site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साबुन माहात्म्य

''भाइले विज्ञान पढेको होला है?'' यो प्रश्न थियो कान्छा लाउरेको । म छ कक्षा पास गरेर हिउँदे बिदा मनाउन माइला बासँग काँढा गाउँ गएको थिएँ । कान्छा लाउरे भारतीय सेनामा सुबेदार थिए । छुट्टीमा गाउँमा आएको बेला माइला बा र मलाई काम विशेषले बोलाएका थिए कान्छा लाउरेले । विज्ञानमा उनको रुचि रहेछ ।

दाजुभाइको बीचमा जीवनोपयोगी विज्ञानका कुराहरूका बारेमा प्रश्नोत्तर चल्यो। एउटा प्रश्नले मलाई हल्लाई दियो - ''ल भाइ भन ! साबुनले कपडाको मैलो फाल्छ कि साबुनको फिँजले?'' साबुन होस् कि साबुनको फिँज काम त मैलो फाल्ने हो । अब यहाँनिर कुन विज्ञान घुस्यो ? एक छिन म साबुन र फिँजमा घोत्लिएँ । फिँज साबुनबाट आए पनि कति फिँज निस्किन्छ भन्ने त पानीको गुण कस्तो छ भन्नेबाट मात्रै थाहा हुन्छ । आफ्नै गाउँका दुईवटा फरक मुहानका पानी धाराहरूमा तुलना गरेँ । लुस्पाको पानी र कुत्माको पानीमा कपडा धुँदा कुत्माको पानीमा साबुनको फिँज धेरै आउने र साबुन पनि चाँडै पखालिने हुन्थ्यो । अनि विज्ञान पढाउने राजेश सरले भनेको सम्झिएँ । नरम पानी र कडा पानी छुट्टयाउने तरिका भनेकै साबुन चाँडै पखालिन्छ कि पखालिँदैन भनेर हेर्ने हो । कडा पानीमा साबुन पखाल्न धेरै समय लाग्छ र फिँज पनि कम निस्किने भएकोले साबुन पनि धेरै खर्च हुन्छ । त्यसैले फिँज धेरै भयो भने मयल पनि छिट्टै जान्छ । नरम र कडा पानी कसरी छुट्टयाउने भन्ने कुरा गर्ने बित्तिकै लाउरे कान्छाको अनुहारमा अर्कै भाव देखियो । उनले मेरो पीठ थप्थप्याउँदै भने - ''भाइ एकदमै मन लगाएर पढ्नु । तिमी धेरै बुद्धिमान छौ । धेरै आगे जाने छौ ।''  पछि काठमाडौं आईएस्सी पढ्न जाँदा थाहा भयो त्यहाँको पानी त झन् कडा रहेछ । फिँज नै नआउने, जति पखाले पनि साबुनको चिप्लो उस्ताको उस्तै ।

यही पानी प्रशोधन र फोहोर पानी शुद्धीकरण विषयमा विद्यावारिधि गर्ने र यसै विषयमा विशेषज्ञ बनेर काम गर्ने अवसर पाएँ । अहिले आएर कान्छा लाउरेको साबुनको प्रश्न सम्झिन्छु । हुन पनि यतिबेला साबुनको चर्चा छ । यसको महत्त्व बढेर गएको छ । कोरोना भाइरसबाट बच्न स्वास्थ्य विशेषज्ञहरूले साबुनले हात धुनुपर्छ भन्छन् । म पनि भन्छु कुनै चीज छुनुभन्दा अघि र छोइसकेपछि जहिले पनि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिजोआज तातो पानीले हात धोयो भने कोरोना भाइरस मर्छ या पखालिन्छ भन्ने हल्ला पनि सुनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पानीलाई एक मिनेटसम्म उमाल्यो भने ब्याक्टेरिया र भाइरस मर्छन् । यसै कुरालाई लागू गर्ने हो भने पनि हातलाई एक मिनेटसम्म भक भक उम्ली रहेको पानीमा राख्नुपर्छ । अनिमात्रै हातमा टाँस्सिएको ब्याक्टेरिया र भाइरस मर्छन् । तर, यसो गर्दा तातोले हातको छाला नै खुइलिन सक्छ । त्यसैले तातो पानीले हात धोयो भने कोरोना भाइरस मर्छ भन्ने भनाइ सत्य हैन ।

यहाँ प्रश्न उठ्छ, साबुनमा त्यस्तो के छ जसले ब्याक्टेरिया वा भाइरस एकबाट अर्कोमा सर्न रोक्छ ?  के साबुनले कोरोना भाइरस मर्छ त ? साबुनलाई पानीमा मिसाउने या घोल्नेबित्तिकै फिँज निस्कन्छ भन्ने त हामी सबैलाई थाहा छ । फिँज निस्कनु नै साबुनको विशेषता भएकोले यसलाई 'सर्फेक्ट्यान्ट' वर्गमा राखिएको छ । यी 'सर्फेक्ट्यान्ट' हरूले मुख्यरूपमा सम्पर्कमा आएको ठाउँ (सतह)लाई राम्रोसँग भिजाउने र टाँस्सिएका वा कस्सिएका वस्तुलाई खुकुलो बनाउने दुईवटा काम गर्छन् । त्यसैले त औँलाबाट निकाल्न नसकिएको औँठी निकाल्न साबुन पानीको झोलमा औंला डुबाउन लगाइन्छ ।

Global Ime bank

म क्यानाडामा बस्ने ठाउँको जमिन मुनि बालुवामा टाँस्सिएको बिटुमिन छ । बिटुमिनबाट पेट्रोलियम पदार्थ निकालिन्छ । त्यो बिटुमिनलाई बालुवाबाट छुट्याउन 'सर्फेक्ट्यान्ट' प्रयोग हुन्छ । यसैलाई नै बालुवा निचोरेर तेल निकाल्ने भनेका हुन् । त्यसैले साबुनको प्रयोग र महत्त्व हाम्रो दैनिक दिनचर्याको साथसाथै औद्योगिक कार्यमा पनि छ ।

थोपा थोपा मिलेर समुद्र बन्छ भने झैं हाम्रा आँखाले नदेखिने ससाना कणलाई जोडेर पानीको थोपा बन्छ । यी कणलाई अणु भनिन्छ । लाखौं लाख पानीका अणु मिलेर पानीको एउटा थोपा बनेको हुन्छ । त्यस्तै तेलको वा साबुनको एक थोपामा पनि लाखौं लाख अणु हुन्छन् । यी अणुहरू जलस्नेही वा जलविरोधी हुन्छन् । रसायन विज्ञानको तर्फबाट हेर्दा चीनी र नुनको रासायनिक गुण पानीसँग मिल्छ र तुरुन्तै मिसिन्छ या घोलिन्छ । त्यसैले चीनी र नुनलाई जलस्नेही अर्थात् अङ्ग्रेजीमा 'हाइड्रोफिलिक' भन्छन् । यसको ठीक उल्टो घ्युतेल र पानीको रासायनिक गुण नमिल्ने भएकोले मिस्यायो भने घ्युतेल र पानी छुट्टिन्छन् । त्यसैले घ्युतेल र पानीलाई एक आपसमा नघुलिने वा जलविरोधी अर्थात् अङ्ग्रेजीमा 'हाइड्रोफोविक' भनिन्छ । त्यसैले चिल्लो लागेको हात अथवा भाँडालाई पानीले मात्रै धोयो भने चिल्लो जाँदैन ।

यतिखेर साबुनले आफ्नो विशेषताअनुसार पानी र तेलका अणुहरूलाई नजिक ल्याउँछ । साबुनका अणुहरु पिन जस्तै टाउको र पुच्छर गरेका रेसाजस्ता हुन्छन् । रासायनिक गुणका आधारमा यी रेसा अचम्मका किन हुन्छन् भने यसको टाउकोतिरको छेउ जलस्नेही अर्थात् पानीमा घुल्ने हुन्छ भने पुच्छरतिरको छेउ जलविरोधी अर्थात् घ्युतेलमा मिल्ने हुन्छ । यस्ता रेसाको संयोगबाट बन्ने कणहरूलाई अङ्ग्रेजीमा 'माइसेल' भनिन्छ जसले जलस्नेही र जलविरोधी दुवैको मिश्रणलाई एकाकार बनाएर घोल्न मद्दत गर्छ । उदाहरणका लागि सिसाको गिलासमा रहेको पानीमा एक चम्चा तेल हालेर छिटो छिटो चलायौं भने तेलका थोपाहरू पानीमा यत्रतत्र देखिन्छन् । यो समिश्रणमा एक चम्चा साबुन राखेर चलायौं भने ती तेलका थोपाहरू देखिँदैनन् । बरु पानी धमिलो भएको देखिन्छ । यो कसरी भयो त? साबुन हाल्नेबित्तिकै तेलका अणुहरू साबुनका अणुको पुच्छरतिर आकर्षित हुन्छन् । यस्ता धेरैवटा साबुनका अणुका पुच्छरले तेलको अणुमा घोलिएर तेलको कणलाई चारैतिरबाट घेर्छन् र गोलाकारको माइसेल निर्माण गर्छन् । यस्ता माइसेलका केन्द्रमा तेलका कण र त्यसमा घुलेका तेलस्नेही साबुनका अणुका पुच्छर हुन्छन् भने साबुनका अणुका जलस्नेही टाउका बाहिर फर्केका हुन्छन् । यतिखेर माइसेलले पानी र तेलका अणु जोड्ने साँघुको काम गर्छन् । यस्तो कार्यलाई नै अङ्ग्रेजीमा 'वेटिङ' अर्थात् 'भिजाउने' भनेको हो । यसरी साबुनले आफूले भेटेको ठाउँमा भिजाउने काम गर्छ ।

अब साबुनले टाँस्सिएको वस्तुलाई कसरी उप्काउने अथवा चिप्ल्याउने काम गर्छ त ? बर्खामा हामीले कर्कलाका पातमा पानीका थोपाहरू देखेका छौँ । ती थोपा हेर्दा पानीलाई कुनै पातलो खोलले बेरेर डल्लो बनाई पातमा बसाएकोजस्तो लाग्छ । पानीका अणुहरू एकआपसमा कस्सिएर टाँस्सिदा यस्तो भएको हो । अर्को कुरा पानीका अणुहरू यसरी टाँस्सिदा पानीको थोपा वरपर अस्थायी खोलको सतह बन्छ । एउटा थोपा अर्को थोपासँग मिस्सिँदा यो अस्थायी सतह बिलाउँ छ । पानीको यही अस्थायी खोलले गर्दा पानीको थोपा कर्कलाको पातमा नढलीकन बस्नसक्छ । पानीको थोपा यसरी बस्दा यसको वरपरको खोल तन्किएको हुन्छ । खोलको यस्तो तन्काइलाई अङ्ग्रेजीमा 'सर्फेस टेन्सन' भन्छन् । यही खोलको तनावका कारण पानीको थोपा कर्कलाको पातमा सन्तुलित भएर बस्छ । खोलको तनावमा घटबढ हुनेबित्तिकै थोपा ढल्किन्छ या चिप्लिन्छ या सतहबाट उप्किन्छ । ब्याक्टेरिया, भाइरस या फोहोर कुनै पनि सतहमा टाँस्सिएर बस्दा त्यै सर्फेस टेनसनलाई सन्तुलित बनाएर बसेका हुन्छन् । र सन्तुलन बिग्रियो भने टाँस्सिएको स्थानबाट उप्किन्छन् या चिप्लिन्छन् । 
साबुनको अर्को विशेषता के हो भने यसले टाँस्सिएको ठाउँमा छिरेर सर्फेस्टेन्सनलाई घटाउने अथवा बढाउने काम गर्छ । त्यसले कस्सिएको अथवा टाँस्सिएको वस्तुलाई खुकुलो बनाउँछ या चिप्ल्याई दिन्छ । यसरी साबुनले ब्याक्टेरिया र भाइरसलाई भिजाएर र चिप्ल्याएर पखाल्छ ।

अहिलेको कोरोनाभाइरसलाई साबुन पानीले हात धुँदा कसरी हातमा अड्केका भाइरसबाट टाढा राख्छ त ? हामीलाई थाहा छ साबुनका अणुहरूको पुच्छर तैलीय पदार्थले बनेको हुन्छ । यो तैलीय पदार्थलाई अङ्ग्रेजीमा लिपिड भनिन्छ । कोरोनाभाइरसको 'डीएनए' अर्थात् आनुवांशिक तत्त्वलाई यही लिपिडका अणुले बेरेको हुन्छ । साबुनका अणुहरूको पुच्छर र लिपिडका अणुहरू एक आपसमा घुल्छन् । 
साबुनको प्रयोगले कोरोना भाइरसलाई दुई प्रकारले असर गर्छ । पहिलो, कोरोनाभाइरसलाई टाँस्सिएको स्थानबाट भिंजाएर उप्काउन या चिप्ल्याउन मद्दत गर्छ र दोस्रो, भाइरसको बाहिरी खोलका लिपिडका कणहरूलाई एक आपसबाट विच्छेद हुन मद्दत गर्छ ।

साबुनको छोटो समयको प्रयोगले कोरोनाभाइरसलाई भिजाउन र टासिएको सतहबाट उप्काउनमात्र सम्भव हुन्छ भने लामो समय (कम्तीमा बीस सेकेन्ड) को प्रयोगले कोरोना भाइरसका कोषिकालाई नै फुटाउन सम्भव छ । त्यसैले साबुन पानीले बीस सेकेन्डभन्दा बढी समय औंलाका काप, नङभित्र र वरपर, हत्केला अगाडि र पछाडि मजासँग माडेपछि मात्र पानीले पखाल्नुपर्छ ।

साबुनले कोरोनाभाइरस मार्छ कि मार्दैन ? भाइरस आफैँमा धेरै थरीका रसायन र अणुवांशिक तत्त्वको निर्जीव कण हो । तर, कुनै कारणवश जीवित वस्तुको सम्पर्कमा आयो भने यसले जीवित वस्तुको गुण धारण गर्न सक्छ । कोरोनाभाइरस जीवित भई प्रजनन गर्न अर्को जीवित वस्तु (होस्ट) चाहिन्छ । त्यसैले वर्तमान अवस्थामा कोरोनाभाइरस निर्मूल पार्ने औषधि उपलब्ध नभएको हुँदा यसबाट सुरक्षित हुने साधन भनेको सर्वसुलभ साबुन नै हो । साबुनको उचित तरिकाको प्रयोगबाट कोरोनालाई मार्नेभन्दा यसको अस्तित्वलाई समाप्त गर्न सकिन्छ भन्ने अध्ययनहरूबाट पुष्टि भएको छ । साबुनका अणुहरूका पुच्छरहरू तेलस्नेही भएकोले कोरोना भाइरसको लिपिडबाट बनेको बाहिरी खोललाई विच्छेद गर्ने सामर्थ्य राख्छन् । यही विच्छेदन नै कोरोना भाइरसका कोषिकालाई टुक्र्याउने प्रमुख कारण हो । कोरोनाका कोषिका टुक्री सकेपछि जैविक पदार्थ अर्थात् अणुवांशिक तत्त्व यत्रतत्र छरिन्छन् । यसैबाट कोरोना भाइरसको अस्तित्व समाप्त हुन्छ । यसैकारण साबुन पानीले राम्रोसँग हातलाई माडीमाडी धोयो भने हामी कोरोनाभाइरस र अन्य ब्याक्टेरिया या भाइरसबाट सुरक्षित हुन्छौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC