site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जुल्फिकर’ गजेन्द्र
Sarbottam CementSarbottam Cement

मरेर बाँचेको त्यो दिन
कान्छो जेठानकी छोरीलाई काम्ने व्यथाले समाएछ । ०६५ साल असोज ७ गते उपचारका लागि भनेर गाउँबाट काठमाडौं आए । टिचिङ लैजाने कुरा भयो । गजेन्द्रले न्युरो डाक्टसँग समय लिए । तर गजेन्द्रलाई धेरैले भने ‘लागो’ भएको पनि हुन सक्छ । एकपटक धामीलाई पो देखाउने हो कि ! बल्खुस्थित एक गुभाजुकोमा लगे ।

“साँझ गफगाफ गरेर सुतियो । राति सपना देखेँ । सपना थियो– उड्दै गरेको एमआई हलिकोप्टर मेरै अगाडि खस्यो । सिमलको ठूलो रोग छेउमा खसेको हेलिकोप्टरमा आगो लाग्यो । बैनीलाई तानेर आगो लाग्नबाट जोगाएँ । तर मेरो ढाडमा आगो सल्कियो । चौरमा लडेर ढाड दरालिएर निभाएँ,” गजेन्द्रले सपना सुनाए, “बिहान उठेर श्रीमती र जेठानलाई  सुनाएँ । श्रीमतीले खराब सपना देख्नुभएछ आज बाइक नलिई जानू । जेठानले सपना हैन फिल्म पो देख्नुभएछ भन्नुभयो ।” 

थाहा छैन किन हो, तर त्यो दिन गजेन्द्रलाई अफिस पनि नजाउँ जस्तो लाग्यो । तर ऊर्जा सम्मेलन भइरहेको थियो । छुटाउन मन लागेन, तर पनि अरुले कभर गर्‍यो भने जान्न भन्ने सोचले स्टाफलाई फोन गरे । उनले आज मेरो विदा हो, आउँदिनँ भन्दै फोन राखिदिए । अर्को स्टाफलाई फोन गरे उनले पनि मेरो टुरिजमकै कार्यक्रम छ, भ्याउँदिनँ भने । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियस्तरको विरलै हुने सम्मेलन कहाँ छुटाउनु ? उनी आफैं निस्किए बाइक लिएर । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । 

सम्मेलन सकिँदा साढे ८ भयो । फोन गरेर समाचार टिपाए । साथी तथा सम्मेलनमा सहभागी ऊर्जाविद्, उद्योगीहरुसँग बसेर दुई पेग मात्रै पिएका थिए । घरबाट फोन आयो, “नानीलाई निकै गाह्रो भयो, लौन चाँडो आउनुस् ।”

Global Ime bank

होटल अन्नपूर्णबाट बाहिर निस्किए । मुसलधारे पानी परिरहेको थियो । रेनकोट ओढे । सँगै रहेका साथीले भने, “म पनि सँगै जान्छु । गजेन्द्रले भने, मसँग डबल रेनकोट छैन । हाफ इन्जिन खोलेको पनि धेरै भएको छैन, अरुसँग आऊ म जान्छु ।” 

कलङ्की जानु थियो, गजेन्द्र निस्किए । आरीले खन्याए जस्तो पानी परिरहेको थियो । विद्युत् प्राधिकरणमा आएपछि उनको बाइक ह्वात्त हुत्तियो । चस्मामा सासको तातो हावाले डम्म ढाकेको थियो । ड्यासबोर्ड हेरे ५० को स्पिड थियो । पानी परिरहेको, राति ९ बजेको समय, स्पिड कम गरे । चारबाट तीन नम्बरमा झारे । दिमागमा नानीलाई भोलि अस्पताल लैजानु छ । के भयो भने अहिले, भन्ने थियो । भद्रकालीको मन्दिरछेउ पुगे । ठूलो गाडी बत्तिएर आयो । झसङ्ग भए, मुटु नै चिसो भयो । त्यो जाओस् भनेर उनले छोडिदिए । छिनमै उनको बाइक झड्याम्म गर्‍यो । भद्रकाली मन्दिरको भित्तामा बज्रियो । पेटीमा गजेन्द्रको ढाड बज्रियो । मान्छेले ‘एक्सिडेन्ट’ भयो भनेर कराए । गजेन्द्रले मोबाइल निकालेर घरमा फोन गरेर भने, “बूढी मेरो दुर्घटना भयो ।” 

उनलाई वीर हस्पिटल लगियो । गजेन्द्रले डाक्टरलाई भने, “मलाई बचाइदिनुस् ।” 

चिउँडोमा सानो घाउ थियो । अन्त कतै केही घाउ थिएन । घाउ नदेखेर होला डाक्टर र नर्स गलल्ल हाँसे । 

गजेन्दलाई आफ्नो जीवन सकियो भन्ने लागिरहेको थियो, तर डाक्टरहरु हाँसिरहेका थिए । 

“मेरो शरीर चलेको छैन । मलाई थाहा छ । त्यसैले मलाई बचाइदिनुस् भनेँ, तर उनीहरुले घाउ देखेनन् र गलल्ल हाँस्दै भने तपाईंलाई केही भएको छैन, किन डराउनु भएको हो ?”

