site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ठूला कुरा नगरम् 

नेपालमा राजनीतिक दलहरु सत्तामा पुग्न निर्वाचनको समयमा जनतालाई ठूलाठूला सपना बाँड्छन् । पूर्व–पश्चिम र उत्तर–दक्षिण रेल, पानी जहाज, ग्यासका पाइपलाइन, लोकमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत् आदि परियोजना राजनीतिक चुनावी घोषणापत्रका आकर्षक एजेन्डाका रुपमा रहेका हुन्छन् । यस्ता आश्वासनहरु भनेअनुरुप कहिल्यै पूरा भएको पाइएको छैन तर पनि नेपाली जनता यस्ता सपनामा रमाउन अभ्यस्त छन् । निःसन्देह, अझै पनि भावी निर्वाचनमा यस्तै ठूला सपना बाँडिनेछन् । यस्तो लाग्छ, मानौ नेपाली राजनीतिज्ञ ‘ड्रिम मर्चेन्ट’ (सपनाका व्यापारी) हुन् । 

राजनीतिक दलले वाचा गरेका ठूला विकासे परियोजनाको सपना नेपाली जनताले देख्नु अन्यथा भने होइन । किनभने एउटा विकसित र भौतिक सुखसुविधा सम्पन्न मुलुकमा शान्ति एवं सुखपूर्वक जीवनयापन गर्न कसलाई मनपर्दैन र ? दैनन्दिन जीवनका कठोर संघर्षबाट मुक्त भई यथोचित पेसा तथा व्यवसायमा संलग्न हुँदै नियमित तवरले सरल र सुखी जीवन जीउने चाहना सबैको हुन्छ । तर, नेपाली जनतालाई चाहिने सुख विशाल विकासे परियोजनाले मात्र दिँदैन । बरु, सरकारी निकायबाट हुने सेवा प्रवाह (सर्भीस डेलिभरी) चुस्त र प्रभावकारी हुनसक्यो भने सर्वसाधारणको दैनिक जीवन धेरै हदसम्म सहज हुनसक्छ । यसका लागि ठूला आयोजनामा जसरी विदेशी स्रोतसाधनको मुख ताक्नुपर्दैन । समाधान नेपालमै छ । आफ्नै प्रशासन र व्यवस्थापनलाई छरितो बनाएर सम्बोधन गर्न सकिन्छ । किन्तु, विशाल योजनाका अघिल्तिर झिनामसिनाजस्ता देखिने यस्ता सरकारी सेवा प्रवाहका समस्यामा सम्बन्धितको विशेष ध्यान गएको पाइँदैन र राजनीतिक दलको एजेन्डा पनि खासै बन्दैन ।

कदाचित् एजेन्डा बनिहाल्यो भने पनि त्यो औपचारिकताका लागि मात्र राखिएको हुन्छ । नभए त्यस्ता विषय सहायक एजेन्डाका रुपमा रहेका हुन्छन् । आजसम्म कुनै पनि राजनीतिक दलले सरकारी सेवा प्रवाहलाई ‘सिङ्गापुर’, ‘जापान’ अथवा ‘स्विजरल्यान्डको जस्तो’ बनाउछौँ भनेर प्रतिबद्धता व्यक्त गरेको पाइँदैन । यद्यपि, भौतिक विकासका हिसाबले ती देशजस्तै बनाउने दृढता बेलाबेलामा व्यक्त गर्ने गरेको भेटिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा भन्ने हो भने जनसाधारण विकासे परियोजनाको अभावले भन्दा पनि सरकारी सेवा प्रवाहको बेथिति तथा अकर्मण्यताले दुखित एवं द्रवित छन् । जताततै ढिलासुस्ती, भ्रष्टाचार, कामचोर प्रवृत्ति तथा जोखिम नलिने मनोवृत्तिले मुलुकको प्रशासनलाई गाँजेको छ । नेपाली जनताको करको ठूलो हिस्सा वार्षिकरुपमा व्यय हुने प्रशासनको काम गराइ झारा टराइ किसिमको छ । गर्न सकिने सानाभन्दा साना सुधारका कामहरु पनि गर्ने त के प्रयत्नसमेत भएको पाइँदैन । देखावटी सुधार भने प्रशस्त भएका छन् । एउटा सामान्य निजी व्यवसायको तुलनामा सयौं गुना बढी खर्च हुने सरकारी निकायको सेवा प्रवाह हेर्दा यति दरिद्र छ कि सामान्य जनताले पाएको दुःख देख्दा मन रुन्छ । मध्यमवर्गीयमध्ये केहीले र उच्च वर्गका धेरैजसोले आफ्नो पहुँच, शक्ति तथा सम्बन्धका भरमा सरकारी सेवा सजिलै प्राप्त गर्छन् । तर, सर्वसाधारणले त्यही सेवाका लागि अनेकैं हन्डर र कष्ट भोग्नुपर्छ ।  

यो दुर्दशाको साक्षात्कार गर्न मालपोत, जिल्ला प्रशासनजस्ता सरकारी सेवाप्रदायक कार्यालयहरुको सेवा प्रवाहको तौरतरिकालाई एकै छिन हेर्दा प्रष्ट हुन्छ । एकजना सर्वसाधारण कुनै एउटा काम सम्पन्न गर्नको लागि कहिले कुन झ्याल त कहिले कुन ढोकामा थुप्रैपटक ओहरदोहर गर्दा पनि उसको काम सम्पन्न हुँदैन । कहीँ के कागज पुगेन त कतै के प्रमाण पुगेन भनी कर्मचारीहरु झुलाई रहन्छन् । त्यसमाथि यो लम्मेतान प्रक्रियाको शृङ्खलामा रहेका कुनै एक कडी (कर्मचारी) मोबाइल चलाउन, खाजाखान, शौचालय जान वा गफगाफ गर्न आफ्नो कुर्सीबाट बाहिरिँदा लामो लाममा बस्ने सेवाग्राहीको काम पूरै भद्रगोल हुन्छ । अनि, कोही लाइन मिच्ने त कोही भित्रै गई आफ्नो काम ‘फास्ट ट्रयाक’बाट सम्पन्न गर्ने गर्छन् । के यसलाई रोक्न सकिन्न? अनेक पटक विभिन्न झ्याल धाउनुपर्ने र थुप्रै कर्मचारीलाई भेट्नुपर्ने बाध्यतालाई कम गर्न मिल्दैन र? अझ एकद्वार नीति कायम गरेर एउटा काउन्टरमा गएपछि सबै प्रमाण पुगेको छ भने त्यहीँबाट काम फत्ते गरिने व्यवस्था हुनुपर्ने हो । तर, छिटोछरितो गर्न सकिने प्रक्रियालाई पनि जानाजान वा पुरानै ढर्राको कारण लम्मेतान बनाइएको देखिन्छ । त्यसमाथि, भनसुन, घुस, सम्बन्ध, बलमिचाइँ आदिका कारणबाट पहुँचविहीन सर्वसाधारणको काम ढीलो हुने र एक दिनमा सकिने कामका लागि पटकपटक धाउनुपर्ने बाध्यता छ ।  

Global Ime bank

हुन त सरकारी सेवा प्रवाह गर्ने निकायमा कर्तव्यनिष्ठ र इमानदार कर्मचारी हुँदै नभएका त होइनन् तर अत्यन्त कम छन् । हेर्दा, अनुगमन र सुपरिवेक्षणका संयन्त्र पनि स्थापित छन् । अनि, यस्ता कार्यालयहरुमा ‘नागरिक बडापत्र’ का साथै ‘म घुस खाँन्न र अरुलाई पनि खान दिन्न’ भन्ने प्रतिबद्धताका बोर्ड टाँगिएका पनि भेटिन्छन् ।

परन्तु, त्यसकै नाकमुनि भ्रष्टाचार र ढीलासुस्ती भने मौलाइरहेको देखिन्छ । सेवाग्राहीको काम समयमै सम्पन्न नहुँदा समग्र मुलुकले व्यापक समय र स्रोतसाधनको नोक्सानी बेहोरिरहेको छ । स्वतन्त्र अध्ययनबाट राष्ट्रिय तहमा यसको लेखाजोखा गर्ने हो भने एउटा भयावह रुप देखिने प्रष्टै छ । सायद, हामीले विकास गर्न नसक्नुको एउटा प्रमुख कारण यही नै हो भन्ने निष्कर्ष निस्कन्छ ।

देशविदेश गएर असल सेवा प्रवाहको प्रत्यक्ष अनुभव गरेको हुनाले र जनसञ्चार माध्यम तथा सामाजिक संजालका कारण आजकाल नेपाली जनतामा पनि सचेतता बढ्दै गएको छ । उनीहरुमा आएको सजगताले यस्ता ढिलासुस्ती तथा गलत प्रवृत्तिप्रति वितृष्णा बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जालमा बेलाबेलामा यस्ता प्रवृत्तिविरुद्ध रोषपूर्ण अभिव्यक्त भएको भिडियो देखिएकै हो । सरकारी सेवा प्रवाहमा सुधार नहुने हो भने यस्ता विरोध बढ्दै जाने निश्चित छ । इन्टरनेटको माध्यमबाट विश्वव्यापीरुपमा तीव्र सूचना आदानप्रदान हुने वर्तमान अवस्थामा अन्य मुलुकमा झैं नेपालमा पनि सेवा प्रवाह सरल र चुस्त भएको चाहना राख्नु अनौठो होइन ।

यो समयको मागलाई बुझी सरकारी निकायले आफ्ना कामकार्बाही तथा प्रक्रियामा समसामयिक सुधार गरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त बनाउनुपर्ने हो । राजनीतिक नेतृत्वले पनि यो चुनौतीलाई अवसरको रुपमा बदली सरकारी सेवा प्रवाहलाई सुदृढ तुल्याउन प्रतिबद्ध भई लाग्नुपर्ने हो । किन्तु, त्यसको साटो हिजोआज सरकारी कर्मचारीमा अनौठो प्रवृत्ति देखिएको छ – मीठो बोल्ने तर काम नगर्ने ।

प्राय:जसो कर्मचारीहरु पहिले झैँ सर्वसाधारणलाई हप्कीदप्की गर्दै रुखो बोलीले झपार्ने कुरामा सतर्क देखिन्छन् । सायद, कसैले मोबाइलमा भिडियो खिचिरहेको हुनसक्छ र त्यो सामाजिक सञ्जालमा जानसक्छ भनेर होला । कर्मचारीमा देखिएको यो नयाँ ‘प्रतिरक्षात्मक मनोवृत्ति’ हेर्दा केही सुधारात्मकजस्तो देखिए पनि सेवा प्रवाहको दृष्टिकोणबाट प्रत्युत्पादक छ । यसले न त जनताको सरल र सुलभ सेवा प्राप्तिको चाहनालाई सघाउ पुर्याउँछ न त देश विकासमा कुनै योगदान नै दिनसक्छ । यस्तो ढिलासुस्ती नोकरसाही भएको मुलुकमा कसरी विदेशी लगानी आकर्षित गर्न सकिन्छ? बोली ‘चिल्ला’ बनाउनुको सट्टा काम गराई ‘चिल्ला’ बनाउनुपर्ने हो तर उल्टो भएको छ । बरु बोली ‘खस्रा’ नै ठीक नि काम सही हुन्छ भने ! 

पक्कै पनि सेवाग्राहीको मानसिकता र प्रवृत्तिले पनि यस्तो सेवा प्रवाहमा नकारात्मक असर पारेको छ । धैर्यपूर्वक लाममा बसी नियमानुसार सेवा प्राप्त गर्नेभन्दा पनि ‘पावर’ र भनसुन गरी अरुभन्दा छिटो काम सकाउन पाएमा आफूलाई ‘गौरवान्वित’ भएको महसुस गर्ने प्रवृत्ति नेपालीको आममानसिकता भइसकेको छ । तर, यस्तो नेपाली मानसिकता जन्मजात र अपरिवर्तनीय भने होइन ।

किनभने, तिनै नेपाली विकसित राष्ट्रमा रहँदा धैर्यपूर्वक लामबद्ध भई सरकारी सेवा प्राप्त गरिरहेका हुन्छन् । विदेशको के कुरा, स्वदेशमै कतिपय निजी प्रतिष्ठानहरुमा सेवा प्राप्तिको लागि जाने सर्वसाधारणले चित्तबुझ्दो ढङ्गले सेवा प्राप्त गरिरहेकै छन् । यसको मतलब, सरकारी निकायबाट सही प्रणाली तथा परिपाटीको कठोरतापूर्वक अवलम्बन हुने हो भने आमनेपाली प्रवृत्तिलाई दोष दिनुपर्ने ठाउँ छैन । सेवा प्रवाहको सरल विधि र प्रक्रियाको निर्धारण गर्ने र त्यसलाई कठोरतापूर्वक लागू (  इन्फोर्समेन्ट) गर्ने हो भने सेवा प्रवाहमा सकारात्मक परिवर्तन नहुने भन्ने छैन । तर, यसका लागि राजनीतिक एवं प्रशासनिक ‘भीष्म प्रतिज्ञा’को आवश्यकता छ । सबैका लागि नियम एउटै हुनुपर्छ र कुनै पनि हालतमा भनसुन, पद, पहुँच, सम्बन्ध, नातावाद, कृपावाद आदिका कारण सेवा प्रवाहका विधि र प्रक्रियामा तलमाथि हुनुहुँदैन । चाहे नेता हुन् या व्यापारी अथवा कोही शक्ति र पहुँच भएका हुन् वा नहुन् सबैलाई समान नियम लागू गर्ने दृढता सरकारी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्रमा हुने हो भने असम्भव छैन । 

नेपालको विकास र सर्वसाधारण जनताको दैनिक जीवनयापनमा एउटा मुख्य बाधाको रुपमा रहेको सुस्त सरकारी सेवा प्रवाहलाई प्रभावकारी तथा कार्यकुशल बनाउनु आजको प्रमुख आवश्यकता हो । यो हेर्दा सामान्य देखिए पनि भित्रभित्रै सल्कने भुसको आगो जस्तै खतरनाक छ । मुलुकको हरेक प्रयासमा यसले अवरोध उत्पन्न गर्छ ।

यस्तो गम्भीर समस्या समाधानमा कठोरतापूर्वक लाग्नुको साटो राजनीतिक दल तथा तिनका नेता जनतालाई सपना बाँँड्नै व्यस्त देखिन्छन् । हुनत, राजनीतिक दलहरुले सपना बाड्नु दल तथा नेताहरुको व्यवहार र मनोवृत्तिसँग मात्र सरोकार राख्तैन र यस्ता सपनाका सन्दर्भमा पनि अर्थशास्त्रका ‘माग र आपूर्ति’ का सिद्धान्तले काम गरिरहेको हुन्छ भन्ने तर्क पनि होला ।

अनि, जबसम्म नेपाली जनतामा यस्ता सपनामा रमाउने मनोदशा रहन्छ तबसम्म राजनीतिक ‘एजेन्सी’ले त्यस्ता सपना ‘आपूर्ति’ गरिरहन्छन् भन्ने ठम्याइ पनि होला । तैपनि, के बिर्सन हुँदैन भने देश हाँक्छु भन्ने राजनीतिले नै मुलुकलाई दिशानिर्देश गर्ने हो । जनमानसमा भएको सोचमा परिवर्तन ल्याउने तथा कर्मचारीतन्त्रमा विद्यमान यो रोगको निवारण गर्ने दृढता पनि राजनीतिक नेतृत्वबाटै प्रदर्शित हुनुपर्छ । राजनीतिक दल तथा तिनका नेताहरु ‘मनसा–वाचा–कर्मणा’ लाग्ने हो भने राष्ट्र विकासको बाधक र सर्वसाधारण सेवाग्राहीको सबैभन्दा डरलाग्दो शत्रुका रुपमा रहेको यो कुप्रथाको अन्त्य गर्न नसकिने चाहिँ पक्कै होइन । साँच्चै, ठूला कुरा गरेरमात्र केही हुँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC