विचार
आज १५ अगस्टका दिन भारतले ७०औं स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतको स्वतन्त्रता र महात्मा गान्धी संसारमा पर्यायका रूपमा लिइने नाम हुन् । तर, गान्धीको हत्या भएको एक शताब्दी पनि नपुग्दै यी दुईबीच ठूलो अन्तर देखिइसकेको छ ।
महात्मा गान्धी भारत - पाकिस्तान विभाजनका पक्षमा थिएनन् तर राष्ट्रिय काग्रेसको नेतृत्वले विभाजनलाई उनको इच्छा विरुद्ध स्वीकार गरेको थियो । त्यसपछि बापुले काग्रेससँग आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरेका हुन् । 'जसलाई राजनीति गर्नु छ जाऊ गर, तर मलाई राजनीति गर्नु छैन । मेरो अबको काम समाज सेवा हो' भनेर बापुले स्पष्ट शब्दमा भनेका थिए । अन्ततः विभाजनको केही महिनापछि उनको हत्या भयो । बापुले अन्तिम समयमा काग्रेससँगको सम्बन्ध विच्छेद गरेका थिए र आफ्नो नाम कसैले पनि राजनीतिमा प्रयोग नगरोस् भन्ने चाहन्थे । तर भारतीय राष्ट्रिय कांग्रेसले गान्धीको इच्छाविपरीत गरिरहेको छ ।
गान्धीका सन्तानहरू कांग्रेसले राम्रो नराम्रो दुवै काम गर्दा बापुको नाम उपयोग गर्दैआएकोलाई राम्रो मान्दैनन् । राजनीतिमा चासो राख्नु र सक्रिय हुनु राम्रो हो तर अरूको नाम उपयोग गर्ने परम्परा गलत हो । स्वतन्त्रतापछि भारतको शासन सत्ता गान्धीको इच्छाअनुसार कहिल्यै चल्न सकेन । चलाउनै नैं खोजिएन । बापु सरल जीवनशैलीका पक्षमा थिए । भारत स्वतन्त्र हुनभन्दा अघिदेखि नै गरिबको उत्थान कसरी गर्न सकिन्छ भन्नेमा चिन्तित थिए । तर शासकले त्यसलाई कहिल्यै अपनाएनन् । बेलायती उपनिवेश अन्त्य गरेर भारतीय साम्राज्य कायम गर्ने शासन शैली अपनाइयो । यसैले भारतमा अहिले शासन, सत्ता र शक्तिको खेलमात्र भइरहेको छ ।
गान्धीलाई भारतमा राष्ट्रपिता घोषणा गरिएको छ । तर, उनको नाम र छविको जताततै दोहन गरिएको छ । राष्ट्रपिताका शिक्षालाई अभ्यासमा अपनाइएको भए उनीप्रतिको सच्चा सम्मान हुन्थ्यो । महात्मा गान्धीका नाती अरुण गान्धी भन्छन् - बापुले सिकाएको कुरा त उपेक्षा गर्ने हो भने राष्ट्रपिता घोषणा गर्नुको के अर्थ भयो र ?
गान्धीले सरल र सामूहिक जीवनशैली अपनाएका थिए तर अहिलेका शासकहरूको जीवनशैली कुनै सम्राटको जस्तोदेखिन्छ ।
उनले गरिब, दीन दुःखीको सेवा गर्नु भनेका थिए । तर, गरिब रधनी बिचको अन्तर बढ्दो छ । सहर गाँउका बीचमा चरम विभाजन छ । बापुले यस्तो अन्तरको कल्पना परेका थिएनन् ।
आज पनि बापुको जीवन शैली र विचारलाई नेतृत्वले आत्मसात् गर्न सक्यो भने गरिबी न्यून हुनसक्थ्यो तर नेतृत्व वर्ग त्यसो गर्न चाहँदैन भन्ने स्पष्टै देखिएको छ । यसैले जति नै तामझामसाथ स्वतन्त्रता दिवस मनाइए पनि स्वतन्त्रता दिवसका दिन जनसाधारण यसमा जोडिन सकेका छैनन् । सायद, बापुका आदर्श बिर्सेको फल भारतले अझै लामो समयसम्म भोग्नुपर्नेछ ।
प्रकाशित मिति: सोमबार, साउन ३१, २०७३ १७:०१
प्रतिक्रिया दिनुहोस्