
वि.सं. २०६३ साउन १८ गते लोकगायक तथा संकलक दुर्गा रायमाझी बसमा बुटवलबाट काठमाडौंको यात्रा गरिरहेका थिए । बसको कन्डक्टरले उनलाई दर्जनौँपटक फर्किँदै हेर्दै–फर्किँदै हेर्दै गरिरहेका थिए । दुर्गाको मनमा परिरहेको थियो, यो मान्छेले मलाई किन यसरी हरिरहेको छ ?
सायद, ती कन्डक्टरलाई छटपटी भयो । उनले आफूलाई रोक्नै सकेनन् । र, सोधे– दाइ तपाईं ‘बिनाबादल असिनापानी...’ गाउने मान्छे होइन ?
दुर्गाले भने– हो ।
“त्यसो भए एफएमले किन यस्तो झुटो बोल्यो त ?”
“के भयो र ?” दुर्गाले सोधे ।
“बिनाबादल असिनापानी... गाउने गायक त मर्यो भनेर भन्दै थियो त ।”
“बिनाबादल असिनापानी... गीतका संकलकको मृत्यु भयो भनेर एफएमले प्रसारण गरेको थियो होला । तर, भिडियोमा मैले गाएको देखेकाले म नै अलि मिया हुँ । र, म नै मरेँ भन्ने बुझेर उसले एफएमले झुट बोलेको ठानेको रहेछ,” दुर्गा स्मरण गर्छन्, “उहाँको आफ्नै स्वरमा गीत नभएकाले मेरो स्वरमा रहेको गीत बजाएर उहाँको मृत्यु हुँदा एफएम तथा टेलिभिजनले श्रद्धाञ्जलि दिएका थिए ।”
यो प्रसंगको अर्थ हो, लोककवि अलि मियाँ भुईं मान्छे थिए । कैयौँ गीत र कविता संकलन गरे पनि उनको प्रसिद्धि लोकमा व्याप्त थिएन । उनका संकलन जति सशक्त थिए, उनको छवि त्यति उँचो त्यो समय हुन सकेन जति बेला हुनुपर्ने थियो ।
सयौँ गीत उनले संकलन गरेका थिए । जसमा झर्रो नेपालीपन झल्किन्थ्यो । तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा हाकाहाकीजस्तो उनका रचना नदेखिए पनि लाक्षणिक रूपमा भने त्यस्तै हुन्थे । रंगरौस मात्रै होइन, चेतना, अभाव र विरहका कथा उनका गीतमा भेटिन्छ ।
गीत संकलन गरे । लय संकलन गरे । डायरीको पानामा सुरक्षित गरे । गीतले साँचो अर्थमा त्यति बेला मात्रै पूर्णता पाउँछ, जुन बेला गाइन्छ । तर, यो अवसर उनले कमै पाए । जुन बेला अवसरले घण्टी बजायो, त्यो बेला उमेरले डाँडो काटिसकेको थियो । ८१ वर्षको उमेरमा उनको प्रतिभाको पहिचान भयो ।
हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, ठाकुरप्रसाद सिक्देल, दुर्गा रायमाझीले उनका गीत रेकर्ड गर्ने भनेर रेडियो नेपाल क्षेत्रीय प्रसारण पोखरामा ल्याइपुर्याए । जुन बेला अलिको स्वर काम्न थालिसकेको थियो ।
“एकातिर उहाँको स्वर उमेरका कारण काम्न थालिसकेको थियो । अर्को पक्ष पोखरामा वाद्यवादन पनि राम्रो हुँदैन थियो । कारण, पोखराको स्टुडियो उत्पादनभन्दा पनि प्रसारणका लागि मात्रै थियो । तर पनि हामीले त्यहाँ तीन–चारवटा गीत रेकर्ड गरायौँ । तर, क्वालिटी राम्रो नभएका कारण बनाउन पाएनौँ,” दुर्गा भन्छन्, “पछि मैले फेवा म्युजिक प्रालि स्थापना गरेपछि ६/७ वटा गीत समावेश गरेर उहाँको एल्बम निकालेर उहाँको इतिहास सुरक्षित गर्नुपर्छ भन्ने लागेर एल्बमको काम सुरु गर्यौँ । तर, उहाँको टाइमिङ राम्रो थिएन । त्यसैले उहाँले गीत उठाएपछि त्यसलाई हामीले पूरा गरेका छौँ ।”
अलिको सम्मानस्वरूप दुर्गाले फेवा म्युजिक प्रालि स्थापना गर्दा उनलाई प्रमुख अतिथि बनाएका थिए ।
अलि पोखराको मियाँ पाटनमा १९७५ फागुन १५ मा मुसलमान परिवारमा जन्मिए । तर, उनले त्यो समयमा पनि धर्मको कुनै परवाह गरेनन् । हिन्दु धार्मिक ग्रन्थहरू पढे, सुने । त्यसबाटै शिक्षा लिएर गीत संकलन र कविता रचनामा आफूलाई केन्द्रित गरे । सय वर्षअगाडि र अहिलेको समयमा चेतनामा कति विस्तार र विकास भयो ? सहजै भन्न सकिन्छ– धेरै । तर, अहिले पनि नेपालमा कति मुस्लिम समुदायका व्यक्ति गीत–संगीत तथा साहित्यमा छन् ? चितवनका रफिक मियाँ लोकदोहोरी गायक थिए । नाजिर हुसेन अहिले अभिनयमा छन् । अरू ? धेरैले आफ्नो परम्परालाई अहिलेसम्म पनि तोड्न सकेका छैनन् । तर, अलिले उही बेला चौघेरा ताडेर ‘विद्रोह’ गरेका थिए । त्यसैले दुर्गा उनलाई हिम्मतिलो मुसलमान व्यक्तित्व भन्छन् ।
हरिदेवी कोइराला अलिलाई धार्मिक सहिष्णुताको उच्च नमुना भन्छिन् । उनी रामायण र गीताको श्लोक भन्थे । दौरा–सुरुवाल लगाउँथे । विवाह व्रतबन्धमा जान्थे । हिन्दुको घरमा गएर दसैं–तिहारको प्रसाद ग्रहण गर्ने गरेको हरिदेवी सम्झिन्छिन् ।
“उहाँलाई म जातिभन्दा माथि धार्मिक सहिष्णुताका प्रतीक भन्छु । राम, सहिन र बुद्ध एकै हुन् भन्ने भाव उहाँले आफ्ना कवितामा पनि उल्लेख गर्नुभएको छ,” हरिदेवी उनको प्रशंसा गर्छिन्, “सबै कुरा एउटै हो र त्योभन्दा माथि नेपाली हो भन्ने उहाँको धारणा थियो ।”
हरिदेवी अलि मियाँलाई बुबा भन्थिन् । उनी छोरी भन्थे । “म त बच्चैदेखि उहाँको औँलो समाएर हिँडेको मान्छे हुँ । हाम्रो माइती परिवारजस्तै हो मियाँ परिवार,” हरिदेवी भन्छिन्, “लोककवि अलि मियाँ वाङ्मय प्रतिष्ठान स्थापना भएपछि उहाँले पहिलो पुरस्कार स्वेच्छाले मेरो हातले म मेरी छोरीलाई दिन्छु, त्यसपछि संस्थाले जसलाई दिए पनि हुन्छ भनेर मलाई दिनुभएको हो ।”
उनको पहिलो गीत नै हरिदेवीले ०४५ सालमा गाइदिएकी थिइन् । उनको ८४ वर्षको उमेरमा रथारोहण गरेर हरिदेवीकै संयोजनमा उनको क्यासेट एल्बम म्युजिक नेपालले निकाल्दिएको थियो । त्यसैले हरिदेवीप्रति उनको ठूलो विश्वास र भरोसा थियो । प्रतिष्ठानको संस्थापक उपाध्यक्ष हरिदेवी अहिले पनि उपाध्यक्ष नै हुन् । अलिका छोरा हनिफ मियाँ अध्यक्ष छन् ।
नेपाली समाजको सुगन्ध उनका गीत र कवितामा भेटिन्छ । स्थानीय मौलिकताबाट उनका रचना विचलित भएका छैनन् । संघर्ष र वेदना उनको सिर्जनामा पढ्न र सुन्न पाइन्छ । वि.सं. ०४५ सालमा रुन्छन्... बोलको गीत उनले गाइदिइन् । यो अलि मियाँको पहिलो रेकर्डेड गीत हो ।
०४६ प्रेमराजा महत र हरिदेवीले आकाशैमा बादलु डम्मै छ... बोलको गीत गाए । घर पनि छैन मेरो... बोलको गीत प्रेमराजा महतले गाए । अलिका यी गीत स्रोताले औधी रुचाए । हरिदेवीले उनका १६ वटा गीत गाएकी छिन् । “प्रेमराजा महत, दुर्गा रायमाझी, पद्यमराज ढकाल, पुरुषोतम रायमाझी र मैले गरेर गाएका जम्मा १८/१९ वटा गीत मात्रै रेकर्ड भएका छन्,” हरिदेवी भन्छिन्, “उमेरका कारण उहाँलाई गाउन लगाउने हाम्रो प्रयास अपेक्षित सफल भएन । त्यसैले उहाँले उठाएर हामीले हामी गाएका छौँ ।”
आफ्नै घर–आँगनमा बसेर दुःखजिलो गरेर साहित्यमा आफूलाई समर्पित गरेका उनले ठूलो महत्वाकांक्षा पालेनन् अथवा उनलाई बाटो देखाउने कोही भएनन्, परिणाम काठमाडौं आएनन् । रेडियो नेपालको ढोका ढक्ढक्याएनन् । फलतः उनले आफ्नो स्वरमा गीत रेकर्ड गर्न पाएनन् ।
तर, उनको लय संकलन अब्बल थियो । हरिदेवी उनका भाकालाई अलि मियाँ लोकभाका भन्न सकिने धारणा राख्छिन् ।
“स्वाभिमानी मान्छे कसैलाई केही आग्रह नगर्ने र अपेक्षा पनि नगर्ने त्यही भएर उहाँ काठमाडौं गएर रेडियो नेपाल जानु भएन । उहाँ कविता र गीति लयमै बोल्नुहुन्थ्यो । तत्कालीन समयमा उहाँलाई घच्घच्याएर उहाँको स्वरमा उहाँका गीत रेकर्ड गर्न नसक्नु नेपाली सांगीतिक र समग्र वाङ्मयकै क्षेत्रलाई ठूलो क्षति हो,” हरिदेवी भन्छिन्, “भलै, उहाँको अनुयायीका रूपमा रहेर हामीले उहाँका सिर्जनालाई सम्हाल्ने काम गरिरहेका छौँ ।”
१९९० सालको महाभूकम्पपछि पोखरालाई पनि हैजाले गाँज्यो । अलि मियाँको परिवार पनि उक्त हैजाबाट अछुतो रहन सकेन । उनका १३ जना दाजुभाइ र दिदीबहिनीमध्ये ११ जनालाई हैजाले छिन्यो । अलि र उनका दाजु मात्रै हैजाबाट जोगिए ।
सय वर्षअगाडिको समाजमा जाति र धर्मको विभेद चरमचुलीमा थियो । समाजले एकातिर मुसलमानले छोएको पानी चलाउँदैन थियो भने अर्कातिर दलित र मुसलमानलाई स्कुल पढ्न बन्देज गरेको थियो । त्यसैले मियाँ स्कुले शिक्षा लिनबाट वञ्चित भए ।
उनी जन्मेको डेढ वर्षमा आमा परलोक भइन् । उनले मातृवात्सल्य गुमाए । तीन वर्षमा बुबा बिते । ‘टुहुरो’ भए । उनी दाजु–भाउजूको लालनपालनमा हुर्किए ।
अलिले किशोरावस्थाको अन्त्यतिर धुलेपाटीमा बाह्रखरी सिके । २१ वर्ष पुगेपछि आफ्नो नाम लेख्न सक्ने भएका थिए । परिवारको आर्थिक अवस्था बलियो थिएन । त्यसैले उनी सुनौलो भविष्यको खोजी गर्दै आर्थिक अभावलाई दूर गर्न ब्रिटिस आर्मीमा भर्ती भए ।
१९९९ सालमा लाहुर गएर भारत, देहरादुनमा तालिम लिए । तालिमलगत्तै उनी दोस्रो विश्वयुद्धमा बर्मा खटिए । युद्धको रणभूमिमा उनले थुप्रै दौँतरीलाई गुमाए । भलै, उनी कालबाट जोगिएर सग्लो शरीर लिएर २००२ मा घर फर्किए । तर, दुखियारीलाई दुःखैको साथ, उनी घर फर्किँदा उनकी श्रीमतीले अर्कैको साथ रोजिसकेकी थिइन् ।
“उहाँको जीवन निकै पीडादायी भयो । उहाँ भन्नुहुन्थ्यो, माधव घिमिरेकी एउटी गौरी बित्दा उहाँलाई त्यत्रो वियोग भयो । मेरा त चारवटी गौरी गए,” हरिदेवी अलि मियाँले भोगेको दुःख सुनाउँछिन् ।
उनका चारजना श्रीमतीमा केहीले अलिलाई छोडेर अर्कैको साथ रोजे । केही परलोक भए । त्यसैले जीवनका अन्तिम तीन दशक उनले एक्लै जिउनुपर्यो ।
पोखरामा राजा महेन्द्रको सवारी हुँदा अलि गीत गाउन र कविता सुनाउन सवारी क्याम्पसमा पुग्थे । महेन्द्रले उनलाई सोधेछन्– तिमीलाई के चाहिन्छ ?
“जवाफमा उहाँले भन्नुभएछ मलाई केही पनि चाहिँदैन सरकार । म मेरै खुसीमा छु । तर, सरकारले भूमिहीन किसानलाई बास बस्ने ठाउँ दिनुपर्छ । र, गरिबलाई खाने वातावरण बनाइदिनुपर्छ भनेँ भन्नुहुन्थ्यो । मैले मागेको भए जग्गा–जमिन पनि पाउँथे । तर, मैले लिइनँ भन्नुहुन्थ्यो,” हरिदेवी भन्छिन्, “तर, उहाँले सकुन्जेल चुरा–धागो बेचेर आफ्नो गुजारा चलाउनुभयो । तर, कसैसँग केही माग्नु भएन ।”
अलिलाई पहिलोपटक लोककवि कसले भन्यो ?
“बुबा लाहुरबाट नेपाल फर्किनुभएको थियो । त्यो बेला नेपालमा राणा शासनविरुद्ध आन्दोलन चलिरहेको थियो । त्यही बेला उहाँको भेट गंगालाल र कृष्णप्रसाद भट्टराईसँग भयो । उहाँहरूले राणा शासनलाई भगाउनुपर्छ भनेपछि त्यही बेला बुबाले दुईटा कविता सुनाइहाल्नुभएछ । गंगालालले कविता सुनेपछि उहाँले तपाईं त लोककवि पो हुनुहुँदोरहेछ भन्नुभएको रहेछ । पहिलोपटक बुबालाई लोककवि भनिएको त्यति बेलै हो,” अलिका छोरा हनिफ भन्छन् ।
उनी दाबी गर्छन्, “२००७ सालको आन्दोलनमा पोखरामा भएको प्रहरी दमनमा लाठी खाएर ढल्ने मेरो बुबा पहिलो व्यक्ति हो । त्यो बेला पनि उहाँलाई लोककवि अलि मियाँ भन्थे ।”
२०१७ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा सुरु भएको थियो । उक्त क्याम्पस उद्घाटनका क्रममा अलिलाई स्वागत भाषण गर्न लगाइयो ।
कवि मन अलिले पंक्तिबद्ध रूपमै स्वागत भाषण गरे । उनको भाषणको आशय थियो– देशमा अत्याचार, दमन, शोषण र विभेद छ । जनता सुकुम्बासी छन् । उनीहरूलाई जग्गा वितरण गर्नुपर्छ ।
उनको स्वागत भाषण सुनेपछि राजा महेन्द्रले जनताले अलि मियाँलाई दिएको लोककविको पद हामी पनि ग्रहण गर्छौं । उनलाई २५ रोपनी जग्गा र १० हजार रुपैयाँ बक्सिस भयो भने । राजासमक्ष गएर अलिले भने– जनता भोकै नाङ्गै छन् । मलाई व्यक्तिगत सम्पत्ति चाहिएन, राज्यले भूमिसुधार लागु गरोस् ।
अलिले माटोको पहिचान झल्किने कयौँ गीत लेखे । तर, त्यसलाई समयमै पुस्ताकाकार गर्न उनले सकेनन् ।
हनिफ नेपालमा थिएनन् । ‘तपाईंका गीत पुस्तक बनाएर छपाइदिन्छौँ’ भनेर ७ जनाले लगेकोमा मुकुन्दशरण उपाध्याय, मुक्तिनाथ पण्डितले मात्रै फिर्ता गरेको हनिफ अमिलो मन बनाउँदै सुनाउँछन् ।
“तर, बुबा कहिल्यै पनि विवादमा आउन चाहनु भएन । त्यसैले उहाँले आफ्नो गीत र कविता अरूले मेरो भनेर गाउँदा र छाप्दा पनि केही भन्नु भएन,” हनिफ भन्छन्, “नेपालको सम्पत्ति हो, मेरो नाम आउनुपर्छ भन्ने छैन । जसको नाम भए पनि त्यो मासिएर र हराएर गएन भने हुन्छ भन्नुहुन्थ्यो । त्यसैले त हामीले लोकगीत गाउने दुर्गेश थापाले पोहोर आकाशमा बादलु डम्मै छ... भन्ने गीतका शब्द उनले आफ्नो भनेर गाउँदा पनि हामीले केही भनेनौँ । कारण बुबाकोे चाहना नै विवादमा आउनु हुँदैन र जसले गाए पनि गाओस् । तर, बचाओस् भन्ने थियो ।”
त्यसैले अलिका गीत तथा कविता थप नचोरिऊन् भनेर उनका १२ वटा पुस्तकलाई समेटेर हनिफले एउटै पुस्तक प्रकाशन गरेका छन् ।
अलिको सम्झनामा उनका सामग्रीहरूको रक्षाका लागि प्रतिष्ठानले निकट भविष्यमै लोककवि अलि मियाँ संग्रहालय बनाउँदै छ । हनिफले सरकारले संग्रहालय निर्माणमा सहयोग गरिदिएहुन्थ्यो भन्ने अपेक्षा राख्छन् ।
“बुबाको मृत्यु हुँदा एक रुपैयाँ पैसा पनि थिएन । एक इन्च जग्गा पनि थिएन । हामी चारभाइ छोरा सबै सर्वाहारा थियौँ । पछि मैले केही गरेर प्रतिष्ठानको भवन बनाएँ । भवन बनाउँदा १५ लाख रुपैयाँ ऋण लागेको छ,” हनिफ भन्छन्, “गर्नुपर्ने कामहरू हामीले गरेका छौँ । ६४ वटा जिल्लामा पुगेर सम्मान गरेका छौँ । बंगलादेश, भारत, चीन, अमेरिका पुगेर प्रतिभालाई सम्मान गरेका छौँ ।”
राज्यले एउटा पुस्तकालय र संग्रहालय बनाइदियोस् भन्ने उनको अपेक्षा छ । सके प्रतिष्ठानको भवन निर्माण गर्दा लागेको ऋण बनोस् भन्ने उनको चाहना छ । तर, यो गरिदिनैपर्छ भन्ने छैन भन्दै उनी भन्छन्, “नगरे हामी छोराहरू छौँ, आफैँ गर्छौँ ।”
प्रतिष्ठानमा तीन लाखको कोष छ । तर, वार्षिक खर्च १२ लाख रुपैयाँ छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका ७४ वर्षीय हनिफ भन्छन्, “बजेट अभाव छ । यसमा हाम्रो अपेक्षा छ ।”
अलिकै पदचाप पछ्याइरहेका छन्, हनिफ । कविता लेख्छन् । गीत लेख्छन् । तीनवटा पुस्तक प्रकाशन गर्ने उनले जमर्को गरिरहेका छन् ।
अलि अपरिचित, नयाँ हुन् वा पुराना साथीसंगी अथवा पाहुना उनीहरूसँग गेयात्मक लयमै बोल्थे । हनिफमा पनि त्यो गुण केही सरेको छ । हनिफलाई बुबाका गीत र कविताका अधिकांश पंक्ति कण्ठ छन् । अलिले गाउने अधिकांश रोधी ओठमै छन् ।
हनिफ पोखरा, मियाँपाटनमा ०३८ मा वडा सदस्य भए । उनले दायाँ मस्जिद छ, बायाँ राम मन्दिर बनाए । नेपालगन्ज पुगेर शिवजीको मन्दिर बनाए । भानुभक्तको सालिक निर्माण गरे ।
“मुसलमानले अरु धर्मको पक्षमा काम गर्नै नहुने भन्ने होइन । मुसलमानले अरुलाई धोका दिन र झुट बोल्न हुँदैन,” अलिकै बाटो हिँडिरहेका हनिफले कुराकानीको बिट मार्दै भने ।