गजेन्द्रले भने : मेरो खुट्टा चलेको छैन ।

डाक्टर : पानीले भिजेको र चिसोले हो । 

राति १२ बजेपछि ढाड अचाक्ली दुख्यो । श्रीमतीलाई भने, “ढाड दुख्यो, हेर्देऊ न के भयो ?” 

हेर्दा मेरुदण्ड भाँचिएजस्तो देखियो । एक्सरे गरेर हेर्दा रिपोर्ट आयो– स्पाइनल कर्ड इन्ज्युरी ।

डाक्टरले भने, “स्पाइनल कर्ड इन्ज्युरीको डाक्टर भोलि मात्रै आउनु हुन्छ ।”

बिहान आएका डाक्टरले भने, “हाम्रोमा बेड छैन ।” 

गजेन्द्रलाई अर्थोपेडिक हस्पिटल जोरपाटी लगियो । एमआरआई गर्नुपर्छ । 

कहाँ हुन्छ ?

टिचिङ । 

गजेन्द्रलाई त्यहीँ पुर्‍याइयो । 

टिचिङमा पनि बेड छैन । दिनभरि पेटीमै राखियो उनलाई । साथीहरुले भनसुन गरे, तीन दिनपछि एमआरआई भयो । 

“स्पाइनल कर्ड इज्युरीको घाइतेलाई ४८ घण्टाभित्र त्यसको इन्जेक्सन दियो भने रिकभर हुने सम्भावना ८० प्रतिशत हुनेरहेछ । तर मलाई त यता र उता गर्दै अस्पतालले तीन दिन बिताइदिए,” गजेन्द्र अस्पतालभित्रको बेथितिको परिणाम हामीसँग बिहीबार ह्विलचेयरमा बसेर सुनाए, “हो म पिउथेँ । तर त्यसदिन दुई पेग मात्रै पिएको थिएँ । सडकमा दुर्घटना भयो । सडक प्रयोगकर्ताका नाताले त्यसको नैतिक हिस्सेदारी म पनि हुनैपर्छ । साथीहरुले पिएर बाइक लगेर भित्तामा ठोक्यो भने, तर मेरो बाइकका अगाडिको भाग केही पनि भएको छैन, पछाडिको भाग केही पनि छैन । मेरो शरीरमा पनि अगाडिको भागमा केही भएको छैन । पछाडिको भागमा असर देखियो भने मैले गल्ती गरेँ कि अरुले !”

जब डक्टरले भने– मरे सरह हो 
गजेन्द्र आफूखुसी उठ्न नसक्ने भए । दुर्घटनाको परिणाम उनले भोग्नुपर्‍यो । दुःख उनले सहनुपर्ने भयो । डाक्टरलाई त के भयो र ? पेशा न हो, उपचार गर्‍यो, काम सकियो । 

तर त्यहाँ डाक्टरले अङ्ग्रेजीमा भने– यो मरेजस्तै हो । मुढो र यसको शरीरमा अब केही फरक छैन । सम्झ यो मरेको मान्छे हो ।

“यसले अङ्ग्रेजी बुझ्दैन भनेर त्यो डाक्टरले नर्सहरुसँग त्यसो भन्यो । मलाई सम्झना छ, मङ्गोल फेस थियो उसको । दुःख बेहोर्नु थियो मैले । जे भोग्नुपर्‍यो, म भोग्दै थिएँ । तर डाक्टरले बिरामीका अगाडि बोल्ने त्यही हो,” एक दशकपछि पनि ती डाक्टरको रुखो शब्द सम्झिँदा गजेन्द्रको स्वर काँप्यो । अनुहार मलिन भयो । र, भने, “डाक्टरको मीठो बोली र ढाडसले मात्रै पनि बिरामीको आधा रोग निको हुन्छ । तर त्यहाँ त घाउमा नुनचुक छर्किए । त्यो कुरा सुनेर म र बूढी अङ्गालो हालेर धेरैबेर रोयौं । म चिन्ताले कयौं दिन डिप्रेसनमै गएजस्तो भएँ ।”

तर जब बी एन्ड बीमा पुगेँ । त्यहाँ सिनियर डाक्टरहरु पत्रकार बन्धु के छ आज समाचार, आर्टिकल लेख्ने होइन भन्दै आउँथे । केही हुँदैन, नआत्तिनुस् भन्थे । मन नै चङ्गा हुन्थ्यो । 

० ० ०

दुर्घटना भयो । ह्विलचेयर अनन्त साथी बनेर जिन्दगीमा थपियो । कम्मरमुनिको भाग नचल्ने भयो । तर टिचिङका डाक्टरले भने जस्तो गजेन्द्र ‘मुढो’ जस्तो जिउँदो लास भएनन् । दुर्घटनाअगाडि जस्तो देशदेशावर घुम्न सकेनन् होला, तर उनको दिमागले संसार विचरण गर्‍यो । कलमले संसार लेख्यो । ‘कारोबार’ दैनिकमा सिनियर पोजिसनमा बसेर एक दशक काम गरे । समाचार, लेख र असङ्ख्य सम्पादकीय लेखे । 

एक महिनाअगाडि ‘कारोबार’ बाट अलग भए । ‘न्युज कारोबार’मा पुगेका छन् । जिम्मेवारी छ, प्रधानसम्पादकको । ‘न्युज कारोबार’लाई अब गजेन्द्रले नयाँ भिजन र कोण दिनु छ ।   

ज्यान मार्ने धम्की 
अढाइ दशकको पत्रकारिता यात्रामा गजेन्द्रले कति समाचार लेखे, कति लेख र सम्पादकीय त्यसको लेखाजोखा छैन । तर पनि केही त्यस्ता समाचार र घटना छन्, जसलाई उनले भुलेका छैनन् । 

पत्रकारिता सुरु गरेकै वर्ष थियो । नयाँ जोस, नयाँ उमङ्ग । त्यसमा पनि बाइलाइन समाचारले भर्ने जोसको के कुरा ! उनले एउटा प्रमाण फेला पारे भुटानी शरणार्थीले नेपाली नागरिकता लिएको । नागरिकता मात्रै लिएनन्, स्कुल पनि खोलेर सञ्चालन गरे । गजेन्द्रले समाचार लेखे । समाचारको प्रभाव थियो, ज्यान मार्ने धम्की । घरमै आएर बाबु–आमासमेतलाई धम्क्याए । 

पत्रकारिता पेशा यस्तै त हो, उनले सुनेका थिए । मनमा चिसो त पस्यो, तर डरले कामेनन् । लेख्न छोडेनन् । 

एक वर्षपछि उनले समाचार लेखे, ट्रकले बच्चा किचेर मारेको । ट्रक धनी छिमेकी थिए । उनी पनि उस्तै घरमै आएर धम्क्याए बुवालाई धम्क्याएछन्– तेरो घरमा आगो लगाइदिन्छु, खरानी बनाइदिन्छु । ज्यान लिन्छु । 

बुवाले गजेन्द्रलाई भने, “यो समाचार लेख्ने काम छोड् । दुनियाँको आँखाको तारो बन्ने काम किन गर्छस् ? छोड्दे ।”

तर उनले छोडेनन् । बरु त्यस्तै समाचार लेखिरहे जुन अरुलाई चित्त बुझ्दैनथ्यो । 

उदयपुरमा यादव थरका प्रमुख जिल्ला अधिकारी थिए । पैसा भनेपछि हुरुक्कै । 

उनको सालोले जिल्ला प्रशासन कार्यालयको गाडी लिएर इन्डिया गएका बेला गाडी भारतीय प्रहरीले गाँजासहित पक्रियो । प्रमाणसहित गजेन्द्रले समाचार लेखे । 

तत्कालीन समय उदयपुरका एक वरिष्ठ पत्रकारलाई बोलाएर ५ हजार रुपैयाँ पैसा दिएर ‘देशान्तर’मा खण्डन छपाइदिन भनेछन् । 

“देशान्तरले हाम्रो रिपोर्टरले मैले गलत समाचार लेखेँ भनेर नस्वीकारेसम्म छाप्दिन भनेछ । मलाई राजेन्द्र दाहालले फोन गरेर सोध्नुभयो । मैले समाचार सही हो भनेपछि खण्डन छापिएन,” गजेन्द्र भन्छन्, “लगातार समाचार आएपछि गृहमन्त्रायले ती सीडीओलाई बोलाएर जगेडामा राख्यो । काठमाडौं आएर पत्रकारिता गरेको केही वर्षपछि गृहमन्त्रालय जाँदा तिनै सीडीओ भेटिए । त्यो बेला उहाँले मलाई सबै कुरा भन्नुभयो । खण्डन छपाउन पत्रकारलाई पैसा दिएको र नछापिदिएको उहाँले नै भन्नुभयो ।”

संकटमा जागिर
भैरहवा भन्सारले तीन ट्रक चकलेट बरामद गर्‍यो । रुपन्देहीमा कम्पनी दर्ता गरेर भारतमा चकलेट बनाएर नेपाल ल्याएर ‘मेड इन नेपाल’ भनेर बेचेको उनलाई सूचना आयो । भन्सार छलिएको त्यो समाचार लेखेर उनी राति घर फर्किए । पहिलो पृष्ठको दोस्रो मुख्य समाचारका रुपमा पेजसेटअप गरेर फर्किएका थिए गजेन्द्र । तर भोलिपल्टको ‘नेपाल समाचारपत्र’ हेर्दा समाचार छैन !

गजेन्द्रले प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई सोधे– मेरो समाचार किन किल भयो ? 

पुष्करलाल श्रेष्ठले भने, “हाम्रो लगानी प्रोमोटरले यो समाचार लेखेवापत् तिम्रो जागिर नै खाइदिने भन्दै हुनुहुन्थ्यो । धन्न जागिरचाहिँ लिनुहुन्न भनेर मैले जोगाएँ ।”

क्याप्चर एन्ड सुट हिम 
राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएका थिए । लेख्न मनाहीजस्तै थियो । त्यसमा पनि ‘समाचारपत्र’ दरबार निकटको पत्रिका भन्ने छाप परेको थियो । 

ज्ञानेन्द्र सुदूरपश्चिम गएका थिए । उनी जहाँ गए पनि स्थानीय आफ्ना समस्या सुनाउँथे । ज्ञानेन्द्र भन्थे– अँ बुझेँ । त्यही शीर्षकमा उनले लेख लेखे । लेख लेख्नेबित्तिकै दरबारमा जाहेर भएछ । दरबारले प्रधानसेनापतिलाई आदेश दिएछ । 

“प्रधान सेनापतिले क्याप्चर एन्ड सुट हिम भनेर आदेश दिएछन् । त्योे सकुर्लर भएर तल्लो तहमा आइपुगेपछि च्यानल नेपालमा रहेका गजेन्द्रका साथीले थाहा पाएर पुष्करलाललाई फोन गरेर भनेछन्– दाइ गजेन्द्रलाई गायव गर्ने आदेश सेनापतिले दिएको खबर आएको छ । गजेन्द्रलाई बचाउनुस्,” ०५८ चैतमा फर्किंदै गजेन्द्रले भने, “पुष्करसरले मालाई फोन गरेर भन्नुभयो– तिमी तल झर । तल आएपछि सोध्नुभयो– तिम्रो घर कहाँ हो र ?”

“उदयपुर ।”

“तिमी घर नजाऊ । विदा बस ।”

गजेन्द्रको मनमा चिसो पस्यो, मेरा जागिर गयो । साधे, “के गल्ती गरेँ र सर ?”

“होइन त्यस्तै छ । तर घर नजाऊ । मावली कहाँ हो ?”

“पहाड ।”

“मावली पनि नजाऊ ।”

पुष्करले खल्तीबाट तीन हजार रुपैयाँ निकालेर दिँदै भने, “घर र मावली पनि नजाऊ, डेरामा पनि नबस । आजै काठमाडौं छोडेर अन्त कतै गएर १५ दिन बस । डेस्कमा के छ, लिएर आएर अहिल्यै निस्किहाल ।”
गजेन्द्र डेस्कमा रहेको आफ्नो सामान झोलामा हाल्दैथिए । पुष्करलाल पनि उनीसँगै थिए । त्यहीबेला चार जना आर्मी त्यहीँ देखिए । 

पुष्करलाललाई चिन्दारहेछन् । नमस्ते सर भन्दै सोधे– गजेन्द्र बुढाथोकी भनेको को हो ? 

पुष्करलाले गजेन्द्रकै अगाडि भने, “ए विदुरजी, खोई गजेन्द्र, आँखाले इसारा गर्दै सोधे हिमालय होटल जान्छु भनेको थियो, त्यतै गयो ?”

“खोई सर, उतै जानुभयो होला ।”

“हिमालय होटलमा जान्छु भनेको थियो, त्यहीँ गएको होला आएपछि म तपाईंहरुलाई कन्ट्याक्ट गराइदिन्छु भन्दै पुष्करसरले मलाई भन्नुभयो, ए तिमी के गरेर बसिरहेको रिपोर्टिङमा नगएर !” 

गजेन्द्र आफ्नै अगाडि रहेको आर्मीबाट छड्किएर ‘समाचारपत्र’को कार्यालयबाट बाहिरिए । झापा गएर आफन्तकोमा बसे । सिक्किम गए । १५ दिन घुमेर फर्किए । आउँदा पुष्करलालले कुरा मिलाइसकेका रहेछन् । “अनि फेरि काममा फर्किएँ,” ०५८ साल चैतको प्रसङ्ग सुनाए उनले । 

५० हजारको प्रलोभन
ऋण नतिर्नेको कालो सूची सुरु हुँदैछ भनेर गजेन्द्रले समाचार लेखे । ऋण लिएर नतिरेर नेपाल बैङ्कलाई टाट पल्टाउने व्यापारिक घरानाको समाचार लेखे । मुख्य समाचार बनाएर छापे । 

जसले नेपाल बैङ्कको ऋण नतिरेर टाट पल्टाएको भनेर समाचार लेखेका थिए, उनैले गजेन्द्रलाई आफ्नो घरमा बोलाए । “त्यो बेला मेरो तलब ८ हजार थियो । मलाई ती व्यापारीले खाममा ५० हजार रुपैयाँ राखेर दिँदै भने– यो गलत समाचार हो । त्यसैले यो गलत हो भनेर खण्डन छाप्नुस् ।”

“मसँग नेपाल बैङ्कले राष्ट्र बैङ्कलाई पठाएको र राष्ट्र बैङ्कको बोर्डले छानबिन सुरु गरिसकेको डकुमेन्ट छ कसरी गलत हुन्छ ? मसँग प्रमाण छ,” गजेन्द्रले ठाडै अस्वीकार गरे । 

व्यापारीले दिएको ५० हजार उनकै टेबुलमा छोडेर आए । त्यसपछि ‘समाचारपत्र’ले त्यो कम्पनीको विज्ञापनको नाकाबन्दी निकै वर्ष भोग्यो ।

आँखै अगाडि हत्या
गजेन्द्र र मधुजङ्ग पाण्डे ०६० फागुन ३ गते छालाजुत्ता सङ्घका तत्कालीन महासचिव रामकृष्ण प्रसाईंको अन्तरवार्ता लिन बागबजार पुगेका थिए । तेस्रो तलामा सङ्घको कार्यालय थियो । चौथो तलामा माओवादी पीडित सङ्घको कार्यालय । चौथो तलाबाट माओवादी पीडित सङ्घका अध्यक्ष गणेश चिलुवाल तल झर्दै थिए । शौचालय नजिकै रहेका दुईजना केटाले बोलाए, गणेशजी ! आफूलाई बोलाएको सुनेर उनी पछाडि फर्किए । केटाहरु कुदेर आएर मुख थुने र चार राउन्ड गोली हानेर भागे । 

“मैले आँखैअगाडि गोली लागेको देखेँ, उनीहरु दौडिएर तल झेरर गल्लीतिर छिरे । म उनीहरु पछिपछि झरेँ,” गजेन्द्र भन्छन्, “मैले पुलिसलाई फोन गरेँ । तर आधा घण्टापछि आर्मी आएर मलाई आफ्नो हेडक्वार्टर लग्यो । दुईघण्टा राखेर केरकार गर्‍यो । मैले भनेका आधारमा सुटरको स्केच बनायो । र, बल्ल छोड्यो ।”

गजेद्रले पहिलोपटक मान्छेको शरीरबाट मूलबाट पानी उम्रिएझैं रगत आएको देखे । “आज पनि मलाई कतै मान्छे त के कुखुराको पनि रगत देख्यो भने डरले शरीर काँप्छ,” उनी सुनाउँछन् ।   

रोडपति
आर्थिक पत्रकारलाई लाग्ने गरेको आरोप : बिजनेस हाउससँग सङ्गत गर्छन् । यिनीहरुको घरमा दाल, चामल, तेल, लत्ताकपडा उनीहरुकै उद्योगबाट आउँछ । 

“हो म दुर्घटना परेर बसेको ६ महिनाको अवधिमा मलाई एकजना पत्रकार साथीले आफ्नो घरबाट आएको चामल हो भनेर केही सहयोग गर्नुभएको हो । त्यसबाहेक मैले म पत्रकार भएका नाताले कसैसँग एक रुपैयाँको केही लिएको छैन,” गजेन्द्र भन्छन्, “हो हाम्रो सम्बन्ध करोडपतिसँग हुन्छ । त्यसैले हामी पनि पतिचाहिँ हो, तर अगाडिको कचाहिँ हटाउनुपर्छ र रोडपति बुझ्नुपर्छ । सबै आर्थिक पत्रकारको त म ठेक्का लिन सक्दिनँ,  तर अधिकांश भने म जस्तै होलान् भन्ने विश्वास छ ।”

पत्रकारिता अगाडि
०४९ मा एसएलसी दिएपछि स्कुल पढाउन थाले । घर वरिपरि सरकारी कार्यालय थिए । चार जना खरदार बसेकाले गजेन्द्र बसेको टोलको नाम नै खरदार टोल रहेको थियो । बुवा व्यापारी थिए । तर छोरालाई सरकारी जागिर खानुपर्छ भन्थे । 

घरछेउमा मालपोत कार्यालय थियो । लेखनदासको काम पनि गरे । तर सहयोगस्वरुप मात्रै । त्यसैलाई आम्दानीको स्रोत बनाएनन् । त्यही काम गर्दागर्दै कलेजमा लेखापालको काम गरे । त्यसैले सरकारी काममा उनलाई आकर्षण गर्‍यो । 

गजेन्द्रले पनि लोकसेवा आयोग भिडे । ०५२ सालमा जिल्ला विकास समिति उदयपुरमा सह–लेखापालमा लिखितमा नाम निकाले । “दुई नम्बरमा नाम निस्किए पनि राजनीतिक भनसुन चल्यो । लिखितमा मभन्दा पछाडि रहेको व्यक्तिको नाम अन्तरवार्तामा निस्कियो । त्यसपछि मलाई सरकारी जागिरप्रतिको आकर्षण नै मरेर गयो,” गजेन्द्र सरकारी बेथितिले सरकारी सेवाप्रति हटेको मोह सुनाउँछन् । 

स्कुल पढाइरहेकै बेला काठमाडौंबाट उदयपुर पुगेर गैरसरकारी संस्था ‘एक्का’ ले दिएको प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भए । वातावण शिक्षालाई बृहत् बनाउने लक्ष्य रहेको संस्थाले गजेन्द्रको कार्यक्षेत्र तोक्यो, उदयपुर । हिन्दी, मैथिली पनि बोल्ने भएकाले उनको कार्यक्षेत्र विस्तार भयो । सिरहा, सप्तरी, धनुषा र सिन्धुली पनि आए । 

पहिलो समाचार
०५१ सालको माघमा एक्काको कार्यक्रममा सिन्धुली पुगेका थिए । उनले त्यहाँ देखे चुरेको लोभलाग्दो जङ्गल दिनदहाडै फडानी भैरहेको । कतै सालका रुख काटिँदै, कतै गाडीमा लकडी लोड गरेर तस्करी गर्दै ।

‘हरियो बन नेपालको धन’ भन्ने स्कुलमा पढेका उनको मनमा प्रश्न उठ्यो– यसरी नै रूख काटिँदै जाने हो भने के हुन्छ ? 

चार पेज लेखे, चुरे फडानीबारे । 

उदयपुरकै अग्रज पत्रकार कौशल चेम्जोङलाई देखाए, “दाइ मैले यस्तो लेखेको छु, छाप्न मिल्छ ?” 

चिया पसलमै बसेर कौशलले केही काटे, केही थपे र भने, “कान्छा, तैंले त गज्जब लेखिछस् । यसो गर्, तँ अब नियमित लेख् । तेरो घरछेउमै सरकारी कार्यालय छन् । त्यहाँ थुप्रै बेथिति छन् त्यसबारे लेख्ने गर् । कपाल पालेको छस्, सानो पनि छस् पत्रकार भनेर पत्याउँदैनन् ।”

त्यसै गर्न थाले । ‘त्रियुगा’ अर्धसाप्ताहिकमा छापिन्थ्यो । त्यो समय (०५१) जिल्लामा चलेको पत्रिका थियो । 

मोफसलबाट काठमाडौं
त्यही समय काठमाडौंमा ‘लोकपत्र’ दैनिक पत्रिका सुरु हुने उनले थाहा पाए । तपेश्वरी गाविसका तत्कालीन अध्यक्षले गजेन्द्रलाई भने, “महेन्द्र विष्ट भन्ने उदयपुरकै पत्रकार छन्, उनलाई फोन गर न ।”

त्यसै गरे उनले । महेन्द्रले भने, “तपाईं एउटा निवेदन पठाउनुस् ।”

त्यसै गरे गजेन्द्रले । 

‘लोकपत्र’ले नियुक्ति लिन काठमाडौं बोलायो । 

के चाहियो गजेन्द्रलाई ! फुरुङ्ङ हुँदै उनी काठमाडौंका लागि डेढ सय रुपैयाँ भाडा तिरेर नाइट बस चढे ।

गोँगबु बसर्पाकमा कार्यलय रहेछ । पुगे ।

सुरेन्द्रराज द्विवेदी प्रधानसम्पादक थिए । उनले नियुक्तिपत्र दिए । नियुक्तिपत्रमा थियोे, समाचार लेखेवापत प्रतिशब्द २५ पैसा दिइने । 

“०५२ पुस महिना थियो । पहिलोपटक समाचार लेखेर पैसा पाइँदोरहेछ भन्ने महसुस गरेँ,” गजेन्द्र नोस्टाल्जिक भए ।

फुरुङ्ङ पर्दै घर फर्किए । समाचार पठाउन थाले । कहिले कुरियर त कहिले फ्याक्स गरेर समाचार पठाउनुपथ्र्यो ।

गाईघाट–दिक्तेल सडक शिलान्यास गर्न तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी गाईघाट गए । शिलान्यास गरे । गजेन्द्रले समाचार लेखे । फ्याक्स गर्न गाईघाटबाट लहान आए । उनले सुनाए, “त्यो बेला एक मिनेट फ्याक्स इङ्गेज गरेवापत १६ रुपैयाँ लाग्थ्यो । म ६४ रुपैयाँ तिरेर फर्किएको थिएँ ।”

फ्रन्ट पेजमा बाइलाइनसहित समाचार छापियो । जिल्लाबाट समाचार लेख्नेका लागि बाइलाइनसहितको फ्रन्ट पेज समाचारले कति खुसी दिँदोरहेछ ? गजेन्द्रले पहिलोपटक महसुस गरे । 

“एक महिनाअगाडि मेरो फेसबुक पोस्टमा एउटा कमेन्ट आयो । त्यो कमेन्टमा लेखिएको थियो– मलाई २५ वर्षअगाडि नै उदयपुर जस्तो ठाउँ जुन ठूलो सहर थिएन, समाचार लेख्ने विषय थिएनन् । विराटनगर, बुटवल र पोखरा पनि थिएन । तर त्यस्तो ठाउँमा बसेर हरेक दिन यसको समाचार पत्रिकामा छापिन्थ्यो । त्यो बेला नै यो मान्छेको सम्भावना देखेको थिएँ,” गजेन्द्र कमेन्ट सम्झन्छन्, “२५ वर्षपछि यसो भन्ने बीएन घर्ती हुनुहुन्थ्यो जो तत्कालीन लोकपत्रको जीएम हुनुहुन्थ्यो । २५ वर्षअगाडि मेरो पत्रकारिताको मूल्याङ्कन आज सुन्दा मेरो आँखा रसाए । त्यो बेला नै मलाई त्यति भनिदिएको भए मलाई कति ऊर्जा मिल्थ्योे होला !”

एक हजार तलब 
‘लोकपत्र’ बन्द हुने अवस्थामा पुगेछ । आफ्नो तलबका लागि आफैं स्थानीयस्तरमा विज्ञापन खोज्नुहोला भन्ने सूचना गयो । उदयपुरमा विज्ञापन खोज्न सम्भव थिएन । 

त्यही बेला उनी काठमाडौंका केही साप्ताहिकमा पनि समाचार तथा फिचर पठाउँथे । उनी देशान्तरमा पनि समाचार तथा फिचर पठाइरहेका थिए । काठमाडौंको एउटा पत्रिकामा त काम गर्नुपर्छ र प्रेसको कार्ड चाहिन्छ भन्ने थियो गजेन्द्रलाई । उनी काठमाडौं आएर ‘देशान्तर’को कार्यालय गए । 

राजेन्द्र दाहाल सम्पादक थिए । उनले भने, दाइ म उदयपुरबाट समाचार पठाउने गजेन्द्र बुढाथोकी । कार्ड बनाउनु थियो ।

राजेन्द्रले तलदेखि माथिसम्म हेरेर भने, तिमी नै हो गजेन्द्र । पातलो ख्याउटे ज्यान, लामो कपाल पालेको देखेर उनले नामै राखिए जुल्फिकर अलि भुट्टो । 

राजेन्द्र दाहाल भित्र पसेर बन्धु थापासँग सल्लाह गरे, सानो कागजमा लेखे, गजेन्द्र बुढाथोकीलाई उदयपुरको संवाददाता नियुक्त गर्ने, मासिक एक हजार दिने । 

कार्ड बनाउन गएका गजेन्द्रले पैसाको अपेक्षा नै गरेका थिएनन् । कार्ड त पाए नै, मासिक हजार रुपैयाँ तलब पनि पाउने भए । ०५२ सालमा हजार रुपैयाँ मासिक तलब पाउनु पनि ठूलै कुरा थियो मोफसलका पत्रकारका लागि । त्यसबाट उनले निष्कर्ष निकाले– पत्रकारितालाई पनि करिअर बनाउन सकिने रहेछ । 

‘लोकपत्र’ बन्द भएपछि केही समय ‘श्री देउराली’मा काम गरे । ‘श्री देउराली’का लागि विराटनगरमा बसेर काम गरिरहेका थिए । एक महिना भएको थियो काम गर्न थालेको । पत्रिकामा सङ्कट देखियो । नियमित पैसा आउन छोड्यो । आमा विरामी भएकाले गजेन्द्र घर फर्किए । 

गाईघाटमै बसिरहेका थिए । ‘नेपाल समाचारपत्र’का मार्केटिङको टोली बजार विस्तार गर्न त्यहाँ पुगेको भेटे । त्यहीमध्येका एकले भने– उदयपुरमा हाम्रो कोही छैन । हाम्रोमा पेमेन्टको समस्या पनि छैन ।

समाचार पठाउन थाल्नुस् । ‘ढुङ्गो खोज्दा देउता’, गजेन्द्रलाई चाहिएकै त्यही थियो । हुन्छ भने । अन द स्पट नियुक्तिपत्र पनि पाए । ०५३ सालबाट ‘समाचारपत्र’मा काम सुरु गरे । 

युनिसेफले १९९६ मा पोलियो थोपा कार्यक्रमको जनचेतनाका लागि पूर्वाञ्चलका पत्रकारलाई परिचालित गरेको थियो । त्यसमा गजेन्द्र पनि एक थिए । 

एनपीआई विराटनगरका उत्पादनजतिलाई भनियो पोलियो सम्बन्धी खोजमूलक समाचार पठाओ । पारिश्रमिक पनि पाइन्छ उत्कृष्ट हुनेले डेभलपिङ जर्नालिजम अवार्ड पनि पाउँछ । 

नभन्दै गजेन्द्र र राजकुमार दिक्पालको समाचार राम्रो भएछ । युनिसेफ र एनपीआईले संयुक्त रुपमा १० हजार रुपैयाँको पुरस्कार दियो । 

उनले लेखेका थिए, एउटाचाहिँ जनतामा जनचेतनाको कमी छ, र अर्को नेपालमा प्रयोगका रुपमा बच्चामा पोलियो थोपा खुवाइँदैछ । प्रयोग सफल भयो भने अन्य मुलुकमा पनि पोलियो थोपा खुवाइनेछ । उनले जिल्ला जनस्वास्थ्य र क्षेत्रीय कार्यालयलाई यही कुरा सोेधे, उनीहरुले करिब–करिब त्यस्तै हो भने । 

त्यसले गजेन्द्रलाई उत्साही बनायो । पत्रकारितामा बाँधिरह्यो । 

‘समाचारपत्र’को यात्रा
त्यही पुरस्कार दिन ‘समाचारपत्र’का प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठ विराटनगर पुगेका थिए । चिनजान भयो । उनले भने, काठमाडौंमा आर्थिक विषयमा लेख्ने पत्रकारको खाँचो छ । काठमाडौंमै आउनुस् । ०५४ फागुन ६ गते उनी काठमाडौं आएर ‘समाचारपत्र’मा काम गर्न थाले । 

यहीबीचमा उनले केएटीएच एफएममा पनि बिहानको समयमा काम गरे । त्यही बेला एउटा विमान कम्पनीले उनलाई अफर गर्‍यो । तर उनी गएनन् । गजेन्द्र भन्छन्, “मलाई जाउँ भनेका बेला प्रवेश गरेका एक जना साथी अहिले नेपालकै ठूलो निजी वायू सेवा कम्पनीको जीएम छन् । तर म पत्रकारिताको नसाबाट बाहिर निस्कन सकिनँ । यसमै अल्झिरहेँ ।”

गजेन्द्रलाई नामको भोक थियो । २००४ मा ‘डेभलपिङ एसिया जर्नालिजम अवार्ड’ पाए । १५ सय डलरको अवार्ड थियो । लिन जानुपर्ने थियो जापान । उनलाई हितैषी साथी तथा आफन्तहरूले भने, ‘उतै लुकेर बस दुई–चार वर्ष । पैसा राम्रो कमाइ हुन्छ ।’

गजेन्द्रलाई नामको भोक मेटिएकै थिएन । बेलाबेलामा पाइने पुरस्कारले इज्जत थपिरहेको थियो । दुई छाक खानलाई अभाव थिएन । बाटोमा हिँड्दा पनि दुई–चार जनाले चिन्थे । यो इज्जत भागेर जापान बसेपछि कहाँ पाइन्छ ? अँहँ, बस्दिनँ । उनी बसेनन् । १० दिनमा कार्यक्रम सकियो । उनी ११औं दिनका दिन काठमाडौं नै उत्रिए । 

०५४ देखि ०६४ असार ३१ गतेसम्म ‘समाचारपत्र’मा काम गरे । बिजनेु ब्युरो चिफ थिए ‘समाचारपत्र’मा त्यहीबेला राजधानी दैनिकले बिजनेस इडिटर भन्ने नयाँ पद सिर्जना गरेर त्यो पद कार्यकारी सम्पादकसरह हुने भनेर बोलाएपछि त्यतातिर लागे । ‘राजधानी’ दैनिकमा काम गरेको ११ महिनामा उनको दुर्घटना भयो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC