हेमाले सिकाएको पाठ र उत्प्रेरणा   

गोविन्द नेपाली

 हेमाले सिकाएको पाठ र उत्प्रेरणा   

हेमा ओझाको जीवन संघर्ष सबैका लागि प्रेरक हुनसक्छ । हेमासँग मेरो भेट भएपछि मैले पनि त्यस्तै अनुभव गरेँ । हेमाको जीवनलाई गहनरूपमा बुझेपछि उनको संघर्षले हामीजस्तालाई पनि जीवनमा निरन्तर केही गरिरहन र कहिले हरेस नखान प्रेरित गर्छ । आफ्नी आमाको कोखबाट यो धरामा पदार्पण गर्दा नै आपाङ्गता भएको शरीर लिएर जन्मिन् हेमा । उनकी आमालाई पनि थाहा छैन छोरीको अपाङगताको कारण । बझाङकी २७ वर्षीया हेमाकुमारी ओझालाई नियतिले नै चुनौती दिएको भएपनि उनले जीवनसँग हार मानिनन् । 

उनका दुवै हात खुटा चल्दैनन् । सबै कामका लागि अरूकोे सहायता लिनुपर्ने हुन्छ । गाउँमा हुँदा हातखुट्टा टेकेर भुइँमा घिस्रिएर हिँड्ने गर्थिन् । तर, उनलाई बाटो देखाउन हरपल लागि परेका थिए उनकी आमा र दाइ शान्तप्रसाद ।  आमाको दृष्टिकोण विशाल थियो । त्यसैले छोरीलाई पढाउन उनले कहिल्यै कन्जुसीं गरिनन् । समाजले कुरा काट्थ्यो । कैयौं पटक घरका परिवारलाई भनियो पनि — ‘अपाङ्ग छोरीलाई पढाएर के गर्छौ !? बरु छोराका लागि खर्च गर !’ 

आमा र दाइले भने अरूको कुरा सुनेनन् । अहँ, सुन्दै सुनेनन् । आमाको ध्यान छोरीलाई कसरी शिक्षादीक्षा दिने भन्नेमा मात्रै थियो । आमाले सोचिन्, मैले जन्म दिएँ भने बाटो देखाउनु पनि मेरै कर्तव्य हो । छोरीलाई बाटो देखाउन सकेमात्र जन्म दिएको सार्थक हुन्छ । हेमाकी आमाको यो विहङ्गम दृष्टिकोणले देखाउँछ उनी आफ्नी छोरीको भविष्यप्रति कति चिन्तित छिन् । यथार्थमा, उनी आमाको भूमिका पूरा गर्दैछिन् । 

आमा र दाइको उत्प्रेरणाकासाथ हेमा हुर्कँदै गइन् । पढ्न लेख्नमा पनि उनको रुचि बढ्दै गयो । अनेक ठक्कर खाएर पनि पढ्न छोडिनन् । शिक्षाको त्यो उज्यालोमा उनको यात्रा अगाडि बढ्दै गयो र फलतः २०६६ सालमा श्री भवानी माध्यमिक विद्यालय थलराबाट एसएलसी पास गरिन् । उनको जीवनको सफलताको एउटा खुड्किलो पार भएको थियो । 

एक दिन उनको फुपुको छोरा शिवराजले हेमालाई काठमाडौं लाने कुरो गरे । आमाले सबैकुरा हेमालाई सुनाइन् । अनि उनी पनि तयार भइन् र दाजुसगैँ काठमाडौं लागिन् ।

गाडी कहिल्यै नेदेखेकी हेमा बाटोमा गाडीको आवाज सुन्दा, गाडी कुदेको खेख्दा अचम्म मान्थिन् र भन्थिन्– ‘हाम्मा ओटाला अगवै घोडा दैडे जैथो लाइदो’, (हाम्रा घरको आँगन अगाडि घोडा कुदेजस्तो लाग्यो) । त्यसभन्दा पनि उनलाई अर्को अचम्म के लागेछ भने, एउटा मान्छेले ओदानजस्तो गोलो चिजलाई घुमाई घुमाई गाडीलाई जता पनि लैजान सक्ने ! 

त्यो के होला भनेर कौतुहलता जागेछ उनमा । उनले सोधिन् दाइलाई –  ‘दाईह, त्यो हाम्बोे घरा अदैइन जइतो छत धौं’ (दाजु, त्यो हाम्रो घरको चुल्लोजस्तो छ !) दाइले हास्दै जवाफ दिएछन्, ‘त्यो ओदान (चुलो) होइन नानी, त्यो त गाडीको स्टेरिङ हो । ड्राइभरले त्यसको माध्यमद्वारा गाडीलाई चाहिनेजति घुमाउँदै ठीक ठाउँमा राख्छ ।’ 
यो सुनेपछि उनलाई लाज लागेछ । खै किन हो, उनलई घरको खुवै याद आएछ । 

यसरी दाजुले आफूलाई काठमाडौं ल्याएर निकै ठूलो गुन लगाएको उनी मान्छिन् । उनी दाइको यस कर्मप्रति गर्व गर्छिन् ।  बझाङबाट आएपछि उनी नेपाल अपाङ्ग महिला संघको छात्रावासमा बसिन् । त्यहाँ उनले पहिलो पटक दुर्ईवटा पाग्रा भएको एउटा नयाँ वस्तु देखिन्, त्यो थियो ह्वीलचेयर । ह्वीलचेयर पहिलो दिन प्रयोग गर्दा हेमालाई लाग्यो गाउँमा विवाहको बेला डोलीमा बस्ता यस्तै होला ! 

‘ताउदो, ताउदो जादो क्या गडेपछे यो गुम्दो छोरा जइतो लाग्यो’ (कता कता जान्छ, हातले कसरी रोकिएलाजस्तो लाग्ने) । यसरी उनले सहरमा कसरी बाँच्न सकिन्छ भन्ने बारेमा धेरै कुरा सिक्दै गइन् । उनले अनुभव पनि बटुल्दै गइन् । 

काठमाडाैंको सुरुको बसाइ त्यति रमाइलो भएन । भाषा नै मुख्य कारण थियो उनका लागि । उनी भन्छिन्, ‘कइतो कइतो क्या बोलालाई राखे हुन्ड जैतो लाइदो’ (कस्तो कस्तो ! अचम्म लाग्दो, बोल्नलाई पनि ! 

पछि पछि बिस्तारै उनले धेरै कुराहरू सिक्दैगइन् । छात्रावासमा बस्दा एउटा कुराको भने निकै अप्ठेयारो भोगिन् । चार/पाँच तलामाथि चढ्नु पर्ने । ह्वीलचेयरमा सहयोग गर्ने मान्छे नपाइने । तर आफूजस्तै अरू साथीहरू पनि भेट्दा उनमा एकप्रकारको हौसला मिल्यो । अब केही गर्नसक्छु भन्ने उनलाई लाग्यो । 

एकपटक हेमाको साथीले उनलाई सुनाएछन्, ‘परिलक्षित’ नामको संस्थाले आपाङ्ता भएका विद्यार्थीका लागि छात्रवृत्ति दिँदैआएको कुरा । यो सुनेर उनी उत्साहित भइन् । उनले संस्थाकी लक्ष्मी श्रेष्ठसँग सम्र्पक गरिन् । उक्त संस्थाले पनि उनलाई पाँच वर्षका लागि छात्रवृत्ति प्रदान ग¥यो । सोही छात्रवृत्ति पाएपछि आफूले २०६८ सालमा आईए र २०७३ सालमा बीए पास गरेको उनी बताउँदै थिइन् । ‘परिलक्षित’ संस्थाको सहयोेगले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको उनी स्वीकार्छिन् । 

पछि उनी ईपीएसए नामक संस्थाकोे सम्पर्कमा पुगिन् र उनले त्यहाँ काम थालिन् । यसरी आफ्नो जीविकोपार्जनका लागि उद्यत हेमाकुमारी आज सयाैं प्रकारका हाते समाग्रीहरू उत्पादन गर्दैआएकी छन् । अर्थात्, ईपीएसए संस्था उनको बाच्ने आधार भएको छ । 

यतिबेला हेमाको कुरा सुन्दा लाग्छ, साथीहरूको सरसंगतले उनी निकै उत्साहित भएकी छन् । त्यस संस्थामा कामगर्ने सबै साथीहरू पनि आफैजस्तो हुँदा उनलाई खासै कुनै अप्ठ्यारो नभएको उनको अनुभव छ । साथीहरूसँग काम गर्दा एक किसिमको मजा हुने र कुनै पनि किसिमको तनाव नहुने उनको भनाइले हामीलाई पनि आफ्नो कर्मप्रति उत्साहित बनाउँछ ! 

वास्तवमा हामी कहाँ अपाङ्ता भएका व्यक्तिहरू परिवारिक बोझ हुन्, यिनले अभिभावकलाई तनावमात्र दिन्छन् भन्ने मानसिकता छ । त्यो चिर्न उनको परिवार सक्षम भएको छ । उनकी आमा, दाइ र उनी सक्षम भएका छन् । हेमा समाजमा केही गरेर देखाउन चाहन्थिन् । आफू अरूको भरमा नपरी आपैmँ बाँच्नसक्ने हुनुपर्छ भन्ने चाहन्थिन् । उनको आत्मबल देख्दा जो कोहीलाई पनि लाग्छ, अपाङ्ता भएकाहरूले पनि आफ्नो क्षमताअनुसार केही न केही गर्न सक्छन् । उनी यही देखाउन चाहन्थिन् । 
 

प्रतिकृया दिनुहोस
ad