site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जीवनको हिसाब !

मेरी सानी छोरी ११ वर्षकी भई । कहिले कहीँ नयाँ चीज देख्दा प्याट्ट भन्छे, ‘‘फस्र्ट टाइम इन माई लाइफ’’ । हामी हाँस्छौं, उडाउँछौं – ऊ बुझ्दिन । ऊ पनि हाँस्दी हो यति सामान्य कुरा हामीले नबुझेकोमा – तर ऊ केही भन्दिन । जीवन जटिल पनि छ र सरल पनि – त्यसैको परिणाम हो यो दोहोरो हँसाइ । जीवनको हिसाब बुझे झैँ लाग्छ अनि  गर्दै जाँदा बिर्सिए झैँ लाग्छ ।

भन्छन् नि — ‘जिन्दगी छोटो छ’ । सुनिन्छ पनि सानैदेखि त्यही कुरा बारबार । आफूलाई लामो लाग्छ एक बिन्दुसम्म नपुगुञ्जेल र जब थाहा हुन्छ ‘जिन्दगी छोटो छ’  तब साँच्चीकै छोटो हुन्छ समय जीवनको । धेरैको यता समाउन खोज्दा उता चिप्लिने र उता समाउन खोज्दा यता । यही लुकामारीमा सकिन्छ जीवन । आफू सानो छँदा अरू ठूला मान्छेहरू हेरेर त्यस्तै ठूलो बन्न मन लाग्थ्यो । सानो हुँदाको समय पनि त्यस्तै लामो लाग्ने । कहिल्यै नबढ्नेजस्तो लाग्ने जिउ, कहिल्यै नसकिनेजस्तो लाग्ने पढाइ, कहिल्यै नटुंगिनेजस्तो लाग्ने गाउँको बसाइ । प्लेन चढेर हुइयँ हुँइकिन मन लाग्ने घरी घरी गाउँ छाडेर । मोटर बाटो नभएको गाउँमा एयरपोर्ट भएकाले पनि कल्पना गुड्नेभन्दा उड्ने नै हुने भए आकाशमा !

पहिलोपटक प्लेन चढेर काठमाडाैं खाल्टोमा छिरेको अस्तिजस्तै लाग्छ — पाङ्गा, कीर्तिपुरमा । ढोकाबाट भित्र छिरेपछि दाइले ट्वाक्क गर्दा बलेको बिजुली बत्तीको अर्कै उज्यालो (हाम्रो गाउँको लालटिनको भन्दा फरक झलमल्ल उज्यालो) र त्यो स्विचको आवाज अहिलेसम्म ताजा नै छ मन मस्तिष्कमा । 

Prabhu Bank
Agni Group
NIC Asia

पाँगाबाट नयाँ बजार जाने बाटोमा एउटा बैंक थियो । बैंकमा भएको फोन मेरो लागि अर्को नौलो विषय थियो । त्यस बाटोबाट वारपार गर्दा मेरो मनमा सलाईको बट्टामा धागो बाँधेर सानो छँदा गाउँमा फोन गरेर खेलेको झलझली याद आउथ्यो । कति सुनिन्थ्यो त्यो बट्टाबाट वा चिच्याएको आवाज नै हुन्थ्यो त्यो अथवा भ्रम मात्रै हुन्थ्यो अहिले उति परको धेरै याद भएन । तर, फोनबाट टाढा टाढासम्म पनि कसरी कुरा हुन्छ भन्ने चाहिँ पछिसम्म पनि घुसेन मेरो दिमागमा । अहिले पनि बेला बेलामा रन्थनिन्छ दिमाग कुरा हुँदा फोनमा । टाढा टाढा, अब त तार बिना अनुहार हेरेर पो हुन्छ कुरा – झनै अचम्म !

अलि पछि हो, घरमा श्यामश्वेत टीभी आयो । झ्यार..झ्यार.. टीभीमा आउने र मुस्किलले देखिने अनुहारहरू कसरी त्यो बाक्सामा छिरेर बस्छन् होला ? रेडियोको आश्चर्य नमेटिँदै फेरि अर्को चमत्कारले घेरेको पनि धेरै भएको छैन । त्यो मधुरो चित्र घन्टौँ हेर्दै अन्दाज गर्दै बुझ्ने कथाहरू र गरिने अचम्मको हिसाब अब छोडिसकेँ मैले । सके र पाएसम्म हिसाब नगरेर सुविधाहरूको उपभोग गर्ने निधो गरेँ मैले । नत्र त म पाखेका लागि अचम्म कति कति । हिसाब गर्दै जिन्दगी बित्ने डर !

Global Ime bank

सबै अस्ति जस्तै लाग्छ । समय थाहा नपाएरै बित्दो रहेछ । उँड्दाउँड्दै आनै गाउँ, आफ्नै देश छोडेर कहाँ कहाँ बिरानो ठाउँमा पो पुगिसकिएछ !

अस्ति यसै बसेर हिसाब गरेँ । यो हिसाब भन्ने पनि गजबको रहेछ – नगरी नहुने । समय बित्दै गएपछि हिसाब पनि धेरै गर्न मन लाग्ने, गर्नुपर्ने हिसाबको संख्या पनि धेरै हुने र हिसाब पनि धेरै बुझिने हुँदोरहेछ । अचेल त हिसाबमा आफ्नै गुरुभन्दा पोख्त भएजस्तो लाग्छ कहिले ! अनपढ आमाले औँला भाँचीभाँची गरेको हिसाब अहिले बुझियो — आमाले यो संसार छोडेर गएपछि । उनका काखको हिसाब, उनका आँखाको हिसाब, उनको मनको हिसाब, उनको पर्खाइको हिसाब त आफ्ना सन्तान ठूला हुँदै गएपछि झन्झन् छर्लङ्ग हुँदै आउन थाल्यो – यो हिसाबको नतिजा सुनाउन पाएको भए उहिले नमिल्ने आमाछोराको हिसाब अहिले मिलेको देखेर आमा मुसुक्क मुस्काउँथिन् होला कि मेरो कपालमात्रै सुम्सुम्याउँथिन् होला ? 

म फेरि हिसाब लाउँछु । आमाका आँसुका हिसाब, रहरहरूका हिसाब, बाध्यताहरूका हिसाब त कति कति ! बाको इस्टकोटमा परेको प्वालको हिसाब, बाको निधारबाट चुहिएका पसिनाको हिसाब, बाको भरोसा र आधारको हिसाब पनि कति कति ! आफू विदेश गएपछि गाउँको हिसाब, गाडीमा चिल्ला सडकमा हिँडेपछि धूलो बाटोको हिसाब, टावर चढेपछि अग्लो रुखको हिसाब, समयले यताउता घुच्याउन थालेपछि बच्चामा गुच्चा खेल्दा हारेका र जितेका गुच्चाहरुको हिसाब र खोपी खेल्दा बुझाएका र गोजामा बजाउँदै हिँडेका सिक्काहरूको हिसाब पनि धेरै बुझियो – समयले सबै हिसाबमा पोख्त बनाउँदो रहेछ ।

यो हिसाब त कहिल्यै नसकिने पो रहेछ, अझै सिकिँदै छ — समयको, गतिको, अनुभूतिको, जीवनको र अन्य थुप्रै हिसाबहरू ।

जीवनको ठूलो हिस्सा सुत्नमा जान्छ । केही जागिरमा, केही पढाइमा, केही झगडामा, केही ईष्र्यामा, केही हिँड्दा बाटोमा जान्छ जीवन । केही रुनमा, केही पछुताउनमा, केही गुनासोहरूमा र केही कुण्ठाहरूमा जान्छ जीवन । अझ म जस्ताहरूको केही बारमा, गिलासमा र धुवाँमा जान्छ जीवन । यस्ता थुप्रै हिस्साहरूमा थोरै हिस्सामात्रै माया र खुसीको हुँदोरहेछ । यी चीजहरूको हिसाबकिताब मिलाउन नसकेर सुखको हिस्सा आफ्नो भागमा कम परेजस्तो लाग्ने, समय कम भएजस्तो लाग्ने या जीवन छोटो भएजस्तो लाग्ने पो हो कि ?

जन्मिएपछि हामी खुसी मनाउँछौँ । न्वारान, भात खुवाइ, व्रतबन्ध आदि आदि । जीवनको आधाभन्दा बढी हिस्सा जिउनको लागि तयारी गर्छौँ । पढ्ने, जागिर खोज्ने, पैसा कमाउने, बिहे गर्ने, बच्चाबच्ची जन्माउने, घर बनाउने, गाडी किन्ने र यस्तै यस्तै धेरै । जिउने तयारी गर्दागर्दै छोराछोरी टाढा हुन्छन् – पढ्न, जागिर खान, हामी जस्तै टाढिन्छन् । जीउले बिस्तारै साथ दिन छोड्छ, बल घट्छ, जाँगर मर्दै जान्छ । बाबुआमा, आफन्त, कतिपय साथीभाइ कहिल्यै नफर्किने गरिजान्छन्, छोडेर जान्छन् । कतिपय सम्बन्धहरू बिग्रन्छन् । हिसाब गर्न मन लाग्छ, हिसाब नमिलेजस्तो लाग्छ सुरुमा । अनि लाग्छ ‘जीवन छोटो छ’ ।

कहिले कही जीवनप्रतिको डर, मृत्युभय, केही डरलाग्दा रोगहरुले पनि मान्छेलाई ‘जीवन छोटो छ’ भन्ने बोध हुन्छ अलि छिटै । अन्यथा, त्यो सत्य महसुुस गर्न अर्थात् त्यो बुझ्ने बिन्दुसम्म पुग्न धेरै समय पनि लाग्न सक्छ । ‘म मर्छु’ भनेर चिन्ता गर्न हैन बाँच्न पनि यो तथ्य नबिर्सिएकै राम्रो हो । न बिर्सिँदा यो सत्य ‘जीवन छोटो’ भएको बुझ्न गाह्रो छैन, जीवन भोग्न सिकाउँछ यसले ।

मैले धेरै हिसाब गरेको देखेर मेरी पत्नी दिक्क मान्छिन् । उनको र मेरो हिसाब मिल्दैन धेरैपटक । उनी धेरै सोच्दिनन्, धेरै अनुमान गर्दिनन्, समय हुँदा भुसुक्क निदाउँछिन्, खाना भए खाइदिन्छिन् नत्र गुनासो पनि गर्दिनन् – सहज लिन्छिन् कुराहरुलाई । म भने कोणकोणबाट सोच्छु, अनुमान धेरै गर्छु, निदाउन समय लाग्छ, अलि मीठोमसिनो चाहिन्छ – उल्टोभन्दा हुन्छ उनको र मेरो व्यवहार । झगडा गर्ने म, मिलाउने उनी । रिसाउने म, सहने उनी । अल्छी म, जाँगरिली उनी । अनि कसरी मिलोस् त हिसाब ?

‘जिन्दगी त छोटो रहेछ’ – मैले कफी खाँदै पत्नीलाई सुनाएँ । उनी हाँसिन् र भनिन्  ‘हिसाब गर्न न जानेर हो’ । मैले जीवन छोटो भएको थुप्रै उदाहरण दिएँ । थुप्रै कुरा गरेँ – उनको मन खाएन मेरो हिसाबले । उनले भनिन् — ‘हिसाब नम्बरमात्रै हो’  । एउटै छानोमुनि भए पनि उनी मभन्दा सुखी लाग्छ मलाई ।

म घोरिएँ । हुन पनि जीवन छोटो हुनेभन्दा हामीलाई त्यस्तो लाग्नेजस्तो लाग्यो । त्यत्रा वर्षहरू, महिनाहरू, हरेक वर्षका तीन सय पैँसट्ठी दिन, घन्टा, मिनेट र सेकेन्डहरू गन्ती गरेर नसकिने छन् । हामी जीवनको यात्रामा झैँ अरू हरेक ससाना यात्राहरू लक्ष्यमा मात्र केन्द्रित गरेर गर्छौँ । बाटोमा देखिने दृश्यहरू पनि उति नै सुन्दर हुन्छन् जति टुप्पोबाट हेर्दा । समय उत्ति नै महत्वपूर्ण हुन्छ, भेटिनेहरु उत्ति नै आत्मीय हुन्छन् । थकाइ मार्दाको क्षण उति नै प्यारो, सुनिने स्वरहरू उति नै मधुर हुन्छन् । बाटो छेउका कुनै सुन्दर फूलहरू अन्त कतै कहिल्यै नदेखेका हुन्छन्, फलहरू देखिन्छन् लटरम्म फलेका र अरू थुप्रै मन लोभ्याउने वस्तुहरू । हो ! उकालो थियो, प्यास थियो उक्लिँदाको दुःख थियो र पुग्ने हतारो पनि थियो । हामी त्यही हतारोमा आफूसँगैका असंख्य क्षणहरू जिउन बिर्सने रहेछौँ र पो छोटो लाग्दो रहेछ जीवन ।

जिउन जाने त सुखका, भोगाइका सुन्दर क्षणहरूको लमाइ नाप्न नसकिने लामो पो हुँदो रहेछ !

(हालः टिमिन्स, क्यानडा) 

  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC