site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यवसायीलाई स्वास्थ्यमन्त्रीको आश्‍वासन- सरकार अर्को लकडाउनको पक्षमा छैन

काठमाडौं । उद्योगी व्यवसायीले फेरि लकडाउन नगराइदिन सरकारसँग अपिल गरेका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नदोहोर्‍याउन अनुरोध गरेको हो । 

एनबीआईका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्स, होटल संघ नेपाल, रेस्टुरेन्ट तथा बार एसोसिएसनलगायत संस्थाका प्रतिनिधिले मन्त्री ढकाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले जारी गरेको ६ महिना लामो लकडाउनका कारण सम्पूर्ण व्यावसायिक क्षेत्र धरासायी भएको भन्दै मुलुकले अब थप लकडाउन थेग्न नसक्ने बताए । सरकारले लकडाउन खुकुलो पारेसँगै विस्तारै अर्थतन्त्रले गति लिन सुरु गरेको भन्दै उनीहरुले कोभिडले निम्त्याउन सक्ने जोखिम केही वर्षसम्म रहन सक्ने भएकाले सरकारको ठोस सहयोग आवश्यक रहेको बताए । पीसीआर परीक्षणलाई नियमावली बनाई मितव्ययी र पारदर्शी रुपमा अगाडि बढाउन अध्यक्ष जोशीले आग्रह गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौतीलगायत साना, मध्यम तथा ठूला सबै खालका व्यवसाय धरासायी भएको भन्दै समग्र अर्थतन्त्रको सूक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालीन तथा दीर्घकालीन योजना, राहत तथा पुनर्उत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्ने बताए ।

मन्त्री ढकालले सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको स्पष्ट पारे । सीमित स्रोत र साधनका बाबजुद सरकारले अधिकतम सेवा पुर्‍याउन प्रयासरत रहेको भन्दै निर्धारित मापदण्डको पालना गर्न सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्