site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गन्ध
Sarbottam CementSarbottam Cement

रत्न प्रजापति


बेथान पुलिस चौकीको हवल्दार हस्याङफस्याङ गर्दै आयो ।

“सर, टिपरले किचेर मान्छे मार्यो,” उसले इन्स्पेक्टरलाई स्यालुट मार्दै भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“कुन ठूलो कुरो भयो र ?” हडबडाएर पत्रिका पढिरहेको पुलिस इन्स्पेक्टरले हवल्दारतिर हेरेर भन्यो, “के रे, के भयो रे ?” 

“टिपरले किचेर मान्छे मान्यो रे,” हवल्दारले भन्यो ।

Global Ime bank

“मारेको कि मरेको ?” इन्स्पेक्टरले भन्यो ।

“मारेको भन्छन् सर,” हवल्दारले भन्यो ।

“कसले भनेको ?” जङ्गिँदै इन्स्पेक्टरले भन्यो ।

“गाउँका मान्छेले । सडकमा भीड जम्मा भइसक्यो । चक्काजाम पनि गरिसके । टिपर जलाउन खोज्दै छन् । छिटो जाऊँ सर,” हतारिँदै हवल्दारले भन्यो ।

“अचेल सबैले यस्तै भन्छन्,” कुर्सीबाट जुरूक्क उठेर इन्स्पेक्टरले भन्यो, “लौ हिँड् त ।” 

इन्स्पेक्टरले पढिरहेको पत्रिका टेबलमा फाले जसरी राख्यो । कम्मरमा पेस्तोल भिर्‍यो । टोपी लगायो । अनि हातमा वाकिटकी लियो । अब चाहिँ ऊ साँच्चिकै इन्स्पेक्टर देखियो ।

घ्याच्च रोकियो पुलिसको भ्यान । गुटुटुटु निस्किए पुलिसका डफ्फा । हतियारधारी पुलिसलाई देखेर भीड अलि पछाडि हट्यो । टिपरमा आगो लगाइसकेछन् । आधा जलिसकेछ टिपर । ड्राइभर फरार । टिपरले किचेर मरेको युवकको लास चाहिँ सडकमै रहेछ । सेतो कपडा नपाएर कालै कपडाले छोपिदिएछन् लासलाई । लासको अनुहार पूरै छोपिएको थियो । इन्स्पेक्टरले लठ्ठीले कपडा हटाएर लासको अनुहार हेर्‍यो । अनुहार नचिनिने भइसकेको थियो । तैपनि उसले चिने जसरी हल्का टाउको हल्लायो । उसले किन टाउको हल्लायो, त्यो भीडले बुझ्न सकेन अथवा बुझ्ने चेष्टा पनि गरेन । 

“हत्यारालाई कारबाही गर्,” भीडले नारा लाउन थाल्यो । भीड उत्तेजित हुने शङ्कामा पुलिस सतर्क भए । पुलिस सतर्क भएको देखेर आइमाई, केटाकेटी र बूढाबूढी डराए । पुलिसलाई रिस उठेपछि जे पनि हुन सक्छ । लाठी आफैं उठ्छ । बन्दुक आफैं भुक्छ । २०४६ सालको जनआन्दोलनमा यस्तो भएको थियो । २०६२/६३ को जनआन्दोलनमा पनि यस्तै भएको थियो । उता मधेस आन्दोलनमा पनि यस्तै भएको थियो । त्यसैले आइमाई, केटाकेटी र बूढाबूढी भीडबाट पछि हटेर सडकको किनारमा उभिए । कोहीकोही त किनार पनि छिचोलेर खेततिरै पुगे । युवाको भीडले सडक ओगटेर बसे । लासको वरिपरि घुमेर नारा लगाइरहे, “हत्यारालाई कारबाही गर् ।”

खोक्दैखोक्दै र घण्टी बजाउँदै आइपुग्यो, एउटा पुरानो र रोगी दमकल । दमकल आइपुग्दासम्म टिपर जलेर कालो न कालो कङ्काल जस्तै भइसकेको थियो । दमकलका कर्मचारीले त्यही कङ्कालमा पानीको फोहोरा हानेर आफ्नो कर्तव्य पूरा गरे । 

टिपरको आगो निभ्यो । भीडको मनमा लागेको आगो निभेन, बलिरह्यो । त्यसैले नारा लागिरह्यो, “हत्यारालाई कारबाही गर् ।” तुलनात्मक रुपमा भीड शान्त नै देखियो । नत्र भीडले यसरी पनि नारा लाउन सक्थ्यो, “हत्यारालाई फाँसी दे ।” सौभाग्य भन्नु कि दुर्भाग्य, नेपालमा फाँसी दिने कानुन नै छैन । नत्र अहिलेसम्म धेरैले फाँसीको सजाय पाइसक्थे ।

इन्स्पेक्टरले वाकिटकीमा कोड भाषामा कुरा गर्‍यो । उसले कोसित कुरा गर्‍यो, के कुरा गर्‍यो, त्यो भीडलाई थाहा भएन । भीडले हेरी मात्रै रह्यो, सुन्न सकेन अथवा बुझ्न सकेन, भीडकै आवाजले गर्दा । 

मुचुल्का नै नउठाई पुलिसले लास उठायो र भ्यानमा हालेर लिएर गयो । मृतकका आफन्त आइपुगेकै थिएनन् । उनीहरूले मृतकको अनुहारसम्म पनि हेर्न पाएनन् । मृतकका आफन्त आइपुग्दा भीड कम भइसकेको थियो । मृतक युवकका बाबुआमा सडकमै लडिबुडी गरेर छाती पिटीपिटी रून थाले । बूढा बाबु रूँदारूँदै बेहोस जस्तै भयो । आमा त मूच्र्छा नै परिन् । गाउँलेले सम्हाले दुवैलाई । 

लास लगे । पुलिस पनि गए । चक्काजाम बाँकी नै रह्यो । यताका सवारी यतै रोकिए । उताका सवारी उतै । यात्रु अलपत्र परे । मृतक युवकका बाबुआमाको जिन्दगी अलपत्र पर्‍यो । बुढेसकालको सहारा नै टुट्यो ।

युवक सहरमा पढ्दै थियो । दुई दिनअघि मात्रै बिदामा घर आएको थियो । साह्रै जेहेनदार थियो । गाउँभरिमा धेरै पढ्ने थोरैमध्ये ऊ पनि एउटा थियो । मित्रवत् थियो । सहयोगी थियो । भलादमी थियो । सबैले भन्थे– आँखामा राखे पनि नबिझाउने थियो । 

थियो । अब छैन । उसको अभाव गाउँलेले धेरै नै महसुस गरिरहेका छन् । गाउँको मोती हराए जस्तो । गाउँको ज्योति हराए जस्तो । बाँचिरहेको भए ऊ सायद गाउँको मोती नै बन्ने थियो । गाउँको ज्योति नै बन्ने थियो । अब ऊ छैन । त्यसैले गाउँलेले गाउँ रित्तो देखे । अँध्यारो देखे ।

उसको बाबुले कस्तो सपना देखेको होला ? आमाले कस्तो सपना देखेकी होलिन् ? बहिनीले पनि कस्तो सपना देखेकी होली ? सबैको सपना चकनाचुर भयो । बाबुआमाको बुढेसकालको लौरो नै भाँचिए जस्तो भयो । सहारा नै टुटे जस्तो भयो । बहिनीको पनि भरोसा टुटे जस्तो भयो । 

ऊ अन्याय र अत्याचार सहँदैनथ्यो । ऊ गाउँलेको दुःख र पीडा हेर्न सक्दैनथ्यो । त्यसैले ऊ गाउँलेको न्यायका लागि लड्थ्यो । सेवासुविधाका लागि खट्थ्यो । त्यसैले गाउँलेको प्रिय थियो । तर जो अन्याय गर्थे, तिनका लागि भने ऊ निकै अप्रिय थियो । तिनीहरूका लागि उसको उपस्थिति मात्रै पनि असह्य थियो ।

