site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित 

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा  श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ ।  

आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५-१ गोल अन्तरले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध  पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको थियो । आर्मीले दोस्रो हाफमा थप तीन  गोल गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको २८ औँ मिनेटमा इभान इसान्टेले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाए  । खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए ।  खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै २-१ गोलको अग्रता दिलाए । 

खेलको ४९ औँ मिनेटमा आर्मीका टंकबहादुर बस्नेतले नवयुगको पासमा गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाए ।

खेलको ६८ औँ मिनेटमा आर्मीका सुदिल राइले दिएको पास नवयुगको खराब ट्च लाग्दा गोलमा परिणत हुन सकेन । 

८४ औँ मिनेटमा सुनिल राइले गोल गर्दै आर्मीलाई ४-१ गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दा आर्मीलाई ५-१ गोलको जित दिलाए । 

यसअघि खेलको १० औं मिनेटमा सन्तोष तामाङले डी एरिया बाहिरबाट हानेको पास श्रीलंकन पुलिसका गोल रक्षक डेनिस महेन्द्रनले सहजै रोकेर आउट फालिदिएका थिए । 

खेलको १२ औं मिनेटमा कर्नरबाट आएको बल भरत खवासले हेड गर्दा गोल भने हुन सकेन् ।   खेलको ३४ औँ मिनेटमा आर्मीका भरत खवासले डि बक्स भित्रको बल आउट फालेका थिए  । 

पहिलो खेलमा श्रीलंकन पुलिसलाई हराएको आर्मीले अब आफ्नो दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । 

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । 

सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्