site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियानअन्तर्गत आज (शुक्रबार) मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गरेकी हुन् ।

त्यस क्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन् । मालपोत र नापी कार्यालयको बिग्रिएको छवि बदल्न सफलता प्राप्त हुँदै गएको बताउँदै मन्त्री अर्यालले ती कार्यालयबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका निम्ति नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताइन् । ‘‘सिस्टमबाटै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेरै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौं,’’ मन्त्री अर्यालले भनिन्, ‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिने गरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुविधा दिएका छौं ।’’

नमुना भन्दा २/४ ठाउँमा गर्ने भन्‍ने पनि हुनसक्ने भन्दै उनले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधिमैत्री सेवा पुर्‍याइने बताइन् । तर, यसका निम्ति दक्ष जनशक्ति अभाव हुँदा अभियान प्रभावित भएको उनको भनाइ थियो । ‘‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ति दक्ष जनशक्ति आवश्‍यकता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ,’’ मन्त्री अर्यालले भनिन्यो, ‘हिजो एक ढंगले कर्मचारीहरुको नियुक्ति भएका छन् । हामी अर्को हिसाबले हिँड्न खोजेका छौं । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर विज्ञताको वृद्धि गर्दै कर्मचारीहरुलाई दक्ष बनाउँदै हामी अगाडि बढ्नुपर्छ ।’’ 

यसैबीच मन्त्री अर्यालले बेरोजगारलाई स्वरोजगारमा परिणत गर्न भूमि बैंकको अवधारणा ल्याइएको बताइन् । भूमि बैंकमार्फत बाँझो खेतीयोग्य जमिनको प्रयोग गरी उत्पादकत्व वृद्धि गरिने मन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले यो अभियानलाई देशैभर फैलाउन सरकार लागिरहेको भन्दै यस अभियानमा साथ दिन आग्रह गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्