स्मृति–स्तम्भमा प्रेमाक्षर

स्मृति–स्तम्भमा प्रेमाक्षर

खेमराज पोखरेल 


यति बेला म उसको स्मृति–स्तम्भका अगाडि उभिएर नतमस्तक भएर हात जोडिरहेकी छु । उसको स्मृति–स्तम्भलाई अँगालो हालिरहेकी छु । कल्पिरहेकी छु । ऊ मेरै बाहुपाशमा छ । ऊ उस्तै वज्रजस्तो शरीर लिएर मलाई अङ्कमाल गरिरहेको छ । भर्खर मात्रै मलाई उसको चिसो स्तम्भले चक्क म्वाइँ खाएको छ । मेरो जलिरहेको हृदयको ज्वालालाई चिस्याइ रहेछ । 

तर उफ, मान्छे भन्छन्– ऊ मर्यो रे ! 

म भन्छु– ऊ कहाँ मर्छ र ! ऊ मर्ने मान्छे नै होइन । उसले त केवल रूप परिवर्तन गरेको छ । चोला फेरेको मात्र हो । ऊ त्यही स्मृति–स्तम्भबाट धकधक गरिरहेछ । श्वास फेरिरहेको छ । बोलिरहेछ । 

म सम्झिरहेकी छु । म अफिसबाट हतारहतार घर आइपुग्थेँ । ऊ ओछ्यानमा पल्टिएर के–के बर्बराइरहेको हुन्थ्यो । म लगातार ऊतिर हेर्दै हुन्थेँ । ऊ छालाले मोडिएको कङ्कालजस्तै देखिन्थ्यो । मलाई दयनीय भावमा मधुरा आँखाले हेर्दै हुन्थ्यो । ती मधुरा आँखालाई म गौर गरेर हेर्थेँ । उसका आँखाका नानी ट्वाल्ल बलेका हुन्थे । अनुहारको बाँकी भाग पहेँला देखिएका हुन्थे । उसलाई सुस्तरी उठाउथेँ । डाइपर बिस्टाले कटकटिएको हुन्थ्यो । मूत्रले भिजेको हुन्थ्यो । पानी प्यासले ओठ सुकेका हुन्थे । ऊ देब्रे हात बिस्तारै उठाउन खोज्थ्यो । तर हात भुइँचालोले हल्लाएझैँ हल्लिन्थे । हात उठाउन सक्तैनथ्यो । म उसको हात समाउँथेँ । डाइपर बदली दिन्थेँ । लुगा फेराइ दिन्थेँ । पानी खुवाइ दिन्थेँ । पानी निल्दा उसको किलकिले जोडजोडले तलमाथि गथ्र्यो । किलकिलेका नसाहरू नीला देखिएका हुन्थे । ऊ निरीह देखिन्थ्यो । अनि म कोठाभरि भेनिला स्प्रे गर्ने गर्थेँ । किनकि उसलाई यो भेनिलाको वासना खुबै मन पथ्र्यो । उसलाई ह्विलचेयरमा राखेर बाहिर बरन्डामा निकाल्न खोजेकी हुन्थेँ । उसको कृशकाय ६ फिटे शरीरलाई ह्विलचेयरमा बसाउन पनि मलाई निकै गाह्रो हुन्थ्यो । अनि मैले पल्लो घरको भाइको सहयोग मागेर उसलाई ह्विलचेयरमा बसाएकी हुन्थेँ । बरन्डामा पुगेपछि ऊ आफ्ना खिइँदै गएका नेत्रज्योतिबाट एकोहोरो टाढाटाढा हेरिरहन्थ्यो । उसका ओठहरू चल्न खोजेका हुन्थे । 

