site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पाठक सर्वोपरि कि लेखक ?
Sarbottam CementSarbottam Cement

केही दिनअघि कतै लेखेको थिएँ, ‘आफ्ना लागि लेख्नु त आत्मरति हो, स्वमैथुन । आफैं उम्लियो, आफैं सेलायो । त्यहाँ सम–भोग हुँदैन ।’ 

केही लेख्नासाथ कसैले पढिदिए हुन्थ्यो भन्दै छट्पटाउने लेखकहरूले समेत ‘म त स्वान्तःसुखाय आफ्नै लागि लेख्ने हुँ’ भनेको धेरै पटक सुनेपछि प्रतिवाद गर्दै मलाई भन्न मन लागेको छ– त्यो विरोधाभास हो । निजी डायरीहरूबाहेक अरु सबै कुरा सार्वजनिक खपतका निम्ति लेखिन्छन् । पाठकका निम्ति लेखिन्छन् ।

सिर्जना वा कला आफ्ना निम्ति रचिन्छन् वा अरुका निम्ति ? सदियौंदेखि बहसको विषय हो यो । विख्यात विद्वान्हरूले समेत सिर्जना पहिले आफ्नै लागि हुन्छ वा गरिन्छ भनेका छन् । साहित्य त्यस्तै एक विधा हो । यसलाई आत्मतुष्टिको माध्यम पनि मानिन्छ । तर मलाई लाग्छ– लेखिएको कुरा, अझ छापिएको कुरालाई कुनै एक व्यक्तिको कन्तुरभित्रको पोको भन्न मिल्दैन । छाप्नु भनेकै त्यो पोको फुकाउनु हो । अरुले हेरून्, पढून् भन्नु हो । आफ्ना धारणाहरू अरुले पनि बुझून् भन्नु हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तो अपेक्षा लेख्नासाथ जन्मिन्छ । पढ्नेले हो वा हैन, जे पनि भन्न सक्छन् । स्वीकार–अस्वीकार, वाद–प्रतिवाद गर्ने त्यो वर्गसँग लेखक कुनै न कुनै रुपमा सधैं जोडिएको हुन्छ । लेख्ने, पढून् भनेर सार्वजनिक गर्ने अनि ‘आफ्नै लागि लेख्छु, आत्मतुष्टिका लागि’ भन्ने कुरामा म कहीँ कतै सामञ्जस्य भेट्दिनँ । बरु त्यो हेपाइ हो, पाठकको अवमूल्यन । सीधै भन्दा त्यो दम्भ हो । दम्भले डोनाल्ड ट्रम्प बनाउँछ, तर लेखक बनाउँदैन । ‘माइन काम्फ’ लेखुञ्जेल हिट्लर सम्भवतः धेरै दम्भी थिएनन्, तर जब उनमा उन्माद चढ्यो, उनी लेखकबाट तानाशाहमा रुपान्तरित भए । 

म त भन्छु– कलाका सबै विधामा लागू हुन्छ स्रष्टा र पारखीको सम्बन्ध । चित्रकारले कोर्ने चित्र, फोटोग्राफरले खिचेको तस्बिर वा फिल्ममेकरले बनाएको फिल्म– दोस्रो, तेस्रो व्यक्तिले नहेरुञ्जेल तिनले पूर्णता पाउँदैनन् । परख गर्ने मौका जुरेन भने एक्लै झुण्डिन्छ चित्र, मेमोरी ड्राइभ वा निजी आर्काइभमै थन्किन्छ तस्बिर र अर्थहीन बन्छ फिल्म । चित्रकला हेर्नका लागि हो । हेरेरै परख गरिन्छ । र, जतिजति दर्शक थपिन्छन्– स्रष्टाको मेहनतले पूर्णाकार पाउँछ । 

Global Ime bank

त्यस्तै हो लेखाइ । लेख्नुस् र पाना भर्नुस्, लेख्नुस् र फोल्डरहरूमा थुपार्नुस्, दोस्रो व्यक्तिले नहेरुञ्जेल तिनले अर्थ भेट्दैनन् । त्यसमाथि लेख्नका लागि केही पढ्नु पर्यो । स्रोत जुटाउनुपर्यो । आफ्ना तर्कलाई पुष्टि गर्न सन्दर्भसामग्रीलाई निफन्नु पर्यो । जता, जसरी भए पनि अरुका लेख वा दृष्टिकोणहरू त नियाल्नै पर्यो । कसैको पाठक त बन्नै पर्यो । अरुको पाठक नबनी सार्थक लेखनको सम्भावना हुँदैन भने आफ्ना पाठकको उपेक्षा वा अपमान गर्ने अधिकार कुनै लेखकलाई हुँदैन । 

