'मर्निङ वाक'मा हुने दुर्घटनाको दोषी को ?

विष्णु उपाध्याय सेढाई

 'मर्निङ वाक'मा हुने दुर्घटनाको दोषी को ?

सलाईको एउटा काँटीले सिंगो वन खाक बनाउन सक्छ  l  सिंगो दरबार भष्म बनाउन सक्छ आगोको एउटा फिलिंगोले  l विनाश निम्त्याउन भीमकाय कारण चाहिन्न  l दुर्घटनालाई समाचारमा प्रमुखता नदिएको र तिनका छानबिन समिति गठन नभएका भने पक्कै होइनन्  l  धेरै सुधारका सिफारिस पनि पक्कै भए होलान् l  तर सतहीरूपमा दुर्घटनालाई हेर्दासम्म यसको क्रम रोकिएला जस्तो लाग्दैन l गम्भीर शोधकर्ताको विभिन्न धारणा हुनसक्लान् तर मलाई मान्छेको गैरजिम्मेवारीले नै गम्भीर दुर्घटना निम्त्याउँछ भन्ने लाग्छ  l  

विसं २०७६ को तिहारपछिको एउटा निर्दयी बिहानी मेरो घरमा अत्यन्त दुखलाग्दो समाचार बोकेर आयो  l  मेरा आफन्त डाक्टरले सुनाउनुभयो - एउटा होनाहार डाक्टरको 'मर्निङ वाक'को समयमा गाडीको ठक्करबाट घतानास्थल मै मृत्यु भयो  l  मर्माहत बनायो त्यो समाचारले  l  स्वाभाविकररूपमा दुर्घटना हुनुको दोषी को हो भन्ने होडबाजी नै चल्यो l पहिलो त चालक नै मानिए गाडी साबधानीपूर्वक नचलाएकोमा  l  तत्पश्चात पालो आयो हिउँदको बिहान करिब ५ बजेको अँध्यारोको l सडक बत्तीतर्फ पनि औँला तेर्स्याइयो l कसैले त हत्याको शंका समेत गरे  l  अर्कोतर्क थियो, सडकपेटीमा हिँड्नुपर्ने नियमको पालना नगर्नु नै मुख्य हो भन्ने ठोकुवा ! यी सबै आंशिक सत्य बोकेका आआफ्ना तर्कमात्रै थिए । चित्त बुझाउने  बाटाहरू l सत्य के हो भने कसैको सानो गल्तीको कारण हामीले हाम्रो समाजको लागि नभई नहुने विद्वानलाई गुमायौँ । 

दुर्घटनाको अघिल्लो दिन बिहानै करिब साढे ४ बजेतिर बगलामुखी जान घरबाट निस्केँ l अँध्यारो थियो पाटन  l  लाग्थ्यो, पाटन भर्खरै ब्युँझदै छ l कुकुरहरू अँध्यारोमा सबै नै कालामात्र हुँदा रहेछन् कि जस्तो भान हुन्थ्यो  l  दूध बोकेका गाडीहरू हुइकँदै थिए  l  फाट्टफुट्ट काला आकृतिजस्ता मानिस प्राय : जोडीमा फटाफट हिँडिरहेका थिए सडकमा  l  हो ! सडकमै, पेटीमा होइन  l 

झनक्क रिस उठ्यो  l  कस्ता मान्छे होलान्  !  बिहानै 'मर्निङ  वाक' गर्ने त पक्कै सुकिला, सभ्य हुनुपर्ने  l  सामान्य कामदार वर्ग भए त यो बेकारको 'वाक' पनि आवश्यक पर्ने थिएन  l  कामले नै स्वस्थ बनाइदिन्थ्यो  l  असभ्य लागे बाटाका सारा यात्री  l  मनले सोध्यो  “कहिले सुध्रने खै हामी ?” अरु जे गरुन् आफूलाई “सभ्य “ बनाउने निधो गरेर सडकपेटीमा हिँड्न थालेँ  l  हिँड्दा मनमा सडक सुरक्षाको कुरा खेल्न थाल्यो  l 

मभित्रको मले भन्यो - “ए समस्या त यो पो रहेछ ! यो सडकमा हिँड्नेलाई निरुत्साहित गर्न नै पर्छ l होइन , रोक्नै पर्छ l जरिवाना गर्ने र परेमा जेल समेत किन नहाल्ने ?” आदि आदि ... l  बटुवा सडकमा हिँड्छ र दुर्घटना हुन्छ भने दोष चालकको होइन बटुवाको हो भन्ने लाग्यो  l  बटुवालाई दोषी करारमात्र के गरेको थिएँ  अन्धकार सडक पेटीमा सुतिरहेको कुकुरको पुच्छर कुल्चेछु, पीडा र रिसले मुर्मुरायो  l  भलाद्मी परेछ टोकी भने हालेन  !  मेरो ‘पेटी वाक' निरन्तर रह्यो  l  त्यतिबेलासम्म सडकमा बटुवा बाक्लै भइसकेका थिए  l  गजब  लाग्दो के थियो भने त्यतिका बटुवामा ममात्र एउटा प्राणी थिएँ जो सडक पेटीमा हिँडिरहेको थियो  l  लाग्दै थियो, ममात्र एउटा सिकारु थिएँ  l  त्यसपछि मेरो सडक पेटी यति साँघुरो भयो कि म फटाफट हिड्न नसक्ने भएँ  l  अर्को केही मिनेटमा त मेरो प्यारो सडक पेटी पूरै हरायो  l  यति हिँडेपछि मलाई महसुस भयो  - हाम्रा सडक पेटीहरू कहीँ चौडा, कहीँ साह्रै साँघुरा, कतै हिँड्दाहिड्दै सकिँदा पो रहेछन्  !  भएका पेटी पनि यति उबटखावट थिए कि बिहान अँध्यारोमा लम्केर हिँडे गन्तव्यमा होइन अस्पताल भने अवश्यै पुगिनेजस्तो । 

यति भोगेपछि मैले आफूलाई लालबुझक्कड बनाएर सडक पेटीमा हिडाउनुभन्दा अरूजस्तै सडककै किनारमा हिँडाउँदा समतल सडकमा फटाफट हिँड्न सकिने भएकोले अरूजस्तै अँध्यारोमा सडकको किनाराबाट ‘सुरक्षित’तवरले हिँड्न थालेँ l करिब ३० मिनेटको हिँडाइमा कुनै पनि सडकपेटी त्यस्तो देखिएन जुन उबडखावट नभएको होस् l अब भन्नुहोस्, मेरो कुन हिँडाइ सुरक्षित  ?  सडक किनाराको कि  सडक पेटीको  ?  उत्तर – दुवै असुरक्षित  l  सडक असुरक्षित भन्न त माथिको दुःखद समाचार  नै पर्याप्त भयो l पेटी असुरक्षित भन्न मेरो हिँडाइको उदाहरण भइहाल्यो  l 

अब लागौँ दोषको कुरातिर  l  हाम्रो समाचारको अपराधी को त ? गाडी चालक कि अरू कोही  ?  गाडी चालक जति दोषी छन् त्यस्को हजारौँ गुणा बढी दोष बोक्ने फुटपाथ बनाउने ठेकेदार हो  l त्यस्को लाख गुणा दोषी त्यो फुटपाथको गुणस्तर ठीक छ भनेर हेर्ने र सहीछाप गर्ने कर्मचारी हो l त्यसभन्दा करोडौं गुणा बढी दोषी त्यो सडकको योजनाकार हो जस्ले सडक विस्तार गर्दा पनि फुटपाथलाई विचार गरेन  l  यिनैका कम्जोर कामले तपाईँ हाम्रा सडक पेटी निकम्मामात्र भएनन्, हामीलाई सडकमा हिँड्ने गराएर मृत्युवरण गर्ने गराए  l 

सडक र फुटपाथको ठीक 'प्लानिङ' गरेको भए पेटी बनाउँदा सही किसिमको माटोमा सही मात्रामा पानी राखेर सही प्रतिशत (प्रोक्टर टेस्ट भ्यालुको ९८%  कम्प्यासन मा माटो थिचेको भए, घरको गेटअनुसार सडक पेटी होइन कि पेटीअनुसार घरको गेट राखेर बनाएको भए, फूटपाथ एकै सतहको राम्रो बन्थ्यो  l  त्यसो भए कोही पनि सडकमा हिँड्ने थिएन  l  हामीले हाम्रा मानिस गुमाउने पनि थिएनौ l 

त्यसैले ,  मेरो मनले  दोषी त्यो सामान्य कर्मचारीलाई घोषणा गर्‍यो जसको कलमले ठेकेदारको गलत सडक पेटीलाई ठीक भनेर सही गरी दियो l उसकै  गैरजिम्मेवार निर्णयको ‘सलाईको काँटी'ले हाम्रो डाक्टररूपी समाजको महान्  ‘इमारत'लाई क्षण भरमा खरानी बनाइदियो l 
  
 

प्रतिकृया दिनुहोस
ad