site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रहस्यमय बच्चुकैलाश
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल
० ० ०
टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ
छुटिसकेको मायालाई साथी एकफेर गाँसीदेऊ

बच्चुकैलाशको यो गीतको पहिलो हरफले भने झैं साँच्चै बच्चुकैलाश अहिले कहाँ छन् र के गर्दै छन्, धेरैलाई थाहा छैन । जमाना आवरणमा झिलिक्क देखिने छ । तर उनी गुमनाम छन् । रेडियो, टीभी, पत्रपत्रिका र अनलाइनमा मात्रै होइन युट्युबमा देखिनसमेत स्टन्ट गर्ने यो युगमा बच्चुकैलाश किन गुमनाम बस्न चाहे ? प्रश्न छ तर जवाफ छैन । न उनी सामाजिक सञ्जालमा झुल्किन्छन् न त सञ्चारका माध्ममा नै देखिन्छन् ।

त्यसैले त बच्चुकैलाशलाई सम्झिँदा उनको माथि उल्लेखित गीतको दोस्रो हरफ सम्झिन मन लाग्छ– छुटिसकेको मायालाई साथी एकफेर गाँसीदेऊ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर चाहेको सधैँ कहाँ पाइँदोरहेछ र ? दिन, साता, महिना, वर्ष हुँदै दशक बिते । तर बच्चुकैलाश छुटिसकेको सम्बन्धलाई गास्न आएनन्–आएका छैनन् । 

नेपाली सांगीतिक आकाशमा उनको नाम कैलाशजस्तै उँचो छ । तर चर्चा ? शून्य । त्यसैले उनीबारे हामीले केही बुझ्ने प्रयास गर्‍यौं ।

Global Ime bank

फोनमा पनि भेटिन छाड्नुभयो 
गीतकार दिनेश अधिकारीलाई आफ्नो गीत बच्चुकैलाशलाई गाउन लगाउन मन लागेको थियो । शक्ति बल्लभले बच्चुकैलाशकै लागि भनेर ‘अनुभूति’ एल्बमका लागि संगीत पनि भरेका थिए । “तर दाइको स्वास्थ्यका कारण मेरो गीत गाउन सक्नु भएन,” दिनेश भन्छन्, “स्वास्थ्यले नै साथ नदिएपछि उहाँले पनि जोडबल गर्ने कुरै थिएन, हामीले पनि त्यसो गर्न सकेनौं ।” 

थला पर्नेगरी भने स्वास्थ्य बिग्रिएको होइन । अक्सर बुढेशकालमा देखिने रोगहरू नै हुन् ।

पाँच वर्ष अगाडिसम्म दिनेश र बच्चुकैलाशको बेलाबेलामा भेट भइरहन्थ्यो । उनको घर जयनेपाल सिनेमा घर छेउमा र भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केट अगाडि गार्डेनको उत्तरपट्टि छ । भाटभटेनी सुपरमार्केट अगाडिको घरमा दिनेश र बच्चुको भेट हुन्थ्यो । संगीतका विषयमा गफिन्थे । रसिक स्वाभावका उनी दिनेशलाई आफ्नो कालखण्डको सांगीतिक समयका रमाइला किस्सा सुनाउँथे । 

“रेडियो नेपालले उहाँ (बच्चुकैलाश) दाइलाई सम्मान गर्ने भएछ । उहाँले अत्यन्तै स्नेह गर्ने नजिकका व्यक्ति संगीतकार भुपेन्द्र रायमाझीले रेडियो नेपालले दाइलाई सम्मान गर्न लागेको छ यो सम्मान लिइदिनुपर्यो भन्नुभएछ । तिमीहरूको रेकर्डमा राख न त, तर म लिन पनि आउँदिन र मलाई लिनु पनि छैन भन्नुभएछ,” ०५५ सालको कुरा सुनाउँछन् दिनेश, “तर अहिले हाम्रो भेट नभएको ५/६ वर्ष भयो ।

अहिले मैले फोन गरेँ भने बच्चु दाइ उठाउनुहुन्न । उहाँको मिसेसले उहाँ त हुनुहुन्न भन्नुहुन्छ । त्यसपछि भेट हुनै छोड्यो । पछिल्लोपटक पाँच वर्षअगाडि मेडिकेयर हस्पिटलमा संयोगले हाम्रो भेट भएको थियो ।” 

गीतकार दिनेश अधिकारी (दायाँ) र बच्चुकैलाश (बायाँ) । 


बच्चुकैलाशसँग दर्जनौंपटक भेट भयो दिनेशको । गीत–संगीतका पनि थुप्रै्र कुरा भए । तर उनी किन मिडियामा आउन चाहेनन् ? “उहाँले आफूले कहिल्यै भन्नु भएन । अरूको व्यक्तिगत कुरा खोतल्ने कुरा पनि भएन,” दिनेश भन्छन्, “गाउने मन नहुँदानहुँदै पनि भुपेन्द्रले संगीत गरेको चलचित्र मनकामनामा उहाँले भुपेन्द्रको अनुरोधलाई हार्न नसकेर एउटा गीत गाउनुभयो त्यो नै उहाँको अन्तिम गीत हो ।” 

बच्चुकैलाशले आफ्नोबारे बताएनन् । आम स्रोता तथा शुभेच्छुकलाई उनीबारे थाहै भएन । दिनेशकै शब्द सापटी लिने हो भने भेटमा उनी भन्ने गर्थे, ‘मलाई मेरैबारे चर्चा गर्नु छैन ।’

सार्वजनिक व्यक्ति भएपछि यसो भनेर कहाँ सुख पाइँदोरहेछ र ? 

त्यसैले त यसबारे साहित्यकार गणेश रसिक आफ्नो पुस्तक ‘छपक्कै मनमा बसेकाहरू’मा बच्चुकैलाशबारे घतलाग्दो गरी लेख्छन्– मेरो बारेमा जे लेख्ने हो, जे छाप्ने हो, मेरो मृत्युपछि मात्र गर्नू । यो दुई दिनको चोलामा को अघि को पछि ख्याल नराखी उनी भनिरहेका हुन्थे “मैले कसैलाई सुनाउनु छैन आफ्नो समयको कुरा ।” 

गणेश रसिक आफ्नो पुस्तकमा अगाडि लेख्छन्– तर मलाई भन्नु छ, नगाईकन स्वरको झंकार, नफैल्याईकन खोटाङ, सापातेलमा खेती–किसानी बनेर बच्चुकैलाशबहादुर बस्नेतको नामका मनुख्खेले आफ्नो जीवन बिताएका भए उनका पछाडि समयको कुरा खोज्न को जान्थ्यो ? यो ठूलो सहरमा, ठूलो भीडमा बिनापरिचय, बिनासिर्जना आफ्नै परिवारको दालभात र नुनतेलमा मात्रै हराएका भए को लाग्थ्यो यो नामको पछाडि ?

तर उनले त्यसो गरेनन्, नेपाली संगीतका आरोहअवरोह र मुच्र्छनामा बसे । ताल, लय, सुर र शब्दको गहिराइमा डुबे र स्रोताको ढुकढुकीमा बसे । त्यसैले उनी सार्वजनिक सम्पत्ति भए । के उनकाबारे जान्ने बुझ्ने अधिकार उनका स्रोतालाई छैन । आम नेपाली जनतालाई छैन ? 

छ । त्यसैले त हामीले पनि उनीबारे केही बुझ्ने प्रयास गर्‍यौं । 

आफ्नो कुरै गर्दैनन् 
पुष्प नेपाली बच्चुकैलाशका तँ–तँ र म–म चल्ने साथी थिए । ०५८ कात्तिक २७ गते उनको निधन भएपछि उनी एक्लो भए । हेरक दिन उनीहरूलाई एक–अर्कालाई नभेटी चित्त बुझ्दैन थियो । युगल गीत केटा र केटीले मात्रै गाउँछन् भन्ने मान्यता रहेकाबेला बच्चु र पुष्पले थुप्रै पुरुष डोयट् गीत गाएका छन् । 

पुष्पको निधनपछि अध्येता बुलु मुकारुङले उनको स्मृति ग्रन्थ तयार पारे । पुष्पका अति मिल्ने साथी बच्चुलाई केही लेखिदिन आग्रह गर्दा भने, “अरूको भए त म लेख्दिनँ थिएँ तर पुष्पको चाहिँ लेख्छु भनेर लेखिदिनुभयो,” बुलु बच्चुकैलाशप्रति आभारी सुनिए, “भाषामा उहाँको जति मिठास छ अक्षर पनि त्यति नै सुन्दर छ ।” 

बुलु थोरै भाग्यमानीमध्येका एक संगीतकार हुन्, जसले बच्चुसँग अझै सम्पर्कमा रहने सौभाग्य पाएका छन् । बच्चुसँग बुलको भेट ४० को दशकमा डा. तारानाथ शर्माको साहारामा भएको थियो । त्यहीभेटले बच्चुसँग बुलुको सामीप्य बढ्यो । “अहिले पनि दाइले सामाजिक रूपमा केही पर्यो भने लौन बुलुजी कसरी के गर्ने हो भन्नुहुन्छ,” बुलु भन्छन् “लकडाउनमा उदयपुरमा थुनिएर बसेका बेला पनि उहाँले मलाई फोन गर्नुभएको थियो । भन्दा कसैको सम्पर्कमा नरहेको व्यक्तिले मलाई आफैं फोन गर्नुहुन्छ भन्दा अलि नराम्रो अहमता देखाएजस्तो लाग्छ तर तपाईंको जिज्ञासामा यो कुरा भनेँ, अन्यथा अर्थ नलगाउनुहोला ।”
त्यसो भए यति धेरै निकट व्यक्तिलाई बच्चुले सांगीतिक र सामाजिक जीवन किन छोडे केही गुह्य कुरा बताउँछन् ? 

अहँ ! बुलुसँग पनि त्यस्तो ठोस जवाफ छैन । “म काठमाडौंमा भएका बेला आफैं दाइको घर गइरहेको पनि हुन्छु । दाइ आफैं बोलाउनु पनि हुन्छ । तर खासै त्यस्तो कुरा हुँदैन,” बुलु भन्छन्, “पिकमा हुँदा छोडियो पछि बुढेसकाल पनि लाग्यो भनेर टार्नुहुन्छ । नयाँनयाँ आउनुहुन्छ, उहाँहरूले नै गर्नुहुन्छ । हामीले सधैं गाउनुपर्छ भन्ने पनि छैन ।” 

म प्रचार–प्रसारमा छैन
करिब एक महिनाअगाडि गीतकार यादव खरेल लकडाउनकै बीच पशुपतिनाथको मन्दिर पुगेका थिए– उनले अचानक देखे बाँदरलाई केरा खुवाइरहेको र परेवालाई चारो छरिरहेका बच्चुकैलाशलाई ।

यादवले सोधे, ‘बच्चु तिमी अहिले पनि दैनिक पशुपति आउँछौं ?” 

गणेश रसिक पनि आफ्नो पुस्तकमा लेख्छन्, “उनी भगवान पशुपतिनाथको अनन्य भक्त हुन् । हरेक सोमबार दर्शन गर्न पशुपतिनाथ पुग्छन् । सकेसम्म त्यहाँका बाँदरलाई केरा र फलफूल खुवाउँछन् र रमाएर हेरिरहन्छन् ।”

करिब ५० सालसम्म यादव खरेलको घरमा गायक तथा संगीतकारहरूको जमघट बाक्लै हुन्थ्यो । फत्तेमान, नारायणगोपाल, रामशरण नेपाली, बच्चुकैलाश उनको घरमा आइरहन्थे । तर ५० को दशकपछि उनले जमघट कम गरे । बच्चुकैलाश पनि आउन छाडे । 

“जमघट गरिहन्थ्यौं । पिकनिक जान्थ्यौं, रमाइलो गथ्र्यौं । त्यो बेलाका तस्बिरहरू पनि मसँग होलान् । पछि बिस्तारै ऊ बाहिर हिँड्नै छाड्यो,” यादव भन्छन्, “एक दिन उसलाई मैंले भनेँ– तिम्रोबारे केही आएन ।

तिमीले तिम्रा अडियन्सलाई अन्याय गर्‍यौ । गाउन छाड्यौ त्यो बेग्लै कुरा हो तर तिम्रोबारे केही आउनुपर्छ म मिडिया बोलाएर खिच्ने व्यवस्था मिलाउँछु । तर उसले मान्दै मानेन । छोड्देऊ म यो प्रचार–प्रसारमा छैन ।” 

‘के भनौं म कसो गरी परेँ म मोहिनीको माया जालैमा’ यादवले बच्चुकैलाशलाई धेरै पछि गाउन लगाएको गीत हो । ०५२ सालमा यो गीत बच्चुकैलाशले गाउँदा उनले गाउन छाडेको पाँच वर्ष भइसकेको थियो ।

यादवको आग्रह हार्न नसकेर उनले यो गीत गाइदिएका थिए । चलचित्र ‘प्रेम पिण्ड’मा राख्ने उद्देश्यले गाउन लगाएका थिए । तर विडम्बना उनले यो गीत त्यसअघि नै भारतीय गायक अभिजितको स्वरमा गाउन लगाएर गीतको छायांकन पनि गराइसकेका थिए । सरोज खनालले लिप्सिङ गरिसकेका थिए । पछि लिप्सिङ नमिलेपछि रिप्लेस गर्ने उनको चाहना पूरा भएन ।

त्यसैले उनले पछि यो गीत ‘हराएका गीतहरू’ एल्बममा समावेश गरे । यो नै बच्चुकैलाशको अहिलेसम्मका लागि रेकर्डेड अन्तिम गीत हो । 

गीतकार यादव खरेल (बीचमा) र बच्चुकैलाश (बायाँ) । 


नातिकाजीको मृत्युपछि उनको नाममा गठन भएको नातिकाजी प्रतिष्ठानमा बच्चुकैलाश, यादव खरेल, प्रेमध्वज प्रधान सल्लाहकार थिए । आफ्नै साथी भएकाले जबरजस्त सल्लाहकार बसेका उनी केही समयपछि नै त्यो संस्थामा पनि आउन छाडेको यादव सम्झिन्छन् । 

“हामी २० को दशकदेखिको साथीले त किन पिकमा रहेका बेला ट्याक्कै गीत गाउन छोड्यौ भन्दा ऊ यसबारे कुरै गर्न नचाहने, छोड्दे यी कुरा सबै भनेर भन्दै नभन्ने,” उनी भन्छन्, “प्रेस भन्यो भने त उसले सुरुमै अभोइड गर्छ ।” 

बच्चुकैलाश मै हुँ 
पुष्प नेपालीको मृत्यु भएको थियो । नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर मेरो’ कार्यक्रम नवराज लम्सालले केही श्रृंखला चलाएको थिए । त्यसैले सञ्चारकर्मी तथा साहित्यकार नवराज लम्सालले बच्चुकैलाशलाई टेलिफोनमा भने, पुष्प दाइ तपाईंका सहकर्मी, सँगै गीत गाएको उहाँका बारेमा तपाईं बोल्दिनुस् न । 

तर बच्चुकैलाशले मानेन् । भने, “म मिडियामा आउँदिन, बोल्दिनँ । बोल्न चहान्नँ ।”

नवराजले म तपाईंकै घरमा आएर दुई मिनटे मात्रै खिच्छु भने तर मानेनन् । 

नवराज हारेनन् । टेलिभिजनमा आउनुहुन्न भने रेडियो नेपालमा म कार्यक्रम चलाउँछु त्यहाँ त बोल्नुस् न । 

नवराज मात्रै होइन बच्चुकैलाश पनि हारेनन् उनले भने, “भाइ म तपाईंलाई चिन्छु, सुन्छु । राम्रो लाग्छ, तपाईंको वाक शक्ति राम्रो छ । तर नबोल्ने मेरो प्रतिज्ञा नै हो, बोल्दिनँ । 

केही जोड चलेन । त्यसैले नवराजले भने, तपाईंको इच्छा नै त्यस्तै छ भने ठीकै छ । 

पुष्प नेपालीको मृत्युको १३औं दिनको दिन प्रज्ञा भवनमा श्रद्धाञ्जलीको कार्यक्रम थियो । नवराज त्यो श्रद्धाञ्जली कार्यक्रमको वक्ता थिए । 

उनले वक्ताका रूपमा भने– मैले बच्चुकैलाश दाइलाई फोन सम्पर्क गरेँ । उहाँले बोल्दिनँ भन्नुभयो । उहाँले गीत–संगीतका बारेमा नबोले पनि पुष्प दाइको बारेमा दुई शब्द मात्रै बोलेर श्रद्धाञ्जली मात्रै दिनुभएको भए पनि त हुने थियो । आफ्नै बारेमा नबोल्ने अथवा बोल्दिनँ भन्नु अलग कुरा तर आफ्नै सहकर्मीबारे नबोल्ने पनि हुनुहुन्छ भनेर मैले भाषण गरेँ । उहाँले नबोलेकामा चित्त दुखाएर आदरले गाली गरेँ ।

कार्यक्रम सकियो । सबै बाहिर निस्कियौं । कालो भादगाउँले टोपी लगाएको मोटो ज्यान भएको मान्छेले पछाडिबाट मेरो पिठ्युँमा थपथप्याउँदै भन्यो नवराज बाबु तपाईं कति मीठो बोल्नुहुन्छ है । त्यो बच्चुकैलाश भन्ने मैं हुँ । फोनमा त कुरा भएको थियो तर मैले उहाँलाई चिनेकै थिइनँ । त्यो कार्यक्रममा उहाँ आएर दर्शकदीर्घामा बसेर हामीलाई सुनिरहनु भएको रहेछ । 

मुसुक्क हाँसेर कति भाँती पुर्याएर मीठो बोल्नुहुन्छ । मैले बोल्दिनँ, मिडियामा आउँदिनँ भनेको प्रमाण तपाईंले आज बोल्दिएको कुरा भयो । नेपाल टेलिभिजनमा बोल्नु भन्दा पनि बोल्नु भएन, रेडियोमा बोल्नु भन्दा पनि बोल्नु भएन । कति मीठो तरिकाले तपाईंले सबैलाई भन्दिनुभयो । अब अरूलाई बोल्दिनँ भन्न मलाई झन् सजिलो भयो । तपाईंले मैले बोलेभन्दा राम्रो गरी भन्दिनुभयो । खुसी लाग्यो धन्यवाद है भन्नुभयो । म लाजले पानीपानी भएँ । 

त्यसपछि बच्चुकैलाशसँग नवराजको बडो राम्रो सम्बन्ध भयो । बेलाबेलामा उनी फोन गरेर दाइ के छ हालखबर भनेर सोधिरहन्थे । बच्चुकैलाशले स्नेह गरेको नवराजले महसुस गरेका थिए । यो क्रम चार–पाँच वर्ष चल्यो । तर त्यसपछि विस्तारै फोन पातलो भयो । कालान्तरमा पातलिँदै गएको फोन संवाद बन्द भयो । अहिले के कसो केही खोजखबर हुँदैन । 

आफ्नो विचार र घोषणाप्रति बच्चुकैलाश यति दृढ पाए नवराजले उनले आजसम्म त्यति दृढ व्यक्ति देखेकै छैनन् । आफ्नो निर्णय र विचारको जसले जतिसुकै आलोचना गरे पनि त्यसलाई सकारात्मक लिने उनको व्यक्तित्वले नवराजलाई आज पनि प्रभाव छोडिरहेको छ । उनीप्रतिको श्रद्धा झन् उँचो भएको छ । 

मैलै बोलाउन सकिनँ 
गीत गाउन चटक्कै छोडे, मिडिया र प्रचारबाजीबाट टाढै किन रहेको ? आफ्नो जिज्ञासा नवराजले नसोध्ने कुरै थिएन । तर चट्टानी अडानबाट उनी विचलित भएनन् । 

तर पनि पाँच वर्ष उनले त्यही लोभ पाले । दाइ–दाइभन्दा एक दिन त कसो नपग्लिएलान् र भन्ने उनको मनमा थियो । कसैसँग नबोलेको मान्छेलाई बोल्न लगाउन सकेँ भने त्यो नै ठूलो उपलब्धि हुनेछ र कारण पत्ता लगाउन सके त्यो झन् अर्को उपलब्धि हुनेछ भन्ने लक्ष्य थियो । तर बच्चुकैलाशको बन्द मुख उनले कसैगरी खुलाउन सकेनन् । 

पछि नवराजले बीबीसी नेपाली सेवामा हुँदा पनि दाइ मात्रै दुई मिनेट भनेँ । तर बच्चुकैलाशको उही जवाफ थियो, “भाइ मैले तपाईंलाई पहिला पनि भनेको थिएँ । अहिले पनि त्यही भन्छु । कुनै दिन म बोल्ने भएँ भने भाइ म बोल्ने भएँ आउनुस् भनेर तपाईंसँगै बोलौंला बीबीसी अथवा रेडियो नेपालमै भए पनि । बोल्न मन लाग्यो भने म तपाईंलाई बोलाएरै तपाईंसँगै बोल्छु । यदि मैले तपाईंसँग नबोलेर अरूसँग अन्तर्वार्ता दिएँ अथवा बोलेँ भने दाइले मलाई छलिस् भनेर भन्नुहोला ।”

नवराजले बच्चुकैलाशलाई र्याखर्याख्ती पार्दै भनेँ, “दाइ तपाईंले मलाई भाइ भन्नुभयो । भाइको नाताले यस्तो प्रतिबद्धता किन जनाउनुभयो । म आजीवन कहीँ कतै कसैलाई भन्ने छैन कसम खान्छु भन्नुस् भन्दा पनि उहाँले त्यो कुरा खोल्नु भएन ।”

मेरोबारे जे मन लाग्छ लेख्नू 

करिब आठ वर्षअगाडि पत्रकार रमण घिमिरेले बच्चुकैलाशबारे एउटा स्टोरी गर्ने जमर्को गरे । उनको अन्तर्वार्ता त सम्भवै थिएन । त्यसैले उनका चिनजानका व्यक्तिहरूसँग उनीबारे बुझे । ‘साप्ताहिक मञ्च’, ‘रूपरङ्ग’मा काम गर्दा फत्तेमान, तारादेवी, नारायणगोपाललगायत थुप्रै गायक–गायिकासँग रेडियो नेपाल जाँदा भेट हुन्थ्यो तर बच्चुकैलाश त्यही बेला रेडियोमा त्यति धेरै देखेजस्तो रमणलाई लाग्दैन । 

तर पछि टेलिफोनमा बच्चुकैलाशसँग राम्रै गफगाफ हुन थालेको थियो । आफ्नाबारे बच्चु बोल्छन् भन्ने त उनलाई लागेको थिएन तर पनि रमणले फोन गरे । “म तपाईंका बारे लेख्दै छु । केही बोल्नुपर्‍यो ।” 
तर बच्चुले भने, “म केही भन्दिनँ । तपाईंलाई मेरोबारे जे मन लाख्छ लेख्नुस् ।” त्यसयता बच्चुसँग रमणको कुरा भएको छैन । 

तर, रिपोर्टिङका क्रममा उनले थाहा पाए विस्तारै भोकल कर्डले काम गर्न छाड्यो । त्यसैले उनले पुनः गाउन छाडे । “तर उहाँ आफैंले भनेको होइन । थर्ड पसर्नले भनेकाले यही नै सत्य हो भनेर भन्नचाहिँ सकिँदैन,” रमण भन्छन् । 

ग्रुपिजमको सिकार 
गणेश रसिक बच्चुकैलाशसँग निकट सम्बन्ध राख्ने सर्जक हुन् । गणेश बच्चुको घरमै पुग्छन् । टेलिफोनमा कुरा गर्छन् । हरेक साउन १५ गते घर पुगेरै उनको जन्मदिन मनाउँछन् । त्यसैले त उनले बच्चुकैलाशबारे आफ्नो पुस्तकमा लेख्न सके । 

उनले आफ्नो पुस्तकका जति लेखेका छन्, त्यसबाहेक पनि केही कुरा थाह छ उनलाई बच्चुकैलाशबारे । तर सबै कुरा कहाँ लेख्न सकिन्छ र ? उनी भन्छन्, “दाइ रिसाउनुहुन्छ, त्यसैले पनि थाहा हुँदाहुँदै पनि केही कुरा लेख्न सकिनँ । तौलिएर लेखेको छु,” गणेश भन्छन्, “उहाँलाई त्यो पुस्तक मैले आजसम्म दिन सकेको छैन । किनभने उहाँ आफ्नोबारे लेखेको थाहा पाए रिसाउनुहुन्छ ।” बच्चुकैलाशसँगको सम्बन्ध नबिग्रियोस् भन्ने लोभले गणेशले उनलाई सुईंको समेत दिन सकेका छैनन् । “मेरोबारे किन लेखिस् भनेर झम्टिहाल्ने त होइन । तर रिसाउनु हुन्छ । खोइ कस्तो स्वाभावको मान्छे हो उहाँ, विल्कुल फरक स्वभावको,” गणेश खिन्न मन बनाउँछन्, “उहाँसँग धेरै सम्बन्ध भयो । उहाँका बाहिर नआएका गीत बजारमा ल्याउँछौंभन्दा उहाँ गीत बजारमा ल्याएर काम छैन हो, केही अर्थ छैन भाइ त्यसो नगरौं भन्नुहुन्छ ।” 

दशकौं लामो सम्बन्धमा गणेशले बच्चुलाई किन गीत गाउन र मिडियामा आउन छोड्नुभयो सोध्नुभयो ? जिज्ञासामा गणेश भन्छन्, “अँह कहिल्यै सोधिएन । म्युचुअल अन्डरस्ट्यान्डिङ जस्तो भयो । साधना कला केन्द्रको सम्मान लिइदिनुपर्यो भनेर जाँदा उहाँले मान्नुभएन । सरकारी पद पनि धारण गर्नुभएन ।” 

साधना कला केन्द्रका मिलन मोक्तान गणेशलाई लिएर बच्चुकैलाशको घर पुगेको प्रसंग गणेश सुनाउँछन् । उनको भद्र स्वाभाव देखेर मिलन दङ्ग थिए । लामो भलाकुसारीपछि मिलनले बच्चुलाई भने, “यस वर्षको साधना संगीत सम्मान हजुरलाई प्रदान गर्ने निर्णय गरेका छौं । स्वीकृतिका लागि लेखेका छौं ।” 

बच्चुकैलाशले शान्त स्वाभावमा मिलनलाई भने, “मेरो घरमा आउनुभयो । म खुसी नै छु । सम्मानका लागि सम्झिनुभयो, धन्यवाद छ । तर यो सम्मान, पुरस्कार, दोसल्लासँग मेरो त्यति रुचि छैन । तपाईंको सम्मान पाएर म पटक्कै खुसी हुन्न । बरु दुख्छु । जो यो सम्मान पाएर खुसी हुन्छन्, उहाँहरूलाई दिनुस् । विभिन्न संघ–संस्थाहरूले र सरकारले समेत बेवास्ता गर्‍यो, हाम्रो मूल्यांकन गरेन भन्ने धेरै स्रष्टा छन् । उहाँहरूलाई दिँदा म खुसी हुन्छु । तर मलाई दिए दुःखी हुन्छु ।”

पुरस्कार, सम्मान र अवार्डका लागि वितरककोमा ताँती लाग्ने र खरिद गर्ने/गराउनेको भीडमा बच्चुकैलाश फरक अलौकिक स्वाभावका स्रष्टा हुन्, जो सम्मान लिइदिनुपर्यो भनेर घरमै बिन्ति बिसाउन जाँदा पनि अस्वीकार गर्छन् । 

उनले गीत गाउन छाडेको थुप्रै भयो । तर गीत–संगीतप्रति वितृष्णा नै जागेको भने होइन । गणेशसहित नातिकाजी, पुष्प नेपाली, रुबी जोशी, हीरण्य भोजपुरेलगायत संगीतकर्मीहरू उनको घरमा पुग्दा माहोल बने बच्चुकैलाश सारङ्गी रेट्न थाल्छन् र गाउन सुरु गर्छन् । अघिल्लो वर्ष पनि उनले यस्तै माहोलमा गाएको गणेशले बिर्सिएका छैनन् । 

राजा महेन्द्रसँग बच्चुको राम्रो सम्बन्ध थियो । बेलाबेलामा महेन्द्र बच्चुलाई दरबारमा बोलाइरहन्थे । तर पनि उनले लाभको पद कहिल्यै लिएनन् । 

कारण ? 

“मैले बुझेअनुसार राजाहरू आफूसँग झुकेर नमागेसम्म केही नदिने बच्चु दाइको स्वाभाव माग्ने थिएन,” गणेश भन्छन्, “महेन्द्र बौद्ध धामदेखि पर दुई–तीन सय रोपनी जग्गा लिएर कोलोनी बनाएर कलाकार र साहित्यकारहरूलाई दिने भन्नुहुन्थ्यो । तर चितवनबाट राजा महेन्द्र फर्किएनन् दरबारको त्यो योजना गर्भमै तुहियो भनेर बच्चु दाइ हामीलाई सुनाउनुहुन्थ्यो ।” 

गणेशका अनुसार उनी हरेक घटनामा अपडेट भएर बस्छन् । तर विवादबाट सधैं टाढा रहने उनको स्वाभाव छ । आफू पनि विवादित हुने काम नगर्ने र अरूबाट पनि त्यो भएको नरुचाउने उनको स्वाभाव थियो । 

नेपाली सांगीतिक क्षेत्रमा ठूलो ग्रुपिजम थियो । एकले अर्को समूह नरुचाउने । सकेसम्म कसरी हुन्छ आफूलाई नरुचाउनेलाई निषेध नै गर्ने हमेशा प्रयास हुन्थे । “तर यस्तो प्रवृत्ति बच्चु दाइलाई पटक्कै मन पर्दैन थियो,” गणेश भन्छन्, “उहाँ स्वयम्ले भन्नुभएको होइन अरूले नै भनेको तर यतिसम्म उहाँको पछि लाग्ने समूह थियो रे उहाँ स्टेजमा गाउन चढेपछि माइकको तार नै काटिदिन्थे रे । यस्तै प्रवृत्तिबाट वाक्क भएर उहाँले यो क्षेत्रबाटै टाढा भए जस्तो लाग्छ ।”

२०१० को दशकको अन्तिमदेखि ३० को दशकको सुरुवाती वर्षसम्म करिब १२–१५ वर्ष सक्रिय रूपमा बच्चुकैलाशले गीत गाएको गणेश बताउँछन् । 

५० वर्ष भयो स्टेजमा नदेखिएको 
बच्चुकैलाशलाई गणेशले २०२७ सालमा ‘रूपरेखा’ले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रमा स्टेजमा गाएको सुनेका थिए । त्यसपछि उनले सार्वजनिक कार्यक्रममा कहिल्यै बच्चुकैलाशलाई गाएको देखेनन् । भलै साथीभाइहरूबीचको कोठे जमघट मुडमा भने गाएको उनले देखेका छन् । 

०५८ सालमा आरोहणले रसियन कल्चर सेन्टरमा आयोजना गरेको गणेश रसिकको एकल साँझमा गणेशलाई अभिभावकका रूपमा हौसला दिन बच्चुकैलाश पुगेका थिए । 

जब पत्रकारले देखे...
पछिल्लो पुस्ताले पहिलोपटक बच्चुकैलाशलाई त्यो कार्यक्रममा फेला पारे । पत्रकारले घेरिहाले । उनले त्यो बेला पत्रकारसँग केही बोलेनन् मात्रै यति भने, “गणेश रसिक नेपालीपन र नेपाली भावनाका गायक, संगीतकार र गीतकार हुन् ।”

गणेश गीत विधामा गद्य गीतकार भएझैं बच्चुकैलाश ‘गद्य संगीतकार’ भएको गणेश बताउँछन् । “गीत गद्यका हरफ हुन् उनी । उनले जब संगीतमा ढालेर गाउँछन् तब गद्यजस्ता लाग्दैनन्,” गणेश भन्छन् । 

नेपाली संगीत इतिहासमा पहिलोपल्ट ‘लङ्गप्ले’ अर्थात् आठवटा गीत भएको डिस्क रेकर्ड निकाल्ने पहिलो गायक बच्चुकैलाश हुन् । 

सांगीतिक करिअरको पिकमै रहेका बेला बच्चुकैलाशले आफूलाई त्यही क्षेत्रबाट चटक्कै अर्कै क्षेत्रमा मोडिदिए । एकान्तबासको जिन्दगी रोजे । न संगीत न सार्वजनिक जीवन । गुमनाम जीवन बाँचिरहेका छन् । 

त्यसो भए के उनलाई आफैंले हड्डी घोटेको गीत–संगीतको माया छैन ?

गणेश आफ्नो पुस्तकमा लेख्छन्,– एकदिन बच्चुकैलाशले मलाई बिहानै फोन गर्नुभयो । फोन गर्नुको प्रसंग थियो– चाँदनी शाहको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाएको गीत ‘उकाली ओरोलीहरूमा भञ्ज्याङ अनि चौतारीहरूमा...’ लाई कुनै एक टेलिभिजनले बजाज मोटरसाइकललाई पहाड, हिमाल, कन्दरा र दुर्गम ठाउँहरूमा कुदाइरहेको रहेछ । त्यो देखेर उनले प्रश्न गरे, “यो के भएको हो रसिक भाइ ?”

म त्यो विज्ञापनबारे पूरै अनविज्ञ थिएँ । मैले आफ्नो जानकारी नभएको कुरो भनेँ । उनले बडो बिझाउने पाराले संवेदनशील रूपमा थपे, “के कुनै गीतकार, संगीतकार वा गायक स्वर्गे हुनासाथ उसका अमर सिर्जनाहरू यसरी बेवारिसे हुने ? ज–जसले जहाँ पायो जेमा पायो सस्तो व्यापारिक प्रयोजनका लागि दुरुपयोग गर्न पाउने ? यो हक कसले दियो ? यो हक कसले दियो ? प्रज्ञा–प्रतिष्ठानले के सोचेको छ यसबारेमा ?”

बच्चुकैलाशजस्तो राष्ट्रिय व्यक्तित्वबाट यस्तो प्रश्न उठ्नु एकदमै न्यासङ्गत थियो । तर मेरो दिमागमा भने पुराना कुराहरू बल्झिए । कुनै बेला सारा ब्रह्माण्ड पृथ्वी सृष्टिको आयुसँग आफ्ना गीत–संगीतको आयु तुलना गर्ने यी स्रष्टा आज फरक्कै फेरिएर संगीततिर मोडिए । यो प्रश्नको उत्तर मैले तत्काल पाएँ । 

वास्तवमा संगीत बच्चुकैलाशको जीवन र आत्मा दुवै हो ।

० ० ०

रेडियो नेपालको स्थापना अर्थात् २००७ देखि २०२० को दशकसम्म थुप्रै संगीतकर्मी उदाए तिनैमध्येका एक हुन् बच्चुकैलाश । यो समयका थुप्रै संगीतकर्मीका सिर्जना अहिले कालजयी छन् । तर यो छिमलका संगीतकर्मीमध्ये बच्चुकैलाश, पुष्प नेपाली र अमर गुरुङ मात्रै हुन् संगीतका तीनवटै विधा (लेखन, संगीत र गायन) मा अब्बल । 

उनले आफ्नो जीवनकालमा मुस्किलले ६० वटा गीत गाएका छन् । अक्सर आफ्नै शब्द, संगीतमा गीत गाउने बच्चुकैलाशले मबिबि शाह, हेम हमाल, पीएल सिंह, लक्ष्मण लोहनी, श्रीधर खनाल, शान्ति शाह, क्षेत्रप्रताप अधिकारी आदिका गीत तथा संगीतमा गाए । 

सम्झौता चाहेनन् 
०४२ सालमा भुपेन्द्र रायमाझीको भेट रेडियो नेपालमा बच्चुकैलाशसँग भेट भयो । उनी त्यो बेला गिटारिस्टका रूपमा रेडियो नेपालको वाद्यवादन शाखामा काम गर्थे । कलकत्ता (कोलकाता) गएर गीत रेकर्ड गर्ने बच्चुकैलाश बिरलै मात्रै रेडियो नेपालमा गीत रेकर्ड गर्थे । कलकत्तामा गएर पटकपटक गीत रेकर्ड गरेकाले उनलाई गीत–संगीतको पर्याप्त ज्ञान थियो । त्यसैले उनले रेडियो नेपालमा पनि म्युजिक एरेन्जर आवश्यक छ भनेर भने । त्यसपछि ०४५ मा म्युजिक एरेन्जरको पद खडा गरेर विज्ञापनमार्फत मागेर संगीत संयोजक राख्न सुरु गरियो । “त्यो बेलासम्म नेपालमा म्युजिक एरेन्जर भन्ने शब्द नै कसैले प्रयोग गर्दैन थियो । नोटेसन लेख्ने व्यक्ति भनिन्थ्यो,” भुपेन्द्र भन्छन्, “सायद बच्चु सरले म्युजिक एरेन्जर आवश्यक छ भनेर नभन्नु भएको भए रेडियो नेपालमा संगीत संयोजकको पद कहिलेसम्म खडा हुँदैन थियो थाहा छैन ।” 

गितार बजाइरहेका भुपेन्द्रमा संगीत संयोजनको क्षमता पहिचान पनि बच्चुकैलाशले नै गरेको भुपेन्द्र सम्झिन्छन् । 

बच्चुकैलाशले भुपेन्द्रको चलचित्र ‘मनकामना’ मा ०४७ एउटा गीत गाए, फूल टिपेर मायाको...’ । 

यो गीत गाउन लगाउन पनि भुपेन्द्रलाई त्यति सजिलो भएको थिएन । उनले गीत तयार पारे । ट्र्याक तयार पारेर सुनाए । र केही अभ्यास पनि गराए । तर पनि बच्चुकैलाश अनकनाइरहेका थिए । 

भुपेन्द्र बम्बईको बम्बे ल्याबमा पुगे म्युजिक ट्र्याक बनाउन । मनोहर सिंहले म्युजिक ट्र्याक बनाउन थाले । कलकत्तामा बच्चुकैलाशका गीतको म्युजिक ट्र्याक मनोहर सिंहले नै बनाउँथे । भुपेन्द्रले मनोहरलाई भनेँ, ‘फूल टिपेर मायाको...’ बच्चु दाइले गाउनुहुन्छ होला त्यहीअनुसार बनाउनु पर्ला है । 

मनोहरले बच्चुले गाउने भए यो हाई स्केल हुनसक्छ कन्फर्म गर है । 

भुपेन्द्रले भने मैले बच्चु दाइको घरमा गएर गीत सिकाइसकेको छु । तर उहाँले गाउन– नगाउने टुंगो छैन । म्युजिक ट्र्याक बनाएर लान्छु तर गाउनु भएन भने म अलपत्र पर्ने भएँ । 

मनोहरले म फोन गर्छु भन्दै त्यहीँबाट बच्चुकैलाशलाई काठमाडौं फोन गरेर भनेँ, “बच्चु भुपेन्द्रले त तिमीलाई भनेर ट्र्याक बनाउँदै छ । स्केल हाइ छ तिमीलाई गाह्रो पो हुने हो कि ? विचार गर है ।”

बच्चुकैलाशले मनोहरलाई भनेँ, “ए त्यो केटो त्यहाँ पो आइसक्यो । देऊ त म कुरा गर्छु ।”

बच्चुकैलाशले भुपेन्द्रलाई भनेँ, ‘म एकपटक फेरि हेर्छु ल, मैले अस्ति प्राक्टिस गरेको थिएँ अलि स्केल हाई भएको जस्तो छ ।’

एकछिन पछि उनले फेरि फोन गरेर भने, “स्केल अलि हाई भयो लो गरेर ट्र्याक बनाऊ ल ।” 

बम्बे ल्याबबाट म्युजिक ट्र्याक बनाएर ल्याएपछि बच्चुकैलाशले काठमाडौंको सिम्फोनिक स्टुडियोमा पुरानै तरिकाले एकै टेकमा रेकर्ड गरे । त्यसअघि उनले नेपालमै ‘तिमीले त होइन तिम्रा आँखाहरूले...’ ले लगायत केही गीत रेकर्ड गरेका थिए । जुन लोकप्रिय पनि भए । 

२५ वर्ष भयो उनले चटक्कै गीत गाउन छाडेको । रेडियो नेपालमा गीत रेकर्ड गर्ने/गर्ने भन्दाभन्दै पनि उनले गाएनन् । 

तर किन ? 

“ठ्याक्कै कारण त म भन्न सक्दिनँ । कारण उहाँले पनि कहिल्यै भन्नु भएन । तर मेरो विचारमा कलकत्ता र बम्बई गएर त्यहाँको क्वालिटीमा गीत गाउने भएकाले नेपालको क्वालिटीमा गाउन नरुचाएजस्तो लाग्छ,” भुपेन्द्र भन्छन्, “हेबी अर्केस्ट्रामा उच्च क्वालिटीमा काम गरिसकेको व्यक्तिलाई सम्झौता गरेर गाउन मन लाग्दैन । बम्बई गएर काम गरिसकेपछि मलाई पनि यहाँ काम गर्दा गरौं कि नगरौं भन्ने हुन्छ । हरेक गीत राम्रा गाइसकेको मान्छेलाई जान्दाजान्दै सम्झौता गर्नचाहिँ पीडा नै हुन्छ ।”

केहीले भोकल कर्डमा समस्या देखिएको भने पनि भुपेन्द्र त्यसमा सहमत छैनन् । बच्चुकैलाश भन्ने गर्थे, “मान्छे जति उफ्रे, कुदे र थाकेर आए पनि बडी थाक्छ तर स्वर थाक्दैन । स्वर भनेको छुट्टै हो ।”

रेडियो नेपालमा ठूलो गुटबन्दी थियो । त्यसको लफडामा पर्न नचाहने र विवादमा फस्न नचाहने स्वाभावका कारण पनि उनले उमेर छँदै गीत गाउन छाडेको हुनसक्ने भुपेन्द्र बताउँछन् । 

“नातिकाजी, शिवशंकरहरू सिनियर हुनुहुन्थ्यो । तर उहाँहरूभन्दा जुनियरले पनि उहाँहरूलाई तिमी भन्ने र त्यहीअनुसारको व्यवहार गर्थे । तर बच्चुकैलाश दाइलाई त्यस्तो मन पर्दैनथ्यो । त्यसैले उहाँलाई चित्त बुझेन भने अगाडि नै भन्दिनुहुन्थ्यो,” भुपेन्द्र भन्छन्, “चुक्लीबाज र छिर्के लगाउनेहरूको संगत र टसलमा रहनुभन्दा टाढै बसुँ भन्ने पनि लागेको जस्तो लाग्छ । तर संगीतप्रति नै वितृष्णा भएको भने म पाउँदिनँ । अहिले पनि मुडमा गाउने, बजाउने र कम्पोजिसन गरिरहनुभएको हुन्छ ।”

भुपेन्द्र भन्छन्, “उहाँको सिङगिङ स्टाइल न कसैले कपी गर्न सक्यो न त्यो तहको गायक नै जन्मियो । थाहा छैन अब उहाँले गाउनु हुन्छ अथवा हुन्न तर उहाँको स्वरको तरङ्गचाहिँ जुगजुगसम्म गुञ्जिरहनेछ ।” 

घाँटीको एलर्जी 
नारायणगोपालको मृत्यु हुनुभन्दा ६ महिनाअगाडि गीतकार राजेन्द्र थापाको भेट बच्चुकैलाशसँग नातिकाजीको घरमा भयो । त्यो भेटमा नातिकाजीले बच्चुकैलाशलाई राजेन्द्र थापासँग चिनजान गराइदिए । 

बच्चुकैलाशले राजेन्द्रलाई भने, “मैले ३० वर्षदेखि तपाईंलाई खोजेको तर आजसम्म कसैले भेटाएन ।” 

केही समयपछि राजेन्द्र थापाको गीत बच्चुकैलाशले गाउने भए । “नारायण वलीमार्फत फेरि भेट भयो बच्चुदाइसँग । दुई–तीन बसाइ पनि भयो । नारायण वलीको संगीतमा गीत गाउने तय भयो । तपाईंको गीतका लागि मैले गला तयार पारेर राखेको छु भन्नुहुन्थ्यो,” राजेन्द्र बच्चुकैलाशलाई सम्झिन्छन्, “तर पछि उहाँले भन्नुभयो रियाज गर्दा छातीमा समस्या देखियो । गाउँदा घाँटीको एलर्जी हुन्छ त्यसैले ३० वर्षदेखि खोजेको मान्छेको गीत गाउन पाइनँ । मेरो गीत उहाँले गाउन पाउनु भएन ।” 

पछि राजेन्द्र थापासँग ०५६ सालमा एउटा एल्बम नै गर्ने तयारी भएको थियो । संगीतकार नारायण वलीले संगीत गरेका थिए । तर बच्चुकैलाशलाई गीतको एउटा शब्द चित्त बुझेन र त्यो सच्याउन आग्रह गरेको नारायण सम्झिन्छन् । “तर पछि त्यो एल्बम विभिन्न कारणले पूरा भएन । बच्चुदाइसँग काम गर्ने मेरो चहाना अधुरै रह्यो । त्यस यता उहाँले गीत गाउनु भएको छैन,” नारायण भन्छन् । 

परिबन्द
बच्चुकैलाश गाउँदा–गाउँदै र शिखरमा रहँदा–रहँदै अचानक गाउन छाडे । कारण ? केहीले खुराफाती समकालीन, केहीले भोकल कर्ड अथवा घाँटीको इन्फेक्सन, केहीले गुणस्तरमा सम्झौता गर्नुपर्ने कारण त केहीले घरायसी कारण भएको बताए । तर यसबाहेक अर्को कारण पनि रहेको पुराना केही स्रष्टा बताउँछन् । 

उनको स्वरमा जादु थियो । त्यसले संगीतप्रेमी जोकोहीलाई लठ्ठ बनाउँथ्यो । उनको जादुमयी स्वरको विशेषता पनि त्यही नै हो । 

माथि उल्लिखितबाहेक फरक कारण रहेको बताउने स्रष्टाहरू भन्छन्,  “उनको स्वरमा लठ्ठ हुनेमध्ये राणा खानदानकी एक महिला पनि थिइन् । सानै उमेरमा विवाह भएकी उनका श्रीमानको देहावसान भइसकेको थियो । उनी यति लठ्ठ भइछिन् कि उनले अब तिमीले मेरा लागि मात्रै गाउनुपर्छ भनिन् । सार्वजनिक कार्यक्रम र गीत रेकर्ड गर्दा त्यो अरूका लागि हुनेभन्दै ती महिलाले उनलाई त्यसपछि गीत रेकर्ड गर्न र सार्वजनिक कार्यक्रममा गएर गाउन दिइनन् । र तिनै महिलाको परिबन्दमा परेर बच्चुकैलाशले ३० को दशकको सुरुदेखि नै गीत रेकर्ड गर्न छाडिदिए ।”

यी गीत र जीवन
‘टाढा टाढा जानुछ साथी...’, ‘कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न...’, ‘बहकिँदो मन तँ बहकी नजा ...’, ‘तिमीले त हैन तिम्रा भाकाहरूले...’, ‘बिर्सेको भए बितेका कुरा...’, ‘पहरमा बास बसी...’, ‘मायाले यो मायाले...’ ‘गोरेटो हेर्दै...’ ‘बारीभरी कति राम्रो तोरी फुलेको...’, ‘बादल पारि संसार छ र..., लगायत करिब ६० गीतका सर्जक बच्चुकैलाश बस्नेतको जन्म विसं १९९५ साउन १५ गते खोटाङमा भएको थियो । 

उनी जन्मिएको १३औैं दिनमा आमाको मृत्य भयो । उनी मातृवात्सल्यबाट वञ्चित भए । बुवाले कान्छी आमा लिएर हिँडेपपछि बुबाको माया पनि गुमाए । टुहुरो बनेका उनी काठमाडौं मैतीदेवीस्थित आफन्त पर्ने बस्नेत परिवारमा बसेर संघर्ष गरे । संगीतको शिखरमा पुगेका उनलाई नजिकबाट चिन्नेहरू साँच्चै बच्चुकैलाश संगीतको कैलाश पर्वत भएको बताउन हिचकिचाउँदैनन् । 

पहिलो श्रीमती शान्ति शाह (गीतकार) बाट सन्तान सुख नमिलेपछि उनले स्वेच्छाले भन्दा पनि आफन्त तथा साथी पुष्प नेपालीको अनवरत आग्रहपछि करिब ५५ वर्षको उमेरमा दोस्रो विवाह गरे । दोस्री श्रीमतीबाट एक छोरा र एक छोरी भए । ८२ वर्षको उमेरमा अहिले बच्चुकैलाश काठमाडौंको भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटअगाडिको गार्डेनको उत्तरतर्फको घरमा जीवन बिताइरहेका छन् ।  

सिङ्गो संस्था 
संगीतकार लक्ष्मण शेषलाई बच्चुकैलाश अद्भूत गला भएको गायक लाग्छ । संगीत गर्ने क्षमता पनि त्यत्तिकै भएका बच्चुकैलाश आफैंमा नेपाली संगीतको संस्था हो भन्ने उनको ठम्याइ छ । 

तर यस्तो अद्भूत प्रतिभावान् व्यक्तिको जीवन किन यति धेरै रहस्यमय छ ? उनी प्रश्न गर्छन् । 

उनीसँग रहेको संगीतको अद्भुत भण्डारबाट नयाँ पुस्ताले केही सिक्न पाए त्यो अबको पुस्ताका लागि ठूलो उपलब्धि हुने लक्ष्मण बताउँछन् ।

मुहार चित्र: राजन काफ्ले  (छपक्कै मनमा बसेकाहरुबाट) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC