
काठमाडौं । युवा श्रोतामाझ लोकप्रिय युवा गायक नितेशजंग कुंवरले एक साताअघि दर्शकलाई चकित पार्दै अब सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको बताएका थिए । उनको यो स्ट्याटसपछि उनका दर्शकमा नितेशले सांगीतिक क्षेत्र किन छोड्न लागेको भन्ने कौतहुलता बढ्ेको थियो ।
अन्ततः नितेशले प्रशंसकको यहि जिज्ञासा मेटाउन खोजेका छन् । फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उनले यसको कारण बताउन खोजेका छन् तर अझै पनि नितेशले खुलेर प्रस्ट पार्न सकिरहेका छैनन् ।
उनको यो घोषणापछि कति दर्शकले उनलाई यस क्षेत्रमा सपोर्ट नभएर नितेशले यो निर्णय लिएको हो कि भन्ने प्रश्न तेर्स्याएका छन् । जसको जवाफमा उनी भन्छन्, “कसैले सोचेको होला मैले सपोर्ट पाइन अनि गीतमा भ्युज भएन भन्ने लागेको होला । कृपया त्यस्तो नसोचिदिनु होला । किनभने सपोर्ट नपाएको भए म आज यो निर्णय लिने समय सम्म आउने थिइन होला । त्यही सपोर्टकै कारण म आज यहाँ छु ।”
देश विदेशमा भएका नेपालीहरुबाट धेरै साथ सहयोग पाइरहेकोमा नितेशले आभार व्यक्त गरे । त्यसैले उनी कसैलाई पनि नकारात्मक कुरा नसोच्न आग्रह गर्छन् ।
नितेश अगाडि थप्छन्, “एउटा ठाँउसम्म पुगियो । तर अझ धेरै केही गर्नुछ । हाम्रो देशमात्रै किन पछाडि हुने । हरेकले आ–आफ्नो तवरले देशलाई अगाडि बढाउनुपर्छ र विश्व सामू हाम्रो देशलाई चिनाउनु पर्छ ।”
नितेश अहिले एकदमै नराम्रो समय चलिरहेको बताउँछन् । बिरामी बुबालाई एक्कासी कोरोना संक्रमण भएपछिको अस्पतालको त्यो सकस उनले केही पोख्न खोजेका छन् । तर उनी खुल्न चाहेनन् । अहिले कोरोनाको बढ्दो संक्रमणका कारण अस्पतालमा बेडको अभाव भैरहेको र नितेशका बुबाले पनि त्यही समस्या भोग्नु परेको नितेशले दुखेसो पोखे ।
“जिन्दगीमा दुःख सबैलाई छ । तर म हार मान्ने मान्छे होइन । म केही न केही गर्छु भनेर योजना बनाइरहेको छु । अब कामले नै बोल्ने छु । म व्यक्तिगत प्रयासले देशलाई अन्तर्राष्ट्रिय नक्सामा राखेर छोडछु,” उनले भने ।
तस्बिर ः फेसबुकबाट