ठूला महाशक्ति राष्ट्रका राजनीतिक दलका नेतामा वैचारिक संकट आएपछि अहिले संसारकै राजनीतिमा अपराधीकरणसहित फासीवादतर्फ ऊन्मुख उग्र दक्षिणपन्थ मौलाएको छ । यो विश्वमा कतै नस्लवादमा आधारित भएर उदाएको छ त कतै अभिजात वर्गले उपयोग गरिरहेका छन् । नेपालको सन्दर्भमा ‘पहाडे राष्ट्रवाद’का रूपमा प्रचलित छ । यस्तो सीमित समूहको राष्ट्रवादले अभिजात वर्गको स्वार्थलाई नै केन्द्रमा राख्ने गर्छ । यसले समतामूलक समाज निर्माणमा कुनै योगदान गर्दैन ।
नेपालमा बेलाबेलामा ‘राष्ट्रवादको प्रहसन’ हुनेगरेको छ । ‘राष्ट्रवाद’ हिजो पञ्चायतले उपयोग गरेको थियो । बहुदलीय व्यवस्थामा कतिपय अवस्थामा उरालने काम भयो । गणतन्त्र आएपछि राष्ट्रवादी नाराका उपयोगीहरू ओइलाउँदै थिए । भारतले नाकाबन्दी लगाएपछि नेपालमा आवश्यकता देशभक्तिको थियो तर तिनै उपयोगवादी ‘राष्ट्रवादी’को प्रभुत्व कायम भयो ।
नेपालको सन्दर्भमा राष्ट्रवाद ऐन मौकामा कुनै अमुक राष्ट्रको विरोध गरेपछि पगरीका रूपमा जीवनभरि पाइने पदविजस्तै बन्न खोज्दै गरेको देखिन्छ । यद्यपि, राष्ट्रवादको कुनै देशसँग विरोध र समर्थनको नाता हुँदैन । दुई देशीय सम्बन्ध भनेको राष्ट्रवाद नभएर कूटनीतिकमात्र हो । परन्तु, आफ्नै सहयोद्धालाई अमूक देशपरस्त भन्दै आरोप लगाउने अनि आफूचाहिँ घुमाउरो बाटोबाट सलाम गर्ने अहिलेको चलनचल्तीको राष्ट्रवादी संस्कार भने यथावत् नै छ ।
‘राष्ट्रवादी’ पगरी गुथेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ् (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारको एकान्तमा लामो भलाकुसारी गरे । अहिले यही भेटले प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविमा आँच आएको छ । गोयल भारतीय प्रशासनका कर्मचारीमात्र हुन् । प्रधानमन्त्री ओलीले भेट्न उनको मर्यादा र हैसियत नै मिल्दैन । यस्तो अवस्थामा प्रधानमन्त्री र ’रअ’ प्रमुख गोयलबीचको भेट बारे मोफसलमा पनि थुप्रै प्रश्न उठिरहेका छन् । भेटपछि सत्तारुढ नेकपाभित्र पनि एकप्रकारको हलचल उत्पन्न भएको छ । नेकपाभित्र उक्त भेट रहस्यमय मानिँदै गर्दा विपक्ष दल कांग्रेसले पनि चित्त बुझ्दो प्रतिक्रिया दिएको छैन ।
नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न आएका भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे पनि कालापानीका सम्बन्धमा दिएको छुचो अभिव्यक्तिका कारण नेपालमा प्रिय छैनन् । परन्तु, सतहमा नरवणेको आगमनको प्रयोजन मानार्थ महारथीको ओहोदा ग्रहण भनिए पनि मूल तात्पर्य नेपाली सेनालाई उत्तरी छिमेकीप्रति धेरै ढल्कन नदिने रणनीति पनि हुनसक्छ ।
सत्य र न्यायको पक्षमा नेतृत्वले सचेततापूर्वक मुलुकको शासनको लगाम समात्नुपर्ने समयको माग र जनताको चाहना हो । यसविपरीत शासकहरूमा चरम अराजकता र व्यक्तिवादी प्रवृत्ति देखिनु मुलुकलाई बर्बादीतर्फ लैजाने बाटो हो । यसले वर्तमान व्यवस्थाको स्थायित्वमा पनि प्रश्न उठाउनेछ ।
अहिले राज्य एक जना व्यक्तिमा केन्द्रित अभ्यासर्फ उन्मुख छ । राष्ट्रवादको चर्को नारा लगाउने हिटलरले सन् १९३३ मा पार्टीको सम्पूर्ण अधिकार व्यक्ति र गुटमा केन्द्रित गरेपछिको दुर्घटनाका फल विश्वले नै भोग्नु परेको थियो । हिटलरी राष्ट्रवादको परिणाम र पतनपछि गुट र चाटुकार केन्द्रित राष्ट्रवादी नाराको औचित्य विशवभर नै समाप्त भएको थियो । अहिले यसले टाउको उठाउन थालेकाले विश्वभरका राजनीतिज्ञहरूलाई सोच्न बाध्य तुल्याएको छ ।
राष्ट्रवाद तथा व्यक्तिवादले निम्त्याएको द्वन्द्वबारे हिटलरको सन्दर्भमा मात्र संयोग सीमित छैन । विश्वका जुन देशमा उग्र ‘राष्ट्रवाद’ को नारा चलेको छ त्यस राज्यले ठूलै मूल्य चुकाउनु परेको उदाहरण विगतमा साथै वर्तमानमा पनि देख्न सकिन्छ । त्यसकारण प्रधानमन्त्री ओलीले पनि आफ्नो ‘राष्ट्रवादी’ छवि बचाउने बहानामा अप्रिय निर्णयतर्फ उन्मुख हुनु समाधानको बाटो होइन । त्यो त मुलुक र जनताको बर्बादीको बाटोमा हुनेछ ।