site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
नेतृत्वविहीन मुलुक 

मुलुक नेतृत्वहीन भएको छ भन्ने पत्याउन गाह्रो हुन्छ । यति धेरै नेता भएको मुलुक नेपालमा नेतृत्व छैन भन्नु अपत्यारिलो नै हो । गल्ली गल्लीमा नेता भेटिन्छन् । कांग्रेसका हुन् कि कम्युनिस्टका सबैतिर नेतैनेता छन् । अरु राजनीतिक दलमा पनि नेता पगरीधारीको कमी छैन । रेडियो, टेलिभिजन, अनलाइन वा पत्रपत्रिका हेरियो वा सुनियो भने ‘प्रभावशाली’ नेता उपाधि दिइएका बल्ग्रेल्ती ‘मान्छे’ सुनिन्छन् । सायद, यति धेरै घोषित नेताहरुको मुलुकको श्रेणीमा अनुपातका आधारमा नेपाल पहिलो दर्जामा नै दरिन्छ होला । यो गिनिज बुकको विषय भयो तर छिमेकी मित्र चीनको ‘अनाच्छादित’ भूमिकाले चाहिँ नेपाल नेताहीन भएको पुष्टि गरेको छ ।   

बर्खे च्याउ जसरी नेतैनेता भएको नेपाललाई नेताहीन भन्नु अबौद्धिक कुरा मानिन सक्छ । तर, नेता भनेको के हो, वा को हो र त्यो कस्तो हुन्छ ? संस्कृत सूत्रमा भनिन्छ ‘नयतिति नेता’, के हाम्रो मुलुकमा यो भनाइ अहिलेको सन्दर्भमा साकार छ त ? अन्य भाषा र संस्कारमा पनि नेताको विशेष गुण किटानीबद्ध छ । ‘नयतिति’ भनेको  सँगै लिएर हिँड्ने हो । आज नेपाली नागरिकलाई समुच्चा सँगै लिएर हिड्ने भरपर्दो नेता को  छ त ? आफैसँग प्रश्न गर्नोस्, तपाईँ कोसँग यस प्रकार पूरै भर पर्न सक्नुहुन्छ ?

सञ्चार माध्यममा फलानो दलको प्रभावशाली नेता भनिने चलन छ । प्रभावशाली भनेको के हो र उसले आफ्नो दलमा कति प्रभाव राख्छ भन्ने हेक्का नराखी मन परेकालाई प्रभावशाली पगरी हामी आफै गुथाई दिन्छौँ । यथार्थ चाहिँ नेपाली कांग्रेसमा दुई तीनजना, अझ स्पष्टसँग भन्दा कथित शीर्षले जे भने वा जे चाहे त्यसैको प्रभाव र निर्णय सिँगो पार्टीमा लागू हुन्छ । अरु दलको हबिगत पनि यही हो । 

KFC Island Ad
NIC Asia

सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वा स्थायी समिति बैठकको अत्यधिक बहुमत सदस्यले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा मागे । धेरैलाई लाग्यो यति ठूलो संख्याले राजीनामा मागेपछि ओली पदमुक्त हुने भए । लाग्नेहरुले यस्ता प्रभावशाली ‘नेता’ जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम समेत पार्टीको संस्थाले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीको खैरियत छैन । तर, अन्तिममा ती सबै विवाद सुल्झाउने जिम्मा दुई अध्यक्ष ओली र दाहाललाई दिएर अरु रमिता हेर्न थाले, प्रभावशालीको अर्थ कस्तो रह्यो ? 

नेता सम्बोधन हामीले मनपर्दो, रमाइलो र हल्का रुपमा प्रयोग गरेका छौँ । उसको पदीय पहिचानको कठिनाइले हैसियतभन्दा माथि हामी उसलाई नेता भनिदिन्छौँ । नेता भनिएको व्यक्ति पनि खुसी हुने र हैसियतको खोजीको झन्झटबाट प्रस्तोतालाई समेत सहज मुक्ति मिल्ने कारण हामी शब्दको गाम्भीर्य वा पहिचानको बेवास्ता गरिरहेका छौँ । यस्तो बेवास्ताले कथित नेतामा एकप्रकारको भ्रम वा दम्भ भरिने नै भयो ।

Royal Enfield Island Ad

कुनै उपायबाट झुण्ड वा गिरोह बनाएर हिँड्ने राजनीतिकर्मी नेता होइन । नेता राजनीतिमा मात्र हुने पनि होइन, सामाजिक, सांस्कृतिक, प्रविधि र वैज्ञानिक हरेक विषयको नेता हुन्छ । राजनीतिले सबै विषयलाई प्रभावित गर्ने हुँदा हाम्रो दिमागमा नेता राजनीतिक व्यक्तिमात्र हो भन्ने सोच गढेको छ । कुनै पनि विषयको नेता समय सन्दर्भमा समाजलाई उद्वेलित, प्रभावित र भरोसा दिनसक्ने व्यक्तित्व वा संस्था हो । को वा के छ, अहिले नेपालमा त्यस्तो ? 

नेता र नेतृत्वका दुई आधार छन् । पहिलो व्यक्ति, व्यक्तित्व र दोस्रो संस्था । आस्थाहरुको भिन्नताबीच समाजले सधैँ आफ्नै आस्थाको चमत्कारी (करिस्मेटिक) व्यक्तित्व पाउँदैन तर भरोसालायक नेता चाहिँ पाउन सक्छ । दुनियाँको रीत यही हो । नेपालकै सन्दर्भमा फर्किएर हेरौँ – बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले आर्जन गरेको नागरिक विश्वासमा आस्थामात्रै कारण थिएन, विविध विश्वसनीय प्रभावको स्वीकार्य थियो ।

ती नेताहरु प्रभावशाली व्यक्ति, व्यक्तित्वमात्र रहे । उनीहरुले जीवनभर नेतृत्वको अर्को पाटो नागरिकको सार्वभौम संस्था निर्माणमा संघर्ष गरे । चेतनाको त्यही बलमा अहिले संस्था त पाइयो, बने, बनाइए, तर के ती संस्था नेतृत्वको भरोसा लायक बनेका छन् वा छैनन् ? प्रश्न यही हो । प्रश्नको यहीबीचमा नेपालीले व्यक्तित्वको विश्वसनीय नेतृत्व पाएका छन् कि संस्थाले त्यो स्थान ग्रहण गरेको छ त ? 

