निरीह बन्दै मानिस !  

मंजु निरौला 

निरीह बन्दै मानिस !  

ठ्याक्कै एक सय वर्षअघि सन् १९१८ मा सुरु भएको ‘स्प्यानिस फ्लु’ले त्यही सालको फेब्रुअरीदेखि अप्रिल १९२० सम्ममा विश्वका करिब ५० करोड मानिसलाई संक्रमित तुल्याएको इतिहासमा उल्लेख छ । त्यसबेला करिब १० करोडदेखि साढे ११ करोड मानिसहरूको ज्यान त्यस महामारीले लिएको थियो । 

अर्को महामारी ‘स्वाइन फ्लु’ले सन् जनवरी २००९ देखि अगस्ट २०१० सम्म एक वर्ष आतंक मच्चाएको थियो । यस रोगलाई युरेसियन पिग फ्लु भाइरस पनि भन्ने गरिन्छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न किसिमका फ्लुका कारण बर्सेनि करिब २ लाख ५० हजारदेखि ५ लाखसम्म मानिसहरुको मृत्यु हुनेगरेको छ । साधारण फ्लुको प्रकोप पनि कम डरलाग्दो छैन । त्यसैले अमेरिकामा सेप्टेम्बर महिनादेखि नै ‘फ्लु सट’ लगाउनेहरुको तँछाडमछाड नै हुनेगर्छ ।  

बालबालिका अनि वृद्धवृद्धाले, विशेषतः मधुमेह रोगले सताएकाहरुले, मौसमी रुघाखोकीविरुद्ध ‘फ्लु सट’ (खोप) लिनै पर्छ । मलाई पनि मधुमेह भएका कारण विगत दस वर्षदेखि नियमितरूपमा ‘फ्लु सट’ लिइरहेकी छु । 

करिब २७ वर्ष भयो म अमेरिकाको रैथाने भएको । स्वास्थ्यसम्बन्धी क्रियाकलापमा यहाँका सबै नागरिकहरु सचेत, जागरुक भए पनि अत्यधिकरूपमा व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्न पाउने भएकोले नै पनि होला कोरोना भाइरसको महामारीमा नराम्रोसँग जेलिएका छन् । दुनियाँभर फैलिएको यो ज्यानमारा रोगले मानव सभ्यतालाई नै चुनौती दिएको अनुभव हुन्छ ! 

यस महामारीले सामाजिक प्राणी मानवलाई हुनुसम्मको सकस दिएको छ ।  सामाजिक दूरी, एकलकाँटे जीवन, बाहिरको संसारबाट वञ्चित, हरपल मास्कको प्रयोग, सिकिस्त बिरामी परेमा अस्पताल सेवा दुर्लभ अनि कथम्कदाचित् मरियो भने मलामी पाउनै मुस्किल ! यसरी हेर्दा लाग्छ, आज मानिस अत्यन्तै निरीह हुनपुगेको छ । 

मानिस विवश भएको छ यो रोगको भयावह स्थितिले । विज्ञान अहिलेसम्म झुकेको छ कोरोनाको अघिल्तिर । विश्व तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को चपेटामा परेको संसारलाई प्राकृतिक प्रकोपहरुले पनि उत्तिकै सताएका छन् । 

अब त यस्तो लाग्छ, मानिसले कोरोना भाइरससँगै बाँच्न सिक्नु पर्छ ! कारण, मानव सभ्यता बदलिएको छ, जीवनशैलीमा उतारचढाव आएको छ । वास्तवमा यतिबेला मानव लाचार भएको छ !

नेपालमा लकडाउन सुरु हुँदा म काठमाडौंमै थिएँ । मार्च महिनाको दोस्रो साता लकडाउन सुरू भएको थियो । मेरो अमेरिका वापसीको समय आउन अझै दुई महिना बाँकी नै थियो । घरमा एक्लै थिएँ । 

सुरुमा, केही समय त हो यो भाइरस निमिट्यान्न भै हाल्छ नि भन्नेमा सबै विश्वस्त थिए । तर, नेपालमै पनि संक्रमणको गति तीव्र हुँदै गयो । फैलिँदै गयो । र, त्यससँगै लकडाउन पनि लम्मिदै गयो । विदेशबाट नेपाल आएकाहरु धमाधम चार्टर विमानमार्फत फर्किन थाले । 

त्यसबेला अमेरिकामा दुईवटा राज्य टेक्सास र इलिनोईको सिकागोमा मात्र विमान अवतरण गर्न दिइन्थ्यो । म परेँ वासिङटन डीसी निवासी । कोरोनाको यस्तो महामारीमा टेक्सास वा सिकागोमा ओर्लेर फेरि अर्को जहाज समातेर वासिङटन जानुपर्दा हुने सास्तीका कारण म सिधै वासिङटन जाने चार्टर विमानको प्रतीक्षामा थिएँ ।  

लकडाउनकै बेला मेरो साबिक फिर्ती उडानको म्याद गुज्रिसकेको थियो ।  अचानक टर्कीस एयरलाइन्सले काठमाडौंबाट कतारको दोहा हुँदै वासिङटन जाने चार्टर उडानको घोषणा ग¥यो । त्यही उडानबाट जुलाई २०, २०२० का दिन म वासिङटनको डलेस विमानस्थलमा अवतरण गरेँ ।  

यसपल्टको हवाईयात्रा मेरा लागि त्रासयुक्त रह्यो । मनभरि शंकाउपशंकाको मुस्लो बोक्दै विमान चढियो । सम्पूर्ण विमान यात्रुहरुले खचाखच भरिएको, सबैको मुखमा मास्क, सबैका आँखामा आशंकाको बादल, सेतो पीपीई लगाएका विमान कर्मचारी, चिसो पेय अनि चिसो खाना हवाइयात्राको यो अनुभव नौलो थियो । 

यति लामो यात्रामा कतै कोरोनाको संक्रमण त हुने होइन भन्ने डर मनमा उत्तिक्कै थियो । त्यसबेला पीसीआर टेस्टको प्रमाणपत्र देखाउनुपर्ने नियम थिएन । त्यसले गर्दा पनि आशंका प्रबल थियो ।  

डलेस विमानस्थलबाट म सिधै आफ्नो घरनजिकै रहेको म्यारियट होटेलमा गएर दस दिनसम्म आफ्नै खर्चमा क्वारनटाइनमा बसेँ ।  त्यसपछि घर आएँ । पीसीआर टेस्ट गराएँ ।  दुई सातापछि नतिजा आयो – नेगेटिभ । 
आनन्दातिरेकको अनुभूतिका साथै मन ढुक्क भयो । छ महिनासम्म नेपालमा बसेको हुनाले मेरा केही मेडिकल चेकअपहरु थाती थिए जुन एकपछि अर्को गर्दै गराएँ । 

अहिले क्लिनिकहरुमा धेरै नै सतर्कता अपनाइँदो रहेछ । एकपल्टमा दुईतीन जनामात्र बिरामी हेर्ने, मुखमा मास्क लगाएको हुनैपर्ने अनि त्यहाँ राखिएको स्यानिटाइजर लगाउनैपर्ने । 

अमेरिका आएपछि मैले आफ्ना सामान्य नियमित कार्यहरुलाई संकुचित बनाएँ । समयअनुसार जीवनशैली पनि बदलिनुपर्ने रहेछ । किनमेल     (ग्रोसरी) का लागि सातामा एक दिन छुट्याएँ । पुस्तकालय, सिनियर सिटिजन क्रियाकलाप लकडाउनका कारण सबै बन्द थिए । सबैलाई बन्दाबन्दीले छोएको थियो । 

अमेरिकामा ज्येष्ठ नागरिकहरुको खुबै हेरचाह गरिन्छ । समय समयमा फलफूल, मास्क, स्यानिटाइजर, लन्चडिनरका प्याकेट आदि सबैको अपार्टमेन्टका ढोकाढोकामा राखिदिने गरिन्छ । काउन्टी प्रशासनसँगको समन्वयमा विभिन्न गैरनाफामूलक संस्थाहरुले यसरी यस्तो विकराल महामारीको अवस्थामा ज्येष्ठ नागरिकहरुलाई साताभरि खाना वितरण गर्ने रहेछन् । म यो कार्यलाई हामीप्रतिको दया नसम्झेर बरु सरकारले नागरिकहरुप्रति आफ्नो उत्तरदायित्व कसरी पालन गर्दारहेछन् भन्ने कुराको प्रमाणका रुपमा लिन्छु । 

अमेरिकामा आकस्मिक बिरामी पर्दा परिवारको साथ छैन भने पनि आत्तिनुपर्दैन । यहाँको आकस्मिक (बिरामी, आगलागी, डकैती, दुर्घटना, अपराध आदि) सेवा कति चुस्त छ भने ९११ डायल गरेपछि दस मिनेटभित्र एम्बुलेन्स आइपुग्छ । सिकिस्त बिरामीलाई तुरुन्त अस्पताल पु¥याउन सकिने भएको हुनाले जीवन बचाउने प्रयास पनि अक्सर सफल हुनेगर्छ । लाखौं मानिसहरु अहिले कोरोना संक्रमित छन् तापनि बिरामीको सेवामा ९११ सेवा चुस्त छ । दुरुस्त छ । त्यसैले त  जनताको पूर्ण आस्था यसले पाएको छ । 

अचेल, अमेरिकामा अधिकांश राज्यहरुमा केही प्रतिबन्धात्मक नियमहरुबाहेक लकडाउन अपेक्षाकृत खुकुलो छ । तथापि, गर्मीयाममा स्वतन्त्र जीवनयापन गरी मोजमस्ती गर्ने, समुद्रतटहरुमा गएर जलक्रीडामा मग्न हुने, डिजनीवल्र्ड घुम्ने, सिनेमा रेस्टुराँ जाने आदि क्रियाकलापमा कमी आएको मैले महसुस गरिरहेकी छु । 

समग्रमा, कोरोना कहरले अमेरिकीहरुको जीवनशैलीमा धेरै परिवर्तन आएको अनुभव हुन्छ । हुनत विश्वका सबै देशका नागरिकहरुको बारेमा पनि यही कुरा भन्न सकिन्छ तर अमेरिकाको कुरै भिन्नै छ । व्यक्तिगत स्वतन्त्रता अत्यधिक उपभोग गर्न संवैधानिक प्रावधान नै भएकाले त्यस्तो उपभोग गर्न नपाउँदा अमेरिकीहरु एकप्रकारको ‘झुँझलाहट’को स्थितिमा छन् भन्दा अतिरञ्जना नहोला । (मेरिल्यान्ड)
      

   
 

प्रतिकृया दिनुहोस
ad