site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डाक्टरको डायरी
Sarbottam CementSarbottam Cement

‘सजदा, कपडा फेरिसकेको ?’

शकुन्तलाले नवविवाहित दुलही सजदाको छेउमा पुगेर भनिन्, ‘बेहुली हेर्न आउने नातेदारहरुको लर्को छुटेको छैन ।’

सजदाले आश्चर्य मिसिएको नजरले सासु शकुन्तलालाई हेरी । शकुन्तलाको अनुहार सामान्य थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रविको अनुहारमा प्रतिक्रिया हेर्न खोजी ।

रविले कुनै प्रतिक्रिया जनाएन ।

Global Ime bank

ऊ अझै बेहुलाको पोशाकमा नै थियो ।

बेहुली भित्राएको आधा घण्टा पनि बितेको थिएन, बेहुलीले शृङ्गार उतारिसकेकी थिई । सजदा नवविवाहिता बेहुली हो भन्ने सङ्केत कतै देखिँदैनथ्यो । न सिन्दुर, न टीका, न चुरा न त बेहुलीको लज्जा ।

नयाँ बेहुलीको व्यवहार अनौठो मानेर नातेदारहरुले मुखामुख गरे ।

केहीबेरमा सजदा शकुन्तलाको छेउमा पुगी ।

‘एउटा जरूरी काम परेकोले बाहिर जान लागेको आमा ।’ सजदाले सासुलाई आश्वस्त पार्दै भनी, ‘केही क्षणमा नै फर्किहाल्छौं ।’

नयाँ दुलहादुलही त्यसरी बाहिर निस्कन लागेको शकुन्तलालाई पटक्कै चित्त वुझेको थिएन । सायद सजदाले अनुमति मागेकी भए उनी रोक्ने थिइन्, तर उसले त केवल जानकारी गराएकी थिई । शकुन्तला केही बोलिनन् ।

‘ढिला भो रवि, हिँड न ।’ सजदाले रविको हात समातेर तान्दै भनी ।

रवि अप्ठेरो मानेझैं गर्दैथ्यो । सजदाले हातै समातेर तानेपछि टार्न सकेन ।

शकुन्तला र पाहुनाहरु हेरेको हेर्यै भए ।

क्लासिक रेस्टुरेन्ट अगाडि रविको गाडी रोकियो ।

सजदा ढोका खोलेर हतारहतार भित्रतिर दौडिई । ऊ त्यस्तरी हतारिएर दौडँदै जाँदा रविले चुपचाप हेरिरह्यो । सजदा यसै सुन्दर थिई । यतिबेला त झन् परीझैं देखिएकी थिई ।

‘रवि !’ रेस्टुरेन्ट भित्र पस्तापस्तै उसले अर्डर चलाई, ‘रुपेश र मलाई खाजा अर्डर गरिदेऊ है । तिमीलाई त थाहा छ नि हामीलाई के मन पर्छ !’

रवि वरैको कुर्सीमा बसिरह्यो । ऊ बसेको ठाउँबाट सजदा मात्रै देखिई । उसले सजदाको हाउभाउ पढिरह्यो ।

ऊ खुसी देखिन्थी । हात हल्लाएर, मुस्कुराएर, रमाएर कुरा गरिरही ।

‘सजदा ! अब जाने बेला भएन ? घरमा पाहुनाहरु कुरिरहेका छन् ।’

आधा घण्टा पैंतालीस मिनेट बितेपछि रविले टेक्स्ट गर्यो ।

सजदा एकै निमेषमा रविको छेउ आइपुगी ।

रविले बिल तिर्यो ।

‘भेटघाट कस्तो रह्यो त ?’ फर्कंदा रविले सोध्यो ।

‘वन्डरफुल !’ सजदाले खुसी हुँदै भनी, ‘मेरो विवाह भैसकेपछि पनि रुपेशको व्यवहारमा कुनै अन्तर आएन । उसले मलाई सधैंभैmं माया गर्यो । सी, मैले भन्याथेँ, ऊ कति अन्डरस्टान्डिङ छ भनेर ।’

‘अनि सुहागरातको लागि पर्मिसन लियौ त ?’ रविले जिस्काएझैं गरी सोध्यो ।

‘तिमीसँग विवाह गरेकी हुँ मैले । अब आफ्नो लोग्नेसँग सुहागरात मनाउन पनि मैले ऊसँग पर्मिसन लिनुपर्छ र ?’

‘तर सजदा, रुपेश त तिम्रो लागि विशेष हो नि, होइन र ?’ रविले भन्यो, ‘तिम्रो जीवनमा म आउनुअघि पनि रुपेश थियो र अझै पनि छ । तिमी उसलाई पहिलेझैं महत्व दिन्छ्यौ । त्यसैले सोधेको नि ।’

‘मेरो जीवनमा तिम्रो र रुपेशका लागि भिन्नाभिन्नै स्थान छ ।’ सजदाले रविलाई आश्वस्त पार्न खोजी, ‘ऊ मेरो ब्वाइफ्रेन्डको रुपमा केवल मेरो मनमा रहिरहन्छ, तिमी पति बनेर सर्वत्र रहने छौ ।


रवि र सजदा घर पुग्दा पाहुनाहरु भरिभराउ नै थिए । कसैले केही नभनीकनै सजदा मिनेटमा नै बेहुलीको रुपमा सजिई । पाहुनाहरुसँग घुलमिल भई । सासुलाई आफ्नो नम्र व्यवहारले फुक्र्याई ।

नवविवाहित जोडीको सवैले प्रशंसा गरे । रवि दङ्ग पर्याे ।

भोलिपल्ट । सजदा बिउँझिँदा घाम निकै माथि आइसकेको थियो । पूजाआजाको लागि दुलहीको प्रतीक्षा भइरहेको थियो ।
रवि कोठामा थिएन । सजदा हतारहतार बाथरुमतर्फ लागी । बाटोमा उसको रविसँग भेट भयो ।

‘तिमी कति चाँडै उठिसकेको ?’

‘आठ बजिसक्यो, म उठेको त दुई घण्टा भयो ।’ रविको स्वर सहज थियो । 

‘अनि मलाई किन नउठाएको त ? पहिलो दिनमा नै पाहुनाको अगाडि लाज मर्नु हुने भयो ।’

‘तिमी मस्तसँग निदाएकी थियौ, डिस्टर्ब गर्न मन लागेन ।’ रवि सन्तुष्ट थियो ।

‘अनि सुहागरातको प्लान के भयो नि ?’ सजदाले रविको कानमै मुख जोडेर जिस्काई ।

‘निदाएको मान्छेसँग केको सुहागरात नि ?’ 

सजदाले खुच्चिङको सङ्केत गरी ।

‘मेरो लागि सुहागरातभन्दा तिम्रो निद्रा मूल्यवान् छ डियर !’ रविले आश्वस्त गरायो ।

‘थ्याङ्क्यु, कति ख्याल राख्ने बूढो पाएँ है मैले ?’ ऊ मख्ख परी ।

‘रुपेश जत्तिकै ?’ रविले मन चोर्यो ।

‘कम्पेयर नगर रवि, रुपेशको ठाउँ तिमीले र तिम्रो ठाउँ रुपेशले कहिले पनि लिन सक्दैनौ ।’

सजदा अलि अप्ठ्यारो मानेझैं गरी मुस्कुराई । रविको मन सजदाका शब्दहरूले कतैकतै बिझाएको थियो । अनुहार ओइलाउन खोज्दै थियो, तर तत्कालै आफूलाई सम्हाल्यो । 

‘अब तिम्रो जीवन ब्वाइफ्रेन्ड र हस्बेन्डको बीचमा बाँडिएरै बित्ला त ?’ 

उसले सोध्यो । सजदाले जवाफ दिइन । सायद सुनिन कि ? या सुनेर पनि जवाफ दिन चाहिन ।

ऊ चुपचाप बाथरुमभित्र छिरी ।

विवाहपछिको पहिलो दिन पूजाआजा र भेटघाटमै बित्यो ।

साँझमा आरतीपछि सजदाले कपडा फेरी । अविवाहित युवतीझैं देखिई ।

रवि उसको नजिक गयो ।

‘मेरो त फेरि लभ पर्ला जस्तो भयो ।’ ऊ जिस्कियो ।

‘कोसँग ?’ सजदाको नाकको टुप्पोमा रिस देखियो ।

‘घरमा यस्ती राम्री युवती जो आएकी छे !’ उसले फेरि ठट्टा गर्यो ।

‘लभ नै नगरी पाइसक्यौ नि ।’ सजदाले भनी, ‘तिम्रो लक्ष्य मलाई पाउनु त थियो नि । होइन र ?’

रविले भन्यो, ‘होइन, मलाई त माया गर्ने पत्नी पो चाहिएको त ।’

सजदाले रविको त्यस भनाइलाई त्यति ख्याल गरिन । उसको ध्यान अन्तै पुगिसकेको थियो ।

‘चाँडो तयार होउ न, रुपेश अघि नै आइसक्या होला ।’ उसले आफ्नै सुरमा भनी ।

‘म भेट्न आउन भ्याउँदिन भनेर टेक्स्ट गरेको थियो, मैले त तिमीलाई भन्नै बिर्सेको !’ रविले तत्कालै थप्यो, ‘सायद तिमीले रेस्पोन्स नगरेको भएर मलाई म्यासेज गरेको होला कि ?’

सजदाले मोबाइल स्क्रोल गरी ।

‘ओ माई गड, मैले त उसको टेक्स्ट देख्दै देखिनछु ।’

सजदाको अनुहारमा अलिकति विष्मयका रेखाहरु थिए ।

‘डोन्ट वरी !’ रविले भन्यो, ‘अब तिम्रो पूरापूर ख्याल गर्ने मेरो जिम्मेवारी बनेको छ ।’


विवाह गरेको दोस्रो दिनमा नै सजदा त्यो घरको वर्षांै पुरानो सदस्यजस्तै बनी । नातेदारहरु चिनी । बिनासङ्कोच कुरा गरी । सबैको विश्वास जिती ।

राति सुत्ने बेलामा रविले तातो दुध ल्याइदियो ।

‘ओ हो, तिमी त पर्फेक्ट लोग्ने पो बन्यौ त !’ सजदा हाँसी, ‘हरेक रात तातो दुध लिएर आउँछौ, कसरी थाहा पायौ, मलाई सुत्नेबेलामा तातो दुध पिउन मन पर्छ ?’ 

‘म कति पर्फेक्ट छु भन्ने आज प्रमाणित गर्छु,’ रविले भन्यो, ‘तिमी कति पर्फेक्ट पत्नी हुन्छ्यौ भन्ने चाहिँ तिमीले जस्टिफाइ गर्नुपर्ने छ ।’ 

‘पर्फेक्ट पत्नी बन्न के के गर्नुपर्छ भन, म तयार छु ।’ सजदाले मस्किँदै भनी ।

‘तिमीलाई मन पर्ने यो तातो दुध पिउँदै गर, म फ्रेस भएर आएर बताउँला ।’ 

जिस्कँदै ऊ बाथरुमतर्फ बढ्यो ।

‘सुहागरात बाँकी नै छ हाम्रो,’ रविले बाथरुमको ढोकाबाट सजदालाई सजग बनायो, ‘प्लिज बी रेडी’

सजदाले लजाएको अभिनय गरी ।

अफसोस । रवि बाथरुमाबाट फर्कंदा सजदा निदाइसकेकी थिई । 

मायाले सजदाको निधारमा चुम्यो र ब्ल्याङ्केट ओढाइदियो ।

दिनहरू बितिरहे ।

सजदा सामान्य देखिन्थी । ब्वाइफ्रेन्डसँगको वियोग अनुहारमा देखिएन । पतिसँगको साथले ब्वाइफ्रेन्डको छायाँ पनि छुटेन ।

रविको खुसीको ग्राफ अलि बढी नै थियो । कुनै झिँजो नमानीकन पत्नीलाई उसको ब्वाइफ्रेन्डसँग भेटाउन हरेक दिन लगिदियो । कुनै दिन असजिलो मानेन ।

रविलाई यति बढी खुसी देख्दा शकुन्तलालाई भने किनकिन बढी सोचाइ पथ्र्यो ।

‘तिम्रो घरकाले मलाई मन पराए ?’

मोटरबाइकको पछाडि बसेकी सजदाले रविलाई अँगालोमा कसेर सोधी ।

‘मेरो परिवारमा त तिमी आँखाको नानी नै भएकी छ्यौ ।’

रविले सत्य बतायो वा फुक्र्यायो ? सजदाले राम्ररी भेउ पाइन ।

‘अनि तिम्रो आँखाको नानी भएँ कि भइनँ नि ?’

‘अँह !’ रविले नकारात्मक टाउको हल्लायो ।

‘किन ?’ सजदाले अलि डराएको भाव देखाई ।

‘तिमी कि त रुपेशको आँखाको नानी बन्नुपर्यो कि त मेरो,’ रविले भन्यो ‘एकैपटक दुईजनाको आँखाको नानी कसरी बन्न सक्छ्यौ ?’

केहीबेर दुवै बोलेनन् । सजदाको अँगालो अलि खुकुलो भएको थियो ।

‘तिमीले विवाहअगाडि मेरो खुसीको सम्मान गर्छु भनेको हो कि होइन ?’ केहीबेरपछि सजदा बोली, ‘के तिमीलाई म रुपेशसँग भेट्न गएको मन पर्दैन ?’

‘डरायौ ?’ रविले हाँस्दै भन्यो, ‘आफ्नी बूढीसँग अलिअलि जिस्कन पनि नपाउनु ?’

‘तिमीले त झण्डै मेरो ज्यान नै लियौ !’ खुसी हुँदै सजदाले भनी, ‘हेर, मैले तिमीसँग केही कुरा पनि लुकाएकी छैन । अरु केटीहरु बाहिर सतिसावित्री बन्छन्, तर भित्रभित्रै परपुरुषसँग इन्भल्ब हुन्छन् तर मलाई आफ्नो लिमिट थाहा छ, म केवल उसलाई भेट्न जान्छु, त्यहाँभन्दा बढी अरू केही छैन । आजको जमानामा यत्तिको खुल्ला केटी कहाँ भेट्न सक्छौ तिमीले ?’

‘के म तिमीहरुसँग ज्वाइन गर्न सक्छु ?’

रविले सजदालाई टेक्स्ट गर्यो । सजदा ऊसँग छुट्टिएको १५ मिनेट पनि बितेको थिएन ।

‘अफकोर्स !’ सजदाले तुरुन्त जवाफ फर्काई ।

रवि सजदाको टेबलमा पुग्यो र जोडिएर बस्यो ।

‘रुपेश, म रविसँग यसरी जोडिएर बस्दा तिमीलाई केही असजिलो त भएको छैन ?’ सजदाले सोधी ।

रुपेशको उत्तर रविले सुनेन । सजदा भने बेस्सरी हाँसी ।

‘रवि, खुसीको यो क्षणलाई म सेभ गर्न चाहन्छु । प्लिज रुपेश र मेरो यौटा फोटो खिचिदेऊ न ।’ सजदाले भनी ।

रविले फोटो खिचिदियो ।

अर्डर गरेको खाना टेबलमा यत्तिकै थियो ।

‘ओ हो, यो ल्याम्ब करी किन केही नखाएको ? मन परेन कि क्या हो ? रविले सजदाको रित्तो प्लेटतिर हेरेर भन्यो ।

‘आज रुपेशले घरमै डिनर खाएछ, त्यसैले यहाँ खान सकेन ।’ सजदाले सफाइ दिई ।

‘ आई लाइक ल्याम्ब करी, बेस्सरी भोकाएको पनि छु, खाइदिऊँ ?’ रविले अनुमति माग्यो ।

‘रुपेशको सबै भाग तिमीलाई त जुरेको रहेछ नि ?’ सजदा मनमनै बोली ।

अनुमति दिनुअगाडि नै ऊ कपाकप खान थालिसकेको थियो ।

छ महिनाअघि रवि र सजदाको भेट एउटा विवाह पार्टीमा भएको थियो ।

सजदा रविकी साथीकी पनि साथी थिई । चिनजान गर्न सहज भयो । दुवै फरासिला भएकोले पहिलो भेटमा नै एकले अर्काको हृदयमा अलिकति विश्वास रोपिदिए ।

समय यसरी अगाडि बढ्यो, छोटोछोटो भेट लगातार भइरह्यो । एकअर्काका मनमा रोपिएको विश्वासको बिरुवा हुर्कंदै गएको दुवैलाई आभास थियो ।

‘सजदा ! मैले तिमीलाई कफीका लागि प्रस्ताव गरेँ भने रिसाउँछ्यौ ?’

केही दिनपछि रविले सजदालाई टेक्स्ट गर्यो ।

‘किन ? कफीमा बिष मिसाउन लागेको हो र ?’

सजदाले समय नलगाई जवाफ फर्काई ।

‘सहरमा बिषयुक्त कफी सप खुलेको छ र ?’ प्रश्न गर्ने पालो रविको थियो ।

‘मीठो कफी खुवाउने प्रस्तावमा किन रिसाउनु त ?’ प्रश्नभित्र नै सजदाको सहमति आयो ।

लहरझैं उठ्ने प्रश्नहरुको उत्तर खोज्न दुवैजना कफीसपमा भेटिए । त्यसपछि, लगातार एकापसमा भेटी नै रहे ।

कुराकानीको सिलसिला लामै चल्यो । दुवै राम्रो परिवारका थिए । शिक्षित थिए । दुवैले एकअर्काको बारेमा पर्याप्त जानकारी लिइसकेका थिए ।

‘मैले तिमीसमक्ष विवाहको प्रस्ताव राखेँ भने रिसाउँछ्यौ ?’

एक दिन कफी सकिनै लाग्दा रविले सोध्यो ।

‘विवाह गरेर लगेर फाँसीमा झुण्ड्याउने हो र ?’

सजदाका मनमा प्रश्नहरुको खानी थियो ।

‘मन पराएकी केटीलाई विवाह गरेर कसैले झुण्ड्याउँछ र ?’ रविले प्रश्नमै उत्तर दिनु सही ठान्यो ।

‘यस्तो राम्रो केटाले विवाह गरेर लगेर मजाले पाल्छु भन्दा किन रिसाउनु र ?’

सजदाको जवाफले रविको खुसीलाई इन्द्रेणी बनाइदियो ।

‘उसो भए म पक्का सम्झौं ?’ रविले सजदासँग आँखा जुधाएर सोध्यो ।

‘सबै ह्याण्डसम केटाहरुसँग विवाह गर्न सम्भव छ र ?’

कतै केही रिजर्भेसन महसुस भयो ।

‘ह्याण्डसम भनिसकेपछि हस्बेन्ड भन्न के आपत्ति हुन्छ र ?’ 

सजदाको प्रश्नको उत्तरमा रविले आशापूर्ण स्वरमा सोध्यो ।

‘मलाई मेरो ब्वाइफ्रेन्डसँग छुट्याएर विवाह गर्छौ ?’

आकाशमा रोमाञ्चक उडान भरिरहेका दुइ पक्षीले अकस्मात धर्तीमा अवतरण गरे ।

रविको मुखमा ब्रेक लाग्यो, मानौं । केहीबेर बोल्नै सकेन ।

‘तिम्रो ब्वाइफ्रेन्ड छ ?’ निकैबेरपछि सोध्यो ।

‘ब्वाइफ्रेन्ड नभएको भए यति राम्रो प्रस्ताव आउँदा कुनै केटीले एस भन्न ढिला गर्थी र ?’

रवि बोलेन । चुपचाप कफी पिइरह्यो । सायद कफीसँगै निरासा पनि पिउँदै थियो ।

कफी सिध्याएर दुवैजना बाहिर निस्किए । छुट्टिने क्षण आयो ।

सजदाले मायालु पाराले रविको हात समाई । रविलाई यो हात जन्मौंजन्म नछाडौझैं भयो ।

‘ब्वाइफ्रेन्ड छ ।’ सजदाले भनी, ‘तर म ऊसँग विवाह गर्न सक्दिनँ । तिमी राम्रो छौ, तर उसलाई छाडेर तिमीलाई आफ्नो बनाउन पनि सक्दिनँ ।’ उसको स्वरमा गहिरो उदाशी थियो ।

रवि एकछिन केही बोलेन । सजदाको अनुहार पढ्यो । त्यहाँ न त खुसी नै थियो न त ग्लानि नै । ऊ सधैंझंै सामान्य छे ।

‘साँच्चै तिम्रो ब्वाइफ्रेन्ड छ र ?’ विश्वस्त हुन खोज्यो ।

‘छ, तिमी उसैसँग कुरा गरेर निष्कर्षमा पुग ।’ नम्बर डायल गरेर फोन रविलाई दिई ।

रविले फोनमा कुरा गर्न प्रयास गर्यो । सायद नेटवर्क कमजोर थियो । रविले उतापट्टिबाट बोलेको सुन्न सकेन ।

‘ब्वाइफ्रेन्ड भए पनि म ऊसँग विवाह गर्न सक्दिनँ ।’ विदा हुनै लाग्दा सजदाले उदाश स्वरमा भनी, ‘यो कुरा उसलाई पनि थाहा छ । रुपेश दलित परिवारको केटा हो, मेरो परिवारले मलाई दलित परिवारको केटासँग विवाह गर्ने अनुमति दिँदैनन् । म परिवारको अनुमतिबिना ऊसँग विवाह गर्न चाहन्नँ !’

‘ओहो ! त्यसो भए के गर्छौ त ?’

‘न त रुपेशलाई छाड्न सक्छु, न त परिवारकी एक्ली छोरी भएकीले परिवार छाड्न सक्छु । त्यसैले त बीचमा अड्किरहेकी छु ।’ 

सजदा नहिच्किचाइकन आफ्नो स्थिति सुनाउँदै थिई ।

उनीहरु छुट्टिन लागिरहेका थिए । अकस्मात सजदाले रविलाई रोकी ।

‘म साँच्चै नै दुविधामा छु रवि,’ सजदाले रविको हात फेरि समाउँदै भनी, ‘मलाई किन तिमीहरु दुवैजना आदत जस्तो भयो, रुपेश मनमा बसेको छ तर साथमा छैन झैं लाग्छ, तिमी साथमा हुन्छौ तर मनमा छैनौ झंै हुन्छौ !’

‘मसँग विवाह गर ! रुपेशलाई ब्वाइफ्रेन्ड बनाइराख । हुँदैन ?’ रविले अकस्मात प्रस्ताव राख्यो, ‘तिमीलाई यही नै सबैभन्दा उत्तम विकल्प हुन सक्छ ।’

‘तिमी माइन्ड गर्दैनौ ? साँच्चै ?’ सजदाले अचम्म मानेर रविलाई हेरी ।

‘आफ्नो ब्वाइफ्रेन्ड पनि छाड्न नसक्ने, परिवार पनि छाड्न नसक्ने, यस्ती ज्ञानी केटी कहीँ पाइएला–नपाएला फेरि, त्यसैले मौका छोप्न खोजेको ।’ रविले अलिकति हाँसेझैं गरेर भन्यो, ‘अप्ठ्यारो त हुन्छ तर आफूले मन पराएको केटीको लागि यत्तिको अप्ठ्यारो म्यानेज गर्नैपर्ला !’

‘थ्याङ्क्यु रवि । यत्तिको फराकिलो मन बनाउन सकेकोमा ।’ सजदाले रविलाई गम्लङ्ग अँगालो हाली ।

रविले यो अँगालो कहिले नछुटाउने प्रण गरिहाल्यो ।

‘तिमीजस्तो अण्डरस्टान्डिङ भएको केटा पाउँदा मैले नाइँ भन्ने त कुरै आउँदैन, तर के तिम्रो परिवारले आपत्ति गर्दैनन् र ?’ सजदाले शङ्का ओकली ।

‘म मनाउँछु उनीहरूलाई ।’ रविले पूर्ण विश्वाशका साथ भन्यो । 
अन्ततः सजदाले आफ्नो निर्णय सुनाएकी थिई, ‘आएर मेरो परिवारसँग कुरा गर । तर मैले पहिल्यै भन्द्याछु, म तिम्री दुलही त हुन्छु तर रुपेशकी गर्लफ्रेन्ड रहिरहन्छु ।’

‘मैले तिमीलाई ब्वाइफ्रेण्ड बनाइराख्ने अनुमति त दिएँ, तर तिमी आफ्नो मर्यादा त भुल्दिनौ नि ?’

रवि विश्वस्त हुन चाह्यो ।

‘विवाह मर्यादा भुल्नका लागि गरिन्छ र ?’ सजदाले उल्टै प्रश्न गरी ।

रविलाई आफूसँग विवाह गरेपछि सजदाले बिस्तारैबिस्तारै रुपेशलाई भुल्दै जान्छे भन्ने विश्वास थियो । त्यसैले यो बाजी खेल्ने अठोट गर्यो ।

सधैं ढिलासम्म सुत्ने सजदा एकदिन अलि चाँडै बिउँझिई ।

चिया बनाएर ल्याई । रविलाई बिउँझाई ।

गफिँदै चिया पिए ।

‘म हरेक रात किन चाँडै निदाउछु ?’ सजदाले अकस्मात सोधी ।

‘हरेक रात किन तिमी मैले दिएको दुध पिउँछ्यौ ?’ रविले उल्टै प्रश्न गर्यो ।

सजदाले सोचमग्न हुँदै चियाको एक चुस्की तानी ।

‘दुध पिउनु र चाँडो निदाउनुबीच के सम्बन्ध छ ?’

‘निद्राको औषधिले पनि ननिदाए केले निदाउँछ्यौ त ?’ रविले प्रष्ट पार्यो ।

सजदा केहीबेर बोलिन । चुपचाप केही सोचिरही । रवि पनि बोलेन ।

‘तिमीलाई ओछ्यानमा एउटी निदाएकी केटी मात्रै चाहिएको भए त गुडिया किनेको भए भइहाल्थ्यो नि । किन विवाह गरेको ?’ अन्त्यमा सजदाले नै खिन्न स्वरमा मौन तोडी ।

‘जसको मनमा म अझै बसिसकेको छैन, त्यो मान्छे मेरा लागि एउटा झुम्रोको पुतलीभन्दा बढी कसरी हुन सक्छ सजदा ?’ रविले कोमल स्वरमा भन्यो, ‘तिम्रो मनले मलाई नबाँधेसम्म तिम्रो शरीरले मलाई तान्न सक्दैन ।’

केहीबेर दुवैजना बोलेनन् ।

‘अँगालोमा म र मनमा रुपेश भएको अवस्थामा कसरी तिमीलाई सम्पूर्ण आफ्नो बनाउन सक्छु ?’ रविले प्रश्न ग¥यो ।

‘त्यसो हो भने तिमी पर्खिरहेछौ, म मनबाट रुपेशलाई गलहत्याएर निकालौं र तिमीलाई उसको ठाउँ दिउँ ?’ यसपटक ऊ अलिक अप्रसन्न सुनिई ।

‘तिम्रो साथमा हुन चाहनु मेरो रोजाइ हो सजदा, कसैको जबरर्जस्ती होइन । म इच्छा जताउन नसके पनि प्रतीक्षा गरिरहन त सक्छु नि, होइन ?’

रविले प्रेमपूर्वक उसको हात समात्यो ।

‘उसो भए मेरो मन र अँगालोमा तिमीमात्रै हुनुपर्छ भन्ने तिम्रो सर्त हो ?’

‘कदापि होइन, किनकि मायामा सर्त हुँदैन तर यदि यस्तो भैदियो भने के फरक पर्छ ?’ रविले भन्यो, ‘सजदा, हामी जीवनमा एक छौं, मनमा पनि भयौं भने झनै राम्रो कुरा हो, मनमा अरु कसैलाई राखेर बसेकी युवती स्वास्नी नै भए पनि म उसको शरीरसँग सम्बन्ध गाँस्न सक्दिन किनकि म मनबिनाको शारीरिक सम्बन्ध मन पराउँदिनँ ।’ 

रविले बाँकी निर्णय सजदालाई छाडिदियो ।

‘यो हामीबीच भएको सहमतिको उल्लङ्घन होइन ?’

‘होइन !’ रवि फेरि सानो स्वरमा बोल्यो ‘तिम्रो सम्मान गर्दा कसरी सहमति उल्लङ्घन हुन्छ ? तिमी कतै दुविधामा छौ भने आफूलाई सच्याउ भनेर मौका दिँदा कसरी सहमति उल्लङ्घन हुन्छ ? यदि तिमीले आफैंलाई ढाँटेर मसँग विवाह गरेकी रहिछ्यौ भने भोलि तिमीलाई आत्मग्लानि नहोस् भनेर मौका दिइरहेको छु म, अब भन त मेरो यो कुरा कसरी सहमतिको उल्लङ्घन हुनसक्छ ?’

सजदाले रविलाई ध्यान दिएर सुनी । अनुहारमा सहमति नभए पनि विरोध पनि थिएन ।

‘मैले रुपेशलाई मनबाट निकाल्न सकिन भने यसैगरी जिन्दगी बिताउन सक्छौ ?’ धेरैबेर सोचिसकेपछि सजदाले सोधी ।

‘नसक्ने भएको भए विवाह किन गर्थें होला त ?’ रविले प्रश्नमा नै जवाफ दियो ।

त्यो साँझ रवि घर फर्कंदा सजदा धुम्म परेर कोठामा बसेकी थिई ।

सधैं परिवारसँग रमाएर बस्ने सजदा धुम्म परेर बसेको देख्दा रविलाई अचम्म लागेको थियो ।

‘आज किन चाँडै घाम अस्ताएछ ।’ कोठामा पस्दापस्दै रविले सोध्यो ।

‘सायद घामलाई तिम्रो घर मन परेन होला ।’ अर्कोपट्टि फर्कंदै सजदाले जवाफ फर्काई ।

‘आखिर के भयो त्यस्तो जसले घामलाई अर्कै बाटो देखायो ? मलाई बताउन सक्छ्यौ ?’ रविले सजदालाई फकायो ।

‘मैले रुपेशलाई दिउँसो घरमा बोलाएकी थिएँ तर घरमा कोही पनि राम्ररी बोल्नु भएन ।’ सजदाले गुनासो गरी, ‘विचरा नराम्रो मानेर फर्कियो ।’

‘ओ हो कुरा यत्ति नै हो ?’ रविले शान्तिको स्वास फेर्यो ।

रविलाई परिवारका कसैले पनि रुपेश आएको कुरा सुनाएका थिएनन् ।

‘डोन्टवरी डियर ।’ रविले भन्यो, ‘आज रुपेशले डिनरका लागि हामी दुवैलाई बोलाएको छ, मलाई टेक्स्ट गरेको थियो ।’

रविको त्यो कुराले सजदाको मुड बदलियो । ऊ रवितिर हेरेर मुस्कुराई । रविको मनमा घाम लाग्यो ।

मोबाइल तानी र हेरी ।

‘रिसको झाँेकमा मोबाइल पनि हेरेकी रहिनछु, मलाई पनि टेक्स्ट गरेको रहेछ ।’ प्रफुल्ल हुँदै भनी ।

ऊ हतारहतार तयार भई ।

डिनरका लागि जाँदै गर्दा रविले सजदालाई सुनायो, ‘मैले तिमी र रुपेशको बारेमा घरमा सबै कुरा भनिदिएको छु, अबदेखि रुपेशसँग सबैले राम्रो व्यवहार गर्नुहुन्छ ।’

ऊ दङ्ग परी ।

रवि अफिस गएको थियो । घरमा शकुन्तला र सजदा मात्रै थिए ।

‘आमा ! तपाईं बोर हुनुभयो भने के गरेर दिन बिताउनु हुन्छ ?’ सजदाले सोधी ।

‘फुर्सद भए पो बोर हुनु ?’ शकुन्तलाले भनिन्, ‘पहिलापहिला अलि फुर्सद हुँदा रविले लेखेका डायरीहरु पढ्थेँ । उसको लेखाइ खास लाग्छ मलाई, तर अचेल त व्यस्त भएर पढ्न पनि पाएकी छैन ।’

‘ओहो ! रविले लेख्छ ?’ सजदाले आश्चर्य व्यक्त गरी ।

रविले आफ्नो लेखाइको बारेमा सजदासँग केही भनेको थिएन ।

‘लेख्छ त, उसका कति कथाहरु बेलाबेलामा पत्रिकामा छापिरहन्छन् ।’ शकुन्तलाले भनिन्, ‘तिमी निदाएपछि ऊ प्रायः बैठकमा बसेर कम्प्युटरमा टाइप गरिरहेको हुन्छ ।’

‘आमा, अब फुर्सद भयो भने फेरि रविका डायरी नपढ्नु नि !’ सजदाले ठट्टा गर्दै भनी ।

‘किन ?’ 

सजदाको कुरा शकुन्तलालाई कताकता बिझायो ।

‘विवाह गरेर बुहारी ल्याइसकेको छोराको डायरी पढ्दा आमालाई अप्ठेरो होला कि भनेर नि !’ सजदा फेरि पनि जिस्किई ।

‘तिमी पनि !’ शकुन्तला सजदाको कुराको आशय बुझेर मुस्कुराइन्, ‘ठट्टामात्रै गरिरहन्छ्यौ ।’

शकुन्तला उठेर आफ्नो काममा लागिन् ।

सजदा नेल पोलिस लगाउन थाली ।

‘आमा, मेरो फोनमा घण्टी बज्दैछ क्यार, उठाइदिनुसन् प्लिज !’ सजदाले बसेकै ठाउँबाट भनी, ‘सायद रुपेशको होला ।’

शकुन्तलाले सजदाको फोन उठाएर हेरिन् ।

‘सजदा, मिसकल त छैन ? फोन आएको होइन रहेछ ।’

उनले फोन सजदाको छेउमा राखिदिइन् ।

‘आमा मलाई झझल्को लागेको होला सायद । म नेल पोलिस लगाउँदैछु, प्लिज, रुपेशको नम्बर डायल गरिदिनु न ।’

शकुन्तलाले रुपेशको नम्बर खोजेझैं गरिन् तर फेला पार्न सकिनन् ।

‘खोई, मैले तिम्रो फोन चलाउन जानिनँ क्यार, यहाँ त रुपेशको नम्बर नै भेटिनँ ।’ शकुन्तला फÞोन यथास्थानमा राखेर भान्सातिर गइन् ।

सायद उनलाई बुहारीले पराइ केटालाई फोन गरिदिन भनेर अह्राएको मन परेको थिएन ।

सजदाले नेलपोलिस लगाइसकेपछि एकैछिन फोन चलाई ।

‘आमा ! तपाईंलाई थाहा छ, बैठकको कम्प्युटरको पासवर्ड के हो ?’ निकै बेरपछि सजदाले सोधी ।

‘सोध्नै पर्दैन सजदा !’ शकुन्तलाले मुस्कुराउँदै भनिन् ‘बाबुले तिमीलाई मन पराएर विवाह गरेको हो नि, होइन र ?’

सजदाले पासवर्डको ठाउँमा आफ्नो नाम टाइप गरी । उसको अनुहार झलमल्ल भयो ।

त्यसपछि ऊ पढी रही । लगातार पढी रही । सबै कुरा बिर्सेर पढी रही ।

केही घण्टा बित्दा पनि सजदा चलमलाउने छाँट नदेखेपछि शकुन्तलाले चियाको कप उसको छेउमा ल्याएर राखिदिइन् ।

‘मैले भनेको होइन, रविको लेखनले कस्तो तान्दो रहेछ त ?’

‘हो आमा !’ सजदाले छोटो उत्तर दिई ।

अर्को करिव दुई घण्टा सजदा रविको डायरीमै अल्झिरही ।

‘आमा, साँच्ची नै रवि राम्रो लेख्दो रहेछ, कति धेरै कन्भिन्सिङ पनि ।’ पढिसकेर शकुन्तलाको छेउमा पुगेर सजदाले भनी ।
‘मन पर्यो ?’ शकुन्तलाले सोधिन् ।

सजदाले टाउको मात्रै हल्लाई ।

‘आमा, साँच्ची तपाईंलाई रुपेश कस्तो लाग्यो ?’ सजदाले अकस्मात प्रश्न गरी ।

‘रुपेशलाई मैले भेटेकी छु र ?’ शकुन्तलाले उल्टै सजदासँग प्रश्न गरिन्, ‘रविले तिम्रो मिल्ने साथी हो त भनेको थियो, तर भेटेजस्तो लागेन ।’

‘अस्तिन आएको थियो त, बिर्सनु भयो ?’

‘विवाहको भीडभाड भएर बिर्सिएँ होला, फेरि बूढी पनि त भएँ, सुद्दि नै कहाँ बाँकी छ र ?’ शकुन्तलाले उसलाई फुर्काउँदै भनिन्, ‘तिमीजस्तो राम्रो मान्छेको साथी पक्कै राम्रो होला नि ।’
‘ओ के, म एउटा टेस्ट गर्छु है त ?’ सजदाले भनी, ‘मेरो मोबाइलमा रुपेशका धेरै तस्बिरहरु छन्, हेरेर चिन्नुस् त ।’
सजदाले फोन शकुन्तलालाई दिई ।

शकुन्तलाले धेरैबेर फोनमा भएका फोटाहरु हेरिन् । केही फोटोलाई रुपेश भनेर अनुमान पनि गरिन्, तर सही भन्न सकिनन् ।

‘सायद, मेरो चस्माको पावर पनि फेर्नुपर्ने भएछ क्यार, भोलि मलाई डाक्टरकोमा लैजाउ है सजदा ।’ उनले आग्रह गरिन् ।
‘भोलि कसले देखेको छ र आमा, म तपाईंको चस्मा आजै बनाइदिन लैजान्छु ।’

सजदाले शकुन्तलालाई आँखाको डाक्टरकोमा लगी ।

डाक्टरले उनको आँखा जाँचेर पुरानै चस्मा लगाए हुन्छ भनेर फर्काइदिए ।

साँझमा रवि आयो ।

सजदा उसलाई कुरेर गेटमा बसेकी थिई ।

‘हाउ आर यु माइ डियर ?’ रविले अङ्कमाल गर्दै भन्यो ।
‘आज म पूर्ण रुपमा ठीक छु डाक्टरसाहेब ।’ 

सजदाको छोटो उत्तर थियो । उत्तर दिँदा ऊ खुसी देखिएकी थिई ।

‘ग्रेट !’ सजदालाई अँगालेर भित्र जाँदाजाँदै रविले भन्यो, ‘आज रुपेशले डिनरको लागि भेट्ने भनेको छ, तयार होऊ न त ।’
रविलाई नियालेर हेरी ।

‘किन त्यसरी हेरेको ?’ 

नसोधी रहन सकेन ।

‘तिमी मलाई आफैं डिनरको लागि इन्भाइट गर्न सक्दैनौ ? किन रुपेशको मात्रै सन्देश सुनाउँछौ ?’ सजदाले गम्भीर स्वरमा भनी ।

‘ओहो, कुरा त्यस्तो पो !’ रवि मुस्कुरायो, ‘तिमीलाई डिनरमा लिएर जान पाउनु मेरो सौभाग्य हो, तर रुपेशलाई के गर्ने ? आज रुपेशको मन राखौं, भोलि हामी जाउँला नि । हुन्न ?’

‘आज म सजदालाई डिनरमा लैँजादैछु भनेर उसलाई म्यासेज लेखिदेऊ न ।’ सजदाले अह्राउँदै भनी, ‘भोलिको कुरा कसलाई थाहा छ र ?’

रविले नियालेर सजदाको गम्भीर अनुहारमा हेर्यो र खल्तिबाट मोबाइल झिक्यो ।

डिनरमा सजदाले नै सबै खानेकुरा अर्डर गरी ।

अर्डरका लागि सधैं रविलाई अह्राउने सजदाले आज सबै कुरा सक्रियतापूर्वक गरी ।

‘ओ हो, तिमीलाई त मलाई मन पर्ने सबै आइटम थाहा भइसकेछ ।’ खाना खान सुरू गरेपछि रविले सजदालाई फुक्र्यायो ।

‘रुपेशका लागि तिमी जे अर्डर गरिदिन्थ्यौ, त्यही आइटम मात्रै अर्डर गरिदिएकी हुँ ।’ सजदाले भनी ।

‘आज तिमी रुपेशलाई अलि ज्यादै मिस गरिरहेकी छैनौ ?’ केहीबेर पछि रविले सोध्यो ।

‘त्यस्तो केही होइन डाक्टरसाहेब ।’ सजदाले भनी, ‘तिमीले नै भनेको होइन, मेरो मनबाट रुपेशलाई ननिकाली मलाई अपनाउँदिनँ भनेर ।’

रवि मुस्कुरायो । केही बोलेन ।

‘रुपेशलाई सधैंका लागि बिर्सनुअगाडि एकपटक उसको फोटो हेर्न चाहन्छु ।’ सजदाले अलि भावुक हुँदै भनी, ‘तिमीले यही रेस्टुरेन्टमा खिचिदिएको उसको र मेरो फोटो देखाइदेऊ न प्लिज ।’

रविले आफ्नो मोबाइलको स्क्रिन अन गर्यो । फोटो फोल्डर खोल्यो ।

‘ल हेर ।’ उसले तस्बिर देखायो, ‘तिमीहरु दुवैजना कति राम्रो देखिएको छौ एकसाथमा ।’

सजदाले नियालेर हेरी । हेरिरही ।

‘रवि, यहाँ त म एक्लै छु त ?’

यसपटक रविले सजदालाई ध्यान दिएर हेर्यो ?

‘के तिमी साँच्चै नै आफूलाई मात्रै देखिरहेकी छ्यौ यो फोटोमा ?’ रविले जान्न चाह्यो ।

‘हो डाक्टरसाहेब ।’ सजदाले बारम्बार आफूलाई ‘डाक्टरसाहेब’ भनेर सम्बोधन गरेको रविले बल्ल नोटिस गर्यो ।

रविले सजदालाई गम्लङ्ग अँगालोमा बाँध्यो ।

सजदालाई यो अँगालोबाट कसरी उम्किनु होला जस्तो भयो ।

‘म सफल भए !’ रवि उल्लासपूर्वक करायो । ऊ खुसीले पागलझैं भयो ।

‘तिमी होइन डाक्टरसाहेब, तिम्रो लेखन सफल भयो ।’ सजदाले भनी, ‘आज तिम्रो डायरीले मलाई म स्क्रिजोफेनियाको विरामी हुँ भनेर जान्न मद्दत ग¥यो । केही दिनदेखि म आफैं पनि अन्योलमा थिए । मैले आमालाई मेरो मोबाइलमा रुपेशको नम्बर डायल गरिदिन भनेँ, तर मेरो मोबाइलमा रुपेशको नम्बर नै थिएन । आमालाई रुपेशसँगको फोटो चिन्न भनेँ, आमाले त्यहाँ रुपेशको कुनै फोटो छैन भन्नुभयो, रुपेश कस्तो लाग्यो भनेर सोधेँ, रुपेश घरमा नै नआएको बताउनुभयो ।’

रवि चुपचाप सुनिरह्यो ।

‘यदि रुपेश मेरो वरिपरी भैरहन्थ्यो भने म बाहेक अरु कसैले उसलाई किन देख्थेन त ?’ उसले अफसोसपूर्वक रविलाई हेरी,‘सायद तिम्रो औषधि उपचारले पनि काम गर्यो होला तर मलाई मेरो स्थितिको बारेमा राम्ररी जान्न तिम्रो डायरीले सबैभन्दा ठूलो सहयोग गर्यो ।’

रविले त्यो डायरी लेखन उसको उपचारको एउटा भाग थियो भन्ने बताएन ।

सजदाले भनी, ‘मलाई ठीक बनाउनका लागि मेरो बुवाले जुन जिम्मेवारी तिमीलाई दिनुभएको थियो, त्यो तिमीले बडो इमानदारीका साथ पूरा गरेछौ । आजदेखि तिम्रो जिम्मेवारी सकियो । मेरो यति जटिल विरामी ठीक पार्न तिमीले आफ्नो निजी जीवनमा मलाई समावेश गर्न पनि पछि परेनौ ।’

रवि केही वोलेन । सजदालाई बोल्न दिइरह्यो । 
  
‘धन्यवाद डाक्टरसाहेब ! आफ्नो पेसाको लागि यति समर्पित डाक्टर अर्को कोही नहोला ! बिनास्वार्थ मलाई आफ्नो क्लिनिकमा मात्र होइन, जीवनमा पनि स्पेस दिएकोमा धेरैधेरै धन्यवाद ।’ बोल्दाबोल्दै उसका आँखा रसिला भए ।

रवि उसलाई अँगालेर आफ्नो मनको कुरा भन्न खोज्दै थियो, त्यहीबेला सजदाका बुजाआमा रेस्टुरेन्ट भित्र छिरे ।

‘थ्याङ्क्यु डाक्टर !’ सजदाको बुवाले नजिक आएर रविसँग हात मिलाउँदै प्रफुल्ल स्वरमा भने, ‘तपाईंले रुपेश एउटा काल्पनिक पात्र मात्र थियो भनेर सजदालाई बुझाइदिनु मात्र भएन, उसलाई नयाँ, नर्मल जीवन पनि दिनुभयो । हामी तपाईंको यो उपकार कहिले पनि भुल्ने छैनौं । फलोअपका लागि सजदालाई लिएर आउने नै छौं । धन्यवाद !’

उनीहरू सजदालाई लिएर अघि बढे । सजदाले फर्किएर हेरी । रविले हात हल्लायो । उसको क्लिनिकबाट यौटा पेसेन्ट ठीक भएर गएको थियो, तर डाक्टर स्वयम् विरामी भएको महसुस गरिरहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC