बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग लेखनमा वैयक्तिकता : कुण्ठा कि आत्माभिव्यक्ति ? निर्जला अधिकारी
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, मंसिर २६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

सानैबाट हामीलाई मानिस सामाजिक प्राणी हो भनेर पढाइयो । सामाजिक भन्नेबित्तिकै त्यसका आफ्नै दायरा र दृष्टिकोणहरु छन् । सामाजिक भन्ने शब्द सुन्नेबित्तिकै हामी आफू कम र आफूले देखेको समाजको बारेमा बढी सोच्ने गर्छौँ । साहित्यमा पनि त्यसैको प्रभाव हुनुपर्छ हामीले केटाकेटीमा पढेका कथामा मभन्दा ‘ऊ’ सर्वनाम प्रयोग भएका पात्र बढी भेट्थ्यौँ । र किन किन ती पात्रहरु आफूजस्ता लाग्दैनथे । अरु नै दुनियाका मानिसजस्ता लाग्थे । तिनको भोगाइ आफ्नोजस्तो लाग्दैनथ्यो । त्यसैले आज साहित्यमा निजत्व (वैयक्तिकता)को प्रयोग र त्यसको प्रभावका बारेमा केही भन्न मन लाग्यो ।

निजत्व भन्नेबित्तिकै हामी आफूलाई सम्झन्छौँ । चाहेर वा नचाहीकन कुनै पनि लेखन लेखकको निजत्वको परिणाम हो । सिग्मण्ड फ्रायड भन्छन् — लेखन भनेको लेखकको अवचेतन चाहनाको परिणाम हो । त्यसैले मेरो लेखन मैले देखेको सोचेको दुनिया हुँदै होइन भन्न कुनै पनि लेखकलाई गाह्रो छ । सायद, मानिस त्यस्तो प्राणी हो जसले आफूविनाको संसारको कल्पना गर्नै सक्तैन । लेखकको निजी अनुभव उसको लेखनमा आउनु  नौलो वा अस्वाभाविक होइन ।

नेपाली साहित्यमा निजत्व लेखनबारे बहसै नभएको त होइन तर बहसको घेरा भने सधैँ साँगुरिएजस्तो लाग्छ । कतिपयलाई लाग्छ निजत्व लेखन कुण्ठाको अभिव्यक्तिमात्र हो । र यही कुराले निजत्व लेखनको बृहत्तर बहसलाई रोकिदिन्छ र सधैँ झैँ हामी निजत्व लेखन कुण्ठाको चित्रण हो भन्ने मानिदिन्छौ । तर, के निजत्व लेखन कुण्ठा अभिव्यक्तिमात्र हो त ?

Global bank

Agani Group

वास्तवमा लेखनमा निजत्वको वर्णन वैयक्तिक अस्तित्वको प्रकटीकरण गर्नु पनि हो । मलाई लाग्छ हामीले जति नै समाजका बारेमा लेखे पनि हाम्रो जीवनको वृत्त ‘म’ बाट सुरु हुन्छ र ‘म’ मानै अन्त्य हुन्छ । म गलत पनि हुनसक्छु तर कहिलेकाही लाग्छ जीवनको भनेको एकदमै व्यक्तिगत भोगाइ अथवा नीजि भोगाइ हो हामीलाई सामाजिक प्राणी भनिए पनि । सायद, यी नीजि वृत्तहरुको सामूहिक प्रतिक्रिया नै समाज हो । निजत्वबाट भिन्न बृहत्तर समाजको कल्पना म गर्न सक्दिन । लाग्छ, साहित्यमा पनि त्यही लागुहुन्छ । हामीले आफूलाई लेखेनौ भने साहित्यको वृत्त अल्लि ढोंगी पो हुन्छ कि ?

निजत्वको चर्चा नेपाली समाज र साहित्यमा नभएको त होइन तर साहित्यका नाममा हामी बढी नै आफ्ना कुण्ठा र कहरहरु लेखिरहेका त छैनौ भन्ने प्रश्न भने अलि बढी नै हुने गर्छ । र, कतिपयले निजत्व लेखनलाई साहित्य होइन कुण्ठा हो पनि भन्छन् । तर, कहिलेकाहीँ लाग्छ  कल्पनामात्र गरेर अथवा देखेर लेखेको संसारभन्दा आफूले भोगेको संसार लेख्नुमा गलत नै के छ र ? आफ्ना कथाहरु लेख्नु कुण्ठा लेख्नुमात्र वा समाजबाट बिल्कुल अलगिनु पनि त होइन । अहिलेका नेपाली लेखकहरुले निजत्व लेखनलाई साहित्यबाट अलग्गै राख्न वा साहित्य होइन भन्नै नसकिने गरेर अभिव्यक्त गरेका छन् । 

sarbottam cement

विश्व साहित्यमा हेर्दा पनि निजत्व लेखनकोे फराकिलोपन महसुस हुन्छ । विश्वचर्चित लेखक हेलेन केलरको पहिलो पुस्तक “द स्टोरी अफ माई लाइफ“ उनको आफ्नै कथा थियो । त्यसमा उनले सेरेबल पल्सीजस्तो  रोगसँग कसरी जुधेर लेखक बनिन् भनेर आफ्नै निजी कथा लेखेकी थिइन् । त्यसले कालान्तरमा उनलाई साहित्यकार त बनायो नै विश्व साहित्य समाजमा अर्को नयाँ विषय वस्तुका साथै अपाङ्गतालाई बुझ्ने अर्को वैकल्पिक दृटिकोण पनि दियो ।  त्यसैगरी सिल्भिया पाथ यस्ती कवी हुन् जसले कवितामा पनि आफ्नै निजी कथाहरु लेखिन् । त्यसले तत्कालीन पितृसत्तात्मक समाजलाई अर्को झड्का दियो । यसरी हेर्दा निजत्व लेखन पनि साहित्यको एउटा महत्वपूर्ण कडी हो भन्ने हामीलाई महसुस हुन्छ ।

यसैगरी भारतीय मूलकी हलिउड फिल्म निर्देशक मिरा नायर भन्छिन् — ‘‘ हामीले आफ्ना कथा भनेनौ भने अरु कसैले भन्दैनन् ।’’ निजत्व शब्द प्रयोग नगरे पनि उनी त्यसका पक्षमा उभिएकी देखिन्छिन् । हाम्रा आफना भोगाइ र दृष्टिकोण अरु कसैले लेखिदिनुभन्दा आफैँले लेख्नु बढी उचित हो कि ? र अर्को कुरा आफ्नो कथा आफूले लेख्दा जति आधिकारिक हुन्छ अरुले लेखिदिँदा अलि कम हुन्छ कि ? यसको अर्को पाटोे समाजको मूलधारबाट अलि परको समाजको कथालाई यसले  भन्न मद्दत गर्छ । साहित्यको गुणस्तर लेख्न र पठन इतिहासले निर्धारण गर्छ । तर, लेखन र पठन संस्कृति अझै नयाँ नै रहेकोे समूहका लागि निजत्व लेखनले गुणस्तरीयताभन्दा पनि कथ्यको नवीनता र समावेशिताको दृष्टिले अर्को अवसर खुलाउँछ ।

यस सन्दर्भमा महिलाको निजत्वको बारेमा पनि चर्चा गर्नु वाञ्छनीय हुन्छ । हामी हुर्केको समाजमा महिलाले आफ्नो एकदमै निजी कुरा लेख्नु बोल्नु अचम्म मानिन्थ्यो । अहिले परिस्थिति अलिकति भिन्न भएको छ । तैपनि, हामी एकदमै निजी विषय लेख्न अहिले पनि डराउछौँ । सर्वनाम ‘ऊ’ प्रयोग गरेर त लेखौँला तर ‘म’ प्रयोग गरेर लेख्न अझै हिचकिचाउछौँ । पुरुषलाई प्रेम सम्बन्धको बारेमा लेख्न जति सजिलो देखिन्छ महिलालाई त्यति नै गाह्रो । अझै पनि हाम्रा निजी भोगाइहरु, आमा, छोरी, प्रेमिका, पत्नी हुनुको अनुभूति साहित्यमा अलि कम नै पाउछाैँ ।  पुरुषले बनाएको प्रेमिका पात्र र एउटा महिला आफैँले अनुभूत गरेको प्रेम शब्दहरुमा उर्तानु प्रामाणिकताका दृष्टिमा अलि फरक हुन्छ । त्यसैले यदाकदा लाग्छ म भएर लेख्न जति सजिलो देखिन्छ त्यति सजिलो पनि छैन र निजत्व लेखन कुण्ठा अभिव्यक्तिमात्र त पक्कै पनि होइन ।

माथि भनिए झैँ निजत्व लेखन अथवा आफ्नो भोगाइ लेख्न जति सजिलोजस्तो लाग्छ त्यति सजिलो भने पक्कै छैन । तर, यसले हाम्रा व्यक्तिगत भोगाइहरुलाई सामाजिक छलफलको विषय भने पक्कै बनाउँछ । कतिपय कुराहरु मिरा नायरले भने झैँ हामीले आफूले लेखेनौ भनेनौ भने अरु कसैले नभन्न वा नलेख्न पनि सक्छ । त्यसकारण निजत्व लेखनले कुण्ठामात्र होइन सामाजिक छलफलमा आउनुपर्ने त्यस्ता विषय बस्तु  पनि खोतल्न सक्छ जुन अहिलेसम्म  सामाजिक मञ्चहरूमा आएकै छैनन् । उदाहरणका लागि अहिले विश्वब्यापीरुपमा आएका ‘मी टु’ का वर्णनहरु ।  

नेपाली साहित्यमा अहिले आत्मकथाको प्रचलन एकदमै बलियो छ । नाम चलेका प्रायः धेरैको आत्मकथा आयो वा आउने क्रममा छ । आत्मकथा पनि निजत्व लेखनको एउटा वृत्त हो । तर, अहिले प्रकाशित निजत्वका कथाहरु यस्ता कथा हुन् जसको सम्बन्ध बजारसँग छ । निजत्वको कुरा गर्दा हामीले महिला, दलित, आदिवासी वा सामान्य व्यक्तिका निजत्वका कथा बिर्सियाँै । र उनीहरुको निजत्व लेखनलाई साहित्य समाजले पनि कुण्ठामात्र मानिराख्यो । के अब ‘थिङ्स फल अपार्ट’ भने झैँ आम निजत्वलाई पनि प्रकट गर्ने बेला भएन र ?  

निजत्व लेखन आफैँमा एउटा वैकल्पिक शिल्प हो र यसले साहित्यका अरु विधाजस्तो विम्ब, पात्र, कथावस्तुको नाममा आफूलाई बाँध्दैन । यसले साहित्यलाई लेखकको व्यक्तिगत अनुभवभन्दा परको तत्त्व हो भन्ने धृष्टता गर्दैन ।  यसमा हामी अरु हुनु पर्दैन आफू हुने स्वतन्त्रता हुन्छ । यसले आफूलाई नै प्रकट गर्छ । यसको अस्तित्वलाई मूलधारको समाजले साहित्य नमान्ला तर यसको उपस्थितिलाई नकार्न सक्दैन । निजत्वलाई प्रकट गरेर लेख्ने केही लेखक र कविहरुप्रति म सारै कृतज्ञ छु । यस लेखको अन्त्य पनि प्रसन्न घिमिरेको यो कविताबाट गर्न चाहन्छु : 
कति भत्किएको छु भो नसोध
हरेक वर्ष
घर भत्काउँछ सरकार
बाटो फराक बनाउँछ सरकार
म उही सरकारको सहर हुँ, सम्झ ।।

 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्