site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संकट टार्न अगुवाइ गर्न पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मंगलवार शीतलनिवास बोलाएर आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । आज (बिहीवार) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा मुलुकमा राजनीतिक संकट पर्न सक्ने जनाउ दिएको समाचार सार्वजनिक भएको छ । महामारीको व्यवस्थापनमा सरकारले गरेको भ्रष्टाचार, लापरबाही, हेलचेक्य्राइँसमेतका कारण देशको आर्थिक र सामाजिक क्षेत्र त यसै पनि चरम संकटमै छन् । जनजीवन अस्तव्यस्त छ । बालबालिकाको सिंगो शैक्षिक वर्ष विनाउपलब्धि खेर भइसक्यो । अस्पतालमा बिरामीहरूका लागि ठाउँ छैन । डाक्टरहरूले तलबसम्म पनि नपाएको कारण जनाएर राजीनामा दिन थालेका छन् । देश संकटमा पर्नका लागि यति कारण पर्याप्त हुन्छ । यसैले देश संकटमा छ ।

दुर्भाग्य, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका लागि भने जनताका यी कुनै पनि सबाल चिन्ता र चासोका विषय बन्न सकेनन् । राष्ट्रपति संविधानको ‘पालक र संरक्षक’ मानिन्छन् । तर, राष्ट्रपति भण्डारीलाई त जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसमा पनि प्रधानमन्त्री ओली समूहको नेताको भूमिकामा देख्न थाले । महामारीका कारण नेपाली जनताको बिचल्ली हुँदा राष्ट्रपतिको भूमिका कतै देखिएन । आलंकारिक राष्ट्रपति भएकाले राष्ट्रपति भण्डारी मौन रहेकी हुन् भनेर मान्न पनि सकिन्थ्यो । तर नेकपाको आन्तरिक किचलोमा त उनको सक्रिय भूमिका देखियो । राष्ट्रपति भण्डारीको सक्रिय राजनीति गर्ने रहर मेटिएको छैन भने उनले पद त्याग गरे राष्ट्रपति पदको गरिमा बढ्नेछ । त्यस अवस्थामा उनी नेकपाको राजनीतिमा खुलेर संलग्न हुँदा कसैले औँलो उठाउँदैन । राष्ट्रपति भण्डारीको पार्टी मोहका कारण देशको सबैभन्दा सम्मानित पदको गरिमा संकटमा परेको छ ।    

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ कारण हजार जनाभन्दा बढी नेपालीको ज्यान गएकाले मुलुकमा संकट देखेका होइनन् । आर्थिक सूचकहरू नकारात्मक भएर अर्थतन्त्र थला बस्ने अवस्थामा पुग्नु पनि उनका लागि संकटको विषय भएको होइन । देशभरका बिरामीहरू अस्पताल बाहिर छटपटाएर मर्ने अवस्थालाई पनि प्रधानमन्त्री ओलीले संकट ठानेका हैनन् । उनले त आफ्नो पार्टीभित्रको किचलो र लुछाचुँडीलाई ‘राजनीतिक संकट’ को संज्ञा दिएका छन् । नेकपाका अध्यक्षका रूपमा पार्टीभित्रको किचलो उनको चासोको विषय हुनसक्छ । तर, त्यस्तो चासो धुम्बाराही वा पेरिसडाँडामा बसेर प्रकट गरे जनताको टाउको दुखाइ हुँदैन । नेकपाको किचलो जसरी टुंग्याए पनि जनचासोको विषय होइन ।  जनता महामारीबाट आक्रान्त हुँदा प्रधानमन्त्री ओलीले कहिल्यै संकट देखेनन् तर कुर्सी धरमर हुनेबित्तिकै राष्ट्रिय संकट देखे ! व्यक्तिले आफ्नै निम्तिमात्र सोच्न नपाइने होइन । तर, सार्वजनिक पदमा बसेपछि त्यसको दायित्व बोध गर्नुपर्छ । नेपाली जनताले हाल भोग्नुपरेको संकट मूलतः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्कै कारण गहिरिएको हो । अहिले नेपाली जनतालाई देशको चिन्ता गर्ने प्रधानमन्त्री चाहिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १६:२२
प्रतिक्रिया दिनुहोस्