कोभिड– १९ र लकडाउन भोगाइ : मनिला सहरमा एक नेपालीको

सन्ध्या रेग्मी

कोभिड– १९ र लकडाउन भोगाइ : मनिला सहरमा एक नेपालीको

जनवरी २१, २०२०ः दिनको ठीक १ बजे छ मेरो उडान – काठमाडौंबाट चीनको ग्वान्जाउ हुँदै मनिलातर्फ । 

प्राविधिक गडबडीले १ बजेको फ्लाइट २ घण्टा पर सरेछ । मलाई फसाद पर्याे, ओहो ! मेरो त कनेक्टेड फ्लाइट पो त छ । आजै राति ९ बजे ग्वान्जाउबाट मनिलातर्फ । कसैगरी म जनवरी २२ एकाबिहानै मनिला पुग्नुपर्छ – अफिसबाट कडा आदेश छ । 

यो यात्रा म एक्लै गर्दैछु । बोर्डिङ गर्दाकै दृश्यले चकित पार्दछ । यात्रुहरुले मुखमा मास्क बाँधेका छन् । हाछ्यँु र खोकीको गुञ्जन छ प्लेनभित्र । आफुले त पाकेटमा मास्कसमेत राख्न भुलेछु । प्लेनमा बाँडिएको जीउ छोप्ने ब्लाङ्केटलाई पछेउरी बनाई टाउको, आँखा, नाक, मुख, घाँटी, छाती सबै छोपी “सुरक्षाकवच” तयार गर्दछु । ब्लाङ्केटले शरीर ढाक्ने कवच बनाए पनि त्यसले मेरो मन बाध्न सकेको छैन् । चिन्ता छ कनेक्टेड फ्लाइट छुट्ने भो भन्ने ।

“तपाई ढुक्क हुनुहोस् न, फ्लाइट छुटेमा तपाईलाई एयरपोर्ट बाहिरको पाँचतारे होटेलमा राखिने छ,” काठमाडौंको ट्राभल एजेन्टले ढाडस दिएका थिए । सवाल पाँचतारे होटेलको बास र गासको थिएन । मलाई त भोलिपल्ट समयमै अफिस पुग्न नसक्ने  हो कि भन्ने कुराको पो पिरोलेको थियो । 

रातको ठीक १० बजे प्लेन चीनको ग्वान्जाउ विमानस्थलमा अवतरण गर्यो । त्यहाँ मलाई भाग्यले साथ दिएछ । यता पनि प्राविधिक कारणले ९ बजेको मनिलाको उडान १०ः३० बजे सरेछ ।

आज म विशाल चीन भूमिमा प्रथम पटक पाइला टेक्दैछु । तर मलाई यहाँ घुम्नको लागि समय छैन । मसँग मात्र ३० मिनेट समय छ । 

अरु यात्रुहरु उठ्न नभ्याउँदै म आफ्नो गरुङ्गो झोला घिसार्दै अगाडि लम्कन्छु । एयरहोस्टेजदेखि म्यानेजरसम्मलाई ‘प्लीज हेल्प मी, अदरवाईज आई वील मीस माई फ्लाइट ।’ त्यहाँ विमानस्थलका कर्मचारीहरुबाट मैले आशा गरेकोभन्दा बढी सहयोग पाउछु । प्लेनको खुड्किलो ओर्लिन नपाउँदै एक जवान कर्मचारीले मेरो गरुङ्गो झोला र मेरो हात पनि समाई दौडाउँदै एयरपोर्ट भित्रको झन्डै एक घण्टा लाग्ने बाटो ओलम्पिक रेसमा झैं उछिनेर मनिलातर्फ प्रस्थान गर्न लागेको प्लेनको ढोकाकै अगाडि पुर्‍याइ दिन्छन् ।

यी म्याराथन धावक, मेरा सेवक र रक्षक, २५ वर्षका देखिने जवान –पूर्ण चाइनिज मुख मोहडा, चिल्लो कपाल, पुष्ठ गाला, हँसिलो चेहरा र कत्रो सद्भाव । एउटी आमाले छोरालाई आशीर्वाद दिएझैँ मैले उसलाई झुकेर धन्यवाद दिन्छु र पाकेटबाट १० डलर झिकेर उसको हातमा राखिदिन्छु । उसले मलाई लगाएको गुन त तिर्न नसकिने नै थियो । उसैले त मेरो प्लेन छुट्नबाट बचायो । “हे कर्तव्यनिष्ठ परोपकारी ! तिम्रो सदा शुभ होस् ।”

जनवरी २२ः बिहानको ठीक आठ बजे पुग्छु – मेट्रो मनिला पासिग सिटीभित्रको ओर्टिगास सेन्टरको  गगनचुम्बी भवनको सत्रौँ तलामा अवस्थित मेरो अफिसमा । यहाँ हाजिर गर्ने तरिका बेग्लै पो छ । आफ्नो चोर औँलाको छाप ढोकाबाहिर अड्काएको विद्युतीय उपकरणमा ल्याप्चे लगाएपछि मात्र अफिसमा प्रवेश गर्न सकिन्छ । एसियाली विकास बैंक र जाईकाको संयुक्त सहयोगमा सुरु भएको मनिलाको उत्तरदेखि दक्षिणसम्मै जोड्ने झण्डै १०० किमी लामो रेलमार्ग निर्माण वृहत परियोजनामा एक अन्तरराष्ट्रिय परामर्श विज्ञको रुपमा म पनि छु । अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, बेलायत, भारत लगायतका झण्डै बीस मूलुकका ५०० जना विज्ञहरुको सहभागिता भएको यस अन्तरराष्ट्रिय परामर्शदातृ संस्थामा । अरु ५०० कर्मचारीहरु थपिनेवाला छन् । नेपालबाट भने म एक्लो छु । 

म चीनको बाटो भएर उडेको थाहा पाउनासाथ उपहारस्वरुप मेरो हातमा एन–नाइन्टी फाइभ मास्क र स्यानिटाइजर थमाइदिन्छन् र टेबुलभरि काम थुपारिदिन्छन् । हामी एउटै टेबुलमा चारजना बसेर काम गर्छौैँ । चारजनामध्ये दुईजना हिजोमात्र मलेसिया र कोरियाबाट मनिला भित्रिएका हुन् । यहाँ जापानबाट आएकाहरुको छुट्टै समूह छ । बेलायती विज्ञहरु दिइएको मास्कसमेत लगाउन अस्वीकार गरेका छन् । अफिसमा कडा नियमहरु बन्दैछन् । सायद मनिलामा कोरोना संक्रमण बढ्दै गएर हो कि .............. । एकपछि अर्को संकेत आउन थालेको छ । 

जनवरी ३०ः अफिसबाट घर आइपुग्दा छोरीलाई हनहनी ज्वरो आएको हुन्छ । यति मात्र कहाँ हो र ? आँखा रातो, अनुहारको रङ्ग उडेको थियो । तर, अझै केही नभएजस्तो गरी उनी गृहकार्य गर्न खोजिरहेकी थिइन् । उनका ड्याडी अफिसकै कामले बैंग्लोर पुगेका छन् । मैले छोरीको निधारमा पानीपट्टी लगाउँछु । रात पनि परिसकेको थियो, जसले गर्दा छोरी डाक्टरकहाँ जान इन्कार गरिरहेकी थिइन् । उनलाई धेरै गाह्रो भएकाले पारासिटामोलको डबल डोज दिन्छु । मेरो मनमा चिसो पस्यो – कि कतै मेरी छोरीलाई कोरोना संक्रमण त भएको छैन ? उनी मनिलाकै एक स्कुलमा पढ्छिन्, कतै स्कुलबाट भाइरस सरेको त होइन ? कि मैले नै उनलाई सारेको त हैन ? यी विचारले मेरो मनमा डर पैदा हुन्छ । विगतका केही घटनाहरु आँखाअगाडि झलझली आउन थाल्दछन् । 

म चीनको बाटो भएर यात्रा गरेर गल्ती पो गरेछु कि ? जिन्दगीभर थाई एयरलाइन्सबाट यात्रा गरिरहेकी म अपवादको रुपमा किन चाइना साउथ एयरलाइन्सबाट उड्न पुगेँ ? विमानस्थल होस् या अफिस सबै ठाउँमा भीडभाड थियो । भर्खर मात्र विदेशबाट मनिला आइपुगेका विज्ञहरु मेरै टेबुलका सहकर्मी थिए । त्यसैले मेरो शरीरमा कोरोना भाइरसले आक्रमण गर्नु अस्वभाविक पनि त थिएन । यो सम्झिंदा आङ जिरिंग भयो । जनवरी १० देखि १८ सम्म म लुम्बिनी विश्वविद्यालयमा विद्यावारिधिको क्लास लिन जाँदा जुन होटेलमा बसेकी थिएँ, त्यहाँ बुहान सहरबाट आएका आमाछोरी थिए । हामी यति आत्मीय भयौँ कि एउटै टेबलमा खानानास्ता गर्यौँ । ती ८ वर्षीय बालिकाले मलाइ यति पच्छ्याइन् कि मैले उनलाई चुम्बन र अंकमाल नगरिरहन सकिनँ ।

म क्लास लिइरहेकै बेला उनीहरु मलाई विश्वविद्यालयको गेटबाहिर कुरिरहेका हुन्थे । हामी सँगसँगै मायादेवी मन्दिर पनि घुम्थ्यौँ । हामी यतिसम्म नजिक भयौँ कि लुम्बिनीबाट काठमाडौंसम्म पनि साथ छोडेनौँ । ती बच्चीको माया सम्झिंदा मेरो मन भावुक हुन्छ । तर अहिले चिन्ताको कुरा उनीहरु बुहानबाट आएका थिए । वास्तविकता त बुहानमा गएको सालको नोभेम्बर १७ मा नै कोरोना भाइरसको पहिलो केस देखिएको र डिसेम्बर ५ सम्म आइपुग्दा संक्रमितको संख्या ६० पुगिसकेको थियो । म नै कतै संक्रमित छु कि भनेर रातभर आँखा चिम्लिनँ । शङ्काले लङ्का जलाउँदो रहेछ । दुई दिनपछि छोरीको ज्वरो आफै कम भयो । म बिहान उठ्दा त छोरी स्कुल गइसकेकी थिइन् । 

अफिसको व्यस्तताले ४–५ साता बितेको पत्तो भएन । यही बेला कोरोनाले महामारीको रुप लिइसकेछ । चीन, जापान, कोरिया, इटाली, स्पेन, फ्रान्स हुँदै अमेरिकातिर संक्रमण हुँदै मनिलामा पनि आइपुगेछ । फिलिपिन्समा जनवरी ३० मा एकजनामा मात्र कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाकै कारण फिलिपिन्समा फेब्रुअरी २ मा पहिलो मृत्यु भएको थियो, जुन चीनबाहिरको मूलुकमा कोरोनाको कारण पहिलो मृत्यु थियो । फेब्रुअरी १५ मा ३ जना हुँदै मार्च १४ सम्म आउँदा संक्रमितको संख्या १११ पुगिसकेछ । 

छोरीलाई पुनः कडा ज्वरो आयो । यति मात्र नभई उनको टाउको दुखेको, शरीरका मांसपेशीहरु शिथिल भएको कारण आँखासम्म खोल्न नसक्ने अवस्थामा छिन् । हामी आमाबाबु लगातार उनको हेरचाहमा लाग्यौँ । जटिल बिमार भएर होला उनलाई पारासिटामोलले छुँदैन । सिटामोलले असर नगरेपछि नेपालबाटै ल्याएको फ्लेक्सन दिएपछि मात्र ज्वरो कम हुन्छ । 

मनिलाका अस्पतालहरु कोरोनाका संक्रमितले भरिएका छन् । स्थिति झन्झन् गम्भीर हुँदै गइरहेको छ । यो सुनेर नेपालका आफन्तले समेत कोरोना परीक्षणको लागि सुझाव दिन्छन् । हामीले नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी र मनिलाका अति घनिष्ट मित्र छातीरोग विशेषज्ञ डा. संगीत कसजुसँग परामर्श गर्छौँ । नानीको रगत परीक्षणबाट डेंगु फिभर र टाइफाइड भएको प्रमाणित हुन्छ । परीक्षणका सबै रिपोर्टहरु आइपुग्दा उनलाई निको हुन थालिसक्छ । 

अचानक एकदिन म आफै नराम्रोसँग थला पर्छु । घाँटीबाट सुरु भएको दुखाइ छातीसम्म पुग्छ । सास फेर्न गाह्रो भएझैं र पुरा शरीरलाई पहाडले थिचेझैं हुन्छ । लाग्छ कुनै जीवाणुले मलाइ लत्राकलुत्रुक पारी मार्न खोजिरहेछ । 

कोरोनाले हो कि पुरानै रोग बल्झेको हो, पत्तो पाउन सकिनँ । मजस्ता दमका दीर्घरोगीलाई कोरोनाले अँठ्याएमा जीवित भएर पार लाग्न सायद सम्भव नै नहोला । एक मनले डर मानिरहेछ त अकेि मनले  आश पालिरहेछ । जीवनमा पटक पटक कालसँग नजिकिएको यो ज्यानले हार भने पटक्कै मानेको छैन ।   जीवनभर ज्ञान र विज्ञानको उपासक रहेकी म ज्ञानका उज्याला पक्षहरु र विज्ञानका वरदानहरुको सराहना नगरी रहन सक्दिनँ । बाँचिरहे कति उर्जाशील रहनेछ जीवन, अनि सिर्जनाका कति धारा बगाइरहन सक्नेछ यो मानव । 

अन्योलमा बस्ने समय रहेन । तर परीक्षणका लागि अस्पताल जाने स्थिति पनि छैन । न डाक्टर, न क्लिनिक । लाईफलाईनलाई फोन गरी सोध्दा एउटा जनरल फिजिसियनलाई भेट्न तीन दिन कुर्न पर्ने बताए । यस्तै आपतको समयमा कुनै मानिस देउताको रुपमा प्रकट हुने रहेछन् । यो मनिला सहरभरि मेरा नजिकका एकमात्र घनिष्ट परिवार छन् – विदेशमा नेपालीका गौरव एक प्रतिष्ठित चिकित्सक –डाक्टर संगीत कसजु जसले पटक–पटक मेरो ज्यान बचाएका छन् । उनीसँगै फोनमार्फत् परामर्श  लिंदा पहिलाकै रोगले च्यापेको बताउँछन् र दुई थरी एण्टीबायोटिक सेवन गर्न आग्रह गर्छन् । उनले दिएको औषधीे सेवन गरेको सात दिनपछि म निको हुन्छु । 

आमासँग फोनमा पटक–पटक कुरा हुन्छ – “छोरी ! झट्ट नेपाल फर्क” भनेर मायाका वाणीहरु दिनुहुन्छ । ८७ वर्षीय मेरी आमा, सदा ममतामयी । मैले पनि तीन महिनापछि बिदा मिलाएर नेपाल फर्कने वचन आमालाई दिन्छु । 

मार्च १४ः मनिलाको यातायात विभागका एक उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि हुन्छ र उनकी श्रीमतीको कोरोनाकै कारण मृत्यु भएको सञ्चारमाध्यममा फैलिन्छ । त्यसैबीच एसियाली विकास बैंकले आफ्नो प्रधान कार्यालय बन्द गर्दछ । यातायात विभागका ती कर्मचारीसँग एसियाली विकास बैंकको बैठकमा हाम्रो अफिसका १४ जना उपस्थित थिए । त्यसपछि अफिसमा खैलाबैला मच्चिन्छ । ती १४ जना क्वारेन्टाइनमा बसिसकेका छन् । यद्यपि हामी सबैजना काममा तल्लीन छौं । हवाईजहाजभित्र किस्तीभरि बच्चाहरुलाई चकलेट बाँडेझैं अफिसमा मास्क र स्यानिटाइजर बाँड्न थालिएको छ । म कोरोनाका त्रास एकातिर पन्छाएर अफिसको काममा व्यस्त हुन्छु । 

मार्च १७ः फिलिपिन्सका राष्ट्रपतिको सम्बोधनपछि मनिलासहित मूख्य टापुमा दुई महिनाको लागि लकडाउन सुरु हुन्छ । लकडाउन सुरु हुँदा १४ जनाको मृत्यु र १४२ जना संक्रमित भैसकेका थिए । लकडाउन सुरु भएपछि मानिसहरु आत्तिएर सुपरमार्केट नै खाली गर्ने गरी सामान किन्छन् । कति दिन सामान नपाइने हो भन्दै म पनि त्यो भीडमा सामेल हुन्छु । 

अप्रिल १ः संक्रमितको संख्या २३११ र मृतक ९६ जना पुग्दा मेरो मन वशमा छैन । कोरोनाले धनी, गरिब, युवा, वृद्ध कसैलाई पनि छाडेको छैन । तरपनि मानिस ज्यान जोगाउने ध्याउन्नमा छ । विश्व बन्दाबन्दीको अवस्थामा हुँदा धेरैजना जहाँ थिए, त्यहीं नै थुनिए । थोरै देशले मात्र आफ्ना देशका नागरिकलाई उद्घार गरेको समाचार टिभी तथा अनलाइनमा छरपस्ट देखियो । 

अप्रिल १०ः संक्रमितको  संख्या ४१९५ र मृतक २२१ ।

आफ्नो देशबाट “जहाँ छौ, त्यहीं बस्नू” भन्ने सन्देश पाइयो । सरकारको यो कुरा सुनेर एकदमै नमिठो लाग्यो । 

अप्रिल २०ः संक्रमितको संख्या ६४५५ र मृतक ४२८ ।

त्यसो त यो ज्यानले यसअघि “सार्स” को महामारी पनि भोगेकै हो । सन् २००३ मा सिंगापुरमा १४ दिन क्वारेन्टाइनमा पनि बसेकै हो । तर, सार्सले भन्दा कोरोनाले निम्त्याएको परिस्थिति बिलकुलै फरक छ । कतिपय स्वास्थ्यकेन्द्र बन्द छन् भने धेरै अस्पतालका बेडहरु कोरोनाका संक्रमितले भरिएका छन् । स्वास्थ्यकर्मीहरु पनि पीपीई को अभावमै काममा खटिइरहेका छन् । यति मात्र होइन, एकाएक दशौं लाख मानिस बेरोजगार हुन पुगेका छन् । जसका कारण मानिसहरुलाई हातमुख जोड्न धौ धौ पर्दैछ ।

अप्रिल ३०ः संक्रमितको संख्या ८४८८ र मृतक ५६८ ।

लकडाउनभरि मेरो दैनिकीले नयाँ मोड लिन्छ । कार्यव्यस्तताका कारण दिक्क हुने अवस्था सिर्जना नै भएन । यस्तो लाग्यो कि दिन २४ घण्टाको नभई ४८ घण्टाको भइदिए बल्ल सबै काम सकिन्थ्यो । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म अफिसकै काममा व्यस्त हुन्छु । 

मे ५ः संक्रमितको संख्या ९६८४, मृतक ६३७ ।

यति बेलासम्म कोरोनाको संक्रमणले निम्त्याएका उज्याला पक्षहरु पनि देख्न थालिएको छ । कोरोनाले मानवजातिमा विकराल समस्या पारेपनि प्रकृति तथा जीवजन्तुमा भने मुस्कान ल्याएको देखिन्छ । आकाशको अनुहार नै बदलिएको छ । वातावरण यति स्वच्छ छ कि ४३ औं तलाको मेरो सानो बार्दलीबाट क्षितिजमा टाढा–टाढासम्म समुन्द्री तट र वरिपरिका टापुहरु पनि स्पष्ट रुपमा देखिन थालेका छन् । रातमा आकाशभरि अनगिन्ती ताराहरु चम्कन्छन् । 

हरेक साँझ आकाशको सूर्यास्तपानको आनन्द नै बेग्लै छ । समुद्रमा सूर्य डुब्दै जाँदा क्षितिजभरि फिँजिने त्यो रक्तिम लाली देख्दा मनमस्तिष्क र शरीरभरि प्रवाह हुने तरङ्ग शब्दमा उतार्न कहाँे सकिन्थ्यो र । सूर्यास्तपछिको सन्ध्याकालीन आकाशको गोधूलि–उस्तवमा शीतल पवनले बजाएको सुसेली ध्वनिको तालमा ती नृत्यमग्न बादलहरुसँग लठ्ठिनु दैनिकी मात्र हैन महापर्व नै बनेको छ । हरेक साँझ आकाशले नयाँ रङ्गको व्यञ्जन पस्किन्छ – कहिले दुलहीको घुम्टोजस्तो रातो त कहिले बोटभरि लटरम्म शिरीषको फूलझैं वैजनी, कहिले गुलाबी त कहिले भिक्षुको वस्त्रझैं पिताम्बर र कलेजी । योग, ध्यान र प्राणायाममा मन बस्न थालिसक्यो । अनि ऊँ “मणि पद्मे हुँ” को श्रद्घामय ध्वनि सुन्दै बुद्धका ती करुणामय नयनहरुको कल्पना गर्दै आफू परमात्मामय यात्रामा गतिशील भइरहेको सुखानुभूति हुन्छ ।

कोरोनाकै कारण मान्छेको चरम भौतिकवादी सोचाइमा पनि चेतनाको धार पलाउन थालेको आभास हुन्छ । एक घण्टाको मिटिङ्को लागि हजारौं माइलको यात्रा र हजारांै डलर खर्चले गर्ने शैली बदलिएर घर दलानमै बसेर “जुम” र “स्काइप” मार्फत मिटिङ गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ । यस बेला मैले पनि अफिसका कतिपय बैठक र सेमिनारहरु भर्चुअल रुपमा नै गरिरहेकी छु । भएजति सबै ठाउँमा आफुनै पुग्नुपर्ने र देखेजति सबै भोग्नैपर्ने भन्ने मान्यता कोरोनाको कारण डगमगाएको भान हुँदैछ । बुद्ध दर्शनले निर्देशन गरेको “भोगवादी अर्थतन्त्र” (material-driven economy)  बाट “मानवीय मुल्यमा आधारित अर्थतन्त्र” (value-driven economy) तिर अग्रसर हुने सन्देशको सार पनि यही हो ।

उपसंहार 

प्रकृति जगतको कोषगारमा अहिलेसम्मको सबैभन्दा चेतनशील प्राणी रहेको मानिसले ढिलोचाँडो कोभिडको उपचार पद्धति पत्ता लगाउने नै छ, त्यसको भ्याक्सिन पनि तयार पार्ला । हामी सानो छँदा क्यान्सरको उपचार हुँदैन भन्थे, तर आज त्यस्तो अवस्था छैन । कर्मशील यो मानव सधैभरि कोठाभित्र कुँजिएर बस्न पनि त सक्दैन, र बस्न हुँदैन पनि । किनकि जीवन अविश्रान्त कर्मयात्रा हो । मानिस कर्म र साधनामा फर्किनै पर्दछ, र हिंडिरहनु पर्दछ – अन्तिम विश्राम लिने चौतारी नआइपुग्दासम्म । अब सवाल कुन गति, नीति र रीतिथितिमा हिंड्ने भन्ने मात्र हो । आजको वास्तविक भोगाइ र मर्माहत स्थितिबाट पाठ सिकेको मानिस आत्मचेत र समाजप्रति वफादार भई अनुशासित र संयमित रुपले हिंडन सके धेरै अगाडि पुग्न सक्नेछ मानव सभ्यता । आजभन्दा झण्डै २६ सय वर्षअघि सिद्धार्थ गौतम बुद्धले सिकाएको “मध्यमार्ग” (Middle Path) पनि यही हो । 

हुन त चरम भैतिकवादमै अडिग हुन चाहनेहरूलाई पनि स्वतन्त्रता नै छ । तर त्यो मार्गमा हिंडनेहरूको जीवन पतनशील छ । हामी मानवजाति आफ्नै अज्ञान र अहंकारको भुमरीमा छौं । हामी आफ्ना अमूल्य सम्पदा र समग्र पद्धतिलाई मिचेर आफैमा असन्तुलित मूल्यमान्यताको वकालत गर्छौं । हामी वातावरणीय, सामाजिक, नैतिक र आध्यात्मिक मूल्य–मान्यताबिना नै एकखुट्टे मापदण्डमा उभिएर देशको समृद्धिको लेखाजोखा गर्छांै । पैसाको कुम्लो नै सर्वस्व र मानव सभ्याताको उचाईको एकमात्र मापदण्ड हो भन्ने सोच्छौं ।

सच्चा उदेश्य, मार्ग र गन्तव्यबिन्दुको पहिचानबिना नै हामी अगाडि बढ्ने हतारमा छांै । अनि त आफ्नै कर्मको फल पनि भोगिरहेका छांै । शोषण, उत्पीडन, द्वन्द्व, कलह, विकृति, प्रदूषण, प्रकृतिमा विपत्ति, जलवायु परिवर्तन, अनि मानव सभ्यता र अस्तित्वकै विनाशको जोखिम, र यो महामारी – ‘कोभिड’ । 

हामीलाई संकुचित दायराभन्दा माथि उठेर नैतिक, आध्यात्मिक र सामाजिक सामन्जस्यतामा आधारित मानव सभ्यताको समृद्धिको खाँचो छ । आजको चरम भोगवादी दुनियाँमा आध्यात्मिक मार्गलाई मूख्य धारमा ल्याउनका लागि यसमा आवश्यक भौतिक तथा प्राविधिक तत्वहरूको सम्मिश्रण गर्नुपर्ने हुन्छ । जब ज्ञानको सुकर्ममय यात्रामा विज्ञानको सम्मिश्रण हुन्छ, तब विज्ञानको प्रयोग मानवताको सत्कार्यमा प्राणीमात्रको उद्धारको लागि हुन्छ । एउटा “नवीन विधि” (a novel approach)  जसमा प्रविधिको संगम “प्राकृतिक विज्ञान” (natural science)  र “आध्यात्मिक विज्ञान” (spiritual science) सँग हुन्छ, त्यही “मिश्रित विधि” (hybrid approach)  ले सांसारिक मार्गलाई बुद्धका दर्शन, मान्यता र नैतिक पथमा जोड्न सक्छ र त्यही “मिश्रित मध्यमार्ग” नै चर–अचर जगतलाई अँध्यारोबाट उज्यालोतिर अनि मृत्युबाट जीवनतिर लैजाने प्रस्थान बिन्दु बन्न सक्छ । 

(यो लेखको बीटमार्न लाग्दा आजको मिति जेष्ठ २ (मे १५) सम्म फिलिपिन्समा कोरोनाको वस्तुस्थिति यसप्रकार छ :–   कोरोना संक्रमितको संख्या – ११,८७०, मृतक – ७९० र निको भएका – २२३७ ।) 

(वरिष्ठ इञ्जिनियर, साहित्यकार तथा चित्रकार)

 

 

प्रतिकृया दिनुहोस
ad