यो मेरो नियमित कर्म थियो । 

बोली झन् बुझिन छाडेको थियो । कलेटी परेका ओठलाई थरथर कमाउँदै आँखाबाट बरर्र आँशु झारेथ्यो । उसका आँखा साँच्चै दीनहीन भएका थिए । गिलो जाउलो पकाएर चम्चाले सुस्तरी, सुस्तरी खुवाइदिन खोजेकी थिएँ । उसले आज्ञाकारी बालखझैँ कुपुकुपु खान खोजेको थियो । तर त्यो गिलो पातलो जाउलो पनि निलिएको थिएन । अनि उसले याचक भावमा मेरो अनुहारमा हेरेर फेरि बर्र आँशु झारेथ्यो । आँशु पुछिदिएँथेँ । खासमा ऊ जतिबेला पनि रोइरहन्थ्यो । बोल्न खोज्थ्यो । बोल्न पनि उसलाई निकै सकस हुन्थ्यो । उसका ओठले निकालेका आवाजलाई अनुमान गरेर म बुझ्थेँ । किनभने अब उसले बोल्ने शब्दका दायरा एकदम साँघुरिएका थिए । 

मेरो खास संसार भनेको ऊ र म मात्र थियौँ । उसको दवाइपानीको जोहो गर्नुपथ्र्यो । उसले खाएका दवाइलाई चाङ बनाएर राखेको भए एउटा घर जत्रै हुन्थ्यो होला । यही दिनचर्यामा मेरा घण्टा, दिन, महिना र वर्ष बितेका थिए । बितिरहेका थिए । मेरो तीर्थ, व्रत, माइती, मावली, साथीभाइ, इष्टमित्र, रामरउस, चाडपर्व, मेला धाम सबै उसकै स्याहार सुसाहार गर्नु र ऊसँग दिन बिताउनु नै थियो । यही परिवेश थियो । यसमा मलाई कुनै गुनासो थिएन । यसबापत म कुनै भगवान्लाई सराप्दिनँ थिएँ । भाग्यलाई कोस्दिनँ थिएँ । किनकि ऊ मेरो लोग्ने थियो । लोग्ने मात्र होइन, ऊ मेरो माया थियो । मेरो जीवनको भावी थियो । मेरो देवता थियो । यो मेरो दैनिन्दिनीलाई मैले स्वास्नी हुनुको दायित्व मात्र पनि सम्झेकी थिइनँ । देवताको भक्ति ठानेकी थिएँ । देवताको सेवा ठानेकी थिएँ । 

ऊ थला परेको साढे चार वर्ष भएको थियो । उसको शरीरको दाहिने पाटोमा पक्षाघातले हानेको थियो । देब्रे पाटो पनि राम्रोसँग चल्दैन थियो । देब्रे हातको दुई औंला अलिअलि चल्थे । कपी र कलम भेट्यो भने त्यही दुई औँलाका सहायताले केही केरमेट नबुझिने गरी अस्पष्ट अक्षर लेख्थ्यो । अन्सारले बुझ्नु पथ्र्यो । 

मेरो जीवन त्रिकोणमा घुमेको थियो । पहिलो, छोराछोरी थिए । मायाले छोराछोरी खोजिरहेको थियो । परिवेशले छोराछोरीको सहारा खोजिरहेको थियो । हाम्रा एक छोरा र एक छोरी थिए । विदेशमा थिए । अनुकूल पर्दाका बखत फोन गर्थे । क्षेमकुशल सोध्थे । आठपाँच सघाउँथे । नत्र त मेरो मात्र कमाइले के पिताम चल्थ्यो र ! के पुग्थ्यो र ! अहिलेको युगमा त्यत्तिका छोराछोरीलाई सप्रेका भन्नुपर्छ । 

उनीहरूलाई पढाउँदा नै विदेशमा जाँदा के पढ्यो भने सजिलै बिक्छ भनेर सोही विषय पढाएका थियौँ । त्यसमा उनीहरूको पनि केही दोष थिएन । परिवेश नै त्यस्तो खोटो भएपछि कसको के लाग्दो रहेछ र ! त्यसैले हामी ‘छोराछोरी विदेशिए’ भनेर रुनुको पनि केही अर्थ थिएन । उनीहरू आफ्नो संसारमा थिए । रमेका थिए । सायद आफ्नै संसारमा बाँच्नका लागि त्यही परिवेशसँग जुधिरहेका थिए होलान् । तर म त आमा थिएँ । मायाले उनीहरूको साथ खोजिरहेथ्यो । अवस्थाले उनीहरूको सामीप्य खोजिरहेथ्यो । तर खोजेको कुरा कहाँ पाउँछ र मान्छेले !

दोस्रो, अफिस थियो । कायाले अफिस पु¥याउँथ्यो । अफिस उसको चिनो थियो । उसको नासो थियो । उसको जिन्दगी थियो । त्यो अफिस उसैले खडा गरेको थियो । त्यो अफिस मजस्तै निःसहायका लागि आश्रयस्थल थियो । मेरो आश्रयस्थल पनि त्यही अफिस थियो । अफिस नगै हुन सकिने कुरा पनि थिएन । यसोगर्दा उसको आत्मा मथ्र्यो । म उसको आत्मा मार्न चाहन्न थिएँ । त्यसैले अफिस पनि छोड्न सक्दिनथेँ । आखिर मुखमा माड लाउने मुख्य जोहो नै त्यही अफिसले गरिदिएको थियो ।

तेस्रो, तर ज्यादै महत्त्वपूर्ण थियो ऊ । मन, माया, दया, दायित्व तथा सम्पूर्णतामा ऊ थियो । ऊ लडिका थियो, तर ऊबिना मेरो अस्तित्व समाप्त हुन्थ्यो । ऊ मेरो सबैथोक थियो । संसारका सबैथोक एकातिर राखेर उसको त्यो लडिका शरीरलाई मात्र जोख्यो भने उसको महत्त्व हजारौँ गुणा धेरै थियो मेरा लागि । हुने भए उसको व्याधि म लिन्थेँ । तर त्यो सम्भव थिएन । 

ती दिनको सम्झना आइरहेको छ, उसको पटाङ्गिनी जत्रो छातीमा म रातरातभर निदाउँथे । उसका छातीका रौँहरू चलाएर रोमाञ्चक हुन्थेँ । म ऊसँग कहिल्यै अघाउँदिन थिएँ । ऊ पनि कहिल्यै अघाउँदैनथ्यो । अहिले उसको त्यही छाती उठ्न सक्दैन थियो । छातीका रौंहरू पातलिएर फुस्रा भएका थिए । त्यो बेला म भान्सामा जाँदा ऊ मेरा पछिपछि आउँथ्यो । म उसलाई ‘भो नआऊ, यत्ति जाबो काम त म एक्लै गरिहाल्छु नि’ भन्थेँ । तर ऊ मान्दैनथ्यो । भान्सामा पछाडिबाट आएर ग्वाम्लाङङ कसिलो अँगालो हाल्नु उसको प्रिय बानी थियो । मान्छे उसलाई जोईटिङ्ग्रे भन्थे । ऊ हाँसीहाँसी मलाई भन्थ्यो– ‘कस्तो पापी छ हगि हाम्रो समाज ! हाम्रो परिवारभित्र पसेर हाम्रै मायालाई जोइटिङ्ग्रे भनेर उडाइरहन्छ । अर्काको जीवन उधिनेर रमाउँछ यो । बेकामे छ समाज । पापी छ समाज ।’ 

र म पूर्वस्मृतिमा पुगेकी छु । म उसलाई भेटेको दिन सम्झिरहेकी छु । मलाई मेरो पूर्वलोग्नेले रक्सी खाएर आएर बेस्सरी कुट्दै थियो । म ‘गुहार ! गुहार !!’ भनेर सडकमा निस्किएर चिच्याउँदै थिएँ । वरपरका छिमेकी एकआध भेला भएथे । त्यही बेला ऊ कसैकोमा पाहुना लाग्न आएको रहेछ । म बर्बरिक तरिकाले कुटाइ खाइरहेकी थिएँ । लोग्ने मलाई कुटेर पुरुषत्व देखाउँदै थियो । समाजका मान्छे ‘ए लोग्ने–स्वास्नीको झगडा रहेछ, परालको आगो, हामी बीचमा पर्नु हुन्न’ भन्दै पन्छिँदै थिए । मेरो लोग्ने मलाई ‘बेस्से, आज दिनभरि कता नाठो चराएर आइस्, लु भन्’ भन्दै कुट्दै थियो । मैले नाठो चराएको आरोप सुनेपछि गाउँलेहरू पत्याएर लासलाई उपियाँले छोडेझैँ आ–आफ्ना दिशातिर लाग्दै थिए । 

एकाएक उसले आएर मेरो लोग्नेको कुट्दै गरेका हात समातेको थियो । उसका हातले मलाई पन्छाएको थियो । उसका बलिष्ठ हातका सामु मेरो लोग्ने कक्रक्क परेको थियो । लोग्ने एकोहोरो मलाई अपशब्द बोलेर गाली गरिरहेथ्यो । ऊ मेरो लोग्नेलाई भन्दै थियो– जे अपराध गरेको भए पनि पशुलाई त त्यसरी कुट्न पाइँदैन भने स्वास्नी भनेको त मान्छे पो हो त ! 

अर्को दिन म पँधेरा गएकी थिएँ । पँधेरा घरबाट १० मिनेट जति पर जङ्गलको छेउमा थियो । ठूलाठूला दुईथान प्राकृतिक धारा थिए । नुहाउन, लुगा धुन त्यो गाउँका मान्छेहरू त्यही धारामा जान्थे । प्रायः एउटा धारोमा महिला नुहाउँथे, अर्कोमा पुरुष । कहिलेकाहीँ सरोवर पनि नुहाउँथे । दुवै धाराको दूरी १० गज जति थियो होला । म पेटीकोटलाई माथितिर सारेर बाँधेर नुहाइरहेकी थिएँ । ऊ र उसका साथी–आफन्तहरू पल्लो धारामा नुहाउन थालेका थिए । उनीहरूले कट्टु मात्र लगाएका थिए । पानीले भिजेर कट्टु ट्याप्प टाँसिएको थियो । त्यसैगरी लोग्ने मान्छेहरू पनि हाम्रा शरीरमा पानीले भिजेर टाँसिएको पेटीकोटतिर नजर नडुलाइ छाड्दैनथे । त्यो सामान्य थियो । सधैँको थियो । प्राकृतिक थियो । अघोषित थियो, तर थियो । त्यो दिन उसको त्यो बलिष्ठ शरीर देखेर मलाई कताकताभित्र लोभ लागेको थियो । धेरै मान्छे थिए । उसले मलाई चिनेको थिएन । नत्र बोल्थ्यो होला, हिजोको हाल खबर सोध्थ्यो होला भन्ने मनमा लागिरहेको थियो । तर ऊ गएथ्यो । मैले खोई किन हो उसलाई अपलक हेरिरहेकी थिएँ । 

दिनहरू बित्दै थिए । एकाएक मेरो लोग्ने मारिएको खबर आएथ्यो । मेरा शृङ्गार खोसिएका थिए । म लोग्ने मरेकामा अलिकति खुसी थिएँ । किनभने अब मैले कसैको कुटाइ खानुपर्ने थिएन । दुःखी पनि थिएँ । किनभने म विधवा भएकी थिएँ । मेरो सारा जीवन असरल्ल थियो । यसपछि म पोइ टोकुवीको अपराधमा मुछिएकी थिएँ । यही अपराधमा घरबाट निकालिएकी थिएँ । 

त्यो दिन म काम विशेषले नयाँ सडकमा पुगेकी थिएँ । मैले उसलाई पेटीमा उभिएको देखेकी थिएँ । अनि खोई किन हो, मैले उसको नजिक गएर भनेकी थिएँ– ‘चिन्नुभयो मलाई ?’
उसले उत्तर दिएको थियो– ‘खोई चिनिनँ ! चिनारी गराउनु त ।’

मैले भनेकी थिएँ– ‘त्यो मानभवनको एउटा रात, जतिबेला मलाई लोग्नेले कुटिरहेको थियो, मान्छे रमिते भइरहेथे, त्यो बेला मलाई समातेर नै छुट्याउनु भएथ्यो । म त्यो दिनको कुटाइबाट जोगिएकी थिएँ ।’
अनि उसले सोधेको थियो– ‘अझै कुट्छ लोग्नेले कि छाड्यो अब ?’

मैले उत्तर दिएँथेँ– ‘ऊ अब मलाई कुट्न नसक्ने ठाउँमा पुग्यो । ऊ मर्‍यो ।’ 

अनि ऊ एकछिन् स्तब्ध भएथ्यो र मलाई भनेथ्यो– ‘सरी ।’

अनि मैले भनेथेँ– ‘लोग्ने मरेर जाति भयो मलाई ।’ 

उसले हठात् सोधेथ्यो– ‘किन नि !’

मैले पनि सोझै भनेथेँ– ‘कुटाइबाट मुक्ति पाएँ नि त ।’ 

उसले सोधेथ्यो– ‘अचेल के गर्नुहुन्छ ?’

मैले भनेथेँ– ‘के गर्नु र ! लोग्ने मरेपछि पोइ टोकुवीको पदवी दिएर घरबाट निकाले । माइतमा बाबुआमा मरिहाले । दाइभाउजूका वचन खप्न सकिनँ । बाहिर निस्किएँ । सहरमा दिउँसो झलमल्ल घाम लागेका हुन्थे । राति सडकमा बिजुली बत्ती बलिरहेका हुन्थे । तर मेरो सारा संसार अँध्यारो थियो । निष्पट्ट अँध्यारो । र त्यही अँध्यारोमा अँध्यारो मन भएका मान्छेहरू आए । प्यासा मान्छेहरू आए । अँध्यारो मनलाई उजिल्याए । मलाई पिए । उनीहरू शान्त भए । तर मलाई यौनकर्मी बनाए ।’
 
उसले एकछिन आकाशतिर हेरेको थियो । उदास पनि देखिएको थियो । अनि अलि रिसाएजस्तो गरेर मलाई भनेथ्यो– ‘तपाईंको यौनकर्म स्वेच्छा हो वा बाध्यता ?’

अनि मैले घोसे मुन्टो लगाएर भनेकी थिएँ– ‘स्वेच्छाले पनि कोही वेश्या बन्छ ! जीवनसँग हारेर आत्महत्या गर्नुभन्दा बरु यही ठीक भनेर यो कर्म अँगालेकी हुँ । देवताका पालादेखि चलेको कुरा । अप्सरा, नगरबधु यसैको नाम त हो ।’ 

अनि उसले मेरो कथा सुन्न चाहेथ्यो । मैले उसलाई बताएकी थिएँ–

‘बिहे हुँदा १५ वर्षकी थिएँ । एसएलसीको परीक्षा सक्नेबित्तिकै बिहे भएको थियो । ‘इन्डियाको लाहुरे हो, काखमा राखेर पाल्छ’ भनेर दिएका थिए मलाई । घरमा सासूससुरासँग बस्नुपथ्र्यो । मेरो लोग्ने वर्षदिनमा आउँथ्यो । सासूससुरा अनि गाउँलेले कुरा लगाउँथे । ऊ मेरो अपराधबारे केही सोध्दैनथ्यो । आएर मलाई ‘तेरा बेस्से, छँडुल्ली’ भनेर कुट्थ्यो । मेरो भाग्यमा यस्तो कुटाइ खानु लेखेको थियो सायद । म कहिलेकाहीँ भागेर माइत जान्थेँ । आमाबुबा मलाई ‘लोग्नेस्वास्नीको झगडा हो नानी, केही दिनमा साम्य भइहाल्छ’ भन्दै फेरि उसैसँग पठाउँथे । मेरो नियतिमा कुटाइ थियो । ऊ मर्यो । म निकालिएँ र यौनकर्मी भएँ ।’ 

‘यो कर्मबाट बाहिर आउने हो ?’– उसले मलाई एक्कासि सोधेथ्यो । 

‘कसरी सम्भव छ र ! मैले केही जानेकी छैन, मेरा कोही छैनन् । मसँग केही सीप छैन ।’ मैले जवाफ दिएकी थिएँ ।

उसले आफ्नो पर्सबाट एउटा कार्ड झिकेर दिएथ्यो र भनेथ्यो– ‘यो मेरो अफिस हो । भोलि दिउँसो १२ बजे आउनू ।’ 

यसरी म उसको अफिस पुगेकी थिएँ । लगभग २० जनाजति कर्मचारी थिए त्यो अफिसमा । अनि उसले एकजना महिलालाई बोलाएर भनेथ्यो– ‘तपाईंको नयाँ साथी । अब यही अफिसमा काम गर्ने हुन् । उनको अर्को व्यवस्था नहुन्जेल तपाईंसँगै बस्न दिनू ।’ 

यसरी म जागिरे भएथेँ । एकदिन उसले मलाई अफिसमा बोलाएर सोधेथ्यो– ‘गरिमा, समाजले मान्छेलाई किन हेप्छ थाहा छ ?’

उसको यो प्रश्नको उत्तर मलाई के थाहा ! अनि मैले थाहा नपाएको भावमा मुन्टो दायाँबायाँ हल्लाएकी थिएँ । उसले फेरि भनेथ्यो – ‘एसएलसी पास गरेकी हुनुहुँदोरहेछ । बिहान कलेज जाने पढ्न । दिउँसो काम गर्ने । राति घरमा पढ्ने । निर्धो भएपछि समाजले लखेट्छ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेको त्यही हो । पहिले तपाईं आफू बलियो हुनुपर्छ । बलियो हुन पढ्नुपर्छ ।’ 

यसरी म कलेज गएर आईए पढ्न थालेकी थिएँ । दिउँसो अफिसमा काम गर्नुपर्ने हुन्थ्यो । राति कलेजकै पढाइको तयारी, गृहकार्य आदि गर्नुपथ्र्यो । साह्रै धेरै मिहिनेत गर्नुपथ्र्यो । म अलग्गै डेरामा बस्न थालेकी थिएँ । मेरो दिनचर्या राम्ररी चलिरहेको थियो । एकदिन अफिसमा पुग्दा अफिसका स्टाफ खासखुस गरिरहेका थिए । अरू केके भने कुन्नि, तर ‘यो हाम्रो साहूले एउटी वेश्या उठाएर ल्याएको छ । त्यही वेश्याकै चङ्गुलमा परेको छ’ भनेको झट्टै सुनेँ । मलाई भाउन्न होलाजस्तो भएको थियो । मलाई वेश्या भनिएकामा भन्दा मैले त्यत्रो ठूलो मान्छेको इज्जत मेरै नामका कारणले अपमानित हुनुपरेकामा ठूलै ग्लानि भएको थियो । अनि म सरासर उसको च्याम्बरमा पुगेकी थिएँ । मैले आफूलाई रोक्नै सकेकी थिइनँ । उसलाई भनेकी थिएँ– म भोलिदेखि काम गर्दिनँ । 

उसले अचम्ममा परेर सोधेथ्यो– ‘किन ?’

‘किनकि, हजुरका अफिसका स्टाफहरू हजुरसँग मेरो वेश्या नाम जोडेर भन्नु नभन्नु भन्दै थिए । म त के हुँ र ! भाग्यले ठगेको मान्छे हुँ । हजुरको इज्जतका लागि म जागिर छोड्दै छु ।’ – मैले भनेकी थिएँ । भन्दाखेरि मेरो श्वास बढिरहेको थियो । म थरथर कामिरहेकी थिएँ । 

ऊ त चुपचाप कुर्सीमा बसेर मुस्कुराइरहेको थियो । उसमा मेरो कुराको कुनै प्रभावै थिएन । अनि उसले आफ्नो कुर्सी अलि वर सारेर भनेको थियो – ‘गरिमा, यति जाबो कुरा ! यो त मलाई पहिल्यै थाहा थियो । समाज यस्तै नचाहिने कुरा गरेर अम्मल लिन्छ । यही कुरा चिर्नु नै परिवर्तन हो । राजनीतिक भाषामा भन्ने हो भने क्रान्ति हो । भाग्ने हो भने त मान्छे भएको के सार भयो र ! समाज त एउटा भुक्ने कुकुरजस्तै हो, तपाईं भाग्नुभयो भने– लखेट्छ, उभिनुभयो भने– उभिन्छ । दच्काउनुभयो भने – दच्किन्छ र भाग्छ ।’

यसरी मैले जागिर छोड्ने कुरा त्यागिदिएकी थिएँ । साँच्ची ऊ कति महान् रहेछ भन्ने कुरा मैले फेरि पनि चाल पाएकी थिएँ । 

म दिलोज्यान लगाएर एकदम इमानदार भएर काम गर्दै थिएँ । मैले बीए पास गरेको दिन उसले अफिसका स्टाफलाई एउटा पार्टी दिएको थियो । पार्टीमा उसले भनेथ्यो– गरिमाले जस्तो जीवनमा सङ्घर्ष गर्न सक्नुपर्छ । कामप्रति इमानदार हुन सक्नुपर्छ । काम नै मान्छेको भविष्य निर्माण गर्ने आधार हो । गफले टिकेको जीवन धरमर हुन्छ । आज म गरिमाको काम र मिहिनेतलाई कदर गर्दै एकैपल्ट दुई तह प्रमोसन दिन्छु । 

त्यसपछि मलाई अफिसमा हेर्ने दृेष्टिकोण नै अलग भएको थियो ।

दिनहरू यसरी नै बित्दै थिए । एकदिन उसले शनिबार एउटा रेस्टुरेन्टमा लिएर गएको थियो । र भनेथ्यो– ‘तपाईँ मसँग बिहे गर्नुहुन्छ ?’  
मैले भनेथेँ– ‘तपाईं र म ! अनि बिहे ! म को हुँ ?’

– ‘तपाईँ मसँग बिहे नगर्न सक्नु हुन्छ । त्यो तपाईँको अधिकार हो । इच्छा हो । तर आफूलाई त्यो पुरानो घाउबाट बाहिर झिकेर मानसिक रूपमा मुक्त हुन सक्नुपर्दछ । सधैँ आफूलाई कमजोर ठान्ने विचारले मान्छेलाई निकम्मा बनाइदिन्छ ।’

एकछिन वातावरण सन्न भएथ्यो । अनि त्यो सन्नाटालाई चिर्दै उसैले भनेथ्यो– ‘संसारका कुनै पनि मूल धार्मिक शास्त्रले महिलालाई अपवित्र ठानेको छैन । केवल यो समाजले आफ्नो दुनो सोझ्याउन धर्ममा लगेर अन्टसन्ट जोडिदिन्छ । कमजोर बनाउँछ र शासन गरिरहन्छ । मैले तपाईंलाई उद्धार गर्ने हिसाबले भनेको होइन । तपाईंलाई दया देखाएको पनि होइन । तपाईं अब यो पापी संसारमा एक्लै पनि बाँच्न सक्नुहुन्छ । मेरो त एउटा प्रस्ताव मात्र हो । आखिर मैले पनि एउटी बिहे गर्नु नै छ । तर तपाईं निर्णय लिन पूर्ण स्वतन्त्र हुनुहुन्छ ।’ 

यसरी उसको र मेरो बिहे भएको थियो । त्यसपछि हाम्रो सम्बोधन तपाईंबाट तिमीमा झरेको थियो । यसपछि बल्ल मलाई ‘जीवन भनेको यस्तो पो त’ भन्ने बोध भएथ्यो । 
यसपछि हामीले यसरी श्रीमान्–श्रीमती भएर बितायौँ । 

त्यो दिन उसको ६५औँ जन्मदिन थियो । उसको जन्मदिन मेरा लागि पनि निकै महत्त्वपूर्ण थियो । ऊ जन्मेको थियो र नै मेरो हुन आइपुगेको थियो । ऊ मेरो थियो र मात्र म बाँचेकी थिएँ । त्यो दिन पनि उसका सबै काम सकेर हातमा कालो कफी लिएर उसकै नजिकै कुर्सीमा बसेकी थिएँ । एउटा केक टी टेबुलमा थियो । एउटा हातले उसको निधारमा यसो चलाएकी थिएँ । उसले चिम्लेका आँखा खोलेको थियो र मलाई हेरेर बर्र आँशु झारेको थियो । अर्को हातले उसको लथरक्क परेको हात उठाएकी थिएँ । सुम्सुम्याएकी थिएँ । ऊ रोइरहेथ्यो । उसका आँशुका भेलमा मेरा आँशु मुहानबाटै सुकेका थिए । म चाहेर पनि रुन सक्दिनँ थिएँ । म उसका हातलाई अलपक हेरिरहेँथेँ । ती हात उनै थिए, कुनैबेला मजस्तो थसुल्लीलाई जुरुक्क बोक्थे । अग्राखजस्ता कसिला थिए । मलाई अन्त्यहीन सुम्सुम्याउँथे । जीवनको स्वर्गमा पुर्‍याइ रहन्थे । मेरो ख्याल गरिरहन्थे । उसका यी हात मलाई माया गरेर कहिल्यै थाक्दैन थिए । यी हात मसँग कहिल्यै क्रूर भएनन् । उसका विचारहरू कहिल्यै हिंसक भएनन् । मैले गरेका हजारौँ गल्तीहरूमा ऊ फिस्स हाँस्थ्यो र मलाई भन्थ्यो– ‘सानु, गल्ती नगर्ने को हुन्छ र ! किन सानो मन बनाउँछौ !’

जन्मदिन मनाउने समय भएको थियो । उसलाई नयाँ लुगा फेरिदिएकी थिएँ । कपाल कोरेर चिटिक्क पारेकी थिएँ । लथरक्क परेको देब्रे हातमा समाएर केक नजिक पु¥याएकी थिएँ । उसले केक यसो छोएझैँ गरेको थियो । तर ऊ अनवरत रोइरहेको थियो । यस्तो ऊ कहिल्यै गर्दैनथ्यो । एक छिन रुन्थ्यो, अनि चुप लाग्थ्यो । तर आज त उसले हदै गरेको थियो । उसको रुवाइ कसै गरे रोकिएको थिएन । मेरो सुकिसकेको आँशुको मुहान पनि रसाएथ्यो । यसरी धेरै रुँदा उसलाई मैले कापी कलम दिन्थेँ । ऊ किरिङ मिरिङ अक्षर बनाउँथ्यो । कहिले ऊ ‘आमा’ लेख्थ्यो । कहिले ‘बाबु’ लेख्थ्यो । कहिले ‘छोरा’ लेख्थ्यो । कहिले ‘छोरी’ लेख्थ्यो । कहिले ‘जिन्दगी’ लेख्थ्यो । कहिले ‘नियति’ लेख्थ्यो । कहिले ‘अफिस’ लेख्थ्यो । आज पनि मैले उसलाई कपी र कलम दिएँथेँ । उसले बडो मुस्किलले अङ्ग्रेजीमा ‘युथ्नेसिया’ लेखेको थियो । मैले उसले लेखेको बुझेकी थिइनँ । शब्दकोश पल्टाएर हेरेकी थिएँ । अर्थ देखेर म झन्डै बेहोस भएकी थिएँ । अर्थ थियो– इच्छामरण । 
त्यसपछि मैले दह्रो मन बनाएर एक्लै डाक्टरकोमा लगेकी थिएँ । ती डाक्टरले वर्षौँदेखि उसको उपचार गरिरहेका थिए । उनलाई मैले उसले लेखेको कागज दिएकी थिएँ । कागज हेरेपछि डाक्टरले उसलाई अस्पतालमा भर्ना गराएका थिए । त्यसको केही घण्टामा उसले चोला फेरेको थियो । 

तर म यतिबेला ऊ जिउँदो भएको अनुभूतिमा उसको स्मृति–स्तम्भलाई अँगालो मारिरहेकी छु । मेरा मुहान सुकेका आँखाबाट अनायास आँशु बर्सिरहेका छन् र ती आँशुले उसको स्मृति–स्तम्भमा प्रेमाक्षर बनाइरहेका छन् । 

(सान एन्टोनियो, अमेरिका)

प्रतिकृया दिनुहोस
ad