व्यक्ति, व्यक्तित्वको नेतृत्व सर्वजान्ने कुरा भयो । त्यस्तो व्यक्तित्व वा नेता सरकारमा रहोस् वा नरहोस् तर ऊ राजनीतिको मियो हो भन्ने विश्वास गरियोस् । को छ, अहिले नेपालमा त्यस्तो नेता ? यस्तो नेतृत्वहीनतामा अर्को विश्वास संस्थाप्रति हुने हो । त्यस्ता संस्था के र कुन् हुन् त ? अधिनायकवादी र तानाशाही शासनको कुरा बेग्लै तर लोकतान्त्रिक पद्धतिमा संसद्, सेना, नागरिक समाजको तह, प्रधानमन्त्री र राष्ट्रपति स्वयं संस्था वा नेता र समाजका भरोसा हुन्, बन्नुपर्छ । 

नेता व्यक्तित्व त छैन, पाइएन तर आफैँले आस्था मिसाएर पूर्वजको लामो योगदानको शृंखलामा स्थापित गरिएका संस्थाहरु पनि निकम्मा बनाइनु भरोसाको सम्बल ढल्नु हो । संसद् जनताको चाहनाविपरीत सरकारलाई तालीको समर्थन दिने थलो बने, बनाइएको छ । आदर्शको गफ गर्न नेपालमा कोही कम छैन । अर्को जुनसुकै दलबाट निर्वाचित भए पनि प्रधानमन्त्री समुच्चा नागरिक वा सबै आस्थाको भरोसा र नेता हुनुपर्ने हो । अहिले त्यही प्रधानमन्त्री संस्थाको दुर्गतिले नेता सुहाउँदो भएन । 

राष्ट्रपति राष्ट्रको अभिभावक र संविधानको संरक्षक हुनुपर्ने जायज अपेक्षा तोडेर दल विशेष र दलभित्र पनि गुटको संरक्षक भइदिएपछि त्यो संस्थाको नेतृत्व विश्वास पनि भत्किएको छ । मुलुक यति धेरै संकटले घेरिएको बेला नागरिक समाजले लिने नेतृत्व पनि गतिहीन छ, किंकर्तव्य विमूढ छ । ‘कथित’ बौद्धिक वर्ग आस्थाले विभाजित र लोभलालचको वशीभूत छ । स्वतन्त्र केही बोलेका छन् तर सत्ताको दम्भका अघिल्तिर तिनको बोलाइ अरण्य रोदन साबित भएको छ । 

समग्रमा हेर्दा, जतिसुकै अप्रिय लागे पनि अहिले हाम्रो मुलुक नेता र नेतृत्वहीन छ । नेतृत्वको दायित्व न व्यक्तित्व र पदीय गरिमाले थेग्यो न संस्थाहरुले नै वहन गर्नसके । यसको अर्थ राष्ट्रिय असफलता हो । कहीँ पनि भरोसा र आशा टेकाउने ठाउँ रहेन । स्वर, लयका उद्भट पर्याय नारायण गोपालले गाएजस्तो–‘अँध्यारो नै देखिन्छ है आँखा खोली हेर्दा’ गीतको सन्देश र मुलुकको अवस्था उस्तै छ । यस्तो अँध्यारोमा मुलुकको भविष्य कुन जोखिममा छ धेरै भनिरहनु पर्दैन । 

उदाहरणका लागि, यहाँ नेता हुन्थे भने छिमेकी मित्रराष्ट्र चीनका प्रतिनिधिले यतिधेरै जुत्ता फटाउनु पर्ने थिएन । नेकपाको आन्तरिक विवाद ‘कथित’ नेताले आफैँ मिलाउन वा समाधान दिनसक्थे ।  नेपालका लागि चिनियाँ राजदूत चिनियाँ नेताको सन्देश र दबाब लिएर शीतलनिवासदेखि पटकपटक अरुका घरघरै धाउनुपर्ने थिएन ।

आफैँले गराइदिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतालाई जोगाउन वा सरकार धानी दिन चीनको दौडधुपले नेता विहीनताको स्पष्ट सन्देश दिएकै छ । राष्ट्रपतिदेखि नेकपाका सबै शीर्षहरु चिनियाँ दबाबपछि सामसुम हुँदैगएको छर्लङ्गै छ । अब पनि पहिलेजस्तै । परिणाम त्यही हो । 

चीनले चौतर्फी असफल सरकार र दललाई बोक्न नेपाली जनतालाई बाध्य बनाएको छ । झन्डै दुईतिहाइ सांसद उसको संरचनाको नेकपासँगै छ । अर्को दल सरकारमा जाने सम्भावना वा वैधानिकता अहिलेलाई छैन । नेकपाको वर्तमान सरकार असफल साबित हुँदा पनि त्यही दलबाट अर्को सरकार बन्ने सम्भावना र त्यसले जनअपेक्षालाई केही मर्यादा राख्छ कि भन्ने नेपाली नागरिकको अपेक्षालाई चीनले बारम्बार किन ठेस पुर्याई रहेछ ? सोचियोस् ।        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro