site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामी राम-कृष्ण हौं, ओली कंश-रावण हुन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सनातनदेखि नै सत्ताले अत्याचार गर्ने गरेको भन्दै प्रधानमन्‍त्री केपी ओली त्यही अत्याचारीको प्रतीकका रुपमा उदाएको बताएका छन् ।

जसपाले पोखरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष भट्टर्राले त्यस्त अत्याचारविरुद्ध राम, कृष्णजस्तै सत्यका पक्षधरहरुले लड्ने गरेको बताए । “सत्ताधारीमा गडबडी मच्चाउने परिपाटी ध्वस्त नहुँदासम्म चलिरहन्छ,। हामी सत्यको पक्षधर नहुँदासम्म लडिरहन्छौं,” भट्टराईले भने, “समाजमा राक्षसी प्रवृत्तिका मसानरहरु अपराध गर्ने प्रवृत्ति हावी हुन्छ, त्यो बेलामा दैवी शक्ति भएको मानिस आएर संघर्ष गर्नुपर्छ ।” उनले कलियुगमा धेरै संघर्ष हुँदै आएको भन्दै अहिले आएर ओलीका कदमविरुद्ध संघर्ष गर्नुपरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कलियुगमा तपाईं-हामी र ओलीको संघर्ष छ । हामी राम, कृष्ण हौं, ओली कंश र रावण हुन्,” भट्टराईले भने । उनले संविधान निर्माण गर्दाका संघर्षपूर्ण दिन सम्झँदै त्यसबेला नै संविधान पूर्ण नबनाउँदा मूर्ख शासकबाट जोखिम हुन्छ भनेर बहस भएको बताए ।

“संविधान बनाउन समितिको सभापति म थिएँ, यो अपूर्ण होला । कुनै मूर्ख शासक आएर देशलाई भड्खालोमा लग्नेछ भन्ने बहस भएको थियो,” भट्टराईले भने, “अदालतमा बस्ने पनि भगवान् होइनन् । अदालतमा निष्पक्ष मात्र होइन, जनताप्रति जवाफदेही हुने व्यवस्था चाहिन्छ । संवैधानिक अदालत पनि चाहिन्छ ।”

उनले अदालतले राम्रो गरोस् भन्ने चाहे पनि ओलीले आफ्ना मान्छे राखेको र धम्क्याउन पनि नछाडेको बताए । “ओलीले जसरी धम्क्याइरहेका छन, आफ्ना मान्छे राखेका छन् । अदालतले गलत निर्णय गरिदियो भने के गर्ने ?” भट्टराईले प्रश्न गर्दै भने, “प्रतिनिधिसभा विघटन गरेर आन्दोलन गर्नुपरेको छ । यतिबेला कोरोनाको खोप चाहिएको थियो । महामारीका बेलामा बाध्यात्मक तरिकाले सडकमा धकेलिएको छ । यो असान्दर्भिक, असंवैधानिक छ ।”

उनले आफू जनयुद्धदेखिको आन्दोलनकारी भएको भन्दै जनताको प्रतिनिधिको हैसियतमा निराश हुन नदिने प्रतिबद्धता जनाए । “मुख्य कुरा के भने त्यत्रो जनयुद्ध लडेर हजारौं मान्छेको ज्यान गएको छ, के त्यो यसै दिनका लागि थियो ?” उनले प्रश्‍न गरे, “अहिले ती दिन सम्झिँदा आँखाबाट आँसु मात्र होइन रगत पनि बगेर आउँछ ।”

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्