काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष (आईसीयु) सञ्चालनका लागि खरिद गरेका स्वास्थ्य उपकरणहरूका बारेमा चासो देखाएको छ ।
स्वास्थ्य उपकरण उपलब्ध गराउने ठेक्का पाएको सप्लायर्सले अस्पताललाई प्रयोगमा आइसकेको भेन्टिलेटर बिक्री गरेको समाचार बाहिरिएपछि प्रदेश सरकारले प्राविधिक टोली पठाएर ती उपकरणको निरीक्षण गरेको छ ।
सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्वास्थ्य उपकरणहरूको निरीक्षण गरेर अस्पताललाई प्रतिवेदन बुझाएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्य उपकरणका बारेमा जाँचबुझ गर्न आग्रह गरेपछि मन्त्रालयले प्राविधिक टोली पठाएको थियो ।
प्राविधिक टोलीले अस्पताललाई बुझाएको प्रतिवेदनको सारांश
१) भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको
२) ट्रलीबाट ह्विल्ससम्म खिया लागेको
३) अक्सिजन पाइपमा खिया लागेको
४) देब्रे पट्टीको भागमा ७/८ सेन्टिमिटर कालो दाग
५) एक घन्टा ब्याकअप दिने ब्याट्री नभएको
६) डिस्प्ले र नोभ फोहर अवस्था
७) सफ्टवेयर अनुरुप दुई घन्टा चलेको
८) क्यालिब्रेसन नगरेको
९) स्पेसिफिकेसन अनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको
अस्पतालका लेखा अधिकृत नन्दराज भट्टले इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको प्राविधिक टोलीले स्वास्थ्य उपकरणको जाँचबुझ गरेर प्रतिवेदन बुझाएको पुष्टि गरेका छन् ।
“मेसिन हेर्दा दुई घण्टामात्र चलेको देखिन्छ । मेसिनका अरू पार्टहरू नभएको, केही कुरामा खिया लागेको भन्ने प्रतिवेदन दिएको छ,” उनले भने ।
अस्पतालले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोडबाट कोरोना भाइरस रोकथामका लागि आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद प्रकृया अघि बढाएको थियो ।
सोही बजेटबाट अस्पतालले भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो ।
उक्त सप्लायर्सले अस्पताललाई विभिन्न पाँच स्वास्थ्य उपकरणमध्ये भेन्टिलेटर यसअघि नै प्रयोगमा ल्याइएको पाइएको अस्पताल स्रोतले दाबी गरिरहेको छ ।
अस्पतालको चिकित्सक स्रोतले सप्लायर्सले उपलब्ध गराएको भेन्टिलेटर सन् २०१७ देखिनै ‘क्यालिब्रेट’ भएर २०२० सम्म पटक पटक सञ्चालनमा आएको देखिएको दाबी गरेको छ ।
“यसको म्यानुफेक्चर २०१५ हो । तर यो भेन्टिलेटर २०१७ बाट क्यालिब्रेट भएर पटक–पटक चलेको देखिन्छ,” ती चिकित्सकले बाह्रखरीसँग टेलिफोनमा भने, “फेरि यसमा ह्युमिटी फायर नै छैन । भेन्टिलेटर इन्कम्प्लिट थियो ।”
सप्लायर्सले अस्पतालमा पठाएको स्वास्थ्य सामग्री खोलेर हेर्दा भेन्टिलेटरको बडी पुरानो, दाग लागेको, स्ट्यान्डमा खिया लागेको, सर्किटहरू अपूर्ण रहेको फेला परेको पनि उनले जानकारी दिए ।
ती चिकित्सकले सप्लायर्सले स्वास्थ्य सामग्री पठाउँदा भेन्टिलेटरको म्यानुअल, वारेन्टीकार्ड, क्याटलकसमेत नपठाएको बताए । भेन्टिलेटर पुरानो देखिएपछि अस्पतालले मंगलबार नै सप्लायर्सलाई खबर गरेको थियो ।
अस्पतालले स्वास्थ्य सामग्रीका बारेमा गुनासो गरेपछि सप्लायर्सले एक जना इन्जिनियरलाई महेन्द्रनगर पठाएको थियो । ती इन्जिनियरले भेन्टिलेटरको मेनुफेक्चरिङ डेट २०१५ भएको स्वीकार गर्दै यसअघि नै मेसिन प्रयोगमा आएको आरोपको खण्डन गरेका थिए ।
“मोडल चै २०१५ हो । मैले हेरेअनुसार युज भएको आवर भनेको टू आवर्स (दुई घण्टा) छ । त्यो क्यालिब्रेसनमा युज भएको हो । एज अ सफ्टवेयर भेन्टिलेटरको इन्फरमेसनअनुसार यो मेसिन सेकेन्ड हेन्ड होइन,” सप्लायर्सले पठाएका इन्जिनियर जय साउदले यसअघि भनेका थिए ।
महाकाली अस्पताललाई प्रयोगमा आएको भेन्टिलेटर बिक्री !
व्यवस्थापन समितिलाई ‘गुमराह’ मा राखेर स्वास्थ्य उपकरण खरिद गरेको खुलासा