
आधुनिक निरोको शासन–मन्त्र
एउटा ध्वनि प्रतिरोधी
विशाल बैठक कोठामा
सत्ताधारी, ‘राष्ट्रियता र समृद्धिको सपना’
जादुमयी बहुचर्चित भजनका रचनाकार
निरोवादी नेताजी चुनाव अंकित मुरली बजाएर
आफ्ना कार्यकर्तालाई सत्तारोहण
र सत्ता स्थायित्वको
गायत्री मन्त्र सुनाउँदै छन् ।
अब्बल दर्जाका चाप्लुस बहादुरहरू,
चम्चा प्रसादहरू
श्रेणीविहीन श्रेणीका प्रमुखहरू,
सल्लाह नै नचाहिने
सल्लाहकारहरू,
भरौटे अनि रखौटेहरू
दबाई बेच्ने दलालहरू,
भू–माफिया र फ्लू माफियाहरू
बाटो, पुल र पानीका आयोजनाहरू
बक्सिस् पाएमा
नेताजीका आसेपासेहरू
निरोमय धुनमा मग्न भएर
सत्तामा टिकिराख्ने सूत्रहरू
निःशब्द श्रवण गरिरहेछन् ।
बन्द कोठाभित्र नेताजी भजन गाइरहँंदा
बाहिर,
कोलाहल छ, महामारीले मरेका लासहरू
आर्यघाटमा पालो कुरिरहेका छन्
भोका पेटहरू फोहोरको डंगुरमा
सास अड्याउने आश
खोस्री रहेका छन् ।
महामारीको त्रासले बन्दी भएका
काम र मामको अभावमा छट्पटाइरहेका
राहत्को आशमा निराश मानिसहरू
टीभी र रेडियोतिर मुन्टो फर्काएर
राहत प्याकेज कुरिरहेछन् ।
कोही कुरिरहेका छन्, कोही कराइरहेका छन्
चिच्चाइरहेका छन्
बलिन्द्र धारा आँसु बगाएर
तिनै नुनिला आँसु पिउँदै कोही विनय गरिरहेका छन् :
सास देऊ ! सास देऊ ! सास देऊ !
नेताजीको मुरलीमय मिटिङ सकिन्छ
एकाएक नेताजी टीभीको स्क्रिनमा प्रकट हुन्छन्
र, सम्पूर्ण दुःखको
मुक्तिको सार सबैलाई सुनाउँछन् :
चुनाव ! चुनाव !! चुनाव !!!
अनि भन्छन् :
म मात्र एक मानिसको दुःख हरण गर्ने
सूत्र बोकेको शासक हुँ ।
म सत्ताबाट झर्न मिल्दैन
झरें भने प्रलय हुन्छ ।
तपाईंलाई बाँच्न मन छ ?
अनि मजस्तै मुरली बजाएर नाच्न मन छ ?
भोट हाल्नुस्, भोट
भोट पछि राहत लिएर आउँछु
अनि फेरि समृद्धिको गीत गाउँछु ।
एकाएक नेताजी स्क्रिनबाट अलप हुन्छन्
मानिसहरू नेता आउने आशमा टोलाइरहन्छन् !
० ० ०
एउटा अत्यासलाग्दो पर्खाइ
विगत कैयौं वर्षदेखि म पर्खिरहेको छु ।
एकोहोरो हेरिरहेको छु
निरन्तर
नियालिरहेको छु
पछ्याइरहेको छु
कहिले नजिकबाट
कहिले टाढाबाट
सम्झनाका ज्वारभाटाहरूले भौतिक
दूरीलाई धुमिल बनाइदिन्छन्
अनि म त्यही पर्खाइसँग जोडिन पुग्छु
दूरी घटाइदिने भौतिक अवयवहरूको
सहारामा :
मुस्काउँछु, सुस्ताउँछु, मुर्मुरिन्छु
आन्दोलित हुन्छु– मोबाइलको स्क्रिनमा
अनि आफ्नै निर्बलताको लजास्पद अनुभूति
सँगै लाग्छु आफ्नै दैनिकीको अन्त्यहीन
दौड पछ्याउन ।
ऋतुहरू फेरिन्छन्,
पालुवा पलाउँछन्
नदीहरूमा पानी बहिरहन्छ
समय निरन्तर आफ्नो गतिमा अघि बढिरहन्छ ।
तर मेरो पर्खाइमा केही परिवर्तन हुँदैन
दशकौंदेखि मेरो पर्खाइ जहाँको त्यहीँ छ
कपाल फुले
दारी फुले
त्यो झर्छ र खाउँला भन्ने मेरो पर्खाइ
एक इन्च अगाडि बढेन !
सुन्दै छु मेरो बबुरो देशले फेरि
पुरानै ऋतु दोहोर्यायो रे
पलाएका पालुवाहरू
बूढो रूखको ओतमा परेर
पÞmस्टाउनै सकेन रे !
तर पनि म पर्खिरहेको छु ।