‘आन्तरिक पर्यटनलाई बढावा दिने बेला भयो’

दीपकराज जोशी– पूर्वप्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

‘आन्तरिक पर्यटनलाई बढावा दिने बेला भयो’

अहिले संसारभर हेर्‍यौं भने दुई सयभन्दा बढी देशमा एक देशबाट अर्को देशमा जाने क्रम हराएको छ । प्रायः सबै बस्ती लकडाउनमा छन् । पर्यटनको एउटा मूल विशेषता भनेकै एउटा मान्छे एक ठाउँबाट अर्को ठाउँमा जाँदा उसले गर्ने गतिविधिबाट सिर्जित अर्थतन्त्रलाई पर्यटनको अर्थतन्त्र भन्छौं ।

त्यो हिसाबले सबैभन्दा पहिलो र सबैभन्दा गहिरो मार परेको क्षेत्र भनेको पर्यटन नै हो । विश्वव्यापी रूपमा पनि र नेपालमा पनि । अझ पर्यटनभित्र पनि हामीले हेर्‍यौं भने अहिलेको तीन/चार सन्दर्भमा नेपालमा ठूलो लगानी बढिरहेको थियो र मान्छेहरू उत्साहजनक ढंगले पर्यटन क्षेत्रमा आइरहेका थिए । अरू क्षेत्रमा लागेका मान्छेहरू पनि पर्यटन क्षेत्रमा आउने क्रम बढेको थियो । 

लामो समयमा सामाजिक रूपान्तरण भएको छ, त्यो राजनीतिक र सामाजिक मोडभन्दा पनि आर्थिक मोडमा गइरहेको थियो । अर्को भ्रमण वर्ष २०२० ले कम्तिमा २० लाख पर्यटक भित्र्याउँछौं भन्ने लक्ष्य र उत्साह दिएको थियो । लामो समयदेखिको द्वन्द्व, अस्थिरताबाट स्थिरतातर्फ लम्किएको अवस्था थियो । चौथो, नेपाललाई समृद्ध बनाउने क्षेत्र छ भने त्यो पर्यटन क्षेत्र नै हो । त्यो हिसाबले पर्यटनको भविष्य सबैभन्दा उज्ज्वल छ भनेर धेरैभन्दा धेरै मान्छे पर्यटनमा आइरहेको र पर्यटनमा लगानी बढिरहेको अवस्था थियो । दुर्भाग्यपूर्ण, कोरोनाले हामीलाई एक खालको असर पारेको छ । 

छिटो रिभाइभ हुन सक्छ

यसको असर कति लामो समयसम्म पर्ला भन्ने आकलन गर्न धेरै गाह्रो छ । एक महिना अगाडिसम्म केही विज्ञले जुनसम्म कोरोना कन्ट्रोल हुन्छ र आउने अक्टुबर, नोभेम्बरपछि पूर्ण नियन्त्रणमा आइसक्छ भन्ने थियो । तर, पछिल्ला दिनमा वुहान र कोरियामा केही लक्षण देखिँदा र संसारमा एक ठाउँबाट अर्को ठाउँमा तीव्र रूपमा बढिरहेको हुँदा ठ्याक्कै अनुमान गर्न गाह्रो छ । तर पनि धेरैजसो विज्ञहरूले यसलाई भनेअनुसार करिब ९ महिनादेखि १६ महिनामा यो नियन्त्रण हुने ठाउँ छ, आशावादी हुन सकिन्छ भनिएको छ । हामीलाई पनि त्यही आशा लागिरहेको छ । अहिले कोरोनाको संक्रमणबीच पर्यटन उद्योगलाई कसरी बचाउने र यो नियन्त्रणमा आएपछि हामीले छिटोभन्दा छिटो कसरी पुनर्उत्थान गर्ने भन्ने केन्द्रित हुनुपर्छ । 

संक्रमणको दर घट्यो भने विस्तारै मान्छेहरू हिँड्न थाल्छन् । जस्तो अहिले न्युजिल्यान्ड, अस्ट्रेलियामा केही मान्छे समुद्री तटमा जाने क्रम सुरु भइसकेको देखेका छौं । अर्को पूरै आत्मविश्वास आउने भनेको त भ्याक्सिन अथवा यसलाई नियन्त्रणमा ल्याउने औषधि विकसित भएपछि मात्रै हो । र अहिले संक्रमण घट्यो भने पनि हामीले केही न केही गतिविधि बढाउन सक्छौं । 

आन्तरिक पर्यटनलाई बढावा 

म के कुरामा आशावादी छु भने जुन, जुलाईमा कुनै न कुनै खालका संक्रमण कम हुन्छ । त्यसपछि सेप्टेम्बर मध्येदेखि मुभमेन्ट सुरु हुन्छजस्तो लाग्छ । तर, यहीबीच हाम्रो आन्तरिक पर्यटनको सेग्मेन्ट कस्तो छ भने भारत, चीन अरू मुलुकहरू हामीले हेर्‍यौं भने पहिला आन्तरिक पर्यटन बलियो थियो, त्यसपछि क्षेत्रीय पर्यटन बढ्यो, त्यसपछि ‘लङ हल मार्केट’ भएको हो । हाम्रोमा ठ्याक्कै उल्टो छ । हाम्रो ५०/६० वर्ष भइसक्यो मोर्डन टुरिजम ह्यान्डल गरेको छ । तर हाम्रो सुरुवात कहाँबाट भयो भने पहिला पश्चिमी त्यसपछि क्षेत्रीय एवं वरिपरिका देशहरू हुन थाल्यो । त्यसपछि बल्ल डोमेस्टिक टुरिजमको क्षेत्र बढेको हो ।

आन्तरिक पर्यटनको बीजारोपण सन् १९९८ को भ्रमण वर्षको समयमा भयो । अलिअलि प्रवर्द्धन गर्ने काम द्वन्द्वको समयमा कुनै न कुनै हिसाबले आन्तरिक पर्यटन प्रवर्द्धन गरौं भनेर जाऔं है पोखराजस्तो अभियान सुरु भयो । यसलाई हुर्काउने काम भूकम्पपछि बाहिरको पर्यटक फेरि पनि घट्यो त्यसपछि २०७३ मा घुमफिर वर्ष भनेर वार्षिक अभियानकै रूपमा अगाडि बढायौं त्यसपछि अहिले उत्साहजनक ढंगबाट अगाडि बढेको छ ।

तर अरू देशजस्तो हाम्रो आन्तरिक पर्यटनको सेग्मेन्ट एकदम बलियो र परिपक्व होइन । बनाउन सक्ने ठाउँ अब पनि दिएको छ । जहिले–जहिले नेपालमा संकट आउन थाल्यो त्यसपछि खोजी गरिने क्षेत्र भएको आन्तरिक पर्यटन । तर, त्यस्तो हुनु हुँदैन । आन्तरिक पर्यटनको ठूलो महत्त्व छ । यसलाई बढावा दिनुपर्छ । अहिले पनि नयाँ ठाउँमा लगानी लैजाने, नयाँ नयाँ गन्तव्य निर्माण गर्ने काम त आन्तरिक पर्यटनले नै गरेको छ । आन्तरिक पर्यटनको सेग्मेन्टलाई बढावा दिनुपर्ने अहिलेको समय हो । 

तीन/चारवटा काम गर्न सकियो भने यसलाई हामी अगाडि लैजान सक्छौं । एउटा अभियानै घोषणा गरेर चलाउनुपर्छ, दोस्रो जोसँग ‘डिस्पोजेबल इन्कम’ छ त्यसलाई बढावा दिने काम गर्नुपर्छ । त्यसका लागि संगठित क्षेत्रमा भएका कर्मचारीहरूलाई राहत दिएर घुम्न पठाउने, अर्को निजी क्षेत्रमा प्रोत्साहन गर्न यसरी घुमफिर गर्दा ट्याक्समा छुट अथवा संस्थागत सामाजिक उत्तरदायित्व मान्न सकिन्छ भन्ने खालको गतिविधि बढाउन सक्ने हो भने यसले सबैभन्दा बढी ‘बुस्ट’ दिन्छ । अर्को हामीले केही अगाडिदेखि दुई दिनको सार्वजनिक बिदाका लागि सुझाव दिएका थियौं । यो वर्ष भएन । आगामी वर्षहरूमा हुन सक्ला । अर्को तालिमको आवश्यकता पनि छ ।

गत वर्ष करिब १३ लाख नेपाली पर्यटकका रूपमा विदेशी घुम्न गएका रहेछन् । यो वर्ष सरकारले विदेशी मुद्रा बचाउन बाहिर जानलाई डिस्करेज गर्छ होला । त्यसैले बाहिर जाने समूह पनि नेपालमा छ । त्यो भनेको विदेशीको जत्तिकै अनुभव खोजी गर्ने सेग्मेन्ट हो । त्यो पनि थप ‘एडेड भ्यालु’ भएको छ । यी तीन/चारवटा काम गर्‍यौं भने आन्तरिक पर्यटनबाट केही न केही रूपमा अर्थतन्त्रलाई चलायमान बनाएर अहिलेको यो संकटमा थोरै भए पनि राहत दिन सकिने काम हुन्छ । दीर्घकालीन, बृहत्तर पर्यटनको जग बसाउन पनि आन्तरिक पर्यटन बढाउनै पर्छ । यो संकट आए पनि नआए पनि आन्तरिक पर्यटन बढाउनै पर्छ ।

पूर्वाधार अति महत्त्वपूर्ण

पूर्वाधार अति महत्त्वपूर्ण पक्ष हो । नेपालमा कसैले पर्यटन विकास अथवा नेपाललाई समृद्ध बनाउने सबैभन्दा ठूलो चुनौती के हो भन्यो भने ठूलो त भन्दिनँ एकमात्र चुनौती भनेको पूर्वाधारै हो । पूर्वाधार हुनेबित्तिकै पर्यटनमा हामीलाई यत्तिकै धेरै हुन्छ । गन्तव्य तयारी नै छन् । जम्माजम्मी हामीलाई हुन नदिएको पूर्वाधारले नै हो ।
 

प्रतिकृया दिनुहोस
ad