मृत्युशैय्यामा रहेका रिहानलाई पत्र 

कृष्णराज खनाल 

मृत्युशैय्यामा रहेका रिहानलाई पत्र 

प्रिय रिहान

धेरै धेरै सम्झना एवं प्यार ! 

तिमी यो सुन्दर धर्तीमा आउँदा हामी आफन्तले खुसी मनायौँ । तिमीलाई काखमा लिँदा मलाई आनन्द आएको थियो । तिम्रो जन्मसँगै न्यौपाने परिवारमा खुसीरुपी चरा भुर्र उँडेर आई थचक्क बसेको थियो । तर, त्यो चरा केही क्षणमा नै भुर्र उँडेर गयो । तिम्रो स्वास्थ्यमाथि चिकित्सकहरुले खेलबाड गरे । तिमी जन्मिएको ९ महिनाभित्र तिम्रो नसानसामा नानाथरीका सुई लगाएर मस्तिष्कमाथि पाँचपाँच पटक छुरा र कैँची चलाएर शल्यक्रिया गरे । त्यही शल्यक्रियाले तिमीमा अपांगता  भयो । तिम्रो मस्तिष्क कहिल्यै नफर्कने गरी बन्द भयो । तिम्रो जीवन बर्बाद भयो । तिम्रो प्राण बचाउन भनेर खर्च भएको धन सम्पत्तिको त के कुरा गर्नु ? 

तिनै चिकित्सकको चरम लापरबाहीका कारण अहिले तिम्रो जीवन मृत्युमय छ । मृत्यु भय हो तर त्यो तिमीलाई थाहा छैन । तिम्रा बाबुआमा तिमीले उनीहरुको परिवारको सदस्य बनेर खुसीयाली दिनेछौ, उनीहरुको जीवनमा बहार ल्याउनेछौ, न्यौपाने परिवारको वंशलाई निरन्तरता दिनेछौ भन्ने ठान्थे । तर। त्यसो हुन सकेन, भएन । यो तिम्रो काम वा कर्तव्यका कारण होइन, यो त जीवनदायिनी हुनुपर्ने अस्पतालले दिएको पीडा हो । यो अथाह पीडा तिमीलाई थाहा होला, तिमीले पलपल भोगिरहेका छौ तर व्यक्त गर्न सक्दैनौ । अभिभावकहरुले पनि अनुमान त गर्न सक्छन् तर अनुभूत गर्न सक्तैनन् ।  

विगत डेढ वर्षदेखि जीवनदाता डाक्टर र जीवनदायिनी अस्पतालले गरेको गम्भीर त्रुटिको असर तिम्रो शरीरको प्रत्येक मांशपेशीमा परिरहेको छ । ताते गर्दै भर्यांगका खुड्किला ओहोरदोहोर गर्ने, खेलौना बोकेर कोठाचोटा चाहार्ने तिम्रो उमेर हो यो । तर, तिमी थला परेर मृत्यु शैय्यामा इन्तु न चिन्तु बनेर निख्लोट सुतिरहेका छौ । अहोरात्र तिम्रा आँखा सिलिंगतिर मात्र फर्केका हुन्छन् । तिम्रो रुप र रंग हेर्दा लाग्छ, तिमी धर्ती बाहिरबाट आएका अन्तरिक्ष मानव हौ । 

त्रुटि मानवीय कमजोरी हो । मानवले नै हो, त्रुटि गर्ने । डाक्टरहरुले पनि गल्ती गरेकै हुन् । गल्तीलाई गल्ती भएको हो भन्न सक्ने क्षमता डाक्टरहरुमा विकास हुनु जरुरी छ । अन्यथा फेरि अरू रिहानहरु डाक्टरको लापर्बाहीको सिकार भइरहन्छन् । अस्पताललाई प्रयोगशालाका रुपमा होइन जीवनदाताका रुपमा विकसित गर्नुपर्छ । 

रिहान, यो धु्रव सत्य हो, यस धर्तीमा आएका सबै चेतनले मृत्युवरण गर्नुपर्छ । तिमीले पनि मर्नैपर्छ, हामीले पनि मर्नैपर्छ । तर जुन किसिमले तिमीले मृत्युका घिडघिड भोगिरहेका छौ त्यो अरुको भन्दा नितान्त भिन्न छ । तिमी तड्पिएकोमा हामी सबै चिन्तित छौँ । यतिखेर सारा देशवासी तिम्रो पीडामा रोइरहेका छन् । विडम्बना, चिकित्सक र अस्पताल भने मानवीय त्रुटि भनेर उम्कने प्रयासमा छ । यो कहाँको न्याय हो ? तिम्रो बाबु पुस्ताले ठूलो संघर्ष र बलिदानद्वारा प्राप्त गरेको यो लोकतान्त्रिक व्यवस्थाको मूलभूत विशेषता भन्नु नै जनउत्तरदायी राज्य व्यवस्था हो । यहाँ सबै तह र वर्गमा रहेका मानिसहरुले मनसा, कर्मणा र वाचा आआफ्नो उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ । यो सबै जना न्यायको आँखामा समान हुन्छन् भन्ने सिद्धान्त हो । त्यसैले यहाँ डाक्टरले गल्ती गर्दा उनीहरु पनि सजायको भागीदार हुनुपर्छ । 

रिहान, तिमी वास्तवमा बहादुर रहेछौ । तिम्रा बाबुआमा बहादुर रहेछन् । जसले यस्तो विपद्मा पनि  आफ्नो कर्तव्यका खातिर भोक, प्यास र निद्राबाट विचलित नभईकन आफ्नो भएको जागिरे जीवनबाट बिदा लिएर तिम्रो स्याहार र सुरक्षा गरिरहेका छन् । उनीहरुको आँखा अगाडि तिम्रो मृत्यु नाचिरहेको छ । 

तिमी जन्मिएको केही दिनमै तिम्रो हजुरबाले ८४ वर्षको उमेरमा देहत्याग गर्नुभयो । परिवारको पाका सदस्य गुम्दाको पीडा सबैलाई हुन्छ, त्यसभन्दा कैयौँ गुना पीडा परिवारको कान्छो सदस्यको मृत्यु हुँदा हुन्छ । तिम्रो मृत्यु अस्वाभाविक हो । तिम्रो जन्म सहज होस् भनेर नै त हो तिमीलाई तिम्रा बाबुआमाले अन्तर्राष्ट्रिय भनिएको अस्पताल लगेका ।

तर, नामले केही नहुने रहेछ । हामीजस्ता गरीब र निमुखाहरुले प्रत्येक क्षण यस्तै अभाव र पीडा लिएर बाँच्नुपर्छ । माफ गर रिहान !  त्यसैले त हाम्रो देशका नेताहरु आफ्नी पत्नीको झमझमाएको हातको उपचार गर्न अमेरिकासम्म पुग्छन् । पखाला लाग्यो भने सिंगापुर जान्छन् । क्यान्सरको शंका लागे जापान जान्छन् । हाम्रा अस्पतालहरुले सामान्यभन्दा सामान्य रोगको निदान गर्न सक्दैनन् भन्ने अविश्वासले त होला यसो गरेका ? तिम्रा बाबुआमा कुनै नेताका छोराछोरी भएको भए तिम्रो पनि उपचार विदेशमा हुन्थ्यो होला । त्यो भएन । त्यो संभावना पनि होइन ।

त्यसका लागि तिमीले अभिभावकलाई क्षमा त दिनैपर्छ । तर अन्तर्राष्ट्रिय भनेर नाम जोडिएको ग्राण्डी अस्पताललाई, त्यहाँको प्रशासन, त्यहाँका चिकित्सकलाई पैसाप्रति होइन सदासर्वदा आफ्नो पेसाप्रति उत्तरदायी हुन प्रेरित गर्नुपर्छ । कम्तीमा तिनले तिम्रो उपचारमा गरिएको हेलचेक्य्राइँ कहिल्यै नबिर्सून् । 

रिहान, अब म धेरै लेख्दिन । तिमीले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा आन्दोलनको सूत्रपात गरिदिएका छौ । पत्रपत्रिकादेखि टेलिभिजनमा डाक्टरको लापरवाही र तिम्रो पीडाका कथा लगातार आइरहेछन् । के यो चानचुने विषय हो ? डेढ वर्षको उमेरमा तिमीले नजानेरै देशमा एउटा समूल क्रान्ति ल्याएका छौ । अभिभावकका लागि त्यो गर्विलो कुरा हो । आम मान्छेले सय वर्ष बाँच्दा पनि गर्न नसकेको काम तिमी एक्लैले मृत्युशैय्याबाटै गरेका छौ । तिम्रो जन्मले सार्थकता पाएको छ । यो तिम्रो जन्मको सफलता पनि हो । डाक्टरहरुलाइ उत्तरदायी बनाउने अभियानमा तिम्रो मौन नै काफी भएको छ । अस्पताल र डाक्टरहरुले के कस्ता प्रपञ्च र जालझेल रचेर कसरी जनताबाट पैसा असुल्छन् र जनतालाई कंगाल बनाउँछन् भन्ने उदाहरण पनि तिमीले प्रस्तुत गरेका छौ ।   
 
 

प्रतिकृया दिनुहोस
ad