site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई देउवाको ‘ग्रीन सिग्नल’– राजीनामा दिएर आए गठबन्धन !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिएर आए केपी ओलीसँगै सत्ता गठबन्धन गर्न सकिने संकेत गरेका छन् ।

देउवाले यस्तो संकेत गरेपछि कांग्रेसभित्र सरकारमा जाने विषयमा मतभेद देखिएको छ । अहिले नै ओलीसँग सहकार्य गर्न नहुने नेता रामचन्द्र पौडेल पक्षको तर्क छ ।

सत्तारुढ नेकपाका दुई समूहले कांग्रेसलाई सत्ता साझेदारीका लागि प्रस्ताव गरिरहँदा कांग्रेसको पदाधिकारी बैठकले नेकपा अहिले पनि कानुनी रुपमा एक भएको भन्दै कानुनी रुपमा प्रस्ट नहुँदासम्म दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर अहिले त्यो अडानबाट कांग्रेस एक कदम अघि बढ्दै सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीको समूहलाई सर्तसहितको प्रस्ताव राखेको उच्च स्रोतले जानकारी दियो ।

उसले प्रधानमन्त्री ओलीलाई सत्ता साझेदारीका लागि राजीनामा दिएर आउनुपर्ने सर्त राखेको हो । 

तर स्रोतले दिएको जानकारीअनुसार देउवाले प्रचण्ड–नेपाल पक्षसँग पनि सँगसँगै वार्ता अघि बढाएका छन् ।

“नेकपामा यही समूहसँग मिल्नुपर्छ भन्ने विषयमा कांग्रेस रिजिड हुनुपर्छ भन्ने केही पनि छैन । खाली प्रधानमन्त्रीलाई यही अवस्थामा निरन्तरता दिने विषयमा सहमति हुन सक्दैन,” कांग्रेसका एक पदाधिकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “अहिलेको अवस्थामा प्रधानमन्त्री संसद् समाप्त गर्ने प्रयासका कारण पदमा बस्नका लागि योग्य छैनन् । तर जब उनले पदबाट राजीनामा गर्छन् तब उनी राजनीतिक रुपमा सहकार्यका लागि योग्य हुन्छन् ।”

उनले प्रधानमन्त्री वहाल रहेको अवस्थामा भने उनीसँग कुनै विषयमा समझदारी हुन नसक्ने बताए । 

स्रोतका अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीले अदालतबाट यही फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापित भएपछि १२ गते बिहानै अन्यत्र नलाग्न र प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै सन्देश पठाएका थिए ।

त्यही दिन दिउँसो नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अस्थिरता अन्त्य र व्यवस्थासँगै संविधानको रक्षाका लागि दीर्घकालीन सहकार्यका लागि प्रस्ताव गरेका थिए । 

तर, ०७४ सालमा कांग्रेससँग सत्तामै रहेका बेला तत्कालीन एमालेसँग चुनावी तालमेल गरेर कांग्रेसलाई सानो आकारमा सीमित गर्न भूमिका खेलेका कारण देउवाले प्रचण्डलाई पूरा विश्वास गर्न नसकिरहेको स्रोत बताउँछ ।

तर ओलीले अहिले संविधानमाथि प्रहार गरेका कारण सहकार्य गर्नैपरेमा प्रचण्ड–नेपालसँगै गर्नुपर्नेमा कांग्रेसभित्र बलियो मत छ ।

त्यसैले पनि ओलीले राजीनामा दिएर आएमा सहकार्य गर्न सकिने सन्देश देउवाले पठाइसकेका छन् ।

कांग्रेसमा भाँडभैलो 

सत्ता साझेदारीमा जोसँग सहकार्य गरे पनि नेतृत्व आफैँले गर्ने, त्यसका लागि ओलीसँग पनि सहकार्य हुन सक्ने देउवाको तयारी बुझेपछि वरिष्ठ नेता पौडेलले भने नयाँ तर्कसहितको अभियान थालेका छन् । 

पौडेलले ‘सर्वोच्चको फैसलाले व्यवस्था जोगाएको भन्दै अब विकृति जोगाउने जिम्मेवारी कांग्रेसको भएको’ तर्क अघि सारेका छन् ।
चितवनका कांग्रेस नेता तथा पूर्व सांसद एकनारायण रानाभाटको श्रद्धाञ्जलीसभामा बुधबार चितवन पुगेका पौडेलले आफ्नो हैसियत र जनताले दिएको म्याण्डेट स्वीकार गर्नुपर्ने तर्क गर्दै विकृति रोकेर कांग्रेसले प्रतिपक्षमै बस्नुपर्ने बताए । 

देउवाप्रति लक्षित गर्दै पौडेलले भने, “आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा र विकृति हो, हैसियतभन्दा बढी आकांक्षा राख्नु हुँदैन ।”

उनले कांग्रेसले पाएको हैसियत प्रतिपक्षको भएको भन्दै त्यसलाई स्वीकार गर्ने र सत्ताको खेलमा हुनसक्ने विकृति पनि रोक्नुपर्ने बताए । 

त्यही सभामा प्रमुख अतिथि रहेका देउवाले भने पौडेलको तर्कलाई ठाडो चुनौती दिँदै पौडेलले आफूलाई मात्र रोक्न खोजेको आरोप लगाए ।

उनले पौडेललाई चित्त फराकिलो बनाउन आग्रह गर्दै आफू प्रधानमन्त्री बनाइदेउ भनेर बिन्ति गर्न कतै पनि नजाने बताए ।

“हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, रामचन्द्रजी बोलिहाल्नुभयो,” देउवाले आफ्नो धारणा राख्दै भने, “सानो चित्त नगर्नुस् रामचन्द्रजी । तपाईं विशाल हृदय राख्नुस्, मलाई पदको लोभ छैन तर, जिम्मेवारी आए भाग्न मिल्दैन ।”
 

 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०९:०३
प्रतिक्रिया दिनुहोस्