गाउँनजिकको बगाहा खोलामा क्रसर उद्योग खुल्यो । दर्जनौं टिपरले गिट्टी, बालुवा र ढुङ्गा ओसार्न थाले । उसले त्यो टुलुटुलु हेरिरहन सकेन । गाउँकै जनप्रतिनिधिले जस्तो देखेर पनि नदेखे जस्तो पनि गरिरहन सकेन । उसकै नेतृत्वमा त्यो क्रसर उद्योगको पटकपटक विरोध गरिएको थियो । तर हरेक पटक ऊ पराजित भएको थियो । जित क्रसर डनकै हुन्थ्यो । क्रसरको उद्योगीको दादागिरीले गाउँले त्रस्त थिए । त्यसैले क्रसर उद्योगीलाई गाउँलेहरू क्रसर डन भन्थे । 

उसको साथमा गाउँले थिए । तर क्रसर डनको साथमा गाउँले होइन, गाउँका जनप्रतिनिधि थिए । जिल्लाका नेता थिए । हाकिम थिए । पुलिस प्रशासन थियो । अनि थिए केही चुल्ठे, मुन्द्रे र जगल्टे पनि । त्यसैले ऊ सधैं पराजित हुन्थ्यो । तैपनि उसले हार मानेको थिएन । गाउँलाई बचाउन ऊ प्रयत्नरत थियो । भन्थ्यो, “यो क्रसर उद्योगले हाम्रो गाउँलाई बर्बाद पार्छ । हाम्रो इनार, कुवा, बोरिङ सबै सुक्छन् । खोला गहिरिन्छ । हाम्रो खेत बाँझो पर्छ । हाम्रो उठीबास लाउँछ ।”

उसको कुरा कतिले बुझेका थिए । कतिले बुझेका थिएनन् । बुझ्नेहरू उसको पक्षमा थिए । नबुझ्नेहरू तटस्थ नै थिए । तर गाउँका नेता र कार्यकर्ता चाहिँ क्रसर डनकै पक्षमा थिए । किनेका थिए, उनीहरूलाई क्रसर डनले । उनीहरू बिकेका थिए । 

“हाम्राविरूद्ध बढी उचालिएर हिँड्ने होइन । परिणाम राम्रो हुँदैन,” यसरी पटकपटक उसले धम्की खाएको थियो । कहिलेकाहीँ क्रसर डनले आफ्ना चम्चाहरूलाई यसो पनि भन्थे, “हाम्रो विरोध गर्न आउनेलाई टिपरले किचेर मारिदिनू र जेसिबीले खाल्डो खनेर पुरिदिनू ।” गाउँले आतङ्कित थिए । ऊ भने नडराई क्रसर उद्योगको विराध गथ्र्यो ।

साँच्चै परिणाम नराम्रै भयो । उसले क्रसर उद्योगको विरोध गर्‍यो । उसलाई टिपरले किचेरै मारे ।

कलेज बिदामा घर आएदेखि नै ऊ क्रसर उद्योगविरूद्ध आवाज उठाउन गाउँ घुमिरहेको थियो । गाउँ घुम्ने क्रममा ऊ साथीसँगै साइकलमा गइरहेको थियो । उसका पछिपछि दुइटा मोटरसाइकल आए । उनीहरूलाई उछिनेर मोटरसाइकल रोके । मोटरसाइकलबाट ओर्लेर एउटाले हकारे झैं गरी भन्यो, “तिमीहरूमध्ये राजेन्द्र भन्ने को हो ?” बिहान झिसमिसेमै सायद मान्छे चिन्न गाह्रो थियो ।

उसले जोसिएर भन्यो, “म हुँ राजेन्द्र । तिमीहरू चाहिँ को हौ ?”

