खिल्ली उँडाए यिनले । अहिले पार्टी नै विघटनको संहारमा छ । सिद्धान्तको जग नै भत्केपछि सबै सकिँदो रहेछ ।

 नेपाली कांग्रेस यो ऐतिहासिक पार्टीको कुरा गर्ने हो भने त झनै घीनलाग्दो छ । आजजस्तो सिद्धान्तविहीन र बाटो भुलेको अवस्थामा यो पार्टी इतिहासमा कहिल्यै थिएन । लाग्छ, कांग्रेसभित्र अब कांग्रेस छैनन् । थोरै भएकालाई पाखा लगाइएको छ । बीपीको दर्शन र व्यवहार अब इतिहास भइसकेको छ । इतिहासको ब्याजले, रहलपहलले कहिलेसम्म थेग्छ होला यस पार्र्टीलाई । प्रजातन्त्रको पर्याय मानिने यो पार्टीलाई प्रजातन्त्रको मूल्य र मान्यता कस्ले सिकाई दिने होला ? हँसिया र हथौडामा आफ्नो कार्यकर्ता र कांग्रेसजनलाई भोट हाल्न आदेश गर्ने अहिलेको यस पार्टीको नेतृत्वलाई बीपी बाँचेका भए कस्तो प्रश्न गर्थे होलान् ? कुरो बडो रोचक छ । नयाँ सोच र अर्को बीपीको पर्खाइमा छ यो पार्टी । आवश्यकता, समय र इतिहासले जन्माउने नै छ । 

अब रहयो कुरा एमालेको । मार्क्सवाद  र लेनिनको आयातित सिद्धान्त रट्नेबाहेक केही छैन यो पार्टीसँग । जनधार हुँदाहुँदै पनि यो पार्टी नैतिकरूपमा खोक्रो राजनीतिकरूपमा घोरअराजनीतिक र सैद्धान्तिकरूपमा अत्यन्त विचलित भएर चौबाटोमा पुगेको छ ।  मार्क्सको दर्शन घोक्दैमा, रटान दिँदैमा कोही मार्क्सवादी भइहाल्छ ? मदन भण्डारीको अन्त्यपछाडि यस पार्टीको आफ्नो छुट्टै दर्शन केही छैन । विसं २०४६ पछि सत्ता यिनको हातमा पनि थियो तर के दिए त जनतालाई यिनले ? बितेका तीन दशकमा यस पार्टीले पनि घोर राष्ट्रघाती काम गरेकै हो । सत्ताको लागि घोर अवसरवादी चरित्र देखाएकै हो । सत्ताको लागि राजावादी, डनवादी, भ्रष्टाचारी र मण्डलेहरूसँग पनि गठबन्धन गरेकै हो । सत्य र सिद्धान्तमा चल्ने कोही छैनन् यहाँ ।

एमाले पार्टीको नाममा एउटा चतुर व्यापारी हो भने हैसियत एक गैरसरकारी संस्थासरह नै हो । यो पार्टी नै हैन भन्र्नहरू पनि धेरै छन् । अहिले आएर माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका छन्, प्रतिशतको आधारमा सिट बाँडेका छन् अनि बहुमतको हुंकार गरेका छन् । कम्युनिस्ट सर्वसत्तावादको सपना र भ्रम पालेका होलान् तर आजको विश्व राजनीतिक परिवेशमा कुनै पनि प्रकारको तानाशाही कँही पनि संभव छैन भन्ने बुझून् । तीन सय वर्ष पुरानो राजसंस्था जरैबाट उखेलेर फाल्ने जनता यिनै हुन् भन्ने बुझून् यिनले ।

तसर्थ, मूलधारका राजनीतिक पार्टी र यिनको नेतृत्व विगतको एवं वर्तमान व्यवहार देखेर जनता आजित छन्, दोधारमा छन्, अन्योलमा छन् । भोट कसलाई हाल्ने ? जनता विकल्पको खोजीमा छन् । 

विकल्प के हो त ?

मेरो विचारमा यो मामलामा हामी विकल्पविहीन छौँ । हाम्रो समसामयिक राजनीतिक परिवेशमा मूलधारका पार्टीको विकल्प छैन । कुनै साना समूह वा गुटले राजतन्त्रको पुनः स्थापनाको वकालत पनि गर्दैछन् तर लोकतन्त्र र गणतन्त्रको अब विकल्प छैन । धर्म निरपेक्षता र संघीयताको बारेमा भने अझै सोच्न सकिन्छ, विकल्प खुल्ला हुनुपर्छ, राख्नुपर्छ । दरबार हत्याकाण्डपछि नै प्रकारान्तरले राजतन्त्र समाप्त भएको हो । यो आफैँ, आफ्नै कारणले सकिएको हो । अब नेपालमा राजतन्त्रको स्थान संग्राहलय नै हो । हामीले राष्ट्रपतीय प्रणालीलाई नै अझ सुदृढ र सम्मानित गरेर अघि बढ्नु पर्छ ।

अहिले भरखरै गठन भएको अर्को साझा तथा विवेकशील नामको पार्टीले पनि आफुलाई विकल्पका रूपमा प्रस्तुत गर्दैछ, सपना बाँड्दैछ । यिनका नारा राम्रै लाग्छन् । केही दशकपछिको लागि संभावना पनि होला तर तत्कालको लागि यिनले राष्ट्रिय राजनीतिमा विकल्प दिन सक्तैनन् । यिनले सिक्न धेरै बाँकी छ । भारतको आम आदमी पार्टीको नक्कल गर्न खोजेका होलान् तर यो भारत हैन नेपाल हो भन्ने यिनले बुझून् । अनि हरेक थपिएको मतलाई आफ्नो विजय ठानून् । अंक गणितको राजनीतिबाट, हारजितको राजनीतिबाट माथि उठेरअघि बढून् यी । 

मतदान हरेक व्यक्तिको राज्य र समाजप्रतिको महान दायित्व हो, अभिभारा हो । राजनीतिक पार्टीहरू र यिनका नेतृत्वमा विचलन आए पनि हरेक पार्टीमा असल नेता, योग्य कार्यकर्ता अझै छन् । हरेक समजमा असल मानीस अझै छन् । समाज त जीवितै छ नि त । हामी चेतनशील समाजले चेतनाले काम गर्नुपर्छ । भोट हाल्नुअघि हजारपटक सोचौँ ।

अरू विकल्प नै नभएपछि हामीले प्रत्याशी छान्ने त यही मूलधारका पार्टीहरू भित्रबाटै हो । तर, कस्तो छान्ने ? कुन आधारमा छान्ने ? यो ठूलो प्रश्न हो । पार्टीगतभन्दा पनि व्यक्तिको ओज र योग्यता, राजनीतिक संस्कार र अडान, नैतिकवान, खुला समाजमा विश्वास गर्ने र कानुनको शासनको हिमायती प्रत्याशीलाई चुनौ । हरेक पार्टीबाट फिल्टर गरेर असल मान्छेहरूको समूह सदनमा पुर्याउन सके केही थोरै भए पनि राम्रो काम हुन्थ्यो कि ? असल नपाएमा कम बदमास र कम फटाहालाई छानौ । खराब प्रत्याशीको सार्वजनिकरूपमा खुलासा गरिनुपर्छ । अब हरेक व्यक्तिसामाजिक अभियन्ता र परिवर्तनको संवाहक बन्नुपर्छ । असल व्यक्तिलाई नेतृत्वमा र सदनमा पुर्याउने गहन दायित्व हामीलाई नै छ मतदानको माध्यमबाट ।

खराब चरित्रका, घोर अवसरवादी, स्वार्थवश आएका नयाँ अनुहार, जागिर छोडेर आएकाहरू, पैसा तिरेर आएकाहरू, व्यापारी, दलाल, भ्रष्टचारी, पार्टी अदलबदल गरिरहनेहरू, मानव अधिकार उलंघनमा मुछिएकालाई सशक्त बहिष्कार गर्नुपर्छ । यिनीहरू कसैका थिएनन्, हुने पनि छैनन् । यीसँग देश र जनताको लागि दिने केही छैन ।

हामीले यो गर्न सकेनौ भने अर्को पुस्ताले हामीलाई सराप्नेछ । हाम्रो आजको मतदानले, निर्णयले आउँदो पिँढीको भविष्यको निर्धारण गर्छ । आज हामीले राम्रो स्थिति सुरु गर्यौँ भने आउँदो पुस्ताले हामीले जस्तै पटकपटक सामाजिक न्यायको लागि लड्नुपर्ने छैन । इतिहास साक्षी छ, हाम्रो अग्रजहरूले गरेको गलत निर्णयहरूको नकारात्मक परिणाम आज हामी भोग्दैछौँ । उदाहरणका लागि १९५० को असमान सन्धि, गण्डक र कोसी सम्झौता, महाकाली सन्धि अनि एक दशकअघि दिल्लीमा भएको चर्चित १२ बुँदे सहमति ।

उदाहरण अरु पनि कति छन् कति । यसका साथै जातीय र क्षेत्रीय नारा बोकेर आएका प्रत्याशीहरू र विखण्डनवादीलाई सशक्त बहिष्कार गरिनुपर्छ । जनताले वुझेका छन्  नेपाल अखण्ड हो । यो सबैको साझा तपोभूमि हो । विखण्डनवादी, लम्पसारवादी र जातिवादीलाई परास्त गर्नु हाम्रो दायित्व हो । कारण अर्को पुस्ताका लागि हाम्रै छोराछोरी र नातिनातिनाको लागि ।

राष्ट्र र जनता नहारोस् 
 

चेतना र विवेक प्रयोग गरौँ । मत खसाल्नुअघि गम्भीर भएर सोचौँ । प्रश्न गरौंँ म केको लागि मत हाल्दैछु ? किन ? कसको लागि ? राष्ट्र र आफ्नो सन्तानको अनुहार अनि भविष्य सम्झौँ । हाम्रोे अमूल्य मत राष्ट्र हार्ने, हामी सबै हार्ने र हाम्रो आउँदो पुस्ताको भविष्य हार्ने छाप नबनोस् । हाम्रो मत देश नै विश्वको नक्शाबाट हटाउने साधन नबनोस् । राजनीतिक पार्टीको भरिया र कार्यकर्ताभन्दा माथि उठेर सोचौँ सबैले । नयाँ राजनीतिक संस्कारको थालनी आफैबाट सुरु गरौँ । राजनितिक स्थिरताको अस्त्र बनोस् हाम्रो यो मत । 

(विद्यावारीधि, अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन ) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC