मृत मायाबजार

 मृत मायाबजार

कोरोना सङ्क्रमणले संसारलाई चपेटामा पारिरहँदा हामी थुप्रै सन्दर्भलाई लिएर निकै भावुक भयौं । कसरी तिनको जीवन चलिरहेको होला भन्दै अभावमा परेका वर्गमाथि संवेदनशील पनि बन्यौं । नाङ्गो खुट्टा र भोको पेटमा सयौं किलोमिटर पैदलै हिँडेका आँसुका समाचार बेचेर हामीले आफ्नो सञ्चारमाध्यमको दर्शक–पाठक वृद्धि गर्‍यौं । महाकालीमा हेलिएर जन्मथलो जान खोज्ने गरिब नेपालीको तस्बिर भाइरल बनायौं । सडकमा दुध पोखिएकोदेखि लिएर बिक्री नभएका फलफुल र तरकारीको शीर्ष समाचार प्रवाह गर्‍यौं । तर यही समाजको एउटा वर्ग जो आफ्नो जीवन धान्न ‘यौनकर्म’ गरिरहेको छ, त्यो वर्ग यतिखेर कसरी बाँचिरहेको होला भन्ने सन्दर्भ कसैको पनि चासोमा पर्न सकेन ।  

कोरोनाको अदृश्य जिवाणुले आक्रमण गरेको सम्बद्ध देशका सरकारले गरिब तथा विपन्न र अन्य नागरिकलाई सहयोगका प्याकेज घोषणा गरिरहँदा यौनकर्मी छुटेका छन् । तिनीहरुमाथि हरेक देशका सरकारले ‘अनागरिक’को व्यवहार गरेको छ, विभेद गरेको छ, अन्याय गरेको छ । तिनको खराब अवस्थाबारे कसैको पनि ध्यान गएको छैन । समाचारका हेडलाइन र सरकारका प्राथमिकतामा ती छुटेका छन् । 

वैध/अवैध, कुनै पनि रुपमा संसारभरि यौनकर्म चलिरहेको छ । यो कर्म मौलाउँदो क्रममा छ । चाहे विकसित मुलुक हुन् वा अविकसित, यौनकर्मी बढिरहेका छन् । जीविकोपार्जनका निम्ति विकल्प नपाएपछि यौनकर्म बाध्यकारी काम हुन पुगेको छ । यौनस्थलबाट बाहिर निस्केर यौनकर्मी तथा उक्त कर्मलाई घृणा गर्ने पाखण्डीहरु दुनियाँको आँखा छलेर तिनै यौनकर्मीबाट आफ्नो दमित इच्छा शान्त पारिरहेका छन् । तिनले कहिल्यै यो कर्मलाई वैधानिकता दिने र व्यवस्थित तथा वैज्ञानिक बनाउनेबारे सोचेनन् र एक शब्द बोलेनन् । यौनकर्मीमाथि तिनको मस्तिष्क कहिल्यै सकारात्मक बन्न सकेन । 

दुनियाँका तमाम कामका लागि सामाजिक दूरी सम्भव छ, तर यौनकर्म मानिससँग पर रहेर हुन सक्दैन । कोरोनाले मानिसलाई मानिसँग टाढा भगाइदिएको छ । यो विषम परिस्थितिमा यौनकर्मीहरु भोकसँग लडिरहेका छन् । यसैबीच बीबीसी वल्र्ड सर्भिस(टेलिभिजन)ले केही दिनअघि कोरोनाकालमा सेक्सवर्कर्सबारे सानो फिचर देखायो । 

उक्त फिचरमा युरोप, अमेरिकादेखि छिमेकी भारतका यौनकर्मी काम नपाएर भोकसँग लडिरहेको सामान्य तथ्य देखाइएको छ । सरकारहरुले यौनकर्मीमाथि अन्याय गरिरहेको बताइएको छ । निश्चय पनि यो उचित होइन । यौनकर्मी पनि यही दुनियाँका नागरिक हुन्, तिनले पनि अभावमा रहेका अन्य वर्गका मानिसले जस्तै यो महामारीका बेला सरकारबाट राहत प्याकेज पाउनु पर्छ । यो तिनको मानवीय हक हो, मानवअधिकार हो । यसबारे विश्वसंस्थाहरु मौन छन् । तिनलाई यौनकर्मीको भोकले बिलकुलै छोएको छैन । 

दुनियाँभरका सरकारहरु विभिन्न तप्काका मानिसलाई सहयोगको घोषणा गरिरहेका छन् । छिमेकी देश भारतको सरकारले कोरोनाबाट कमजोर बन्न पुगेको आर्थिक अवस्थालाई उकास्न २० लाख करोड राहत प्याकेज घोषणा गर्‍यो । त्यस प्याकेजमा किसान, व्यवसायीलगायत अन्य सबै क्षेत्र समेटियो, तर यौनकर्मीका बारेमा एक शब्द उच्चारण गरिएन । भारतमा सात लाखभन्दा बढी यौनकर्मी रहेको अनुमान छ भने संसारभरि यो सङ्ख्या पाँच करोडभन्दा बढी छ । यो आँकडा अनौपचारिक हो, कतिपय मुलुकले आफ्नो देशमा रहेका यौनकर्मीको सङ्ख्या लुकाउने गरेको छ ।

त्यसकारण पनि यो कर्ममा लागेका महिलाको सङ्ख्या निकै हुन सक्छ ।  

यही समाजको एउटा तप्का भोकसँग युद्ध गरिरहेको छ । यौनकर्मीहरु भनिरहेका छन्– यो मुस्किल समयमा हामीलाई सरकारहरु भुलिरहेका छन् । हामीमाथि चरम भेदभाव भइरहेको छ । आपत्कालीन सहयोग पनि हामी पाइरहेका छैनौं । के हामीलाई बाँच्ने अधिकार छैन ? उनीहरुको जायज प्रश्नको उत्तर कतैबाट आइरहेको छैन ।

केही देशका कतिपय यौनकर्मी लकडाउनको समयमा पनि काम गरिरहेका छन् । यसको मुख्य कारणमा पहिलो त गरिबी नै हो भने सहायक कारणमा ‘लत’ पनि मान्न सकिन्छ । यौनकर्मीका पक्षमा काम गर्ने कतिपय संस्थाहरुको भनाइ सुन्दा अवस्था थप भयावह देखिन्छ । उनीहरु भन्छन्– महामारीको यो समयमा पनि यौनकर्म गर्न बजारमा आउने महिलाको सङ्ख्या घटेको छैन । केही त यस्ता महिला पनि छन्, जो पहिलो पटक यो काम गर्न अघि सरेका छन् ! अचम्म त के छ भने, ती संस्थाहरु पनि यौनकर्मीमाथि दया प्रकट त गरिरहेका छन्, तर तिनलाई सहयोग गर्नेबारे बोलिरहेका छैनन् !

जुन कारणले महिला आफ्नो शरीर बेच्न अग्रसर हुन्छन् या बाध्य हुन्छन्, त्यसबारे दुनियाँभरका मानिसलाई जानकारी छ । यौनधन्दा गर्नु नै उनीहरुको बाँच्ने आधार हो । सेक्सवर्कर्स अहिले खानेकुरा किन्न र भाडा तिर्न पनि ग्राहकको खोजीमा बजारमा निस्किरहेका छन् । कुनै पनि देशका सरकार तिनको पीडामा साथ दिन तयार छैन !

मानिससँगको सम्पर्कबाटै कोरोना सर्छ भन्ने कुरा अब जगजाहेर सत्य भइसकेको छ । मानिससँग सम्पर्क नभई नहुने काम गर्ने यौनकर्मीको आम्दानी लकडाउनले बन्द हुन पुगेको छ । बेलायतजस्तो धनी मुलुककी एक यौनकर्मीको अवस्थाले जोकोहीलाई भावुक बनाउँछ । क्लेयर नामकी उनी बीबीसीसँग भन्छिन्, ‘‘यो सत्य हो कि, मानिसलाई म देख्न पाइरहेकी छैन । उनीहरुसँग भेट्न पाइरहेकी छैन । यसबाट मेरो कमाइ रोकिन पुगेको छ भने मलाई बाँच्नका निम्ति ठूलो सङ्घर्ष गर्नु परिरहेको छ । सरकार सेक्सवर्कर्सलाई अलिकति पनि मान्यता दिइरहेको छैन । सरकारको नजरमा हामी अवैध काम गरिरहेका छौं, हामीलाई कुनै पनि सरकारी सहयोग मिल्दैन । वास्तवमै हामी कठिन समयबाट गुज्रिरहेका छौं ।’’ 

दिउँसोको उज्यालोमा त कपितय देशका सडक सुनसान छन् भने राति झन् कस्तो होला ? तर कतिपय देशका महिलाहरु जब रात पर्छ तब सडकमा निस्किरहेका छन् । बाँच्नका लागि ती यो डर लाग्दो अवस्थामा पनि ग्राहकको प्रतीक्षा गरिरहेका छन् । तिनलाई रोगसँग भन्दा भोकसँग बढी डर लागेको छ । तिनलाई भाइरसको डर कम छ । कोरोना भाइरसका कारण अहिले मानिसहरु मानिसँग बढी डराइरहेका छन् । हिजो अङ्गालोमा बाँधिएर कहिल्यै नअघाउनेहरु र चुम्बन गरेर कहिल्यै नथाक्नेहरु अहिले यी दुवै कर्मबाट धेरै पर भागिरहेका छन् । रेडलाइट एरियामा गएर केहीबेर भए पनि मायाको अनुभूति गर्नेहरु अहिले छटपटिएका छन् ।

निःसन्देश अहिले यौनकर्मीका निम्ति ग्राहकको अभाव छ । तिनका लागि यो इतिहासको सबैभन्दा अतुलनीय कठिन समय हो । कुनै बेला चौबीसै घण्टा मानिसको भीड रहने स्थानहरु अहिले सुनसान छन् । हरदम गुलजार रहने ठाउँहरु निर्जन बन्न पुगेको अब त आठ साता नाघिसकेको छ । अहिले कोरोनाले ‘मायाबजार’लाई मृत बनाइदिएको छ । यो मृतबजारमा यौनकर्मीहरु आफूलाई कसरी बचाउने भन्ने तनावमा परेका छन् ।

कतिपय स्थानका सेक्सवर्कर्स समूहमा बस्छन् । त्यहाँ सामाजिक दूरी कायम गर्नु असम्भव छ । यौनकर्म त लगभग शून्यजस्तै छ, साथमा तिनलाई सामाजिक दूरी कायम गरेर बाँच्न पनि कठिन हुन पुगेको छ । कोरोनाकालमा यौनकर्मीलाई कमसेकम बाँच्ने आधार तयार पारिदिने जिम्मेवारी सम्बद्ध देशको सरकारको हो । ती पनि समाजका मानिस हुन्, तिनले पनि यो महामारीमा उचित स्वास्थ्य सेवा र खाने–बस्ने सुविधा पाउनु पर्छ । कोरोनाले बाध्यकारी बन्न पुगेको लकडाउनका कारण सबैभन्दा पहिला ‘भोक’ले कसैलाई मार्छ भने ती यौनकर्मी नै हुने छन् । 
 

 

राजेन्द्र पराजुली

प्रतिकृया दिनुहोस
ad