कोभिड–१९ को विश्व महामारीबाट नेपालको शैक्षिक क्षेत्र पनि प्रभावित बन्न पुग्यो । शैिक्षक सत्र २०७७ को अधिकांश सिकाइ प्रक्रिया ‘अनलाइन‘ र ‘भर्चुअल‘ माध्यमबाटै सञ्चालन भएको थियो । यद्यपि, कोभिड सङ्क्रमण घट्दै जाँदा केही समय विद्यालयहरू भौतिकरूपमा पनि सञ्चालन गरिएका थिए ।
कोभिड–१९ को नयाँ संक्रमणले भारत र नेपालमा महामारीको रूप लिनथालेपछि विद्यालयहरूले भौतिक पठनपाठन बन्द गरी पुनः अनलाइन र भर्चुअल माध्यमबाट अगाडि बढाउनु परेको छ । परन्तु,सबै ठाउँका विद्यार्थीलाई अनलाइन र भर्चुअलमा समेट्न हिजो पनि सकिएको थिएन र आज पनि छैन ।
सिकाइ प्रक्रिया
विद्यालयमा वैकल्पिक सिकाइका विभिन्न उपाय अवलम्बन गर्नुपर्ने अवस्था एकातिर अनिवार्य हुँदै गएको छ भने भौगोलिकरुपमा दुर्गमका विद्यार्थीलाई अनलाइन र भर्चुअल सिकाइ निकै कठिन बन्न गएको देखिन्छ । नेपालको विविध भौगोलिक अवस्थितिको कारणले इन्टरनेटको पहुँच सबै ठाउँमा समान ढङ्गले पुग्नसकेको छैन । उदाहरणको लागि काठमाडौं नजिकैको जिल्ला काभ्रेलाई लिने हो भने बनेपा र धुलिखेलभन्दा माथिको गाउँ टोलमा सञ्चार सुविधा उत्तिकै पुग्न सकेको देखिँदैन । यस्तो अवस्थामा अनलाइन र भर्चुअल सिकाइ सहजतापूर्वक सबै ठाउँमा हुनसक्तैन । हुनत, कतिपय सहरी क्षेत्रमै पनि अनलाइन र भर्चुअल सिकाइका साधनको अभावले सबै विद्यार्थीलाई सिकाइमा जोड्न सकिएको छैन ।
विद्यार्थीको मूल्याङ्कन
वास्तवमा मूल्याङ्कनले मानव जीवनको हरेक पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । शिक्षाको सिकाइ प्रक्रियामा पनि मूल्याङ्कनको महत्त्व त्यत्तिकै रहन्छ । राष्ट्रिय शिक्षा र पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू विद्यार्थीले पूरा गर्न सक्यो कि सकेन भन्ने सुनिश्चित विद्यार्थीको मूल्याङ्कनबाट मात्र गर्न सकिन्छ ।
आन्तरिक तथा बाह्य मूल्याङ्कन
शैक्षिक सत्र २०७७ को गन्तव्य २०७८ वैशाख मसान्तसम्म तय भएको अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड र स्थानीय तहले लिने परीक्षाहरूबाहेक विद्यालयले निश्चित तहका आफ्ना विद्यार्थीको आन्तरिक रूपमा मूल्याङ्कन गरी प्रमाणीकरण गर्न सरकारले पनि सूचना जारी गरिसकेको छ । कतिपय विद्यालयले बार्षिक परीक्षा सञ्चालन गरिसकेको देखिन्छ भने कतिपय विद्यालयले अनलाइन र भर्चुअल माध्यमबाट सञ्चालन गरिरहेका छन् । विद्यालयले विभिन्न तहका विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरे पनि आधारभूत, एसईई तथा एस्एल्सी तहका विद्यार्थीका लागि भने यस अगाडि नै कार्यतालिका सार्वजनिक भइसकेको थियो । तर, महामारीले गर्दा सो अनुरूप हुनसक्ने देखिन्न । तथापि, सम्बन्धित निकायहरूले नै निर्णय गर्ने भएको हुँदा उचित समयमा त्यसको उपयुक्त प्रक्रिया सुरू हुने अपेक्षा गर्न सकिन्छ ।
विगत वर्षमा जस्तै विद्यालयलाई नै आन्तरिक मूल्याङ्कनको जिम्मा दिने हो भने पनि त्यसको भरपर्दो विधि तय गर्न जरूरी हुन्छ ।
किनभने विद्यालयहरूले गरेको मूल्याङ्कनप्रति प्रश्नहरू पनि खडा भएको छ । हुनत, यसमा विद्यालयका पनि कतिपय अप्ठेरा होलान् र त्यसलाई बेवास्ता गर्न नमिल्ला । तर, चुनौतीलाई विवेकपूर्ण ढंगबाट अवसरमा बदल्न सक्नु विद्यालयको दायित्व हो ।
यसपछिको निकास
शैक्षिक सत्र २०७७ को सुरुमा भर्चुअल र अनलाइनमा जोडिने विद्यार्थीहरू थोरै देखिए पनि पछिल्ला दिनमा वैकल्पिक सिकाइमा जोडिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको थियो । यद्यपि, राज्यले पनि यसका लागि थुप्रै निर्णय र कार्यहरू गरिसकेको छ । विगतमा गरिएका निर्णय र स्रोत साधनलाई समेत ध्यान दिँदै आउने शैक्षिक सत्रलाई सकेसम्म समयमै व्यवस्था गर्नुपर्ने देखिन्छ ।
वैकल्पिक तथा भर्चुअल अनलाइन सुविधालाई सबैको पहुँचमा पुर्याउन सम्बन्धित पक्षबाट तदारूकता देखाउन जरूरी छ ।
यसका लागि विद्यालय, शिक्षक, अभिभावक र सम्बन्धित पक्षहरूले पनि भूमिका खेल्नुपर्छ ।
जनसाधारणसमेत भर्चुअल संसारमा प्रवेश गर्दैगर्दा हाम्रो गतिविधि अनलाइन र भर्चुअलमा सीमित हुने अवस्था छ । हाम्रा व्यापार, व्यवसाय र कारोबारसमेत भर्चुअल र अनलाइनको माध्यमबाट सञ्चालन हुँदै गएको देखिन्छ । अर्कातिर यस्ता विभिन्न रोग व्याधि र महामारीमा अनलाइन तथा भर्चुअलको उपयोगिता झनै बढेको छ ।
भविष्यमा पनि यस प्रकारका महामारीहरू नआउलान् भन्न सकिन्न । यस्तो विषम परिस्थितिमा पनि शिक्षालाई निर्वाधरूपमा अगाडि बढाउन विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरूले ध्यान दिन जरूरी देखिन्छ । सिकाइमा सबै पक्षको उत्तिकै सहकार्य आवश्यक हुन्छ । यिनै सहयोग र सहभागिताबीच नै सिकाइलाई पूर्णता दिन सकिन्छ । यसैले यसलाई सबैले एउटा अवसरको रूपमा र प्रविधिको प्रयोग गर्ने उचित समयका रूपमा लिनुपर्छ ।