site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
नेपाली क्रिकेट एकैरातमा सुधार हुँदैन

काठमाडौं । कोरोनाका कारण जारी लकडाउनले गर्दा नेपालमा क्रिकेटका गतिविधिहरु शून्य छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण नेपाली क्रिकेटका गतिविधि प्रभावित भए । नेपाल क्रिकेट संघ क्यानले नयाँ नेतृत्व पाएसँगै क्रिकेटमा सकारात्मक विकास हुने अपेक्षा थियो । यसबीचमा क्यानले केही योजना पनि अघि सारेको थियो । तर, कोरोनाको संक्रमणका कारण नयाँ प्रशिक्षक नियुक्ती, घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सबै ठप्प छन् । अब नेपाली क्रिकेटको आगामी यात्रा कस्तो होला, क्यानका योजनाहरु के छन् भन्नेलगायतका विषयमा बाह्रखरीका जितु साउँदले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग गरेको कुराकानीको सम्पादित अंशः

क्यानमा आएपछिको अवस्था कस्तो छ, अहिले क्यानले के काम गरिरहेको छ ?

क्यानले गर्नुपर्ने नियमित कामहरु, अन्तर्राष्ट्रिय सहभागितालगायत क्यान व्यवस्थापन र नियुक्तिका काम भइरहेका छन् । हामी केही राम्रो गर्ने प्रयासमा थियौं । तर, पछिल्लो चारमहिना कोरोनाभाइरसका कारण हामी तीव्र गतिमा अगाडि बढ्न सकिरहेका छैनाैं । यसले भर्खर क्रिकेटमा माथि उठिरहेको हाम्रो जस्तो देशलाई दीर्घकालीन असर पार्ने देखिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस संक्रमणले विश्वभर नै असर पारेको छ । तर, विकसित देशहरुले आन्तरिक प्रयास गरिरहेका होलान् । तर, हामी विभिन्न कारणले पछि परेका छाैं । संघमा नयाँ कमिटी भर्खर आएको छ । स्थापित हुने समयमा यस्तो विपद् आइलाग्यो । हुन त हामीले शुन्यबाटै सुरु गर्नुपर्ने थियो र अबको परिस्थिति पनि त्यस्तै आएको छ । 

कोरोनाकै बीचमा वेस्ट–इन्डिज इंग्ल्यान्डले टेस्ट सिरिज खेल्दै छ । हाम्रोमा अहिलेसम्म खेलाडीले आधिकारिक रुपमा प्रशिक्षण गर्न पाएका छैनन् । यसका लागि क्यानको योजना के छ ?

अब विदेशको कुरा गर्ने हो भने उनीहरुको सरकारले खेलकुद र खेलाडीको महत्व बुझेको हुन्छ । तर, हाम्रोमा भने खेलकुद महत्वको सबैभन्दा अन्तिम श्रेणीमा सरकारले राखेको पाइन्छ । त्यसैले हामीले प्रशिक्षण गर्न भनि राखेपमा पत्राचार गरेको एक साता बितिसकेको छ । आजसम्म कुनै प्रतिक्रिया आएको छैन । राखेपले अनुमति दिए, हामी तत्कालै प्रशिक्षण सुरु गर्ने तयारीमा छौं । 

पछिल्लो समय प्रशिक्षकको विषयमा निकै चर्चा भयो । क्यान त्यसमा असफल भएको हो ?

हामीले सम्भावित व्यक्ति भरेर राखेका थियौं । त्यो नाम कसरी फुत्क्यो थाहै भएन । एक नाम पाए मिडियाहरु त्यसैको पछि लाग्दा रहेछन् । हामीले धेरै व्यक्तिलाई सम्भावित प्रशिक्षकको सूचीमा अझै पनि राखेका छांै । तर, अहिले भन्नसक्ने अवस्था छैन । भारतलगायत तेस्रो मुलुकका प्रशिक्षकहरु अझै पनि हाम्रो सम्भावित सूचीमा छन् । 

यो देशको प्रशिक्षक भए हामीलाई सहज हुनसक्छ भन्नेमा क्यानको आकलन के छ ?

देशले प्रशिक्षक राम्रो भन्ने हुँदैन । उसको प्रशिक्षण राम्रो हुनुपर्‍यो । जसले नेपाली क्रिकेट माथि उठ्न सकोस् । यसअघि पनि भारतका प्रशिक्षक थिए । उहाँबाट हामीले धेरै उपलब्धी हासिल गर्न सकेनाैं । श्रीलंकामा क्यानडाबाट आएका प्रशिक्षकले नेपाली क्रिकेटलाई राम्रो नतिजा दिएको देखिन्छ । त्यसकारण देशको नामभन्दा पनि प्रशिक्षकको प्रोफइल कस्तो छ भन्ने विषय महत्वपूर्ण हो । 

क्यानले खेलाडी वर्गीकरणको विषय उठाएको थियो । त्यो कहाँसम्म पुग्यो र यसबीचमा सार्वजनिक गर्न केले रोक्यो ?

खेलाडीको सबै वर्गीकरण लगभग सकिएको छ । अब कमिटीको औपचारिक भेला गर्नेवित्तिकै हामीले त्यो सार्वजनिक गर्नेछाैं । वर्गीकरणका लागि कमिटी गठन गरेका थियाैं । कमिटीले सबै विवरण तयार पारिसकेको छ । 

नेपाली क्रिकेट विकासका लागि घरेलु व्यवसायिक टी–ट्वान्टी क्रिकेट लिग मात्र भइरहेका बेला क्यानले के कस्तो योजना बनाएको छ ?

हामीले यस वर्षदेखि पुरुषतर्फ दुईदिवसीय प्रतियोगिता गर्ने योजना बनाएका थियाैं । महिलातर्फ कम्तीमा पनि ३५ ओभरको एकदिवसीय प्रतियोगिता गर्ने गत वर्ष नै योजना बनाएका थियौं । असारभित्र प्रतियोगिता गरिसक्ने भन्ने आन्तरिक तयारी भइसकेको थियो  । १० वटै टोली नसके पनि केही ए, बी, सी गरी टिमको निर्माण गर्ने वा तीन विभागीय र दुई अन्य टोली गरी पाँच वटा गरेर दुईदिवसीय प्रतियोगिता गर्ने योजना थियो । 

यता महिलाको हकमा थोरै भएपनि टी–ट्वान्टी प्रतियोगिता भइरहेकाले एक एकदिवसीय प्रतियोगिता गर्ने योजना थियो । तर, अब यस योजनालाई अर्को वर्षको क्यालेन्डरमा परिमार्जन गरेर प्रतियोगिता गर्छाैं । 

पछिल्लो समय आईसीसीसँग क्यानको सम्बन्ध कस्तो छ ? 

आईसीसीसँग सम्बन्ध बिग्रिने कुनै कारण छैन । हामी आईसीसीले भनेअनुसार नै क्यानमा आएका हाैं । क्यानको आन्तरिक फुकुवा भइसकेको छ र पूर्वफुकुवाका लागि आईसीसीको बैठक बस्न सकेको छैन । बैठकपछि क्यान निलम्बनको पूर्ण फुकुवा हुने आशा छ । 

राखेप र प्रधानमन्त्री–कप क्रिकेटको विषयमा भनि दिनूस् न !

यस वर्ष प्रधानमन्त्री–कप क्रिकेटका लागि छुट्टाएको बजेट देखेर पूरै क्यान कमिटी नै अचम्ममा परेको छ । गत वर्ष पुरुषका लागि ७० लाख विनियोजन गरेको थियो । यस वर्ष ४० लाख मात्रै छ । त्यस्तै महिलाका लागि पनि बजेट घटेको छ । 

सुन्नमा आएको यस वर्षको प्रधानमन्त्री कपका लागि राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई एक करोड हाराहारीको प्रस्ताव गरेको थियो । 

कोरोनाको कारण देखाउँदै प्रतियोगिताका लागि पुरुषका लागि ४० र महिलाका लागि ३० लाख छुट्टाएको छ । आर्थिक कुराको विषयमा राखेपसँग छलफल भएको छैन । तर, पूर्वाधारको विषयमा भने पुरानै पूर्वाधारलाई अगाडि बढाउने भन्ने निर्णय भएको छ । 

लकडाउन पूर्व क्यानले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता घरेलु मैदानमा आयोजना गर्ने योजना थियो ?

नामिवियासँगको सिरिजपछि राष्ट्रपति आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने योजना थियो । जसमा श्रीलंका ए, बंगलादेश ए लगायत कुनै अन्य एक हाम्रोस्तर वा हाम्रोभन्दा माथिल्लो तहको एकदिवसीय मान्यता पाएको टोलीलाई आमन्त्रित गरेर चार देशको प्रतियोगिता गर्ने योजना थियो । त्यसका लागि प्रायोजकसँग समेत छलफल भइसकेको थियो । नेपालसँग खेल्न धेरै देश इच्छुक छन् । 

त्यस्तै अफ्गानिस्तान जुनसुकै बेला पनि नेपालसँग खेल्न तयार छ । भारतका रणजी ट्रफी खेल्ने टिमसँग पनि छलफल अगाडि बढेको थियो । तर, त्यो कोरोनाका कारण रोकिएको छ । कुरा मात्रै धेरै गरेजस्तो भएको छ । 

कहिलेकाँही खेलाडी र क्यनबीचको सम्बन्धको विषयमा चर्चा हुने गरेको छ । क्यानसँग खेलाडीको सम्बन्ध कस्तो छ ?

क्यान र खेलाडीबीचको सम्बन्ध खराब छ भन्ने विषय मिडियाले मात्र अगाडि ल्याएको हो । हाम्रोबीच समधुर सम्बन्ध छ । हामी आएको पहिलो दिनदेखि खेलाडीका लागि गर्नुपर्ने कार्य गर्दै आएका छौं । हाम्रो हैसियतअनुसारको खेलाडीका लागि निर्णय पनि गरिरहेका छौं । कोरोनामा समस्यामा परेका खेलाडीका लागि भन्दै आईसीसीसँग समेत सहयोगको आह्वान गरेका छौं । तर, उताबाट कुनै प्रतिक्रिया आएको छैन । 

लकडाउन खुल्ने बित्तिकै क्यानले गर्ने काम के–के हुन् ?

पहिलो विषय त प्रशिक्षण सुरु गर्नेछौं । त्यसपछि घरेलु प्रतियोगितालाई कार्यान्वयन गर्नतर्फ लाग्ने छौं । घरेलु प्रशिक्षकका लागि विज्ञापन खोल्दै नियुक्त गर्नेछाैं । अन्तर्राष्ट्रिय प्रशिक्षक नियुक्त गर्नु लकडाउनपछि क्यानको पहिलो कार्य हुनेछ । 

अन्तमा, तपाईंको केही भन्नु छ ?

समर्थहरुलाई मेरो आग्रह, हामी सकारात्मक सोचाैं । विगतका केही वर्ष क्यान जुन अवस्थामा थियो । त्यसलाई हेर्दै तत्कालै क्यानलाई सम्झिँदै ठूलो उपलब्धि जोख्न गाह्रो छ । हामी संघर्ष गरिरहेका छौं र संघर्षले नै यहाँसम्म पुगेका छाैं । हामी आफ्नो प्रयास, मिहनत, लगाव र क्षमताले अगाडि बढाउँछौ भनेर लागेका छौं । 

अहिले नै आत्तिनु पर्ने अवस्था छैन । हेड–टेल गरेजस्तो एकै रातमा परिवर्तन हुने होइन । त्यसैले समर्थक र समाजलाई धैर्यधारण गरेर नेपाली क्रिकेट विकासका लागि आफ्नो कर्तव्य निर्वाह गराैं र अधिकारमात्र नखोजौं भन्ने आग्रह गर्दछु ।
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ०८:११
प्रतिक्रिया दिनुहोस्