काठमाडौं । नेपाली चलचित्रमा भारतीय कलाकारले अभिनय गर्नु नौलो होइन । नेपाली चलचित्र इतिहासको सुरुदेखि नै नेपाली सिनेमामा भारतीय कलाकारको संलग्नता रहँदै आएको छ । त्यसले हालसम्म निरन्तरता पाउँदै आएको छ ।
केही समयअगाडि रिलिज भएको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’मा गुल्सन ग्रोभरको अभिनय थियो । ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले डान्स गरेकी थिइन् । केही समयपछि छायांकन गर्ने तयारी गरिएको चलचित्र ‘एक्स–९’मा बलिउड अभिनेता सुनील शेट्टीले अभिनय गर्ने भएका छन् । यी त भए पछिल्लो समय नेपाली चलचित्रमा समेटिएका बलिउडका कलाकारका केही उदाहरण । यसअघि पनि थुप्रै भारतीय कलाकारले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।
विश्वको दोस्रो ठूलो चलचित्र उद्योग बलिउडका कलाकारलाई नेपाली चलचित्रमा अभिनय गराउन कत्तिको सहज छ ? निर्देशक दीपेन्द्र के खनालका अनुसार एजेन्सी वा सम्बन्धित कलाकारका व्यवस्थापक उनीहरूसम्म पुग्ने बाटो हुन् । सिधै कलाकारसँग निर्माता वा निर्देशकको दोहोरो चिनजान कमै हुने भएकाले एजेन्सी वा व्यवस्थापकमार्फत भेट्ने गरेको उनी बताउँछन् ।
“नेपाली फिल्ममा भारतीय कलाकारले अभिनय गर्ने र भारतीय चलचित्रमा नेपाली कलाकारले अभिनय गर्ने एक्सचेन्जका रूपमा रहेको देखिन्छ,” दीपेन्द्र भन्छन्, “पारिश्रमिकका लागि भारतीय कलाकारहरूले नेपाली चलचित्रमा अभिनय गरेका होइनन् र गर्ने पनि होइनन् । आफूले विश्वास गरेको एजेन्सी तथा व्यक्तिबाट आएको प्रस्ताव हार्न नसकेर मात्रै उनीहरूले अभिनय गरेको देखिन्छ ।”
अर्का निर्देशक तथा नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)का आयोजक केपी पाठकले जुरी वा वक्ताका रूपमा धेरै विदेशी कलाकारलाई नेपाल बोलाइसकेका छन् । बलिउड फिल्म निर्देशक प्रकाश झा, अनुराग कश्यप आदि । अनुराग भने कोरोनाका कारण नेपाल आउन सकेनन् । उनी अनलाइनमार्फत फेस्टिभलमा जोडिएका थिए ।
“कोही चिनेको व्यक्ति वा एजेन्सीमार्फत नै हामी उनीहरूसम्म पुग्ने हो । प्रकाश झा हाम्रो फेस्टिभलमा नेपाल आउनुभयो । उहाँ आएपछि मात्रै मेरो उहाँसँग चिनजान भएको हो । अनुराग कश्यपलाई अरू साथीहरूले भन्दिएपछि उहाँले हामीलाई समय दिनुभएको हो,” केपी भन्छन्, “बलिउडका ठूला अनुहारहरूसँग हाम्रो खासै दोहोरो चिनजान हुँदैन । त्यसैले एजेन्सी वा चिनजानका व्यक्तिहरूले गरेको सिफारिस नै उनीहरूसम्म पुग्ने मुख्य माध्यम हो ।”
पारिश्रमिकका लागि भनेर उनीहरू नेपाल नआउने भन्दै विश्वास गरेको संस्था र व्यक्तिहरूले गरेको प्रस्ताव हार्न नसकेर नेपाली चलचित्र तथा फेस्टिभलमा आउने गरेको उनको भनाइ छ । “फेस्टिभलमा आउने–जाने, बस्ने र घुमघामको खर्च मात्रै हामी बेहोर्छौँ । पारिश्रमिक त हामी दिन सक्तैनौँ,” केपी भन्छन् ।
उनीहरूले आफ्नो पारिश्रमिक चार्ज गर्ने हो भने नेपाली मेकरले आफ्नो चलचित्रमा बलिउडमा रुचाइएका अभिनेता तथा अभिनेत्रीहरूलाई अनुबन्ध गराउन सक्दैनन् । नेपाली चलचित्रको बजेटभन्दा धेरै पारिश्रमिक उनीहरूले लिने गरेका गर्छन् । यदि, उनीहरूले बलिउडमा लिँदै आएको पारिश्रमिक डिमान्ड गर्ने हो भने नेपाली मेकरले ल्याउन नसक्ने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।
“नेपाली चलचित्र आजसम्म इन्टरनेसनल ठूला डिजिटल प्लेटफर्ममा जान सकेका छैनन् । त्यसैले बलिउडको ठूलो फेस भ्यालु भएको कलाकारलाई खेलाउन सके नेटफ्लिक्सलगायत डिजिटल प्लेटफर्मममा आफ्नो चलचित्र बेच्न सकिन्छ कि भन्ने लोभ छ,” उनी भन्छन्, “त्यसैले अहिले सम्पर्क र सम्बन्ध तथा एजेन्सीमार्फत केही मेकरले बलिउडका केही ठूला फेसलाई आफ्नो चलचित्रमा ल्याउने प्रयास गरिरहनुभएको छ । यदि, उनीहरूले आफ्नो मिनिमम पारिश्रमिक पनि चार्ज गर्ने हो भने पनि हामीले बलिउडका कलाकार ल्याउन सक्दैनौँ ।”
निर्देशक मुकुन्द भट्टले अरू केही कलाकारलाई पनि अप्सनमा राखेका थिए । तर, सुनील शेट्टी नै राजी भएको उनी बताउँछन् ।
मुकुन्द आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको दाबी गर्छन् । “मैले स्क्रिप्ट पिच गर्दा नै उहाँले यस्तो चलचित्र नेपालमा पनि बन्छ ? भन्नुभयो,” मुकुन्द भन्छन्, “मेरो चलचित्र एलसी–२ पनि हेरिसकेकाले उहाँले त्यसको सटको प्रशंसा पनि गर्नुभयो । त्यसैले यो प्रयास र प्यासनका लागि प्रभावित भएको भन्दै तपाईंसँग काम गर्न तयार छु भन्नुभयो ।”
दीपेन्द्रको विचारसँग मुकुन्द सहमत छन् । नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजलाई लक्षित गरेर आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको उनी बताउँछन् ।
“यो सबै गर्नुका पछाडि हाम्रो मुख्य उद्देश्य नेपाली चलचित्रलाई इन्टरनेसनल बजारमा लैजानु हो । बलिउडका ठूला फिगरलाई लिइयो भने विश्वभरका दर्शकको पहुँचमा रहेका डिजिटल प्लेटफर्ममा जान सहज हुन्छ,” मुकुन्द भन्छन् । विदेशी बजारको ढोका खोल्न सके नेपाली चलचित्रको बजार फराकिलो हुँदै जाने उनको भनाइ छ ।
बलिउडका ठूला फिगरलाई अनुबन्ध गराएका नेपाली चलचित्रले पनि दर्शक र समीक्षक दुवैको मन भने जित्न सकेका छैनन् । “चलचित्र चल्नका लागि अन्ततः चाहिने राम्रो कन्टेन्ट नै हो । चलचित्र विषयले चल्ने हो, अनुहारले होइन,” केपी भन्छन् ।