तर्क उब्जिन सक्छ– ‘पाठक नसम्झी लेख्न सकिन्न र ? लेख्ने हो, त्यसले आफैं जन्माउँछ पाठक । त्यो आलेख आफैं लक्षित वर्गमा पुग्छ र आफैं फिजाउँछ आफ्नो प्रभाव ।’ लेखकको सर्वोच्चता रुचाउनेहरूले यो तर्कलाई पनि निकै उरालेका छन् । ‘तपाईंका रचना अलि अमूर्त भए, पाठकमुखी भएनन्’ भन्दा ‘जस्तोसुकै लेखौं, मेरो अधिकार’ भन्नेहरू पनि थुप्रै भेटिन्छन् यो दुनियाँमा । उनीहरू भन्छन्, ‘बुझे पढ, नबुझे नपढ । मन लागे ग्रहण गर, नलागे छोडिदेऊ । तिमीले पढ्नैपर्छ भन्ने छैन ।’ 

मलाई फेरि सोध्न मन लागेको छ– त्यो पनि एक प्रकारको आत्मप्रवञ्चना हैन र ?
लेखेको कुरा अरु कसैले बुझ्दैनन् भने किन लेख्नु ? शेरबहादुर देउवाको वक्तृत्वजस्तै हुन्छ त्यो लेखाइ । उनी बोल्छन्, राम्रै कुरा बोल्लान् । बिस्तारै बोले पनि त हुन्थ्यो नि ! हड्बडाउँछन्, झ्वाँक्किन्छन् र आफ्नो बोलीलाई झन् अमूर्त बनाउँछन् । 

लेखेको कुरा अरुले बुझ्नैपर्छ भन्ने आग्रह पनि उचित हुँदैन । केपी शर्मा ओलीका लम्बेतान भाषणजस्तै हुन्छन् यस्ता कुरा । शब्दभण्डार पनि छ, अलिअलि बठ्याइँ पनि होला, मनोविनोद पनि होला तर टुमुर्किएका टर्रा शब्दहरूले कान घोच्न थालेपछि श्रोता बिच्किन्छन् अनि द्विविधा जन्मन्छ– सुनिरहूँ कि कान थुनूँँ ? श्रोता खुइल्याउने वक्ताजस्तै लाग्छन् मलाई पाठक नपत्याउने लेखकहरू । 

वाचनमा एउटै हरफ चारचारचोटि दोहो¥याउने कविहरूलाई झण्डैझण्डै म त्यही श्रेणीमा देख्छु । कविताको भावअनुसार स्वरमा आरोहअवरोह ल्याइदिए, चटक्क भनिदिए कति मीठो सुनिन्थ्यो ! तर थुप्रै कवि मञ्चमा उक्लिनासाथ श्रोता र आफ्नो दूरी बिर्सन्छन् । उनीहरू आफ्नै अगाडिका पारखीलाई पल्लो डाँडाको पुछारतिर देख्छन् र चिच्याउँछन् । त्यहाँ कवि बोलिरहेको छ कि उसको अभिमान– खुट्याउन गाह्रो हुन्छ । श्रोतालाई यातना दिने कविहरूले समेत श्रोता, प्रकारान्तरले पाठककै अवमूल्यन गरिरहेका हुन्छन् । 

यहाँनिर सरलता, अमूर्तताको कुरा पनि अलिकति उठाऊँ । जति अमूर्त लेख्यो, उति नै ठूलो लेखक भएको भ्रममा देखिन्छन् कतिपय कलमजीवी । कुनै बेला म आफैं त्यस्तै भ्रममा थिएँ । भ्रममुक्त हुन धेरै समय लाग्यो । यदाकदा अहिले पनि लाग्छ– कतै म पाठकलाई हेपिरहेको त छैन ? शब्दभण्डारको दम्भ देखाइरहेको त छैन ? यी दोष ममा अझै हुन सक्छन् । र, सच्चिइन भने मैले पाठकलाई फेरि पनि हेपिरहेको ठहर्छ । 
त्यसैले केही कुरा लेखिसकेपछि पाठकसँग जोडिन, उनीहरूका प्रतिक्रिया सुन्न रुचाउँछु । र, जेजति लेख्छु– आफ्ना लागि हैन, पाठककै लागि लेख्छु । 

मैले आफ्नै लागि लेखेका निजी डायरीका पानाहरू पनि कुनै बेला मेरा सन्तान, दरसन्तानले हेर्नेछन् । उनीहरू पाठक बन्नेछन् त्यतिखेर । मैले मेरै निम्ति लेखेको हो भन्ने आत्माभिमान त्यतिखेर त्यसरी नै बचिरहला त ? मैले अहिले नै सोचिन भने म मेरा पाठकहरूमाथि अन्याय गरिरहेको हुनेछु । 

म लेखनमा सरलता रुचाउँछु । निबन्ध लेख्दा चाहिँ अलि बहकिन्छु । आफ्नो रुचि, मान्यता आफैंले भत्काएको पनि छु । निबन्धको संरचना नै अलि निर्बन्ध भएर हो कि ! पाठकले औंला ठड्याए भने मैले आफ्नो शैलीको पूर्ण रुपान्तरण नगरी सुखै छैन । नत्र म लेखक रहन्नँ र मेरा लेख सिर्जना नभएर प्रवचन मानिनेछन् । 

लेखमा म प्रवचन रुचाउन्नँ । प्रवासमा छु । यताका धेरै साथीहरूले नेपालका विषयमा विद्वतायुक्त प्रवचन छाँटिरहेको देख्छु, पटकपटक । मसँग त्यस्तो प्रवचन दिने विद्वता पनि छैन । त्यो मेरो रुचि पनि हैन । कहिलेकाहीँ सानातिना सन्दर्भ जोडिएलान् तर म यहाँ बसेर नेपालका राजनीतिज्ञहरूलाई उपदेश दिन चाहन्नँ । सुझाव दिने मेरो विज्ञता र हैसियत पनि छैन । 

भाषाका कुरा आउँदा भने कहिलेकाहीँ टुमुर्किन्छु र शुद्ध लेखाइको वकालत गर्छु । पाठकहरूसँग पनि मेरो त्यही आग्रह हुन्छ । नेपालका छाडा राजनीतिज्ञहरूसँग दोहोरी खेल्नुभन्दा मेरा पाठकहरूलाई आफ्ना अनुभूतिहरू बाँड्नु मेरो अभीष्ट रहन्छ । र, म भन्छु– पाठक नै सर्वोपरि हुन् । ‘स्वान्तःसुखाय’ ले ‘म’ जन्माउँछ, ‘हामी’ देख्दैन । म ‘हामी’ रुचाउँछु । म धेरैको पाठक हुँ, मेरा पनि केही पाठक हुन सक्छन् । म उनीहरूसँगको हातेमालो रुचाउँछु ।  ठूला, दुर्बोध्य कुरा लेख्नु छैन मलाई । पाठकसँगको साइनो जोडिरहन पाइयो भने मभित्रको स्रष्टा थाक्दैन । यतिखेर म आकाशमा चराहरूको निर्बिघ्न उडान देखिरहेको छु र मभित्रको स्रष्टाले तिनकै कथा लेख्न मलाई उत्प्रेरित गरिरहेको छ ।
‘तिम्रो गुलेली थन्किएको बेला
मेरा बचेरा निर्धक्क हाँस्न थालेका छन्
बिन्ती !
तिमी मट्याङ्ग्रा नखोज यतिखेर
सक्छौ त बरु चारो छर
र, टिप्न देऊ हामीलाई निस्फिक्री
सक्छौ त बरु सारङ्गी रेट
र, गाउन देऊ हामीलाई अनवरत
यो दुनियाँ 
हाम्रो पनि हो अलिकति
यो आकाश तिम्रो पनि हो अलिकति
हामीले हावामा कावा खाँदा
पक्कै शीतल हुनुपर्छ तिमीलाई
र, तिमीले दुर्भावना, दुर्नीति थन्क्याउँदा 
हामी निर्धक्क उड्न सक्छौं
उड्दाउड्दै मज्जाले चिर्बिराउन सक्छौं
ए मान्छे,
तिमी सुस्ताएको बेला
तिमीलाई सम्भावनाको सञ्जीवनी दिन
म पनि गाऊँ कि अलिकति
तिम्रो कोलाहल अलि कम भएको बेला
तिमीलाई प्रकृति र जीवन चिनाउन
म पनि बोलूँ कि अलिकति ।’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC