केके छ नैपालमा ?
महिना फेरिए, वर्ष फेरिए
फेरिए वर्षैपिच्छेका ऋतुहरु
फेरिएन उसको प्रश्न
र, त फेरि सोध्यो
मालिक नैपालमा केके छ ?
सुनाउँछन् जसरी
बोर्डिङका नानीबाबुहरु घण्टांै रटेको पाठ
फलाक्छन् जसरी
जग्गेमा बसेका बाहुनले मन्त्र
सुनाउँछन् जसरी चुनावका बेलाका नेताहरु
भाषणकै लागि भाषण
सुनाउँछन् जसरी कक्षामा शिक्षकले
वर्षौंदेखि कण्ठ पारेका कुनै कविका कविताका पङ्क्ति
हो, उसैगरी गमक्क परेर सुनाइरहँे मैले पनि
सहरमा यो छ
त्यो छ
ऊ छ
सबथोक छ
नैपालमा
त्यतिबेलै
प्रकट भएझंै कालीको अवतार
सुनिएझैं आकाशवाणी
बजारिन पुग्छ कानमा
दाह्रा किटेजस्तो आवाज
छाउगोठबाट बाहिरिन्छ एउटा प्रश्न
गोसाइँ
नैपालमा कोको बस्दाछन् ?
भनन् गोसाइँ
त्यो नैपालमा हामीजस्ता पनि बस्दाछन् कि
तमीजस्ता मात्रै ?
० ० ०
तिम्रो देउतासँग के बर माग्दैछौ ?
गरिबीको च्यादर ओढिरहेको मुटुमा
टेकाउँदै धर्मका पाइताला
फलाक्दै शान्तिको मन्त्र
चढाउँदै सूर्यलाई अर्घको पानी
तम्रा देउतासँग के बर माग्दैछौ गोसाइँ
देउता त हाम्रा पनि छन्
हाम्रा पुर्खाले पनि पुजेका हुन्
र, हामी पनि पुजिरहेकै छौं
तर हामीले त पूजामा
मात्र मन चढाउँछौ मालिक
आकाशका तारा गन्दै बगर नाप्दै
दिन बताइरहेको फिरन्तेको बाटै बन्द गरेर
अग्निकुण्डको नक्सा कोर्दै
जिन्दगीको दोबाटोलाई धुवाँदार बनाएर
कस्तो आकृति खोज्दैछौ मालिक ?
छाँद हालेर रुन खोज्दा गरिबले
थापेजस्तो गरेर अञ्जुली
धक्क्याउँदै उसको जिन्दगीकै ढिस्को
कर्मकाण्डको कुनचाहिँ पाना बढी पल्टाउँछौ ?
कयौंका मुटु मिचेर कचोल बनाइसकेका
तिम्रा कपटी हात
टुनामुना लगाउने तिम्रो हेराइ
सबै बुझेको छु मालिक
तिमीले योजनाका ड्याम बाँध्दै गर्दा
यता मजस्ता कयौंका मनमा परिसक्छ भुमरी
भत्किन सुरु हुन्छ जिन्दगीको सिँढी
देख्न सक्छु अचेल सजिलैसँग
सेती नदीको खोँचमा बनेका खुनिकुण्टाझंै
तिम्रा मनका खुनिकुण्टाहरु
सेतीले त दिन्छ तैरिने अवसर
कम्तीमा मृत्युपछि नै भए पनि
तर सोझा मनहरु सक्दैनन् रे
तिम्रो चातुर्यको भुमरीबाट उम्किन
यथार्थका टपरी जति पाइतालामुनि लुकाएर
कस्तो टपरीमा राख्न लगाउँछौ छाक धान्ने चामल
अनि कुनचाहिँ दुनामा बाल्न लगाउँछौ जिन्दगीको दियो ?
भन न गोसाइँ
चढाउन सिकाएर सूर्यलाई अर्घको जल
तम्रा देउतासँग के बर मागिदिन्छौ ?