site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आत्ममुग्ध (नार्सिसिस्ट) : व्यक्तित्व, नेतृत्व र दुर्घटना

मनोवैज्ञानिकहरु व्यक्तित्वका आधारमा व्यक्तिले भविष्यमा देखाउने व्यवहार तथा गर्ने कामको सहजै अनुमान गर्न सकिने बताउँछन् । यसैले सेना तथा राष्ट्रका अनुसन्धान विभाग र अन्य यस्तै संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्ति चयन गर्नुपूर्व उसको मनोवैज्ञानिक परीक्षण गर्ने गरिन्छ । व्यक्ति घुस्याहा हो होइन भनेर परीक्षण गर्न मनोवैज्ञानिक परीक्षणका विभिन्न उपकरणसमेत बनाइएका छन् । कतिपय राष्ट्रमा कर्मचारीको छनोटको एउटा प्रमुख आधार व्यक्तित्व परीक्षण पनि हुने गरेबाट हरेक क्षेत्रमा व्यक्तित्वको निकै महत्त्व रहेको स्पष्ट हुन्छ । 

सामान्य अवस्थामा व्यक्तिले आफ््नो वास्तविक स्वभाव नदेखाएर समाज स्वीकृत सभ्य आचरण प्रदर्शन गरिरहेको हुनसक्छ तर कठिन अवस्थामा उसले देखाउने खास व्यवहारलाई मनोवैज्ञानिकहरु व्यक्तिको वास्तविक व्यक्तित्व मान्छन् । आत्ममुग्धता (नार्सिसिज्म) व्यक्तित्व विचलन ( पर्सनालिटी डिसअर्डर) को एउटा प्रकार हो । यस किसिमको विचलन भएका व्यक्तिले जुनसुकै समयमा दुर्घटना निम्त्याउने जोखिम हुन्छ । क्षणिकरुपमा कुनै प्रतिष्ठान, समूह वा आफूले नेतृत्व गरेको वर्गको उत्थान र प्रगति गरेजस्तो देखिए पनि कति जोखिम लिने भन्ने हेक्का राख्न नसक्ने कारणले गर्दा यस्ता व्यक्तिले कुनै पनि समयमा आफ्नो अहम्का कारणले आफू भएको संस्थाको अस्तित्वसमेत समाप्त पार्न सक्छन् । ‘मेनिया’ र ‘नार्सिसिस्ट डिसअर्डर’ जस्ता मनोवैज्ञानिक समस्याले सुरुको अवस्थामा अन्य व्यक्तिलाई सकारात्मक प्रभाव पर्ने हुँदा यिनलाई समस्याका रुपमा हेरिँदैन । त्यतिखेर यिनीहरुलाई वैयक्तिक विशेष क्षमताका रुपमा समेत परिभाषित गरिएको हुन सक्छ । तर, जब दुर्घटना हुन्छ अनि उसको वास्तविक व्यक्तित्वमा रहेको विचलनको बोध हुन्छ ।

प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले कामुक, अस्थिर र आत्ममुग्ध गरी मुख्यरुपमा तीन किसिमको व्यक्तित्व अस्तित्वमा रहने बताएका छन् । तीनैथरी व्यक्तित्वका केही न केही अंश हरेक व्यक्तिमा रहने भए पनि कुनै एकका मात्र गुण अत्यधिक भएमा वा कुनै कारणवश असामान्य परिवेशमा लामो समयसम्म रहेमा व्यक्तिमा यस किसिमको असामान्य र अस्वाभाविक व्यक्तित्व विकास हुने गर्छ । नार्सिसिस्ट व्यक्तित्वलाई विध्वंसात्मक र आत्मकेन्द्रित गरी दुई वर्गमा विभाजन गर्ने गरिन्छ । विध्वंसात्मक आत्ममुग्धतालाई मनोरोगका रूपमा लिइन्छ भने आत्मकेन्द्रित आत्ममुग्ध सामान्यतया अरुका लागि घातक नहुने भएकाले व्यक्तिको फरक प्रवृत्तिका रूपमा मात्र लिइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कस्ता हुन्छन् आत्ममुग्ध व्यक्ति ?

आत्ममुग्ध व्यक्तित्व भएका मानिसले सधैँ आफूलाई उच्च महत्त्व दिइएको हेर्न चाहन्छन् । आफूलाई सर्वेसर्वा ठान्ने यस्ता व्यक्तिले अरुलाई निरीह र कमजोर ठान्छन् । हरेक ठाउँमा आफ्नो प्रशंसा भएकोमात्र देख्न र सुन्न चाहने यी व्यक्तिहरु आफूमा सफलता र उपलब्धिका निम्ति असीमित क्षमता भएको महसुस गरेका हुन्छन् ।

Global Ime bank

क्षमता, शक्ति, सुन्दरता, बौद्धिकता र सफलतासम्बन्धी यिनीहरूको बेग्लै किसिमको धारणा हुन्छ । उनीहरु आफ्नो त्यस किसिमको पूर्वकल्पित मानसिकताबाट कत्ति पनि परिवर्तित हुन चाहँदैनन् । आफू अरु व्यक्तिभन्दा विशिष्ट भएकाले सामान्य मानिसहरूलाई नगन्ने र विशिष्ट व्यक्तिसँग मात्र सम्बन्ध स्थापित गर्न तयार हुने गछएन् । साथै, समकक्षीका राम्रा गुण सिक्नेभन्दा उसलाई कमजोर तुल्याएर आफूलाई शक्तिशाली बन्ने कोसिस गरिरहन्छन् । अर्थात्, प्रतिस्पर्धीलाई ठिँगुर्‍याउने स्वभाव यिनमा पाइन्छ । आफ्ना इच्छा र चाहना पूरा गर्न अरुलाई पूर्णरुपमा प्रयोग गर्ने र आफ्नो क्रियाकलापमा कसैले प्रश्न उठाएको सहन गर्न नसक्ने स्वभाव यी व्यक्तिमा पाइन्छ । आफ्नो आलोचना सहनै नसक्ने आत्ममुग्ध व्यक्तिहरु अरुलाई भने भित्तामै पुर्‍याएर आलोचना  गर्छन् । यसैले आत्ममुग्ध व्यक्तित्व भएका मानिस समुदायमा घुलमिल हुन र सहकार्य गर्न अप्ठेरो  मान्छन् ।

आफ्ना भावना र संवेदनालाई सन्तुलनमा राख्न नसक्दा यस्ता व्यक्तिहरु तुरुन्तै अवसाद (डिप्रेसन)मा जाने, आक्रामक हुने वा जीवनदेखि नै असन्तुष्ट बन्ने गर्छन् । आत्मस्तुति सुन्नमात्र चाहने उनीहरू आफ्नो प्रशंसा सुन्न नपाए तनाव महसुस गर्छन् र बेचैन हुने गर्छन् । त्यसैले आत्मुग्ध विचलन (नार्सिसिस्ट डिसअर्डर) लाई प्रशंसामात्र सुन्न खोज्ने रोगका रुपमा समेत चिनाउने गरेको पाइन्छ ।

आत्ममुग्ध नेतृत्व

हरेक ठाउँमा आफूले मात्र प्राथमिकता पाउनुपर्ने धारणा राख्ने आत्ममुग्ध नेतृत्व कार्यकर्ता, जनता वा राष्ट्रप्रति उत्तरदायी हुँदैन । बरु, यी सबैलाई साधनका रूपमा प्रयोग गरेर आफूलाई उच्च स्थानमा पुर्‍याउन कोसिस गरिरहन्छ । अरुलाई हेप्ने, ‘ब्ल्याकमेल’ गर्ने र आफूमात्रै असाधारण व्यक्ति भएकाले सबैले आफ्नो आदेश मान्नुपर्ने अस्वस्थ विचार राख्ने यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्मकेन्द्रित हुन्छन् ।

अमेरिकी विद्वान्हरू लिन्डा एल नेइडर र चेस्टर ए सेरिहेमद्वारा सम्पादितले द डार्क साइट अफ मेनेजमेन्ट, २०१० मा यस्तो व्यक्तित्वलाई अहङ्कारी, आत्मतुष्ट अनि शक्ति र प्रशंसाका लागि सञ्चालित दम्भका रुपमा चित्रण गरेका छन् । अरुलाई सहयोग गरेजस्तो गरेर प्रभावमा पारी उसलाई आफ्नै नियन्त्रणमा राख्ने प्रयास गर्ने भएकाले प्रसिद्ध मनोवैज्ञानिक फ्रायडले यस्ता व्यक्तिलाई भावनात्मक रुपले एकलकाँटे, अविश्वसनीय, अरुको कुरा सुन्न नचाहने, सहानुभूतिहीन र निर्दयी प्राणीका रुपमा चित्रण गरेका छन् ।

अर्का अमेरिकी डेभिड थोमसले नार्सिसिजम बिहाइन्ड द मास्क २०१० मा आत्ममुग्ध नेतृत्वलाई अधिनायकवादी कार्यकेन्द्रित निर्णयकर्ता, प्रजातान्त्रिक कार्यकेन्द्रित निर्णयकर्ता, अधिनायकवादी संवेगात्मक निर्णयकर्ता र प्रजातान्त्रिक संवेगात्मक निर्णयकर्ता गरी चार प्रकारमा विभाजन गरेका छन् । आफ्नो प्रशंसा सुन्दा खुसी हुने स्वभाव प्रायः सबै मानिसमा हुने हुँदा सामान्य किसिमको आत्ममुग्धतालाई समस्याकै रूपमा स्वीकार नगरिए पनि ध्वंसात्मक र अराजक आत्ममुग्ध व्यक्तित्व समाज र राष्ट्रका लागि घातक हुन्छ ।

आत्ममुग्धले गर्ने र भन्ने कुरा

मिसेल म्याकोभीले आत्ममुग्ध व्यक्तित्वका बारेमा प्रकाश पार्दै यस प्रकारको व्यक्तित्व भएका नेताले जहिले पनि म समूहकार्य गर्न चाहन्छु भन्छन् तर व्यवहारमा ‘यस मेन’ अर्थात् आफूले जे भन्यो त्यसलाई अन्धसमर्थन गर्ने समूहलाई मात्र प्रवर्धन गर्छन् भन्ने विचार राखेका छन् । आफूलाई निकै उदार, निकै समाजवादी, समाजसेवक, सज्जन, सच्चरित्रवान्, संस्थागत संस्कृतिमा विश्वास गर्ने, सहयोगी मनको व्यक्ति भनेर चिनाउन चाहने र यस्तै कुराहरुबाट आफ्नो स्तुति गरेको सुन्न लालायित हुने यस्ता व्यक्तिहरु अरूको अस्तित्वलाई भने स्वीकार गर्नै सक्दैनन् । अरुलाई जित्न आफू अगाडि बढ्नुभन्दा आफूलाई जित्न खोज्नेलाई षड्यन्त्रपूर्वक पछार्न यस्ता व्यक्तिहरुले आफ्नो बल प्रयोग गर्छन् ।

आत्ममुग्ध राजनेता

मिसा केटचेलले द कन्भर्सेसनमा आत्ममुग्ध नेतृत्वका बारेमा लेखेका छन् । उनका अनुसार मनोवैज्ञानिकहरूले सार्वजनिक व्यक्तित्वहरूको अनौपचारिक अध्ययन गरी ध्वंसात्मक आत्ममुग्धताका सम्पूर्ण लक्षण भएका राजनेताका रूपमा सर्वप्रथम १९६४ मा बेरी गोल्डवाटर र पछि डोनाल्ड ट्रम्प, टर्कीका रिसेप तैयव एर्डोअन र फिलिपिन्सका रोड्रिगो डुटार्टेलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । आफ्नो अन्त्य नहुन्जेलसम्म वा आफूले पराजय भोगिसकेपछि पनि हार स्वीकार गर्नै नचाहने र आफू नै सर्वेसर्वा एवम् सर्वशक्तिसम्पन्न छु भनेर घमण्ड गर्ने यस्ता व्यक्तिहरु समाजबाट अपेक्षित प्रतिष्ठा प्राप्त गर्न नसक्दा बढ्ने उदासीनताका कारण अकालमै असामान्य किसिमले मृत्युवरण गर्ने गरेको समेत पाइन्छ ।

मिसा केटचेल भने वर्तमान समयमा आत्ममुग्ध व्यक्तित्व भएका नेताहरू राज्यको हर्ताकर्ता बन्ने सम्भावना कमै देख्छन् । तर, आर्थिकरुपमा कमजोर, भौतिक पूर्वाधार नभएका, राजनीतिक र सामाजिक स्थायित्व नभएका एवं राम्रो सामाजिक सुरक्षा नभएका देशहरुमा अझै पनि आत्ममुग्ध व्यक्तिहरु नेतृत्वमा पुग्न सक्ने जोखिमलाई भने नकार्दैनन् । उनले इराकका सद्दाम हुसेन, लिबियाका मोम्मद गद्दाफी र लिबियाका चाल्र्स टेलरलाई यस्तै व्यक्तिका उदाहरणका रुपमा प्रस्तुत गरेका छन् । आफू शक्तिमा पुग्न जे पनि गर्ने, आफूले गरेका सबै काम राम्रा र अरुले गरेका कामहरु खराब ठान्ने प्रवृत्तिका कारणले गर्दा यस्ता व्यक्तिहरुको अन्त्य सुखद हुन नसकेको देखिएको छ ।
र अन्त्यमा
आत्ममुग्ध व्यक्तित्व खराब बाल्यकाल, सामाजिक मूल्य मान्यता र संस्कार संस्कृतिले सुसंस्कृत हुन नसकेको अवस्था, शक्तिलाई नै सबैभन्दा ठूलो ठान्ने भ्रममा हुर्केका र अरुलाई हराउन सक्नु नै आफ्नो सफलता हो भन्ने शिक्षा पाएका व्यक्तिहरुमा बढी देखिने गरेको पाइन्छ । सामान्य र मध्यम स्तरसम्मका आत्ममुग्धलाई समाजले सहन गर्न सके पनि यस किसिमको व्यक्तित्व उत्कर्षमा पुग्न थालेपछि भने मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ । यस्ता व्यक्ति आफूलाई मानसिकरुपमा स्वस्थ र अरुलाई अस्वस्थ, कमजोर र निरीह देख्ने भएकाले आफूमा समस्या छ भन्ने पटक्कै स्वीकार गर्न सक्दैनन् । दुर्घटना हुनुभन्दा अगाडि नै साथीभाइ र परिवारका सदस्यहरूले सही सल्लाह दिन सकेमा यस्ता व्यक्तिहरूको मनोवैज्ञानिक उपचार सम्भव छ । हामीले पनि संवेदनशील र सार्वजनिक महत्त्वका उच्च पदमा पुग्ने व्यक्तिको व्यक्तित्व विश्लेषण एवम् परीक्षण गर्न सुरु गर्ने कि ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC