site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली नीति : अप्ठेरो परेपछि दैलोमै पुग्ने !

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । 

माओवादी केन्द्रले बुधबारबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिएको छ । ओलीले आफू अल्पमतमा पर्नुअघि नै वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका थिए । 

पार्टीको आन्तरिक किचलो त छँदैछ ।  प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार बसेको पदाधिकारी बैठकले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

एमाले एकजुट भएर नेता माधवकुमार नेपाल समूहले पनि ओलीलाई मत दिए त बहुमत पुग्छ । तर, पछिल्ला गतिविधिले नेपाल समूहले विश्वासको मत दिनेमा ओली समूह विश्वस्त छैन । 

तथापि नेपाल समूहले त्यसबारे आधिकारिक धारणा पनि बनाइसकेको छैन ।  वैशाख २७ गते अघि नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामाका बारेमा पनि छलफल गरेका छन् ।

तर उक्त हल्ला बालुवाटारले नै चलाएको उनीहरुको निष्कर्ष छ । 

नेपाल समूहले मत नदिएमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले मत दिए ओलीको बहुमत नपुग्ने देखिन्छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओलीको विपक्षमा उभिने निर्णय गरिसकेको छ । 

प्रतिपक्षी दलले ओलीले यतिबेला आएर विश्वासको मत लिने निर्णयको आसय नै गलत भएको ठहर गरेका छन् ।

उनीहरुको बुझाइमा ओली यतिबेला अप्ठेरोमा छन् । या त उनले धेरै कुरा मिलाइसकेका छन् ।  विपक्ष नेताहरुका अनुसार ओलीले अहिले बहुमत पुर्‍याउने अवस्था देखिँदैन । 

त्यसो त कांग्रेस र माओवादीले राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि साझा उमेदवार बनाउने निर्णय गरेका छन् । वाग्मती प्रदेशमा गृहमन्त्री रामबहादुर थापा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा रिक्त भएको पदमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ । 

उक्त उपनिर्वाचनका लागि माओवादी–कांग्रेसले माधवकुमार नेपाल निकट रहेका डा. खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ । 

एमालेले औपचारिक निर्णय गरिनसके पनि बादललाई नै उमेदवार बनाउने तयारी गरेको छ । 

वाग्मतीमा पनि दुई दलले एमाले नेता नेपाल पक्षको सहयोग हुने विश्लेषण गर्दै सोहीअनुसार उमेदवार तय गरेको नेताहरु बताउँछन् ।

राजनीतिक घटनाक्रम यसरी विकसित भइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफूनिकटका चार प्रभावशाली नेता लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

ओली आफूलाई असहज भएपछि अन्य नेताहरुको दैलोमै पुग्ने क्रम यो पहिलो होइन ।

यसअघि पार्टीभित्र समस्या परेपछि तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि पटक पटक पुग्थे भने अर्का नेता वामदेव गौतमको निवासमा उनी लगातार पुग्ने गर्छन् जब पार्टीमा समस्या आउँछ । 

गत वर्षको मंसिर ४ गते प्रधानमन्त्री ओली तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे । त्यतिबेला नेकपा विवाद उत्कर्षमा थियो । पार्टीका बहुमत सचिवालय सदस्य एकातिर थिए । अर्थात् ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा थिए ।

पार्टी फुटको डिलमा पुगेका वखत प्रचण्ड फकाउन ओली खुमलटार पुगेका थिए । नेता–कार्यकर्तामा उत्साह पैदा भएको थियो ।

तर, नेताहरु बिनानिष्कर्ष बाहिरिए । उक्त भेटको भोलिपल्ट अर्थात् पुस ५ गते ओलीले हठात् प्रतिनिधि सभा नै भंग गरिदिए ।
प्रतिनिधि सभा त फागुन ११ गते पुनःस्थापना भयो । तर, विवादैमा नेकपा फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादीको अवस्थामा फर्कियो ।

अनि भैंसेपाटी 

त्यसअघि गत साउनमा पनि तत्कालीन नेकपा फुटको डिलमा पुगेको थियो । नेकपामा विवाद बल्झिएको थियो ।  

साउन १३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमले ओलीलाई सहज हुनेगरी ६ बुँदे प्रस्ताव सार्वजनिक गरे । निर्णायक सदस्य रहेका वामदेवको प्रस्तावले आफूलाई राहत दिने देखेपछि ओली सोही साँझ उनलाई फकाउन भैंसेपाटी निवास पुगेका थिए ।

त्यस्तै ओली गएको फागुन २१ गते पनि वामदेव निवास पुगेका थिए ।  निवासमा नै लडेर घाइते भएका वामदेव भेट्न भन्दै उनी भैंसेपाटी पुगेका थिए । 

तर, त्यतिबेला पार्टी राजीनितिक रुपमा विभाजित थियो । 

नेकपा ओली र प्रचण्ड नेपाल समूहमा विभाजित थियो । कित्ता क्लियर नगरेका गौतमलाई फकाउन ओली भैंसेपाटी पुगेका थिए । तर, गौतमले कुनै कित्ता क्लियर गरेनन् ।

विश्वासको मत लिने तयारीस्वरुप बोलाइएको बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिनु, एमाले उमेदवार रामबहादुर थापा बादलविरुद्ध माधवकुमार नेपाल निकट रहेका नेता डा. खिमलाल देवकोटालाई अघि सारेकै दिन ओली दलबलसहित देउवा निवास पुगेका हुन् ।

उनले लामो फेहरिस्त सुनाउँदै विश्वासको मतमा समर्थन गर्न आग्रह गरेका थिए ।

तर कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु प्रतिपक्षमा रहेकाले अहिले समर्थन गर्न नसकिने भन्दै ओलीलाई जवाफ दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्