site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिटौला कांग्रेस नेतृत्व चयनमा निर्णायक हुन सक्लान् ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबन्दीमा साथ नपाएपछि सभापतिका आकांक्षी केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहलाई ‘निर्णायक’ र ‘वैचारिक’ मान्न नसकिने अभिव्यक्ति दिएका थिए । गत असोज दोस्रोसाता एक कार्यक्रममा उनले पूर्वमहामन्त्री सिटौलालाई धेरै महत्व दिन आवश्यक नभएको आशयले देउवाविरुद्धको मोर्चाबन्दीमा साथ नदिँदैमा केही फरक नपर्ने बताएका थिए ।

पौडेल समूहले विधानविपरीत गरिएको भनिएका निर्णयहरु खारेजका लागि सभापति देउवालाई दबाब दिन पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराउन लागेको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगरेपछि उनले यस्तो टिप्पणी गरेका थिए । केन्द्रीय विभागको गठन र त्यसमा भइरहेको मनोनयन, क्रियाशील सदस्यताको वितरण र नवीकरण, पार्टी संरचनाको समायोजनलगायतका मुद्दाहरु विरोधपत्रमा समावेश थिए ।

तर सभापति देउवाविरुद्ध लक्षित रहेको उक्त पत्रमा सिटौलाले हस्ताक्षर गरेनन् ।  सिटौलालाई उनको समूहमा रहेका नेताहरुले हस्ताक्षर गर्नुपर्ने सुझाव दिएका थिए । तर सिटौलाले आगामी महाधिवेशनका लागि रणनीति तय गर्दै हस्ताक्षर नगरेको उनी निकट नेताहरु बताउँछन् । सभापति देउवाले आशन्न महाधिवेशन आफू अनुकूल बनाउन विधानविपरीत निर्णय गरेको पौडेल पक्षको आरोप थियो । तर, सिटौला ती विषयमा कसैको पक्षमा उभिएनन् ।

Agni Group

आसन्न महाधिवेशमा सिटौलाको भूमिका के हुन्छ र संस्थापन तथा पौडेल समूहमध्ये कोसँग गठबन्धन गर्लान् भन्नेजस्ता अड्कलवाजी भइरहेका बेला केन्द्रीय सदस्य डा. कोइरालाको उक्त टिप्पणी आएको थियो । देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौलाको साथ नमिले पनि आफूहरुलाई खासै ‘घाटा’ नहुने उनको आशय झल्किन्थ्यो ।
तर, १३ औं महाधिवेशनबाट कांग्रेसमा ‘थर्ड पोल’ का रुपमा छुट्टै पहिचान बनाएर अघि बढिरहेको सिटौला समूह अहिलेसम्म जुन कित्तामा उभिदै आएको छ, सोही समूह जित हात पार्दै आएको देखिएको छ ।

देउवा १३ औं महाधिवेशनमा सिटौलाकै सहयोगमा वरिष्ठ नेता पौडेललाई पराजित गरेर पार्टी सभापतिमा निर्वाचित भएका थिए । पहिलो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि सिटौलाले देउवालाई सघाएका थिए । सिटौलाको सहयोगमा देउवालाई पौडेल पराजित गर्न सहज बनेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को निर्वाचनमा पनि संस्थापन र सिटौला समूहबीच ‘गठबन्धन’ बन्दा अध्यक्षमा नैनसिंह महर विजयी भएका थिए । सिटौला समूहको भागमा परेको महामन्त्रीमा कुन्दन काफ्ले निर्वाचित भएका थिए ।

Global Ime bank

यस्तै नेपाल महिला संघमा पनि संस्थापन र सिटौला समूहका बीचमा तालमेल भएको थियो । सिटौला समूहसँगको तालमेलकै कारण संस्थापन पक्षीय उमेदवार उमा रेग्मी पौडेल समूहकी उमेदवार मीना पाण्डेलाई पराजित गर्दै महिला संघको अध्यक्षमा निर्वाचित भएकी थिइन् । नेपाल शिक्षक संघको निर्वाचनमा सिटौलाले पौडेल समूहलाई सघाउँदा संस्थापन पक्षले पराजय व्यहोर्न परेको थियो । यस्तै ट्रेड युनियन कांग्रेसको निर्वाचनमा पनि पौडेल–सिटौला समूह गठबन्धन गरेर चुनावी मैदानमा होमिएको थियो ।

सिटौला समूहले पौडेल समूहलाई सघाउँदा पौडेल पक्षीय अध्यक्षका उमेदवार पुष्कर आचार्यले संस्थापन पक्षीय उमेदवार खिलानाथ दाहाललाई सहजै पराजित गरेका थिए । त्यसैगरी डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए) को निर्वाचनमा संस्थापन र सिटौला समूहले सघाएका योगेन्द्र अधिकारीले पौडेल समूहबाट उमेदवार बनेका सीताराम केसीलाई हराएका थिए ।

१३ औं महाधिवेशनदेखि पार्टीका भ्रातृ तथा शुभेच्छुक संघ–संगठनमा अहिलेसम्म भएका निर्वाचनले सिटौला समूहले जता सघायो उतैको समूह विजयी हुँदै आएको छ । कांग्रेसमा दुई वटामात्रै समूह रहे भने सिटौला समूह बलियो हुने आकलन केही नेताको छ । तर, आशन्न महाधिवेशनमा दुईवटामात्रै समूह नरहने देखिएको छ ।
किनकि संस्थापन समूहबाटै सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, नेता गोपालमान श्रेष्ठले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन् ।

पौडेल समूहमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताले नेतृत्वको तयारी थालेका छन् । “भ्रातृ र शुभेच्छुक संस्थाहरुको निर्वाचनले सिटौलाले सघाएका उमेदवार जित्दै आएका छन्,” सिटौला समूहका एक नेताले भने, “पार्टीमा दुई टिम रहँदाको अवस्थामा सिटौला जता गए त्यतै जित्छ । तर, दुई टिममात्र हुने सम्भावना त देखिँदैन ।”   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC