site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘बिमा कम्पनीमा हकप्रदको खेल मान्य छैन, अजोडलाई कुनै निर्णय नगर्न भनको छौं’

काठमाडौं । बिमा समितिले अजोड इन्स्योरेन्सको हकप्रद सेयरलाई स्वीकृत नगर्ने भएको छ । अजोड इन्सयोरेन्सले ५० प्रतिशत हकप्रद प्रस्तावसहित आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारणसभा बालाएको थियो । तर, बिमा समितिले भने  कम्पनीलाई हकप्रदको कुनै निर्णय नगर्न निर्देशन दिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित  साधारणसभा बोलाउनु अगाडि नै सूचना चुहाएर भित्री कारोबार गरेको आरोप लागेको छ । कम्पनीले हकप्रद सेयर प्रस्ताव गर्दा सूचना चुहाएर भित्री सूचनाको आधारमा कारोबार भएको हो अथवा हैन भन्ने विषयमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले अध्यन गरिरहेको जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, यस क्षेत्रको नियामक निकाय बिमा समितिले नै कम्पनीको हकप्रद निष्कासनमा रोक लगाउने तयारी गरेको छ । अजोड इन्स्योरेन्सलाई हकप्रद सम्बन्धी कुनै निर्णय नगर्न निर्देशन दिएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाह्रखरीलाई बताए । 

“जन्मेको चार वर्ष पनि भएको छैन । आईपीओ जारी गरेको एकवर्ष हुँदै छ । सेयरको खेलमा लाग्ने यस्तो कुरा मान्य हुँदैन,” अध्यक्ष सिलवालले बाह्रखरीसँग भने, “अहिलेसम्म अजोडले राइट सेयर जारी गर्ने भन्ने जानकारी आएको छ । अरु पनि ३÷४ वटा कम्पनीको आउँदै छ भन्ने कुरा आएको छ । अजोडको जानकारी पाएका छौं र उनीहरुलाई अहिले कुनै निर्णय नगर भनेका छौं ।”

उनले बिमा कम्पनीमा हकप्रद सेयरले सेयर मुल्यमा खेल्ने काम मान्य नहुने स्पस्ट पारे ।  यसबाहेक शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले पनि हकप्रद सेयर प्रस्ताव गरेहका छन् । अहिले सेयर बजारमा निर्जीवन बिमा कम्पनीले पुँजी बढाउन तयारी गरिरहेको र हकप्रद सेयर जारी गर्ने चर्चा चलाएर सेयर मूल्य बढाइरहेका छन् ।

बिमा समिति भनेको नै बिमा क्षेत्रको नियमन गर्ने निकाय भएकोले यसरी चलखेल गर्ने बाहानमा हकप्रद सेयर प्रस्ताव गर्ने जस्ता कार्य आफूलाई मान्य नहुने अध्यक्ष सिलवालको भनाइ छ । बिमा समितिमा अहिलेसम्म कुनै पनि कम्पनीको हकप्रद प्रस्ताव नपुगेको र पुगेपछि समितिले आवश्यक निर्णय लिन उनले प्रस्ट पारे ।

“कानुनी व्यवस्थाले दिन्छ की दिँदैन, कम्पनीको स्वास्थ्य कस्तो छ, हकप्रद आवश्यक हो की हैन, लगानीकर्ताले प्रतिफल पाउँछ की पाउँदैन भनेर हेर्ने का बिमा समितिको हो,” उनले भने, “अहिलेसम्म अजोडको नोटिसमा आएका छ, यदि कुनै कम्पनी  सेयरको खेलमा लाख्छ भने त्यो मान्य हुँदैन ।”

यता, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री भने समितिबाट हकप्रदको विषमा कुनै निर्देशन नआएको बताए । कम्पनीले हकप्रदको प्रस्ताव साधारणसभामा लैजाने र त्यसपछि बिमा समितिमा अनुमति माग गर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्