“अब चिन्छस् हामी को हौं भनेर,” यसो भनेर मोटरसाइकलमा आएका चारै जनाले उसलाई गोद्न थाले । एउटाले उसको दाहिने कोखामा फलामको लिभरले घोचिदियो । ऊ घाइते भएर त्यहीँ लड्यो । उसको साथी भागेर गाउँतिर गयो । गाउँलेलाई लिएर फर्केर आउँदा एउटा टिपर उसलाई किचेर भाग्दै थियो । टिपरको पछिपछि मोटरसाइकल पनि भाग्दै थिए । ऊ चाहिँ निष्प्राण भइसकेको थियो । अनुहार पनि चिन्न सकिने अवस्था थिएन उसको । गाउँले स्तब्ध भए । 


चर्को आवाज निकालेर केही मोटरसाइकल आए । तिनमा चुल्ठे, मुन्द्रे र जगल्टेहरू सवार थिए । भीडकै सामुन्ने रोके मोटरसाइकल । सिनेमाका खलनायकहरू उत्रिए झैं उत्रिए मोटरसाइकलबाट । उसैगरी अघि बढे भीडतिर । एउटा जगल्टेले हुङ्कार गर्‍यो, “को हो यो टायर बाल्ने ?” कोही बोल्न सकेनन् । सबै जना डराए । एक जना थियो ऊ, अलि निडर । अब ऊ छैन । त्यसैले बोल्ने साहस कसैमा भएन । सबै जना चुपचाप बसे । बरू त्यो जगल्टेको हुङ्कार सुनेर उभिएको ठाउँबाट बिस्तारै पछि हट्दै गए । शान्तिसुरक्षाको आभास कसैलाई भइरहेको थिएन । मुलुकमा जनताको लोकतन्त्र अथवा गणतन्त्र छ भन्ने अनुभूति कसैलाई थिएन ।

जगल्टेले बलिरहेको टायर यताउता छरिदियो । त्यो काममा उसलाई चुल्ठे र मुन्द्रेहरूले पनि साथ दिए । एकैछिनमा त्यो दन्दनी बलिरहेको आगो निभ्यो । आगो के निभेको थियो, यता र उता अघिदेखि अधीरतासाथ रोकिइराखेका सवारी तँछाडमछाड गर्दै अघि बढे । सवारीसाधन अगाडि आएपछि चक्काजाम गर्दै सडकमा उभिएको भीड आफैं पछि हट्दै गयो । अब सडक पनि खुल्यो । सवारीहरू निर्बाध गुड्न थाले । 

गुन्डाराजको एउटा उदाहरण प्रत्यक्ष देखियो त्यहाँ ।

“अब कोही सडकमा आउने होइन । कसैले टायर बाल्ने होइन । नत्र...,” फेरि एउटा चुल्ठेले हुङ्कार गर्यो । 

“नत्र के गर्छस् ?” असह्य नै भएछ क्यारे ! एउटा युवक जोसिँदै अघि बढ्यो । कोही त बाँकी रहेछ अन्यायविरूद्ध आवाज उठाउने । तर दुर्भाग्य, उसलाई साथ दिने कोही निस्केनन् । त्यसपछि ती चुल्ठे, मुन्दे्र र जगल्टेहरूले उसलाई गोल्टिन ठटाए झैं ठटाए । कुटाइ खाएर बेहोस भएपछि उसलाई खेतमा लगेर फालिदिए । 

अब त झन् भीड छिटोछिटो पछि हट्न थाल्यो । मान्छेहरू बिस्तारै आआफ्नो घरतिर हिँड्न थाले । मृतक युवकका रोइरहेका बूढा बाबुआमालाई दुई जना अधबैंसेले डोर्‍याउँदै लिएर गए । मृतककी बहिनी आँसु पुछ्दै बाबुआमाको पछि लागी । उसलाई चुल्ठे, मुन्द्रे र जगल्टेले घुरेर हेरे । ऊ डराई । डरले छिटोछिटो पाइला चाल्न थाली । बाबुआमाभन्दा अघि हिँड्न थाली । महाभारतमा दुःशासनले द्रौपदीको चीरहरण गरेको दृश्य उसका आँखामा घुम्न थाले । अनि दुःशासन जस्तै लाग्ने ती चुल्ठे, मुन्द्रे र जगल्टेहरूबाट आफ्नो अस्मिताहरण हुने डरले छिटोछिटो हिँड्न थाली । 

पीडितलाई नै थप पीडा दिने कस्तो जमाना आयो ? पिटाइ खाने त्यो युवक पनि होसमा आएपछि उठेर बिस्तारै आफ्नो घरतिर लाग्यो । सडक सुनसान भयो । मानौं, एकछिन अघि त्यहाँ केही भएकै थिएन । हिन्दी फिल्ममा जस्तै ।

मृतक युवकको बूढा बाबुसहित पीडितको एक समूह जाहेरी दिन पुलिस चौकी पुगे ।

“यो किटानी जाहेरी लिन मिल्दैन,” इन्स्पेक्टरले टेबलतिर घोप्टिएर भन्यो । 

“किन लिन मिल्दैन, इन्स्पेक्टर साब ?” कमजोर शरीर भएको बूढो बाबुले थररर काँप्दै सोध्यो । 

“यो दुर्घटना हो । त्यसैले मिल्दैन,” इन्स्पेक्टरले उसैगरी टेबलमा घोप्टिएर भन्यो । 

“होइन । यो सरासर सुनियोजित घटना हो । बाटो हिँडिरहेको मान्छेलाई कुटपिट गर्नु अनि घाइतेलाई फेरि टिपरले किचेर मार्नु पनि दुर्घटना हो ?” एउटा युवकले एक कदम अघि सरेर पुलिस इन्स्पेक्टरको नजिकै गएर भन्यो ।

इन्स्पेक्टरसित यो प्रश्नको जवाफ थिएन । उसले त्यो युवकलाई घुरेर हेर्यो । युवकले पनि उसैगरी घुरेर हे¥यो इन्स्पेक्टरलाई । 

“मिल्दैन भनेपछि मिल्दैन,” यस पटक इन्स्पेक्टरले फेरि पनि टेबलमा घोप्टिएर अलि नरम भएर भन्यो ।

“किन मिल्दैन भन्ने कुराको उचित जवाफ चाहिन्छ,” यस पटक सामूहिक रुपमै युवा आवाज गुन्जियो । अब चाहिँ इन्स्पेक्टर अलि गले जस्तो देखियो । अलि रिसाए जस्तो गरेर उसले जाहेरी बुझिलिन अर्को पुलिसलाई अह्रायो । आदेशअनुसार त्यसले जाहेरी दर्ता गरिदियो । अब चाहिँ दोषी पक्राउ पर्छ कि ! न्याय मिल्ला कि ! मृतक युवकको बूढा बाबुको मनमा आशा जाग्न थाल्यो ।

हिँड्नै लाग्दा पुलिस इन्स्पेक्टरले मृतकको बूढा बाबुको कानैनिर आएर मसिनो स्वरमा सुटुक्क भन्यो, “बा, जे हुनु भइसक्यो । अब क्षतिपूर्ति लिएर मिल्नुस् र चुप लाग्नुस् । किन यो लफडामा लागिरहनुहुन्छ ?”

बूढा बाबुलाई इन्स्पेक्टरको सासबाट घुसको गन्ध आए जस्तो लाग्यो । अनि यसो उसको मुखमा हेरेर उसैगरी मसिनो स्वरमा भन्यो, “क्षतिपूर्तिले मेरो छोरो फर्किन्छ र इन्स्पेक्टर साब ?”

इन्स्पेक्टरले केही बोलेन । सन्केर अर्कोतिर लाग्यो ।

जाहेरी मात्रै दर्ता भयो । दोषी पक्राउ परेन । आज परेन । भोलि परेन । पर्सि पनि परेन । पर्दै परेन । गाउँले सबै मिलेर चौकी घेरेपछि बल्ल दोषीलाई तुरून्त पक्राउ गर्ने आश्वासन दियो, इन्स्पेक्टरले । दोषीलाई पक्राउ गर्ने आश्वासन पाएपछि गाउँले जनता खुसी भए । मृतक युवकको बूढा बाबुको मनमा पनि न्याय पाउने आशा जाग्यो ।

“दोषीलाई पक्राउ गर्न पनि दबाब नै दिनुपर्ने । दोषीलाई पक्राउ गर्दा पनि खुसी हुनुपर्ने । कस्तो विडम्बना ! कस्तो देशमा जन्मेछौं हामी ! कहाँ छ हाम्रो न्यायप्रशासन ?” गाउँकै स्कुलमा पढाउने एउटा मास्टरले थाप्लामा हात लाएर भन्यो । सबै जनाले अचम्म मानेर उसका कुरा सुनिरहे ।

अझैसम्म दोषी पक्राउ परेन । पुलिसको अभिलेखअनुसार फरारको सूचीमा छ दोषी टिपर चालकको नाउँ । तर दोषी टिपर चालक क्रसर डनसँगै सानले बसिरहेको छ, हिँडिरहेको छ । क्रसर डन गाउँमै छाती फुलाएर घुमिरहेको छ । बाघ जस्तै निर्धक्क डुलिरहेको छ । उसलाई देखेर गाउँले त्रस्त छन् । 

जनताले अचम्म मानेका छन् दोषी टिपर चालक र चालकलाई संरक्षण दिने क्रसर डनलाई नपक्रिएकोमा । सबैको मनमा एउटै प्रश्न छ, किन नपक्रिएको होला उनीहरूलाई । सोझा गाउँले जनता पुलिसको काम दोषी र अपराधी पक्रनु हो भन्ने मात्रै बुझ्छन् । कसैको इसारामा दोषीलाई नपक्रिनु पनि उसको काम हो भन्ने कुरा बुझ्दैनन् । अहिले दोषीलाई नपक्रिनुमा पनि त्यस्तै इसारा नै कारण बनेको छ सायद, जो सोझा जनता बुझ्दैनन् र बुझ्न सक्दैनन् पनि । बुझ्न सक्नेहरू मौन छन् । मौन बस्नुपर्ने पनि अनेक कारण छन् । त्यो पनि सोझा जनताहरू बुझ्दैनन् र बुझ्न सक्दैनन् ।

उसका बूढो बाबुलाई लिएर गाउँले जनताहरू स्थानीय जनप्रतिनिधिकहाँ गए पीडा सुनाउन । गुनासो गर्न । न्याय माग्न । जनताको आशा र भरोसाका केन्द्र हुन् जनप्रतिनिधि । तर जनताको पीडा र गुनासो सुन्ने जनप्रतिनिधिका कान बहिरो भइसकेका रहेछन् । उनीहरूले केही सुनेनन् । मुखमा बुजो लागिसकेको रहेछ । उनीहरूले पीडितका पक्षमा केही बोलेनन् । न्याय पनि दिएनन् । जनता निराश भए । जनताको पीरमर्का नबुझ्ने केको जनप्रतिनिधि ? जनताले आफैंले आफैंलाई पोखे गुनासो । चुनाव फेरि पनि त आउँछ नि । जनताले भन्न सक्ने यत्ति हो । यस्तै भनेर चित्त बुझाए । तर सार्वभौमसत्तासम्पन्न जनता सधैं निरीह थिए । निरीह नै छन् । सार्वभौमसत्तासम्पन्न जनताभन्दा अरू नै शक्तिशाली बनेका छन् । त्यस्तो शक्ति अरू नै कुराबाट प्राप्त गरेका छन् । के यो लोकतन्त्रको शोभा हो ?

जनताको पीडा र गुनासो गाउँका जनप्रतिनिधिले सुनेनन् । जिल्लाको प्रशासनले त सुन्ला कि ! जनतामा यही आशा थियो । त्यसैले उनीहरू पीडा र गुनासो सुनाउन अनि न्याय माग्न जिल्ला गए । जिल्ला प्रशासन कार्यालय गए । त्यहाँ गएर उनीहरूले पीडितका लागि न्याय मागे । दोषीलाई पक्रन र क्रसर उद्योग बन्द गरेर गाउँलाई बचाउन माग गरे । तर जिल्लामा पनि त्यस्तै भयो, जस्तो गाउँमा भएको थियो । त्यहाँ पनि पीडा र गुनासो सुन्नेको कान बहिरा भइसकेछन् । जिल्लाले पनि जनताको पीडा बुझेन । गुनासो पनि सुनेन । जनतालाई न्याय पनि दिएन । खालि आश्वासन मात्रै दियो । भन्यो, “क्षतिपूर्ति लिएर मिल्नू ।” के क्षतिपूर्तिले मरेको मान्छेको ज्यान फिर्ता आउँछ ? प्रश्न छ, उत्तर छैन । 

पीडक त आफ्नै गाउँमा डुलिरहेका छन् । क्रसर डन र टिपर चालक पनि । पीडकलाई आफ्नै गाउँ वरिपरि देखेर जनता फेरि छक्क परे । जनताको काम सायद छक्क पर्नु मात्रै रहेछ । गाउँमा चुल्ठे, मुन्द्रे र जगल्टेको बाक्लै उपस्थिति बढेको छ । सदा झैं खोलाबाट बालुवा, गिट्टी र ढुङ्गा बोकेर टिपरहरू बाक्लै गुडेका छन् । आफूलाई पनि त्यही टिपरले किच्ने हो कि ? गाउँले झन् त्रस्त छन् । 

मृतक युवकको बाबुको आँखामा आँसु सुकेको छैन । आमाको भक्कानो रोकिएको छैन । बहिनीको मनबाट आफू असुरक्षित हुनुको भय र त्रास हट्न सकेको छैन । घर सुनसान छ मुर्दाघर जस्तो । त्यो एउटा घरबाहेक अरू कुरा सबै सामान्य नै छन् । मानौं, त्यो गाउँमा हिजोअस्ति केही भएकै थिएन । कसैको छातीमा फलामको लिभरले रोपिएकै थिएन । कसैलाई टिपरले किचेर मारेकै थिएन । कसैलाई मरणासन्न हुने गरी कुटिएकै थिएन । गणतन्त्रमा डनतन्त्र हाबी भयो । यस्तो पनि हुन्छ ? किन हुन्छ यस्तो ? के लोकतन्त्रमा यस्तै हुन्छ ? कसैसित छैन यसको जवाफ । जवाफ दिन जो जिम्मेवार छन्, तिनको मुखमा बुजो लागेको छ ।

आँखामा आँसु, छातीमा पीडा र झोलामा सामलतुमल अनि केही सहयोगी साथमा लिएर मृतक युवकको बाबु आफ्नो पीडा र गुनासो पोख्न सिंहदरबारसम्म पुग्यो । तर सिंहदरबारले पनि सुनेन पीडितको पीडा, वेदना र गुनासो । सिंहदरबारले पनि दिएन न्याय । बरू भन्यो, अब त गाउँमै सिंहदरबार पुगिसकेको छ । त्यहीँ गएर सुनाऊ, आफ्नो पीडा, वेदना र गुनासो । अनि त्यहीँ गएर माग न्याय । 

न्याय माग्न गाउँबाट रूँदै गएको थियो, उसको बूढो बाबु । रूँदैरूँदै गाउँ फर्कियो रित्तै । गाउँले दिएन न्याय । जिल्लाले दिएन न्याय । सिंहदरबारले पनि दिएन न्याय । अब कुन ठाउँ बाँकी छ गरिबले न्याय माग्न जाने ठाउँ ? 

“यो लोकतन्त्रले कति साह्रै रूवाएको गरिबलाई ! अब न्याय माग्न कहाँ जाऊँ भगवान् ?” बूढो बाबुले आकाशतिर हेरेर भन्यो । तर आकाश पनि बोलेन । आकाशलाई कालो बादलले ढाकेको थियो ।

मरेपछि पनि गरिबको दुःख सकिँदैन । संस्कार बाँकी रहन्छ । हो, अब उसको पनि अन्तिम संस्कार गर्न बाँकी नै थियो । उसको लास पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो । लास बुझिलिन उसको बाबु र गाउँले गुठियारहरू अस्पताल पुगे । लास लिन अस्पतालको मुर्दाघर पुग्दा त्यहाँबाट चर्को गन्ध आइरहेको थियो । सबैले नाकमुख थुने । 

मुर्दाघरबाट पुलिस, प्रशासन र न्याय कुहिएको गन्ध आइरहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC