काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण बढेसँगै विश्वभरका विभिन्न मुलुकमा लकडाउन घोषणा गरिएको छ । विश्वभरका विभिन्न मुलुकहरुले लामो समयका लागि लकडाउन र घरबाहिर निस्किन प्रतिबन्ध लगाएका बेला घरेलु हिंसाका घटनाहरु बढ्नसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको थियो ।
राष्ट्रसंघका महिलाविरुद्धको हिंसाका विशेष प्रतिनिधि डुबराभ्का सिमोनोभिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, "प्रारम्भिक प्रहरी सुझाव र हटलाइन रिपोर्टका अनुसार लकडाउनका समयमा घरेलु हिंसाका घटनाहरु बढ्नसक्ने देखिन्छ । धेरै महिला र बालबालिकाका लागि घर नै दुर्व्यवहार र त्रासको क्षेत्र बन्नसक्छ । अधिकांश केसहरुमा 'नजिकको साथि'को मृत्युका घटनाहरु पनि बढ्न सक्छन् ।"
नेपालमा पनि पछिल्लो समय घरेलु हिंसा, महिला हिंसालगायतका घटनाहरु बढिरहेको बेला लामो समयमा लागि गरिएको लकडाउन र घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको समयमा घरेलु हिंसाका घटना थप बढ्नसक्ने भएकोले सचेत र सजग हुन महिला विकासका क्षेत्रका काम गर्दै आएको महिला विकास तथा एकता केन्द्र (रुडुक) की महासचिव ज्योत्सना साउँदले बताएकी छन् ।
उनले यस समयमा उपयुक्त सुझाव र परामर्श गर्ने व्यक्तिको सम्पर्कमा रहन समस्या हुने भएकोले रुडुकले सुदूरपश्चिमका तीन जिल्लामा परमर्शदाता राखेको बताइन् । उनले भनिन्, "यसबेला घरबाहिर निस्किएर छरछिमेकीलाई भन्ने, प्रहरीलाई रिपोर्ट, अन्य महिला अधिकारसम्बन्धी काम गर्ने संघसंस्थामा गएर उजुरी गर्नसक्ने अवस्था नहुनसक्छ । त्यसकारण सुदूरपश्चिमका तीन जिल्लामा हामीले तालिमप्राप्त परामर्शदाता खटाएका छौं ।"
उनका अनुसार ममता शाह (फोन नम्बर - ९८६०७१८२४७) र रेनु श्रेष्ठ (९८४८४२०२३३), डडेल्धुरामा सरस्वती खड्का (९८४८८२६०५५), भरत गैराल (९८४८७२६९४४) र अमर साउद (९८०६४१२२०२) र कञ्चनपुरमा पशुपति थापा (९८४८७२४२४९) मा सम्पर्क गरी उचित परामर्श लिन सकिनेछ ।