site stats
बाह्रखरी :: Baahrakhari
खेल
सचिन तेन्दुलकर अस्पताल भर्ना
फाइल तस्बिर : एएफपी ।

नयाँदिल्ली । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसबाट संक्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था झन्-झन् बिग्रँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलाडी तेन्दुलकर कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने संक्रमण नभएको देखिएको छ । शुक्रबार उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्यलाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफू चाँडै नै निको भएर घर फर्कने विश्वाससमेत व्यक्त गरे । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान भएका थिए । सन् २०११ को क्रिकेट विश्वकप भारतले जित्दा उनी भारतीय टोलीको सदस्य थिए । उनले भारतको लागि ६ क्रिकेट विश्वकप खेलेका छन् ।

उनले सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उनकै नाममा छ ।

टेस्ट क्रिकेटमा४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् भने पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुन् । रासस/एएनआई

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २१:२१
प्रतिक्रिया दिनुहोस्